अञ्जना केसी-गगन थापा

२००६ को अप्रिल क्रान्तिमा गगन थापाका चर्का नारा र रगत उमाल्ने भाषण हामी सबैले सुन्यौं। त्यही समय यी लोकप्रिय युवा नेताको प्रेम सम्बन्ध क्रान्तिसँगै आकाश छुँदै थियो। जनआन्दोलनमा जन्मिएको गगनको प्रेमकथा, सुदीप श्रेष्ठका शब्दमा–

२००६ एक प्रेमकथा

´थोडे बदमास हो तुम, थोडे शैतान हो तुम´

अञ्जनाले स्टेजमा गाएको ´सांवरिया´ फिल्मको यो गीत मेरै निम्ति थियो। म भावविभोर भएँ। उनले मतिर हात बढाइन्। म तानिएँ। संगीतको तालमा हाम्रा पाइला स्वस्फूर्त डोल्न थाले। केही पलको साथ जीवनभरका लागि स्मरणीय रह्यो। खुशीको लम्बाइ होइन, पल महत्वपूर्ण हुन्छ– अञ्जनाको भनाइ म विस्तारै बुझ्दैछु।

´यसपालि लण्डन आउँदा खुब घुमौंला है,´ यही जनवरी १ मा नेपाल छाड्नुअघि मैले उनलाई टेलिफोनमा फुर्क्याएको थिएँ। पार्टी जनसम्पर्क समितिको कार्यक्रम भए पनि मनमा अञ्जनालाई भेट्ने उत्साह बढी थियो। तर सात दिनको बसाइमा सात घन्टा समय निकाल्न गाह्रो पर्‍यो। विमानस्थलमा झरेदेखि नफर्कुञ्जेल उत्सुक र उत्साही साथीहरूले घेरेका घेर्‍यै। हरदिन राती अबेरसम्म मिटिङ चल्थे। काठमाडौंजस्तै पलनबिराई मोबाइल बज्थे। उनी समीप थिइन्, तै एक किसिमको दूरी थियो।

त्यस साँझ इन्डियन रेष्टुराँमा साथीहरूसँग डिनर जाँदा उनले मलाई स्टेजमा नतानेकी भए खुशीका ती पल पक्रनधरी हामी असमर्थ हुन्थ्यौं।

´गगन तिम्रो पूरा जिन्दगी व्यस्ततामा बित्दैछ। एकअर्काका लागि छुट्टै समय निकाल्न हामी भ्याउँदैनौं,´ उनी बारम्बार मलाई सम्झाउँथिन्, ´हामीले यही व्यस्तताबीच विशेष अवसर निकाल्न सिक्नुपर्छ।´ मलाई लाग्दैछ, उनी मलाई यसैको अभ्यास गराउँदै थिइन्।

******

१९ दिने अप्रिल क्रान्तिको समय थियो। मलाई घर बस्नसक्ने अवस्था थिएन। पटकपटक राजद्रोहको मुद्दा चलिसकेकाले प्रहरीहरू बाजले चल्ला खोजेजस्तो सम्भावित थातथलोहरूमा घुसेर मलाई छोप्न खोज्दै थिए। म शरणार्थीझैं कहिले कुन साथीका घरमा, कहिले कुन आफन्तकहाँ आश्रय लिन पुग्थें।
त्यही भागदौडबीच एकदिन अचानक मेरो मोबाइलमा ´एसएमएस´ आयो। ´मेडिकल साइन्स´ को विषयमा लेखिएको त्यो सन्देश अरू नै कसैका लागि थियो।

´तपाईले गलत मान्छेलाई मेसेज पठाउनुभयो,´ मैले जवाफ लेखें।

´माफ गर्नुहोला,´ उताबाट तुरून्त अर्को सन्देश आयो, ´मैले गलत नम्बर थिचेछु।´

केही बेरमा फेरि अर्को सन्देश आयो, ´तपाई गगन होइन?´

´हो,´ मैले जवाफ दिएँ।

´मैले झुक्किएर तपाईलाई मेसेज पठाएछु,´ उनको चौथो सन्देशमा लेखिएको थियो, ´म पछि पनि तपाईलाई मेसेज पठाइरहन सक्छु?´

अपरिचित मित्रहरूले मोबाइलमा सम्पर्क गर्नु मेरा लागि नौला कुरा होइन। मेरा धेरै प्रशंसक र शुभचिन्तक फोन गरेर मलाई बाटो देखाइरहन्छन्। मेरो कामको तारिफ गर्छन्, मलाई प्रतिक्रिया दिन्छन्। मैले उनलाई पनि ´हुन्छ´ भनें।

एसएमएस आदानप्रदानको सिलसिला सुरु भयो। मेरा अपरिचित मित्र महिला हुन् भन्ने ठम्याउन गाह्रो भएन। ´तपाईको नाम के हो भन्नुस् न?,´ म बारम्बार सोध्थें। उताबाट कुनै जवाफ आउँथेन।

एकदिन फेरि उनको एसएमएस आयो, ´आज मेरो घरमा टियर ग्यास छिरेर हजुरआमा घाइते हुनुभयो।´

मैले लेखें, ´आन्दोलनमा यस्तै हुन्छ। निरंकुश शासन अत्तालिएर हिंस्रक मनोवृत्तिमा उत्रिएको छ। जनतालाई घरभित्र पनि सुरक्षा छैन। एउटै उपाय छ, सडकमा उत्रिएर निरंकुशताको अन्त्य गर्ने।´
त्यही दिन मेरा आँखा अखबारका समाचारमा परे : ´नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीका घरमा प्रहरीले टियर ग्यास हान्यो। उहाँको आमा सख्त घाइते हुनुभएको छ।´

समाचार पढ्नेबित्तिकै मेरो मनमा चीसो पस्यो। ´तपाई अर्जुननरसिंह केसीकी छोरी हो,´ मैले तुरून्त सोधें।

´हो,´ केही बेरपछि उनले जवाफ दिइन्। उनलाई चोर समातियो भन्ने भयो होला, त्यसपछि निकै दिन सन्देश आदानप्रदान बन्द भयो।

म धेरैचोटि राजनीतिक संवादका लागि अर्जुन दाइको घर पुगेको हुँ। उहाँकी एक छोरी मेडिकल साइन्स पढ्दैछिन् भन्नेसम्म थाहा थियो, व्यक्तिगत चिनजान नभए पनि। त्यसैले मोबाइल सम्पर्कबाट जुडेकी मित्र सजिलै खुट्याएँ। उनी मेरा सबै अन्तर्वार्ता हेर्ने, अखबारमा छापिने लेख–रचनाहरू पढ्ने गर्दी रहिछन्। यो कुरा मैले उनीसँग चिनचानपछि थाहा पाएँ।

आन्दोलनको ताप चढ्दै थियो। गणतन्त्रको शंखघोष गर्दै सडकमा उर्लिएको मानव सागरको भेलले १९ दिनमै राजाको शासन पखाल्यो। विरोधमा कस्सिएका मुठ्ठी फुकेर जीतको खुशीमा ´भी फर भिक्ट्री´ को संकेत दिन थाले। त्योसँगै मेरो भूमिगत बसाइ पनि अन्त्य भयो।

´बधाइ छ जनताको जीतका लागि,´ जनआन्दोलन सफल भएपछि एक शान्त बिहानीमा उनले अर्को सन्देश पठाइन्। नाराजुलुस, घम्साघम्सी र भागदौडबीच हाम्रो मोबाइल सामीप्यले विश्राम लिएको निकै दिन बितेको थियो। सन्देश पढेपछि रमाइलो लाग्यो।

´के म तपाईलाई फोन गर्न सक्छु?,´ उनले सोधिन्।

´जुनसुकै बेला,´ मैले भनें।

******

टेलिफोनमा नियमित कुराकानी हुन थाल्यो। औपचारिक भेट भने भएको थिएन।

´१६ जुलाई,´ मैले भेट्ने दिन प्रस्ताव गरें।

´किन?,´ उनले आश्चार्य मान्दै सोधी।

´मेरो जन्मदिन हो।´

´हो र? मेरो पनि त्यही दिन हो।´

दिन तय भइहाल्यो। हामीले ठाउँ रोज्यौं, द्वारिकाज होटल। हाम्रो ´फर्स्ट डेट´ त्यही हो। निकै बेर गफियौं हामी। व्यस्त राजनीतिक दैनिकीबाट टाढा उनको सम्मुख बस्दा मैले आफूलाई नयाँ रूपमा पाएँ। सडकको नाराबाजी र ताता राजनीतिक बहसबाट फुत्किएर एउटा स्वर्णिम घडीमा आइपुगेको महसुस भयो। लाग्यो, मैले यस्तरी आफ्ना लागि समय नदिएको निकै भइसकेछ।

´ढिलो भयो, अब जाउँ,´ उनले नाडी घडी हेर्दै यसो भनेपछि म झल्यास्सँ भएँ।

मेरा आँखा पनि घडीतिर गए, ´म तिमीलाई पुर्‍याइदिन्छु।´

मैले वेटरसँग बिल मगाएँ। मलाई लाग्यो बिल अञ्जनाले तिर्लिन्। द्वारिकाज होटलमा खाने–ख्वाउने मेरो क्षमता थिएन। उनलाई पनि लागेछ, यस्तो मौकामा केटाले नै बिल तिर्छन्। हाम्रो अन्यौलले त्यो बिल झण्डै एक घन्टा बेवारिसे रह्यो।

अति भएपछि मैले कुरो मिलाउँदै बिल हेरें। चार हजार रुपैयाँ पुगेको रहेछ। मसँग खल्तीमा दुई हजारमात्र थियो। लाज मानेर समाधान निस्कने गुञ्जायस थिएन। मैले सोधें, ´मसँग दुई हजार छ, तिमीसँग छ बाँकी?´

उनीसँग संयोगले दुई हजारै रहेछ। हामी बिल तिरेर निस्क्यौं। त्यतिखेर कसैले कसैलाई केही भनिएन। एकअर्कासँग खुलिसकेपछि भने हामी घरिघरि त्यही दिन सम्झन्छौं। उनी सोध्छिन्, ´त्यो दिन तिमीले पैसा नभएर नतिरेको हो?´

´हो,´ म हाँस्दै जवाफ दिन्छु। उनी उज्यालो अनुहार पार्दै खित्खिताउँछिन्।

******

हाम्रो ´डेटिङ स्पट´ भनेका सार्वजनिक स्थल नै थिए– रेष्टुराँ वा सिनेमा हल। हामी भींडभाडमा शान्ति खोज्न आदी भइसकेका थियौं। वरपरका सयौं जोडी आँखा–कानसँग बेपरवाह हामी आफैंमा हराइरहेका हुन्थ्यौं। परिवारका आँखा छलेर उनी मलाई भेट्न आउँथिन्, म पनि दशतिरको व्यस्तता एक/डेढ घन्टालाई थाँति राख्थें।

पुतलीसडकको ´कोर्टयार्ड´ मा त्यतिखेरका धेरै तीतामीठा सम्झना जोडिएका छन् हाम्रा। हामी खुलेको, नजिकिएको, खुशीमा हाँसेको, रिसले ठुँस्केको– यी सबको साक्षी बनेको छ कोर्टयार्ड। हुँदाहुँदा हामीले बिहेको तिथि पनि त्यहीँ तय गर्‍यौं। नक्सालको ´वञ्जला´ भन्ने नेवारी खाजाघर त्यस्तै अर्को रेष्टुराँ हो, जहाँ हाम्रो प्रेमले आपसी विश्वास र आकर्षणको मलजलमा फक्रने मौका पायो।

उनीसँग पलभरको सामीप्यमा म आफ्ना सारा तनाव बिसाउन पाउँथे। उनी मेरो कुरा बुझ्थिन्। सबभन्दा ठूलो कुरा उनी मेरो कुरा सुन्थिन्। उनी मेरा शुभचिन्तकमात्र थिइनन्, ऐना थिइन्, जसमा म आफ्ना गुण–दोष केलाउन सक्थें उनका प्रशंसा र चोटिला टिप्पणीहरूबाट। मलाई सधैं लाग्थ्यो, मेरो जीवनसाथी मलाई राम्ररी बुझ्ने हुनुपर्छ। मैले धेरै समकालीन युवा राजनीतिकर्मीलाई देखेको थिएँ। बिहेपछि साथीले बुझ्न नसक्दा उनीहरूको जीवन निकै जटिल भएको मलाई थाहा थियो।

´मैले पनि यस्तै भोग्नु नपरोस्,´ म सधैं कल्पिरहन्थे, ´म जे सोंच्छु, जहाँ उभिन्छु, आफूले आफूलाई जहाँ पाउँछु, मेरो जीवनसाथी यो कुरा राम्ररी बुझदिने मान्छे होस्।´

अञ्जना मेरो त्यही कल्पनाकी प्रतिरूप हो भन्ने लाग्छ।

******

एक दिन अर्जुन दाइ र म पार्टीको प्रचार अभियानमा जिल्ला जाने कार्यक्रम थियो। म उहाँको घर गएको थिएँ। केही पत्रकार पनि थिए। हामी कार्यक्रमकै बारेमा छलफल गरिरहेका थियौं। अञ्जनाले घरिघरि माथिबाट मोबाइलमा सन्देश पठाएर, ´मिस्कल´ गरेर हैरान पारिरहेकी थिइन्। यो उनको रोजको काम थियो। हामी छलफलमा व्यस्त रहँदा उनी यसैगरी मेरो ध्यान चोर्न खोज्थिन्। म पछि झोंक्किएको बहाना गर्थें, मनचाहिँ रमाइरहेकै हुन्थ्यो।

त्यस दिन उनी क्यामरा बिग्रेको बहाना गर्दै हामीछेउ आइपुगिन्। अर्जुन दाइले क्यामरा बनाउन त सक्नुभएन, दुई प्रेमीको औपचारिक परिचय चाहिँ गराइदिनुभयो।

´यी मेरी छोरी अञ्जना, मेडिकल साइन्स पढ्दैछे।´

´यी हुन् युवा नेता गगन थापा।´

एकअर्कालाई नमस्ते फर्काउँदाको त्यो क्षण म लाजले रातो भएको थिएँ। उनी मुसुमुसु हाँसिरहेकी थिइन्।

यस्ता लाजमर्दो घटना धेरै भइरहन्थे। एकचोटि हामी विद्यार्थी संगठनको कार्यक्रममा भाग लिन नुवाकोट गइरहेका थियौं। उहाँको स्थानीय क्षेत्र भएकाले परिवारसमेत जाने कार्यक्रम रहेछ। अर्जुनदाइ गाडीको अगाडि सिटमा बस्नुभयो। पछाडि अञ्जना, अञ्जनाकी ममी, म र एकजना साथी थियौं। नागबेली बाटो, गाडीमा अञ्जना र म सँगै, त्यसमाथि अपरिचितको अभिनय गर्नुपरेको। उनी कहिले चिमोट्थिन्, कहिले के सोध्थिन्, के भन्थिन्, बाटोभरि मलाई हायलकायल पारिन्।

******

´हेलो,´ उताबाट अञ्जनाको आवाज सुनियो, ´कहाँ छौ?´

म उनकै बुवासँग संविधानसभा चुनावको प्रचारका लागि रामेछाप गइरहेको थिएँ। बाटोमा फ्याट्ट मोबाइल नेटवर्क टिप्दा उनको फोन लाग्यो। उनी अमेरिका पढ्न गइरहेकी थिइन्।

´पुगिसक्यौ?,´ अलि पर कुनामा घुस्रेर मैले सोधें।

´कहाँ पुग्नु,´ उनले भनिन्, ´लण्डन ट्रान्जिटमा छु।´

एकछिनपछि अर्जुन दाइले छोरीकै गफ झिक्नुभयो। ´मेरी छोरी अमेरिका गएकी छे। अब उसको क्यारियर बनाउने बेला भयो,´ उहाँ बोल्याबोल्यै हुनुहुन्थ्यो। म भर्खरै उनैसँग फोनमा बोलेको, तै धैर्यसाथ उहाँको कुरा सुनिरहेको थिएँ। त्यस दिन छोरी विदेशिएकाले होला, निकै सम्झिनुभयो। उहाँको मुखबाट घरिघरि अञ्चनाको नाउँ सुनेर म पनि कताकता वियोगको छट्पटाहट महसुस गर्दै थिएँ।


´तिम्रो के हो, बिहे गर्ने योजना बनाएको छैन?,´ रामेछापबाट फर्कंदा उहाँले बाटोमा अचानक प्रश्न गर्नुभयो।

´दाइ अहिलेसम्म त बनाएको छैन,´ मैले भनें, ´बेला आएपछि सोंच्नुपर्ला।´

´तिमीले बिहे गर्ने केटीले साह्रै दुःख पाउँछ बुझ्यौ,´ उहाँ मुडमा हुनुहुन्थ्यो, ´तिम्रो न खाने ठेगान, न सुत्ने ठेगान। हिंडेको हिंड्यै गर्छौं। बिहेको भोज कसरी खुवाउँछौ?´

´म त एकदमै समाजवादी बिहे गर्छु दाइ, भोजसोज नख्वाई,´ मुखले यही भनें। मनमनमा सोंचिरहेको थिएँ, ´जसरी गरे पनि तपाईकै छोरीसँग गर्ने हो।´

हाम्रो मनको कुरा अञ्जनाले अमेरिकामा खोलिछन्, अर्जुन दाइ जाँदा। ´तिम्रो निर्णय हो, मैले हस्तक्षेप गर्ने कुरा आउँदैन,´ उहाँले भन्नुभयो, पछि अञ्जनाबाट थाहा पाएँ। ´तर यो निकै कठीन निर्णय हो। राजनीति गर्ने मान्छेसँग बिहे गर्दा जीवन त्यति सहज हुँदैन।´ उहाँले सुझावसहित हाम्रो प्रेममा आफ्नो सहमतिको टाँचा लगाइदिनुभयो।

अमेरिकाको क्यारियर छाडेर नेपालमा राजनीति गर्नेलाई जीवनसाथी छान्नु उनका लागि सजिलो निर्णय पक्कै थिएन। तर उनी दृढ थिइन्।

´म तिमीसँग बिहे गर्न चाहन्छु,´ एक दिन मैले इमेल पठाएँ, ´यसका लागि तिमीले नेपाल फर्कनुपर्छ। आफ्नो पढाइ र क्यारियरलाई यहीँ निरन्तरता दिनुपर्छ।´ यसबीच उनी एकचोटि काठमाडौं फर्कंदा मैले उनकी ममीलाई भेटेको थिएँ। हाम्रो प्रेम परिवारभित्र र केही हदसम्म बाहिर सार्वजनिक भइसकेको थियो।

त्यहीबेला उनले अमेरिकी विश्वविद्यालय छान्ने समय आयो। उनले अमेरिकामै पढ्नु भनेको हामी कम्तिमा चार वर्ष टाढिनु थियो। म अमेरिका गएर बस्ने वा केही दिन समय मिलाएर भेट्न जाने कुरा पनि अनिश्चित थियो मेरा लागि।

उनले इमेलको जवाफ पठाइनन्। केही दिनमा आफैं आइपुगिन् अमेरिकाको सारा सपना त्यागेर।

******

अघिल्लो वैशाखदेखि हामी विवाह बन्धनमा बाँधिएका छौं। सभासद्को राष्ट्रिय जिम्मेवारी र विवाहपछिको पारिवारिक जिम्मेवारी करिब उही समयमा आए मेरा काँधमा।

´गगन तिम्रो पूरा जिन्दगी व्यस्ततामा बित्दैछ। एकअर्काका लागि छुट्टै समय निकाल्न हामी भ्याउँदैनौं,´ उनी बारम्बार मलाई भन्छिन्, ´हामीले यही व्यस्तताबीच विशेष अवसर निकाल्न सिक्नुपर्छ।´

उनले विवाहलगत्तै यो कुरा सम्झाउँदा म झर्किन्थें। मेरो व्यस्तता र कामको प्रकृति नबुझेको भन्ने लाग्थ्यो। अहिले म यसको मर्म बुझ्दैछु। मलाई देश, जनता, लोकतन्त्रजस्ता ठूला कुरामा लाग्दालाग्दा मानवीय संवेदनाका सानातिना घटना नीच मार्ने बानी परिसकेको रहेछ। घरमा आमा बिरामी हुँदा ´तपाईलाई कस्तो भयो´ भनेर सोध्न बिर्सेको वर्षौं भइसक्यो। घरमा के पाक्यो, के पाकेन भन्ने चासो नराखेको वर्षौं भइसक्यो। बुबा मधुमेहका बिरामी हुनुहुन्छ। उहाँलाई क्लिनिक लिएर गएको छैन। आमासँग बजारमा किनमेल गर्न गएको छैन। म आमालाई सधैं भन्थें, ´मेरो तपाईमात्र आमा हो र? देशका सबै आमा मेरी आमा हुन्।´

एकचोटि हजुरआमा बिरामी हुनुभएको १५/२० दिन भइसकेको रहेछ। म जिल्लातिर घुम्न निस्केको थिएँ। इटहरीमा काका भेट हुनुभयो।

´हजुरआमालाई कस्तो छ?,´ उहाँले सोध्नुभयो।

मैले आश्चार्य मान्दै भनें, ´के भएको छ र?´

काकाकै मुखबाट थाहा पाएँ हजुरआमा १५/२० दिनदेखि बिरामी हुनुभएको रहेछ। एउटै घरमा बस्दा पनि म यसबाट बेखबर थिएँ।

मेरो यही बानी देखेर अञ्जना हमेसा भनिरहन्छिन्, ´तिमी जे गर्छौ, जे गर्न खोजिरहेका छौ, यसमा परिवारको पूरा सहयोग छ। हामी जति त्याग गर्न पनि तयार छौं। तर त्यसको अर्थ तिमीले आफ्नो बुवा, आमा र श्रीमतीको महत्व बुझ्दैनौ भने तिमीले समाजको महत्व पनि बुझन् सक्दैनौ। समाजलाई बुझ्न यो पारिवारिक सम्बन्धको महत्व तिमीले बुझ्नुपर्छ।´

म विगतका अव्यवहारिक व्यवहार मनन् गर्दै आफूलाई सुधार्नमा लागेको छु। कार्यालय घरैमा सारिसकें। कामकै बीच पनि परिवारसँग जोडिन पाएको छु। लेखपढ गर्दा, साथीभाइ भेट्दा मेरी आमाले मलाई आफ्नै वरपर देख्न पाइरहनुभएको छ। मैले उहाँलाई यति धेरै खुशी पहिले कहिल्यै देखेको थिइनँ। एउटा क्षेत्रमा नाम कमाउन घरपरिवारको सम्बन्धलाई बेवास्ता गर्नुपर्दैन, यसमा मायाका दुई शब्दै पर्याप्त छन् मन जित्न, मन हार्न। राजनीति र प्रेममा शायद यही फरक छ।

******

अञ्जना अहिले स्कटल्यान्डको एभरडिन विश्वविद्यालयमा एक वर्षको ´पब्लिक हेल्थ´ पढाइ गरिरहेकी छन्। छ महिना बितिसक्यो, अर्को छ महिना बाँकी छ। यसपटक लण्डन जाँदा मैले आफ्नो बाचा पूरा गर्न भ्याइनँ। तर इन्डियन रेष्टुराँमा बिताएको क्षण उनले भनेजस्तै ´विशेष अवसर´ रह्यो हामी दुवैका लागि।

केही दिनअघि हिन्दी फिल्म ´यु मी और हम´ को एउटा गीत सुनेको थिएँ। खुबै मन पर्‍यो। मैले तुरून्त एसएमएस पठाएँ।

´तुम तुम रहो, हम हम रहें´

उनी निकै खुशी भइन्। साँचै खुशीको लम्बाइ होइन, पल महत्वपूर्ण हुन्छ।

अञ्जना केसी-गगन थापा

Recent Posts

दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out