क्लासिकल डान्स रंगमञ्च र मायानगरी

स्टेजमा अभिनय गर्नुको सन्तुष्टि छुट्टै हुन्छ । फिल्ममा 'क्लोजअप', 'प|mेमिङ'ले तनाब दिन्छ । फिल्ममा सट दिनु पनि दिक्कलाग्दो हुन्छ । नाटकमा जस्तो सन्तुष्टि फिल्ममा पाइँदैन । फिल्ममा दर्शक प्रतिक्रिया पाउन धेरै समय कुर्नुपर्छ, नाटकमा अभिनय सक्नेबित्त्ािकै दर्शक प्रतिक्रिया पाइन्छ ।
पूर्वीय परम्परामा सयौँ वर्षको इतिहास बोकेको छ शास्त्रीय नृत्य (क्लासिकल डान्स)ले । भनिन्छ, 'क्लासिकल डान्स' भगवान्लाई चढाइएको कला हो । नर्तक/नर्तकी जति क्लासिकल डान्स गर्छन् त्यो भगवान्कै लागि गर्छन् । जीवन, जगत्, मृत्यु, बलिदान, दुःखका कथा अनि पूर्वीय परम्पराको वर्षौंको इतिहास मिलेर निस्कने गम्भीर लय हो क्लासिकल डान्स । नाटक, गम्भीर संगीत र कलाका पारखीहरूको आस्था जोडिएको छ, क्लासिकल डान्समा । यही आस्थाको प्रतिनिधित्व गर्नेमध्येकी एक हुन्- दिया मास्के ।
क्लासिकल डान्सरको योग्यता के हो ? 'शास्त्रीय नृत्यलाई हुनुपर्ने गुण हात, खुट्टा, कम्मरको लचकता हो,' शनिबार मध्याह्नमा पाटन दरबार स्क्वायरछेउमै बसेर दिया मास्के बोलिरहेकी थिइन्, 'र, उसले अभिनय पनि जानेकै हुनुपर्छ । थरीथरी रसका विभिन्न भाव अनुहारमा झल्किनुपर्छ, ओठले संकेत गर्नुपर्छ, आँखा बोल्नुपर्छ ।' त्यसैले एउटा शास्त्रीय नर्तक/नर्तकी विशुद्ध डान्स मात्रै गर्ने व्यक्ति होइन । अभिनयलगायत विभिन्न पक्षमा पनि ऊ पोख्त हुर्नैपर्छ ।
दियाकी हजुरआमा भरतनाटयम्की डान्सर थिइन् । उनकी फुपू पनि क्लासिकल डान्सर । यस हिसाबले उनको घरै सानैदेखि नृत्यमय रहेछ । अनि त, दियामा नृत्यप्रति लगाव किन नबढोस् ? 'हजुरआमा र फुपूकै प्रेरणाले म डान्सतिर तानिएँ', उनले सुनाइन्, 'स्कुल पढ्दैदेखि नै डान्सको प्रशिक्षण पनि लिन्थेँ । मेरो घरको वातावरणले पनि मलाई डान्समा अघि बढ्न सघायो ।' 
 चार वर्षकै उमेरमा दिया स्टेजमा उक्लिन् । उनले कुशल गुरु पाइन्- कत्थक डान्सर राजु शाह । फिल्मका कोरियोग्राफर शाह भारतका लोकपि्रय कत्थक डान्सर गोपीकृष्णका शिष्य हुन् । शाहबाटै दियाले वेस्टर्न डान्स पनि सिकिन् । डान्सप्रतिकै अति मोहले उनलाई स्कुल चल्दाचल्दै सिनेमा हलसम्म पुर्‍याउँथ्यो । तर, उनको उद्देश्य फिल्मको मजा लिनु हुन्थेन । 'म हिरो-हिरोइनका डान्स हेर्न हल पुग्थेँ र डान्सका स्टेप सम्झेर होस्टलमा फर्केर नक्कल गर्थें ।' होस्टलमा हिरो-हिरोइनको नृत्यको नक्कल गर्दा गर्दै दियाले एसएलसी सकिन् र इन्टर पढ्न भारतको हरियाणा पुगिन् । डान्सप्रतिको मोहले उनी हरियाणा धेरै बस्न सकिनन्, भागेर नेपाल आइन् । उनलाई पद्मकन्या क्याम्पसमा डान्स पढाइ हुन्छ भन्ने थाहा थियो । नेपाल आउँना साथ उनी त्यही कलेजमा डान्स विषयमै भर्ना भइन् । पछि भारतबाट कत्थक नृत्यमा स्नातकोत्तर र भरतनाटयम्मा डिप्लोमा गरिन् उनले । दिया अहिले पद्मकन्या क्याम्पसमा नृत्य विषयकै प्राध्यापन गर्छिन् ।
भरतनाटयम् दक्षिण भारतको डान्स हो, जहाँ अनुशासन भरपूर हुन्छ, र अति लगाव चाहिन्छ । अभिनय भरतनाटयम्को प्रमुख विधा हो । कत्थक डान्सको उत्पति उत्तर भारतमा भएको हो । नेपाली संगीतसँग कतैकतै मेल खाने कत्थक पनि अभिनयप्रधान हुन्छ । दिया नेवारी चरिया डान्स पनि गर्छिन् । उनलाई दुःख लागेको छ- भारतीयले भरतनाटयम्, कत्थकलाई विश्वव्यापी बनाए । तर, हामीले चरियालाई नेवारी परिधिभित्रै पनि पुर्‍याउन सकेनौं । 'चरियाबारे जान्ने र यो सिकाउन सक्ने गुभाजू (पुजारी)ले संसार छाडिसके,' उनी भन्छिन्, 'अहिले चरियाको महत्त्व बुझ्ने निकै कम छन् । यो डान्स सिकाउने गुरु पनि नेपालमा छैनन् ।'
कत्थक र भरतनाटयम् सयौँ वर्षदेखि भारतीयको रगतमा छ । नेपालमा यो डान्स भित्रेको पनि धेरै भएको छैन । डान्स भारतको कल्चर भइसकेको छ । हाम्रोमा त्यो परम्परा हुर्किसकेको छैन । नेपालमा क्लासिकल डान्सको गम्भीरता बुझ्ने कति होलान् ? 'बिस्तारै नेपालमा पनि डान्सको स्कोप राम्रो हुँदै छ । यसबारे चासो बढ्दै गएको पाएको छु मैले,' उनले भनिन्, 'भारतको अवस्थासँग तुलना गर्न नमिले पनि हाम्रोमा क्लासिकल डान्सको महत्त्व बुझ्नेहरू बढ्दै छन् ।' 

दियाले सानैदेखि सिकिन्- डान्समा अनुशासन चाहिन्छ । 'डान्सकै कारण म सानैदेखि कडा अनुशासनमा हुर्किन सिकेँ । डान्सले मलाई जीवनका धेरै पक्ष र सांस्कृतिक महत्त्वका कुरा पनि बुझ्न सिकायो,' दियाले भनिन् । केही वर्षदेखि मञ्चमा एकसाथ भरतनाटयम्, क्लासिकल र चरिया डान्सबाट शास्त्रीय चेतना पोख्दै आएकी दिया पछिल्ला वर्षमा चाहेर वा नचाहेरै पनि म्युजिक भिडियो, नाटक, टेलिफिल्म र फिल्मबाट थप चिनारीमा आएकी छिन् । 'म्युजिक भिडियो र फिल्ममा अभिनय गर्न थालेपछि म बढी चर्चामा आएँ हुँला,' उनले सुनाइन्, 'तर, म पहिलेकै उही र उस्तै डान्सर हुँ ।'
दियाका जीवनमा कहिल्यै योजना हुदैन । ठूलै उद्देश्य लिएर उनले अभिनय थालेकी होइनन् । 'सबै अकस्मात् भयो,' उनी बोल्दै थिइन्, 'म डान्स गर्ने मान्छे, फिल्म, नाटकमा अभिनय गरुँला भन्ने सोचेकै थिइनँ । हिँड्दाहिँड्दै अचानक भेटिएजस्तो भयो नाटक, फिल्म ।' 'भिज्यो सिरानी रातमा' म्युजिक भिडियोबाट गुलाबी पर्दामा प्रवेश गरेकी दियाको 'खुमा' नाटकबाट रंगमञ्चीय यात्रा अघि बढ्यो । 'भर्चुअल रियालिटी', 'अनेस्ट थिफ', 'म्यारिज इन मोसन', 'काली आइमाई', 'वेडिङ फर गोदोद' जस्ता चर्चित नाटकमा उनले अभिनय गरिन् । उनी रंगमञ्चबाट टेलिसिरियलमा पुगिन् । 'दलन' र 'कथा सुख-दुःखको' टेलिसिरियल गरिन् । 'दलन'बाट उनको चर्चा ह्वात्तै चुलियो । बेग्लै धारको फिल्म 'कागबेनी'बाट उनी मायानगरीमा प्रवेश गरिन् । पहिल्यै फिल्म 'कागबेनी'ले उनको चिनारी अब्बल एक्टरका रूपमा भयो ।
उनले मञ्चमा दर्जनौ शास्त्रीय नृत्य देखाइन्, दर्शकका अगाडि थुप्रैपटक अभिनय गरिन् । त्यसवेलासम्म दियालाई सहरले चिनेन । तर, क्यामेराको अघि उभिनेबित्तिकै भने उनी 'सेलिबे्रटी' बनिन् । फिल्मको हिरोइन हुनेबित्तिकै नाम र प्रशंसाको कुहिरोमा उनी हराइन् । 'मानिसको बाँच्ने शैली फेरिँदै गइरहेको छ,' दियाले सुनाइन्, 'सञ्चारले संसार खुम्च्याउँदै ल्याएको छ । यस्तो वेला रंगीन दुनियाँको चर्चा हुनु स्वाभाविक हो ।' आफूले पाएको चर्चालाई उनी त्यस्तोविधि 'ठूलो उपलब्धि' ठान्दिनन् । 'अभिनय, डान्सप्रतिको मेरो आफ्नो दृष्टिकोण भने बदलिएको छैन,' उनले भनिन्, 'मेरो जीवनको सबैभन्दा सुन्दर पक्ष डान्स नै हो । अभिनयभन्दा डान्स नै सधैँ मेरो प्राथमिकतामा पर्छ ।'

अब पनि निर्देशकले 'स्टारडम'लाई मात्र ध्यानमा राख्ने, तर विषयवस्तु र चरित्रको वास्तै नगर्ने हो भने यो पुस्ताले 'हाम्रो फिल्म' भनेर नेपाली फिल्मप्रति गर्व गर्ने दिन कहिल्यै आउने छैन । कागबेनी र दलन हिट भएपछि दियालाई लाग्न थालेको रहेछ- यो पुस्ताले फिल्ममा 'कन्टेन्ट' र 'क्यारेक्टर' दुवै खोज्न थालेछ । अहिलेका निर्देशकहरू केही हदसम्म फेरिएका छन् । पहिलेजस्तो 'स्टार अनुहार'को मात्रै पछि लाग्दैनन् । 'निर्देशकहरू पनि अब त विषयवस्तु र चरित्रको खोजी गर्न थालेका छन्,' उनले सुनाइन्, 'यसले नेपाली फिल्मको गुणस्तर उकास्न केही मद्दत गर्ला नै ।'
दियालाई लाग्छ- नाटकबाट 'ग्रुम' भएर आएका कलाकारले फिल्ममा पनि स्तरीय अभिनय दिन सक्छ । 'नाटकमा काम गर्ने कलाकारको मिहिनेत नै विशिष्ट किसिमको हुन्छ,' उनले सुनाइन्, 'थिएटरबाट फिल्ममा आएका कलाकारले फिल्मलाई अभिनय पक्षबाट धनी बनाउन सक्छन् । यसको उदाहरण भारत र विश्वका अरू देशमा देख्न सकिन्छ । हाम्रैमा पनि केही त्यस्ता उदाहरण छन् ।' दिया आफूले अहिलेसम्म क्वान्टिटीतिरभन्दा क्वालिटीमा ध्यान दिएको सुनाउँछिन् । 'म एकदम सेलेक्ट गरेर मात्र काम गर्छु,' उनले भनिन् । 
 मायानगरीमा डुब्न थालिसकेकी दिया फेरि थिएटरमै फर्केलिन् ? प्रश्न सुनेर उनी मौन रहिन् ।
'म त नाटकको मान्छे,' उनले सुनाइन्, 'यो विधा छाड्ने कुरै आउँदैन, थिएटरमै काम गर्छु ।'
नाटक र फिल्ममा अभिनय गरेपछि दियाले यी दुई विधाबीच ठूलो भिन्नता के पाइन् ? 'स्टेजमा अभिनय गर्नुको सन्तुष्टि छुट्टै हुन्छ । फिल्ममा 'क्लोजअप', 'फ्रेमिङ'ले तनाव दिन्छ । फिल्ममा सट दिनु पनि दिक्कलाग्दो हुन्छ । नाटकमा जस्तो सन्तुष्टि फिल्ममा पाइँदैन,' उनले सुनाइन्, 'फिल्ममा दर्शक प्रतिक्रिया पाउन धेरै समय कुर्नुपर्छ, नाटकमा अभिनय सक्नेबित्तिकै दर्शक प्रतिक्रिया पाइन्छ ।' क्वालिटीलाई ध्यान दिने यी अभिनेत्री अब कुन निर्देशकसँग काम गर्न इच्छुक होलिन् ? केहीबेर सोच्दै उनले भनिन्, 'अनुप बराल, सिमोस सुनुवार, आलोक नेम्वाङ, प्रशान्त रसाइलीसँग काम गर्न इच्छुक छु,' उनले थपिन्, 'उनीहरू गम्भीर छन्, राम्रो कल्पनाशीलता छ ।' उनलाई फिल्मले 'आफ्नो संस्कृति चिनाउनुपर्छ र कल्पनाशीलता बढाउनुपर्छ,' भन्ने लाग्छ ।
नेपाली हिरोइन स्त्रिप्ट पढ्दैनन् भन्ने हल्ला पटक-पटक सुनिन्छ । केही निर्देशकले नै लगाउने गरेको आरोप हो यो । कागबेनीकी हिरोइन दियाचाहिँ स्त्रिप्ट पढ्छिन् कि पढ्दिनन् ? 'म स्त्रिप्ट नपढि फिल्म खेल्दिनँ', उनले भनिन्, 'स्त्रिप्ट पढ्न नपाएरै केही फिल्म रिजेक्ट गरेकी छु । स्त्रिप्ट राम्रो रहेछ भने मात्रै काम गर्ने टुंगो लाग्छ ।'
दियाको 'एक दिन एक रात' र 'गुडबाई' अब आउन लागेका नयाँ फिल्म हुन् । तीमध्ये 'एक दिन एक रात'को निर्देशन देवकुमार श्रेष्ठले गर्दै छन् । यो फिल्म सस्पेन्स र थि्रलर किसिमको हो, जसमा दिया टेलिभिजन प्रस्तोताका रूपमा देखिनेछिन् । यात्रा र त्यसपछिका रोचक घटना फिल्ममा हुनेछन् । 'गुडबाई'चाहिँ जीवनमा आइपर्ने उकुसमुकुस र भद्रगोलका बारेमा हुनेछ । इच्छाले रोजेको जिन्दगीमा आइपर्ने धेरै बन्धनका बारेमा । 'यसमा मेरो रोल अलि च्यालेन्जिङ छ,' उनले भनिन् । 

२७ वर्षीया दिया आफूलाई 'बिन्दास' केटी भन्न रुचाउँछिन् । जहिले खोजिरहेकी हुन्छिन्- खुला नीलो आकाश । 'म कहिले कता कहिले कता हिँडिरहेकी हुन्छु, भीडभाडमा बस्न दिक्क लाग्छ । गल्लीहरूमा छाता हल्लाउँदै लुखुरलुखुर एक्लै हिँड्न मजा लाग्छ,' उनले भनिन् । अनि आफैले देखेका आफ्ना कमजोरी के-के हुन् ? 'कडा स्वभावकी छु, बढी रिस उठ्छ, रिसले अरूलाई हानि पनि गरेको छ,' उनले भनिन् । अचेल कत्तिको खुसी छिन्
दिया ? 'म स-साना कुराले पनि साह्रै खुसी भइरहेको हुन्छु,' उनले भनिन्, 'सधैँ आफूलाई खुसी बनाउने प्रयासमा लाग्छु । र, खुसी हुन बिहान-बेलुका डान्स गर्छु । तर, अनायास दुःखी पनि हुन्छु कहिलेकाहीँ ।' उनी राम्रा-नराम्रा दुवैखाले सपना देख्छिन् रे । 'सपनामा जे पनि देखिन्छ,' दियाका आँखा ठूला भए, 'सपनामा धेरैजसो आमालाई देख्छु । तर, धेरै नराम्रो सपना पनि देखिन्छ- यस्तो वेला साँप देख्छु, साह्रै डर लाग्छ ।'
हिँड्दाहिँड्दै धेरै कुरा छुट्दै जान्छन्- धेरै घुम्ती र कुइनेटा । केही पि्रय सम्झना पनि । दियाले क्लासिकल डान्स सिक्दाका कठिन दिनहरू पनि कतै टाढा पुगिसके । 'डान्समा मिहिनेत गर्दाका ती दिन अब सम्झनामा मात्रै छन् । हामीले हिँड्दै गएको पाइला बिर्सिंदै आउँदा रहेछौँ,' आफ्नो बितेको जिन्दगीलाई संकेत गर्दै उनी बोलिन् । स्कुल पढ्दैदेखि धेरै प्रेमपत्र झेलिन् दियाले । केही केटाहरू थिए, जो उनको पछि लागेर हैरान पार्थे । स्कुलका ती दिनहरू, ती केटाहरू पनि उनका लागि अब 'पुराना' भइसके । कति आए त प्रेम प्रस्ताव ? 'धेरै आए,' उनले भनिन्, 'म अति लजालु स्वभावकी थिएँ । मैले कसैलाई प्रेम गरिनँ ।'
दिया स्कुल पढ्दा डायरी लेख्थिन् । त्यो बानी कलेज प्रवेशपछि हट्यो । उनका धेरै डायरी अहिले हराइसके । 'अब एउटा मात्र डायरी बाँकी छ,' उनले सम्झिन् । तिनताका उनी होस्टल बस्थिन्, जहाँ आमाको सम्झनाले सताउँथ्यो । उनको डायरीमा सबैथोक छन् । जस्तो उनी धेरै वर्षअघि होस्टल बस्दाका साथीहरू छन्, आमाको सम्झनामा कोरिएका मायाका शब्दहरू छन्, काठमान्डूमा लुखुरलुखुर हिँडेका गल्लीहरू छन्, हाँसो छ, डान्सका रसहरू छन्, र छ आमाको मीठो मुस्कान ।
पाटन दरबार स्वायर हुँदै आवत-जावत गरिरहेकी हुन्छिन् नृत्यांगना दिया । यो भीड, कोलाहल र घुँइचोमा हिँडिरहेका वेला उनलाई लाग्छ- म क्लासिकल डान्सर नभइदिएको भए के हुन्थेँ हुँला ? सायद कलाकार नै बन्दिथेँ कि ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out