चीन भ्रमणले उब्जाएका तरंग

सुदर्शन दाहाल- माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारबाट बाहिरिएपश्चात् पाँचौंपटक चीन भ्रमण सकेका छन् । यस अवधिमा माओवादीसम्बद्ध दर्जनौं नेता-कार्यकर्ताले समेत चीन जाने अवसर पाएका छन् । हालै मात्र करिब एक दर्जन माओवादी सेनाका कमान्डर, नेता तथा लडाकु साताव्यापी चीन भ्रमण गरेको घटना राजनीतिक विवादकै विषय बन्न पुगेको छ । कुनै पनि राजनीतिक दलको नेतृत्वपंक्तिले पार्टीको द्विपक्षीय सम्बन्ध सुधारका लागि अन्य मुलुकका सरकार तथा पार्टीपंक्तिसँग सम्पर्क बढाउनु स्वाभाविक हो । तर, विस्तृत शान्ति सम्झौतापश्चात् संयुक्त राष्ट्रसंघको क्यान्टोनमेन्टमा रही सरकारको तलब-भत्ता खाएका माओवादी दलका सैनिक कमान्डरहरू सरकार वा अनमिनलाई जानकारी नै नगराई विदेश भ्रमणमा जानुले राजनीतिक वृत्तमा शंकाको तंरग फैलाएको छ । नेपाल र चीनका कम्युनिस्ट पार्टीका नेताहरूबीच सम्बन्ध सुधारका निम्ति गरिएका छलफलमा के-कस्ता विषय उठे र के-कति सहमति भयो भन्ने विषय सार्वजनिक नगरिएकाले शंका उब्जेको हो । दशक लामो सशस्त्र द्वन्द्व गर्दा माओवादी नेताहरूले भारतीय भूमिको प्रयोग गरेका थिए । नेपालका लोकतान्त्रिक पार्टीहरूसँग १२ बुँदे समझदारी गर्दा भारतीय नेताहरूकै सहयोग लिएका थिए । तर, नौ महिने सरकारबाट हटेपछि माओवादीको भारतप्रतिको दृष्टिकोण एकाएक परिवर्तन भई कसरी चीन सरकारसँग सामीप्य बढ्न पुग्यो ? राजनीतिक अध्येताहरूका लागि दुवै कम्युनिस्ट पार्टीका परिवर्तित सम्बन्ध विस्तार विश्लेषणको एउटा रोचक प्रसंग हुन सक्छ ।
नेपालका माओवादीले चीनबाट साम्यवादी शासन स्थापना गर्ने ऊर्जा त पाइरहेका छैनन् ? अथवा, यस किसिमको सम्बन्धले माओवादीलाई सरकारको नेतृत्व गर्न नपाए सत्ता प्राप्तिका लागि फेरि सशस्त्र द्वन्द्वमा र्फकन उत्प्रेरित त गरिरहेको छैन ? राजनीतिक वृत्तमा आशंका फैलिएको छ । तर सार्वजनिक भएका विवरण विश्लेषण गर्दा माओवादीले चीन सरकारसँग सम्बन्ध विस्तार गर्नुका पछाडि छोरी कुटेर बुहारी तह लगाउन खोजेजस्तो मात्र देखिन्छ । खासगरी भारतसँग चिसिँदै गएको पारस्परिक सम्बन्धलाई सन्तुलनमा ल्याउन वा नयाँदिल्लीलाई तर्साउन माओवादी नेताहरूले चीनियाँ कार्ड प्रयोग गर्न खोजेको आभाष मिल्छ ।
नेपालका माओवादीप्रति चीन सरकारको दृष्टिकोणचाहिँ के थियो र आज आएर त्यो किन परिवर्तन हुन पुग्यो ? चीनले नेपालमा माओवादी नेतृत्वकै सरकार चाहेको हो त ? अथवा, नेपालसँगको पारस्परिक सम्बन्धलाई चीनले माओवादी पार्टीमार्फत नयाँ शिराबाट विस्तार गर्न खोजेको हो ? यस्ता तमाम प्रश्नको जवाफ बुझ्न चीन सरकारले विगत केही समययता नेपाललगायत दक्षिण एसियाली राष्ट्रहरूमा सरकारी तहबाट देखाएको चासो र सरोकार केलाउँदा स्पष्ट हुन जान्छ ।
चीनको राजनीतिलाई नजिकबाट नियाल्नेहरूको बुझाइमा चीनले अन्य मुलुकका आन्तरिक राजनीतिमा खासै चासो लिने गरेको पाइँदैन । खुला अर्थनीति अँगालेर आर्थिक क्रान्तिलाई उच्च तहमा पुर्‍याउन सफल चीनले विशेषतः छिमेकी मुलुकसँगको पारस्परिक दौत्य सम्बन्धलाई आर्थिक उन्नतिकै सहयोगीका रूपमा हेर्ने गरेको पाइन्छ । दक्षिण एसियाली राष्ट्रहरूको संगठन सार्कमा सदस्यताका लागि चीन सरकारले देखाएको तत्परता पनि कम्युनिस्ट राजनीतिको विस्तार नभएर व्यापार प्रवर्द्धन र पारस्परिक सहयोगका लागि हो भन्दा अत्युक्ति देखिँदैन । त्यसरी नै नेपालका माओवादीप्रति 'जनयुद्ध' का समयमा चीन सरकारले देखाएको उदासीनता पनि त्यही रणनीतिबाट निर्देशित थियो भन्न सकिन्छ ।
चीनले नेपालका माओवादीसँग सम्बन्ध विस्तार गर्नुको एउटा प्रमुख कारण नेपाल सरकारले लिँदै आएको 'एक चीन नीति' लाई अझ बलियो रूपमा विस्तार गर्नु र नेपाली भूभागबाट तिब्बतको विषयलाई लिएर हुंँदै आएको चीनविरोधी प्रदर्शनलाई निस्तेज पार्नु हुन सक्छ । नेपालको अस्थिर सरकार, भारतसँग निकट भूगोल, समान रहनसहन, खुला सिमाना आदि कारणले नेपालमा बन्ने कुनै पनि लोकतान्त्रिक पार्टीका सरकार चीनभन्दा भारतसँगै निकट देखिने गरेका छन् । त्यस्ता सरकारलाई नेपालमा हुने चीनविरोधी गतिविधिमाथि रोक लगाउने गरी कठोर कदम चाल्न दबाब दिनुपर्ने चिनियाँ अधिकारीहरूको ठम्याइ हुन सक्छ ।
माओवादीले चिनियाँ कम्युनिस्ट आन्दोलनका प्रणेता माओत्सेतुङकै पदचिह्न पछ्याएको हुँदा यस पार्टीसँग चीन सरकारको सैद्धान्तिक रूपमा सहकार्य हुन सक्ने र माओवादी संविधानसभा निर्वाचनमार्फत प्रमुख दलको रूपमा स्थापित भइसकेकाले भोलि सरकारमा जान सक्ने आँकलन चीन सरकारले गरेको हुन सक्छ । माओवादी सरकार वा प्रतिपक्षमा रहँदा पनि नेपालमा विगतका वर्षहरूमा जस्ता चीनविरोधी गतिविधि हुन नदिने वातावरण बनाउन चीन सरकारले माओवादी नेतृत्वसँग पारस्परिक सम्बन्ध विस्तार गर्न चाहेको हुन सक्छ ।
अर्को महत्त्वपूर्ण कारण चीनले दक्षिण एसिया र सार्कमा सदस्य राष्ट्रका रूपमा खेल्न खोजेको भूमिका हुन सक्छ । अहिलेसम्म भौगोलिक अवस्थिति एवं अन्य कारणले भारतको भूमिका सार्क राष्ट्रहरूमा प्रमुख रहने गरेको छ । चीनले केही वर्षदेखि प्रस्ताव गर्दै आएमुताबिक सार्कको सदस्यता पाए स्वभावतः सार्क क्षेत्रमा भारतको प्रभाव घट्ने र चीनको बढ्ने हुन्छ । चीन सरकारले सदस्य राष्ट्रहरूको आवश्यक समर्थन जुटाउन भारतको आलोचकको रूपमा देखा पर्न लागेको नेपालको प्रमुख दल नेकपा माओवादीलाई आगामी दिनमा आफ्नो पक्षमा उभ्याउन सुरुबाटै 'क्याम्पेनिङ' गरेको पनि हुन सक्छ । चीनले भारतको प्रतिद्वन्द्वी पाकिस्तानलाई ऊर्जा उत्पादन तथा सैनिक प्रवर्द्धनमा ठूलो परिमाणमा पुर्‍याएको सहयोगलाई पनि दक्षिण एसियाका सरकार र दलहरूसँग उसले सम्बन्ध विस्तार गर्न चाहेको उदाहरणका रूपमा लिन सकिन्छ ।
तेस्रो कारण चीनले लिएको खुला अर्थनीति र व्यापार प्रवर्द्धन हुन सक्छ । आज चीनमा उत्पादित सामान विश्वका कुनै पनि मुलुकका कुनाकुनामा उपलब्ध छन् । दक्षिण एसियाली राष्ट्रहरू विशेषतः ठूलो संख्यामा रहेका भारतीय नागरिकको बदलिँदो आर्थिक स्तर र त्यहाँ उपभोग्य सामग्रीको बढ्दो खपतले चिनियाँ उत्पादकलाई लोभ्याइरहेको छ । त्यसका लागि भौगोलिक अवस्थितिले गर्दा चीन र भारतबीच सहज पारवहनका लागि नेपाली भूमि उपयुक्त मानिन्छ । चीनले ल्हासासम्म ल्याएको रेलवे लाइन नेपालसम्म विस्तार गर्न खोज्नुको कारण सायद यही हुन सक्छ । आफूअनुकूल देखिएको माओवादीसंग पारस्परिक सम्बन्ध विस्तार भएमा नेपाल र चीनबीच रहेका सन्धी-सम्झौता चाहेअनुरूप परिवर्तन गरी सम्वन्ध विस्तार गर्न सकिने र सोचेअनुरूपको व्यापार विस्तार गर्न सकिने रणनीति चीनको हुनसक्छ ।
समग्रमा माओवादीले चीन सरकारसँग सम्बन्ध बढाउनुमा राजनीतिक उद्देश्यमात्र देखिँदैन । चीनको आन्तरिक हितका लागि छिमेकी राष्ट्रसँग सीमा सुरक्षा, व्यापार प्रवर्द्धन र त्यसका लागि क्षेत्रीय शक्ति सन्तुलन मिलाउन गरिएको रणनीतिको रूपमा समेत यसलाई बुझ्न सकिन्छ । दुई देशबीचका कम्युनिस्ट पार्टीबीच भइरहेको सम्बन्ध विस्तारले नेपाली राजनीतिक फाँटमा सरकार गठनका क्रममा केही प्रभाव पार्न सक्ने भए तापनि समग्र राजनीतिक प्रणालीमै परिवर्तन आउने गरी असर पार्न सक्ने आधार देखिँदैन ।
लेखक मिड स्वीडेन युनिभर्सिटीका अध्येता हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out