फेसबुकका फरक फेस

अलका आत्रेय चुडा- 'इन्टरनेट छाडेर लुगा धुन जा भन्ने आमाको ढाडमा छुरी प्रहार गरी हत्या' -यो अष्ट्रियाको भियनामा घटेको एउटा घटनाबारे त्यहाँका पत्रिकामा प्रकाशित खबरको शीर्ष हो । सन् २०१० अपि्रल महिनामा एउटी १४ वर्षे छोरीले आफ्नी आमालाई ढाडमा सातपटक छुरी रोपेर मारिन् । दिउसो स्कुलबाट घर फर्किनासाथ ल्यापटपमा इन्टरनेटको सञ्जाल खोलेर बसेकी छोरीसँग उनकी आमाको भनाभन भयो । आमाले छोरीलाई इन्टरनेट बन्द गर्न भनेपछि तातेको यो बहस केही बेरमा शान्त भयो र छोरीलाई लुगा धुन जा भनेर आमा आफू नुहाउने कोठामा गइन् । यो लुगा धुनु पनि हाम्रो नेपाली गाउँ-सहरमा जस्तो बाटामा साबुन धसेर घन्टौं लगाएर धुने धुवाइ थिएन, मात्र लुगा धुने यन्त्रमा लुगा हालिदिने र समय भएपछि झिकेर ल्याउने थियो । रिसको झोँकमा आँखा नदेखेकी छोरीले आमा कोठाबाट निस्केपछि भान्साबाट तरकारी काट्ने धारिलो चक्कु लगेर नुहाउने कोठामा रहेकी आमाको ढाडमा सातपटक रोपिन् । हुन त यो उनीहरूको पहिलो भनाभन थिएन । आमा-छोरीबीच योभन्दा अघि पनि धेरैपटक कम्प्युटर, इन्टरनेट र फेसबुक लगायतका कुरामा गलफत्ती भइरहन्थ्यो । ती किशोरीले फेसबुकमा र आफ्नो दैनिकीमा आमासँग रिस उठेको र भनाभन भएको कुराहरू लेखेकी पनि रहिछन् । कुनै बेला उनले 'आज मसँग चक्कु थिएन, नत्र म त्यसको घाँटी रेटिदिन्थेँ र यो झगडा सधैंका लागि सकिन्थ्यो' भनेर  पनि लेखेकी रहिछन् । अष्ट्रियाको प्रहरीले अनुसन्धानका क्रममा फेसबुकबाट यो कुरा पत्ता लगायो । धेरै अघिदेखि दन्केको ती किशोरीको रिसको आगोलाई अन्ततः गत अपि्रल १३ का दिन ३७ वर्षीया आमालाई मारेर बगेको रगतले निभायो । हालै अदालतमा दिएको बयानमा उनले भनिन्, 'आमालाई मार्ने नै मेरो उद्देश्य थिएन । आवेशमा आउँदा अनजानमा यस्तो भयो ।' अहिले ती  किशोरी कारागारमा दसवर्षे बन्दी जीवन बिताइरहेकी छिन् । छोरी बन्दी जीवन बिताएर फेरि नियमित जीवनमा फेर्केलिन्, तर उनकी आमा भने सदाका लागि भगवानकी प्यारी भइन् ।      कुनै बेला थियो, गाई-बाख्रा चराउन गोठाला गएका छोराछोरी वनमै संगीहरूसँग खेल्दाखेल्दै गाईवस्तुले कसैको बाली खाएको अथवा खेल्दाखेल्दै साँझ परेर घर र्फकन ढिला भएको निहुँमा बाबुआमाले छोराछोरीलाई गाली गर्थे । त्यसपछि जमाना अलि फरक भयो, अनि  टीभी धेरै हेरे भनेर बाबुआमा छोराछोरीलाई गाली गर्नथाले, अब अहिले त्यो जमाना पनि फेरियो । अब त कम्प्युटरको अगाडि धेरै नबस, फेसबुक धेरै नहेर, फलानोलाई फेसबुकमा साथी किन बनाएको, फलानाकी छोरी कति फेसबुकमा अनलाइन बसेकी, त्यो अब बिग्रीजस्ता कुराहरूको जमाना आयो । राम्रा र नराम्रा पक्ष सबैमा हुन्छन् । साथीसँग खेल्दा वा गफ गर्दा, पछि टीभी हेर्दा वा अहिले फेसबुक चलाउँदा सबैका राम्रा र नराम्रा पक्ष छन् । फरक यत्ति हो, प्रयोगकर्ताले त्यसलाई कसरी लिन्छ ।
'सिर्जना भान्जीले अमेरिकामा छोरो पाइन् । हामीले त जन्मेको ४० मिनेटमै फेसबुकबाट थाहा पायौं', काठमाडौंको वानेश्वरमा रहेकी माइज्यूले भनिन् । उनकी मामाकी छोरीले कम्बोडियाबाट भनिन्, 'सबैभन्दा पहिला फेसबुकमा कमेन्ट त मैले लेखेको ।' 'तपाईंपछि त फेरि म हो नि', अर्की बहिनीले थपिन् । यस्तो कुराकानी हुन्छ, हिजोआज नेपाली आँगनमा । विदेश गएका लोग्ने, छोराछोरी, आमा, श्रीमती, दिदीबहिनीहरू अहिले फेसबुक खोल्ने होडबाजीमा छन् । फेसबुकभन्दा अघि धेरै अरू सञ्जालहरू पनि थिए- याहु, हटमेल, जीमेल, स्काइप आदि-आदि, तर तिनले नेपाली महिलाहरूको मन तान्नसकेको थिएन । कम्प्युटर चलाउन आउँदैन भनेर उनीहरू चुप लागेर बस्थे । तर फेसबुकले भने ती सबैको मन जितेको छ ।  झापाकी सत्तरी वर्षीया पुप्पामायाले छोरोसित क्यानाडा गएपछि फेसबुक खोलिन् । छोरो, नाति र पनातिनीसँग क्यानाडा घुमेको फोटो नेपालमा रहेका अन्य छोराछोरीहरूलाई देखाउनु, फेसबुक खोल्नुमा यही एकमात्र उनको उद्देश्य थियो । फोटो हेर्नबाहेक उनलाई अरू केही गर्न भने आउँदैन । त्यसैगरी मोरङ निवासी ७५ वर्षीय लयप्रसाद र उनकी जहानले पनि युरोप भ्रमणका बेला खिचेका आफ्ना फोटा फेसबुकमा राखेका छन् । अब त फेसबुक र विदेश एकअर्काका पर्याय बनेका छन् । श्रीमान र छोराछोरीसँग स्वीडेन आएकी धनकुमारीले पनि जन्मभूमि बिर्साउन फेसबुकमा खाता खोलिन् । अब बिस्तारै टाइप गर्न र च्याट गर्न पनि सिकिसकिन् । पहिला त छोरीले फोटो अपलोड गरिदिन्थिन्, तर यसपटकको  तीजको फोटो र भिडियो उनले आफैं राखिन् । यसरी फेसबुकले नेपाली महिलाहरूलाई कम्प्युटर साक्षर गराइरहेको छ । फेसबुकको माहोल यसरी फैलिएको छ कि अहिले फेसबुक नहुने मान्छे विरलै भेटिन्छ ।
फेसबुकको निर्माण र प्रारम्भ सन् २००४ मा हार्वर्डका एक छात्र मार्क जकरवर्गले गरेका हुन् । त्यसबेला यसको नाम द फेसबुक थियो । कलेज नेटवर्किङका रूपमा सुरु गरिएको यो सञ्जाल कलेज परिसरभित्र लोकपि्रय हुँदै गयो । केही महिनामै यो सञ्जाल युरोपभरि प्रख्यात भयो र अगस्त २००५ मा यसको नाम फेसबुक भयो । एउटा कलेजका विद्यार्थीहरूको सम्पर्कको माध्यमका लागि खोलिएको फेसबुक अहिले संसारमै एउटा प्रसिद्ध सञ्जाल बन्न पुग्यो ।
'फेसबुकले मानिसहरूलाई एक किसिमको नसा लगाएको छ ।'
'यसले सबैको उत्पादनशील समय बर्बाद गरेको छ ।'
'व्यक्तिगत कुराहरू पनि फेसबुकमार्फत सार्वजनिक भएका छन् । मेरो घर, मेरो कुकुर, मेरो बारी भनेर फोटो राख्नुको के औचित्य, किन आफ्नो सबै कुरा संसारलाई थाहा दिने ?'
'मेरो नाम गुगल गर्दा मेरो फोटोसहितको जानकारी सबैले थाहा पाउन् भन्ने म चाहन्न ।'
'कुनै व्यक्तिले के गरेको छ, त्यो नियाल्ने माध्यम भएको छ फेसबुक ।'
'म त आफू फेसबुकमा केही लेख्दिन, तर अरूले के गर्दैछन्, त्यो जान्न मलाई रमाइलो लाग्छ ।'
'फेसबुक त मेरोलागि भगवान भएको छ । यसले मलाई मेरा अति प्यारा विदेशी मित्रहरूसँग भेट्टाएको छ । म फेसबुकप्रति अत्यन्त ऋणी छु ।'
यिनै र यस्तै प्रतिक्रियाहरू मैले पाएँ, फेसबुकका सम्बन्धमा केही व्यक्तिको विचार बुझ्न खोज्दा । मेरा एक अति व्यस्त नेपाली मित्रले भन्नुभयो, 'मानिसहरू समय कसरी पाउँछन्, फेसबुक खोल्न । मलाई त अचम्म लाग्छ ।'
म गएको महिना एउटा सम्मेलनमा सहभागी भएँ । करिब १५० जना अटाउने एउटा सभाकक्षमा सत्र चलिरहेको थियो । म निर्धारित समयभन्दा अलि ढिलो पुगेँ, सबै बसिसकेका र सत्र पनि सुरु भइसकेको थियो । पछाडिको लहरमा लन्डन विश्वविद्यालयका एकजना प्रसिद्ध प्राध्यापक आफ्नो काखे कम्प्युटर (ल्यापटप) खोलेर बसेका थिए । मेरो आँखा झट्ट उनको काखे कम्प्युटरमा पुगिहाल्यो, हेर्दा त फेसबुकको पातो पल्टिएको देखेँ । ए, यस्ता विद्वान प्राध्यापकको पनि फेसबुक रहेछ भनेर मलाई रमाइलो लाग्यो, आफ्नो पनि भएकाले । उनको उत्पादनशील समय बर्बाद भएको छ भनौं भने दर्जनौं अनुसन्धानपरक पुस्तक उनका नाममा प्रकाशित छन् । उनको विषयगत पाण्डित्यले सबैलाई नतमस्तक गराएकै छ । २ लहर अघि गएर बसेँ । बसिसकेर अगाडि हेरेको त एक युवती पनि उनको सानो मोबाइलमा फेसबुक नै हेरेर बसेकी छिन् । छिनछिनमा खोल्दै बन्द गर्दै, बेलाबेला केही लेख्दै पनि गर्छिन् । केही बेरपछि ती फेसबुल खोलेर बसेका प्राध्यापकको प्रस्तुतिको बेला आयो । उनले गएर आफ्नो कार्यत्र प्रस्तुत गरे । उनी सम्मेलनमा सहभागी वरिष्ठतम विद्वानमध्ये ३ जनाको नाम लिँदा एकमा पर्थे ।
यी सबै घटनालाई मनन गर्दा फेसबुक नराम्रै हो भनेर ठोकुवा गरिहाल्न मैले सकिन । तर यो एकदम राम्रो हो पनि भन्न सकिँदैन । नितान्त व्यक्तिगत कुरा पनि फेसबुकमा आए, लोग्नेस्वास्नीको झगडा पनि फेसबुकमा सार्वजनिक भयो भन्ने कुरा पनि सही हो । हालै एक पत्नीले आफ्ना पतिको भित्तोमा 'मसँग नरिसाउनुस् है, मलाई माफ गरिदिनुस् भनेर लेखिन् । पति-पत्नीको कुरो सार्वजनिक भयो भन्दैमा यसलाई नराम्रो पनि भन्न सकिँदैन । आफ्नो कुनै गल्ती भए सबैका अगाडि माफी माग्न सक्नु पनि त एउटा उदारता नै हो । यसबाट पक्कै पनि ती दम्पतिबीचको प्रेम अझ बन्यो होला भन्ने मेरो अनुमान छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out