सत्ता संघर्षका भित्री कुरा

हरि रोका - वर्तमान राजनीति गत्यावरोधको निकास के होला ? प्रधानमन्त्री को बन्ला ? संसद्बाट प्रधानमन्त्री छान्न नसकिरहेका अवस्थामा राष्ट्रपति रामवरण यादव विभिन्नखाले व्यवसायी, राजनीतिकर्मी, कानुनी व्यक्तित्व, कूटनीतिज्ञ तथा अन्य सुरक्षा निकायका व्यक्तिसँग  सल्लाह लिनमा व्यस्त देखिन्छन् । के उनी त्यतिकै चुप लागेर बस्लान् ? धर्मका आडमा पूर्वराजा, युवराजयुवराज्ञीहरू मुठी खोलेर दानधर्म गर्न देशभरका मन्दिर धाइरहेका छन् । सञ्चारमाध्यमहरूले नजानिँदो पारामा उनीहरूको मनोबल उठ्ने गरी प्रचारप्रसार गरिरहेका छन् । धर्मका नाममा पूर्वराजाको धार्मिकयात्रामा भेला हुने गरेका हुक्के, चिलिमे र ढोँगी धर्मअवतारहरू 'राजा आऊ देश बचाऊ' को नारा घन्काउन थालेका छन् । के फेरि राजतन्त्र र्फकला ? शान्तिसुरक्षा धरापमा छ । आपराधिक क्रियाकलाप सुनियोजित र संगठित रूपमै हुन थालेका छन् तिनको नियन्त्रण कसरी र कसले गर्ला ? के यही कामचलाउ सरकारले यस आर्थिक वर्षको बजेट ल्याउला ? शिक्षक, कर्मचारी, प्रहरी, सेना, आदिको भरणपोषणका लागि चाहिने तलबभत्ता आदिको व्यवस्थापनमा व्यवधान पर्‍यो भने के होला ? देशभर चलिरहेका प्रोजेक्ट बजेट अभावमा, निरीक्षण र नियमन अभावमा पूर्ण होलान् ? दलहरूको कहिल्यै नटुंगिने कचिंगलका कारण आउने जेठ १४ भित्र देशले संविधान पाउन सक्ला ?
जबाफको अपेक्षा नगरीकनै यस्ता थुप्रै प्रश्न सोध्ने गरिएका छन् ।
दलहरूका असंगतिपूर्ण क्रियाकलापले, बानी र व्यवहारमा तादात्म्य नदेखिएकाले कोहीकसैसँग पनि 'अब के हुन्छ' भन्ने प्रश्नको बनीबनाउ उत्तर छैन । दलहरू यति बिघ्न एकअर्काप्रति किन सशंकित छन् ? विश्वासको पोखरी किन यतिसारो धमिलो देखिएको हो ? आशंका सबैका मनमा उत्पन्न भइरहेको छ । केही अनिष्ट त हुने नै भयो तर के हुन्छ ? कसरी हुन्छ ?  कहिले हुन्छ ? र कसले गर्ला ? यस्ता खुलदुली सबैका मनमा छ ।
स्याङजा बेलटारीमा दसैंको अवसर पारेर बुढापाका र युवाको जमघटमा यस्तै राजनीतिक गफगाफ चलिरहेका बेला पंक्तिकारले भाग लिने मौका पायो । छोटो चिनापर्चीपछि उल्लिखित प्रश्न दोहोरिए । आशंकाका रेखा कोरिए । चुपचाप बसेर पाका मानिसहरूको राजनीतिमाथिको टिप्पणी सुन्न आफ्नै खालको आनन्द आउँछ । 'नेपाल अजिब छ' एकजना पाका मानिसले लामो अर्थ लाग्ने कुरा भन्न भ्याए । 'चमत्कार भन्न मिल्ने गरी रातारात केही सहमति भइहाल्ने र कहिलेकाहीं वषौर् वर्ष केही नहुने अचम्मको देश हो यो' तिनले थपे ।
२००७ सालमा कांग्रेसले क्रान्ति गर्‍यो तैपनि उही राणा प्रधानमन्त्री भयो । एकपटक भागिसकेका राजालाई कांगे्रसले फर्काएर ल्यायो र राजगद्दी दिलाइदियो । त्यही राजाका छोराले प्रधानमन्त्री रहेका बीपीको सरकार भंग गरेर आठ वर्ष जेल कोचिदियो । हिजोसम्म कांग्रेसमा लागेर सत्ताको स्वाद पाएका मानिस लाजसरम नमानी रातारात बीपीको घररूपी कांग्रेस छोडेर तत्कालीन राजा महेन्द्रका घरमा डेरा सरे । २०४६ सालमा गणेशमानको नेतृत्वमा जनआन्दोलन भयो । उनले प्रधानमन्त्री पद प्राप्त भएर पनि खाएनन् तर जुन कांग्रेसलाई वषौर्को त्यागतपस्या र बलिदानी संघर्षमार्फत राज्यसत्ता दिलाएका थिए, कालान्तरमा उनले त्यही कांग्रेसमा बास पाएनन् । त्यत्रो जनयुद्ध गरेर पाखामा फालिएका किंमकर्तव्यविमूढ अवस्थामा रहेका दललाई सँगै लिएर आएको माओवादीलाई जनताले ठूलो पार्टी बनाइदिए तर अहिले अरू दलहरू मिलेर उसैलाई पाखा लगाउन खोजिरहेका छन् । अचम्म होइन त ? ती पाका मानिसले थपे । केहीले गह्रांै मन्टो हल्लाएर समर्थन गरे । केहीलाई पचाउन गाह्रो परेको पनि देखिन्थ्यो तर कसैले उनको कुराको प्रतीकार गरेनन् । स्पष्ट थियो मुलुकको राजनीति धमिलिएको देखेर मानिस चिन्तित थिए । अर्का एक अधबैंसेले सोधे यस्तै अनमेल र अस्थिरताको राजनीति नेपालमा मात्रै किन दोहोरिइरहन्छ ? उत्तर खोज्न हामी अलग्गियौँ र आआफ्ना गुँडतिर लाग्यौँ । साँझ रातमा परिवर्तन भइसकेको थियो ।
२००७, २०३६, २०४६, २०६२/६३ सालका महत्त्वपूर्ण संघर्षमा कहिले पछि लागेर, कहिले प्रत्यक्ष संलग्न भएर र कहिले टाढाबाट हेरेर अनुभूति सँगालेका बुढापाकाहरूको कमी छैन गाउँघरमा । ठूलाठूला दलका नेतरू सहमति खोज्न वार्ता गरिरहेका छन् तर आआफ्नो अड्डीमा उभिन्छन् र सहमतिको सट्टा विमतिमा पुग्छन् र उठ्छन् । राजनीतिमा गहिरो फाटो देखिएको छ । स्टेटम्यानसिप देखाउने कोही देखिँदैन । यसप्रकारको फाटो चौडा हुँदै गएमा भोलिका दिनमा अप्ठ्यारो संकट बेहोर्नुपर्ने कुराले आफू र आफ्ना सन्ततिको भविष्य के हुने हो भन्ने गम्भीर सवाल खडा भएको छ ।  गाउँले दिक्क र दुःखी देखिएका छन् । स्थिरता, शान्ति र व्यवस्था नसुधि्रएको देखेर चिन्तित छन् । यद्यपि वर्गीय समाजमा सहमति र सम्झौताले शान्ति, स्थिरता र सामाजिक न्याय स्थापित हुन सक्दैन भन्ने पनि तिनले नेपालको लामो राजनीतिक अभ्यासका दौरान भोग्दै आएका छन् । त्यसप्रति सचेत देखिन्छन् तर मलाई भने एक हिसाबले खुसी पनि लाग्यो । मानिस राजनीतिको गफ गरिरहेका छन् र आफ्नो गच्छेअनुसार राजनीतिक निकास के हुन सक्छ भनेर अहिलेको कोलाहलपूर्ण माहोलमा समेत निकास खोज्न तल्लीन छन् । 
सधैंको अन्योल र अस्थिरता, अलमल र आशंकाले संकट निम्त्याउँछ भन्ने कुरामा दोधार कसैमा नहुनुपर्ने हो तर पुराना दलहरू जानाजानी अलमल गरिरहेका छन् । परिवर्तनलाई नरोक्दा धेरै कुरा गुमाउनुपर्ने आशंका पालिरहेका दलहरू अनेक बहाना खोजिरहेका छन् । अलमल गराइरहेका छन् र असहमति र शान्तिसम्झौतै भंग हुने दिशातर्फ उन्मुख देखिएका छन् । तिनीहरूलाई लागेको छ अहिलेको शक्तिसन्तुलनमा माओवादी कमजोर छ । सैन्य, अन्तर्राष्ट्रिय समर्थन, मिडिया तथा कार्यनीतिक कमजोरीका कारण माओवादीले प्राप्त गरिरहेको जनसमर्थनमा व्यापक  कटौती भएको तिनले अड्कल काटेको देखिन्छ । सम्झौतामाथि सम्झौता गराएर, एकमाथि अर्को खोँचे थापेर उनीहरू माओवादीलाई गलाउन चाहन्छन् । जनताका पक्षमा हुनैपर्ने, कार्यान्वयन गराउनैपर्ने प्रत्येक मुद्दालाई छोडाउन चाहन्छन् र आफूजस्तै एजेन्डाविहीन यथास्थितिवादको आहालमा चुल्र्लुम्म डुबाउन चाहन्छन् । जति ढिला हुदै जान्छ क्रान्तिकारी कार्यकर्ताहरूको गतिशीलता, आवेग र आक्रोश मत्थर हुदै जान्छ । विगतजस्तै सांसारिक जीवनमा डुब्न थालेपछिको जिन्दगी कस्तो हुन्छ तिनीहरूलाई राम्ररी थाहा छ किनकि उनीहरूको आफ्नो विगत सांसारिक जीवनमा प्रवेश गर्नुअघि र पछिका आवेगपूर्ण क्षेणहरूमा आएका परिवर्तनको अनुभव उनीहरूसँग प्रयाप्त छन् । नेताकार्यकर्ताहरू एकपटक सत्तासुविधा भोग गरेपछि कसरी सुस्ताउँछन्, कसरी खतरा मोल्न हिच्किचाउँछन् भन्ने उनीहरूका आफ्नै अनुभव छन् ।
परिवर्तन नहँदा सबैखाले संकटको मार अहिलेको संसारमा गरिब, दीनदुःखीले खेप्नुपर्ने हुन्छ जो कसैबाट लुकेको छैन । राज्यको उपयुक्त पुनसर्रचना नहुँदा धनीमानी र राज्यको दोहन गरेर ज्यान पालिरहेकालाई केही फरक पर्दैन । शासकीय प्रणालीगत ढाँचामा परिवर्तन नखोजिँदा, सामाजिक न्याय र समानताका लागि सम्पत्तिको वितरण र पुनर्वितरण नहँदा कांग्रेस र एमालेलाई केही फरक पर्दैन किनकि उनीहरूले काखी च्यापेको वर्गले परिवर्तन हुँदा आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक हिसाबले केही गुमाउनुपर्ने निश्चित हुन्छ । त्यसैले उनीहरू मौकाको ताकमा छन् परिवर्तनलाई सखाप पार्न । प्रधानमन्त्री निर्वाचनको रोटेपिङमा कांग्रेस मच्चिरहनु र एमालेले भोट नखसालेर राष्ट्रिय सहमतिको धुन गुन्जाइरहनुमा पक्कै नयाँ खिचडी पकाउन खोजिँदै छ भनेर माओवादीका शीर्ष नेताहरूले बुझ्न नसक्नु आफंैमा आश्चर्य लाग्ने विषय हो । झलनाथ खनाल प्रधानमन्त्रीमा आफूलाई विराजमान गराउन सहमति खोजिरहेका छन् तर बिस्तारैबिस्तारै जनवर्गीय संगठनमा समेत पकड गुमाउँदै गएका उनलाई माधव नेपाल र केपी ओलीले ज्यान गए प्रधानमन्त्री हुन नदिन कम्मर कसेर लागेका छन् । यी कुरा माधव र ओलीका प्रत्येक भाषणमा दोहोरिने गरेका छन् । झलनाथले बुझ्न नखोज्नु अर्कै कुरा हो । एमाले केन्द्रीय कमिटीले कांग्रेसलाई  भोट हाल्ने निर्णय गर्‍यो भने झलनाथ त्यही समाचार सुनाउन नयाँ बजारस्थित प्रचण्ड निवासमा पुग्नेछन् । उनले भन्नेछन् कामरेड केही लागेन, हामी त कांग्रेसमा समाहित भयौँ । राष्ट्रिय सहमतिका लागि तपाईंहरू पनि सामेल हुनुहोस् । साउन लागेपछि वषर्ा हुन्छ भन्ने सत्यजस्तै तटस्थताको राग अलापेर बसिरहेका मधेसी दलहरूले तत्काल कांग्रेसलाई भोट हाल्ने निर्णय सुनाउनेछन् र अहिलेको यो लामो नाटकको पहिलो पारी समाप्त हुनेछ । वस्तुतः अनमिनको म्याद नगुजारुन्जेल र अनमिन नफर्किउन्जेल भोट हाल्ने त्यस्तो नौवत नआउला । शान्ति प्रक्रिया र सेना समायोजन हुन नदिन र ओसीएचएचआर हटाएपछि आइलाग्ने परिस्थितिको मुकाबला गर्न चाहिने बलियो सरकार त्यसपछि मात्र बन्न सक्छ भन्ने अड्कल काट्न गाह्रो छैन ।
तैपनि माओवादी नेताहरू आपसी खिचलोमा किन अल्भिरहेका छन् बुझि नसक्नु छ ।
दलहरू किन मिल्न सकिरहेका छैनन् ? सेना समायोजनको सूत्र लगभग तयार भइसकेको छ । पीएलएको संख्या, नाम, ठेगाना, सरकारलाई हस्तान्तरण भइसकेको छ । वाईसीएलको तथाकथित ब्यारेकीकरण तत्काल भंग गर्ने बताइसकिएको छ । तैपनि माओवादीलाई अछुत राख्नैपर्ने प्रयत्न किन भन्ने प्रश्नको उत्तर एउटै छ, त्यो हो सहभागितामूलक, संघीय, सम्पत्तिको पुनर्वितरण गर्ने, स्वाभिमानयुक्त राष्ट्रिय राज्य बन्न प्रेरित गर्ने संविधान बन्न नदिनका लागि । यो अस्वाभाविक होइन । नेपाली राज्य गणतन्त्र सँगसँगै वर्गीय राजनीतिमा घनीभूत रूपमा प्रवेश गरिसकेको छ । वर्गीय स्वार्थमा आआपना अडान दोहोरिनु कुनै नौलो होइन, हँदैन । वार्ता र छलफलमा देखिने असहमति र अडानलाई आफ्नो हकमा निर्णय गराउन राज्यले हिंसात्मक रूप लिने अवस्था आउन सक्ने सम्भावनालाई नकार्न सकिन्न । विश्व इतिहासहरूलाई केलाउँदा देखिने परिदृश्यमा वर्गसंघर्ष सबै संघर्षहरूभन्दा निर्मम हुन्छ भन्ने थाहा हुन्छ । नपत्याउँदो भेषमा निम्तिने त्यस्ता संघर्षका लागि माओवादी तयार छ छैन ? दसैंको छुट्टीमा तिनका नेताले गम्भीरतापूर्वक सोचून् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out