हिमानीलाई शुभकामना!

रवीन्द्र मिश्र - हिमानी ट्रस्टको स्थापनालाई सकारात्मक दृष्टिले हेर्नुपर्छ तर काम सानो ‘जनताको सेवा' र जनताको आँसु' जस्ता ठूला कुरा गर्ने ससुराको स्वभावको भने हिमानी शाहले अनुकरण नगर्दा नै बेस हुन्छ।
आजभन्दा दस वर्षअघिको कुरा हो। गणतन्त्रको चर्चा मूलतः माओवादी वृत्तमा सीमित थियो। लोकप्रिय ठानिएका राजा वीरेन्द्र गद्दीनसीन थिए। त्यतिबेला म एउटा पाक्षिक पत्रिकामा स्तम्भ लेख्थेँ। त्यसको १६ चैत, २०५७ को अंकमा मेरो ‘नेपालमा पनि 'युवराजधिराज कोष' स्थापना गरे कसो होला? शीर्षकको लेख छापिएको छ। त्यस लेखमा मैले ब्रिटिस राजपरिवारका सदस्यको लोक कल्याणकारी कार्यमा रहेको संलग्नता र त्यसबाट उनीहरूको प्रतिष्ठा उचा राख्न पुगेको सहयोगको चर्चा गरेको थिएँ। ब्रिटेनजस्तो आधुनिक र क्षमताको कदर गर्ने ‘मेरिटोक््रयाटिक' समाजमा पनि राजतन्त्र कायम रहनुको मूल कारण त्यहाँको राजसंस्थाले लोक कल्याणमा पुर्‍याएको योगदान नै हो भन्ने मैले लेखेको थिएँ। लेखमा मैले लेखेको थिएँ - ‘राजसंस्थासमान्तवादको प्रतीक हो भन्ने गणतन्त्रवादीहरूको बढ्दो संख्या र प्रजातन्त्र प्राप्तिसँगै राजपरिवारका सदस्यका लागि राष्ट्रले गरिरहेको खर्चको औचित्य खोज्नेहरूको तर्कलाई विचार गर्दा राजपरीवारका सदस्यबाट सामाजिक कल्याणका कार्यमा अगुवाइ र सक्रियता बढाउनु नितान्त जरूरी देखिन्छ।'
ब्रिटेनमा पनि पढेका र त्यहाँको भ्रमण गर्दा युवराजधिराज कोष (प्रिन्सेज ट्रस्ट) को बारेमा राम्ररी जानकारी लिएका तत्कालीन युवराज दीपेन्द्रले त्यस्तो सुझावलाई सकारात्मकरूपमा लिनुपर्ने भन्ने मलाई लागेको थियो। तर सो लेख लेखेको तीन महिना पनि नपुग्दै भएको राजदरवार हत्याकाण्डले राजसंस्थाको स्वरूपलाई पूर्णतः बदलिदियो। हुनत, दरबार हत्याकाण्डपछि युवराज बनेका पारसको बदनाम विगतका कारण उनको सकारात्मक छवि निर्माण गर्न युवराजधिराज कोषको अवधारणाले अझ बढी महत्व राख्ने थियो तर त्यसतर्फ न उनले न त उनका पिताले कुनै चासो लिएको देखियो।

राजा ज्ञानेन्द्रलाई वियोगान्त घटनाको परिणामस्वरूप नै भए पनि भाग्यले इतिहासको पानामा स्वर्ण अक्षरले नाम लेखाउने मौका दिएको थियो। निर्वाचित सरकारबाट सत्ता हत्याउँदासमेत उनलाई जनसंख्याको ठूलो हिस्साले कयौं महिनासम्म शंकाको लाभ दिएको थियो। तर राजकीय गुण र नेतृत्व क्षमताको अभाव एवं चरम हठले गर्दा उनले आफ्नो धरातल छिटै गुमाए। आन्तरिक शक्तिहरूसँग सनतुलित व्यवहार गर्न सकेको भए सम्वतः उनी भारतीय ‘डिजाइन'को सिकार बन्नुपर्ने थिएन। (मेरिटोक्रयासी' मा विश्वास गर्ने यो स्तंभकार वंशानुगत अधिकारमा आधारित राजसंस्थाको पक्षधर होइन र कहिले हुने पनि छैन। तर नेपालको परिस्थितिमा राजतन्त्र नहुँदा त्यसले राष्ट्रिय स्थिरता, अखण्डता र सार्वभौमसत्तामा दूरगामी नकारात्मक असर पार्छ भन्नेमा चाहिँ म सधैँ विश्वस्त थिएँ। त्यसैभएर राजतन्त्रको अन्त्य हुनेबित्तिकै ‘दुःख छैन, चिन्ता छ' शीर्षकमा (११ असार, २०६५, नेपाल साप्ताहिक) मा छापिएको लेखमा लेखेको थिएँ - ‘देशको शान्ति, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको वास्तविक निर्क्योल दिल्लीमा हुने परम्परालाई हामीले यसपटकको परिवर्तनबाट झन्डैझन्डै संस्थागत गरिदिएका छौँ। त्यतिबेला त्यस्तो लेख्दा धेरैले मलाई प्रतिगामि भन्ठाने। आज ती सबै नारायणहिटी दरबारमा रहेको शक्ति दिल्ली दरबारमा सरेको तथ्य सार्वजनिकरूपमै स्वीकार गर्छन्। गत साता मात्र एकजना वरिष्ठ माओवादी नेताले यस स्तम्भकारलाई भने - ‘राजा हुँदा कति कुरा दिल्लीले भनेको उनले मान्नु पर्थ्याे र कति चाहिँ राजाले भनेको दिल्लीले मान्नु पर्थ्याे, दुई देशबीच कमसेकम एक हदसम्मको सन्तुलित र सम्मानजनक व्यवहार हुन्थ्यो। अब त दिल्लीले जे भन्यो त्यहीमात्र हुने परिस्थिति आएको छ।' यो परिस्थिति आउँछ भन्ने स्पष्ट शंका भएकोले देशभर गणतन्त्रको दक्षिणी बतास चलिरहेको बेला म उल्टो बगिरहेको थिएँ। राजतन्त्रमा सुधार ल्याएर, त्यसको शक्तिलाई नियन्त्रित गरेर परिकल्पना गरिएको परिवर्तनमात्र वर्तमान नेपालको परिप्रेक्षमा फलदायी हुन्छ भन्ने मेरो मान्यता थियो। तर नेताहरू खराब हुँदा तिनलाई सुधार्न निरन्तर दबाब दिने नेपालीमा राजा खराब हुँदा चाहिँ उनलाई सुधार्न बाटो खोज्ने धैर्य रहेन। बरु, हाम्रा नेता सहसचिवस्तरको भारतीय राजदूतको आज्ञा शीरोपर गर्न तयार भए। राजासँग स्वाभिमानका कुरा गर्ने नेताले देशका प्रधानमन्त्रीलाई औपचारिक भेटमा भारतीय राजदूत राकेश सुदले मोजा पनि नलगाई लगाएको जुत्ता र पाइन्ट सर्टमा भेट्दा स्वाभिमान गिरेको महसुस गरेनन्। यो लेख्न पर्दा पनि मुटु काटिएर आउँछ!)

ज्ञानेन्द्र शाह राजा हुँदै अन्तर्वार्ता लिने प्रयासमा भएको दुई पटकको भेटमा अनौपचारिक कुराकानी हुँदा यस स्तंभकारले उनलाई अन्य देशको राजतन्त्रको लोकप्रियताका कारणहरू बताउँदै ‘राजनीति शून्य तर लोककल्याण पूर्ण' आचरण प्रस्तुत गर्नु राम्रो हुने विचार सुझाएको थियो। त्यतिबेला उनले मलाई भनेको थिए, ‘हामी त्यसबारेमा सोच्दै छौँ। तर कहिले काहिँ कुनै सामाजिक कार्यका लागि उनले दिएको नगण्य पैसाको दान हेर्दा खल्तीबाट पैसा झिक्न पर्‍यो कि पसिना आउने व्यक्तिले बृहत्तर लोककल्याणकारी योजनाका बारेमा सोचे होलान् भन्नेमा मलाई शंकै छ। सामाजिक कामका लागि उनले गरेभन्दा बढी आर्थिक सहयोग त निम्न मध्यम वर्गका मैले नै चिनेका कयौं व्यक्तिले गरिरहेका छन्। त्यतिबेला उनलाई राजा वीरेन्द्रको सम्पत्तिबाट कल्याणकारी ‘ट्रस्ट' स्थापना गर्न व्यापकरूपमा सुझाइएको थियो तर उनी व्यक्तिगत लालसाबाट माथि उठ्नै सकेनन्। आफू त्यस्तो परिस्थितिमा राजा हुनुको महत्व बुझ्नै सकेनन्।

उनी राजाबाट हटिसकेपछि पनि मैले यसै दैनिकमा लेखेको ‘पूर्व राजालाई खुलापत्र' (३१ भदौ, २०६६) मा उनलाई लोककल्याणमा बाँकी जीवन अर्पण गर्नुमै उनको हित छ भन्ने सुझाएको थिएँ। विडम्बना, मौका पाउने बित्तिकै ‘नेपाली जनताको सेवा गर्न चाहन्छु' भन्न नचुक्ने पूर्व राजाले अहिलेसम्म जनताको साँच्चिकै सेवा हुने काम गर्दै गरेका छैनन् भने पनि हुन्छ। उनले बु‰नु पर्छ, उनीजस्तो पृष्ठभूमिको व्यक्तिबाट मठमन्दीरमा पूजा गरेर या मुखले बोलेर होइन, खल्ती नै खोलेरमात्र जनताको सेवा हुनसक्छ। खल्ती कसेर जीब्रोले आदर्श बक्नु उनका लागि शोभादायी हुँदैन।

हिमानी ट्रस्टको घोषणा गरेर राजतन्त्र कायमै रहँदा थालिनुपर्ने शुभकार्य पूर्वयुवराज्ञी हिमानीबाट ढिलै भएपनि थालिएको छ। यो सराहनीय छ। तर, अहिलेसम्मको हिमानीका परोपकारी कार्यका हकमा पनि कामभन्दा कुरा धेरै भएका छन्। उदाहरणका लागि आफ्नो जन्मदिनमा उनी पशुपति या कतै गएर असहायलाई खानेकुरा र कम्बल­सम्बल वितरण गर्छिन्, अनि दंग पर्छिन्। संचार माध्यमले त्यसलाई प्रमुखतासाथ प्रकाशन र प्रसारण गर्छन्। उनले गरेजस्तो त कयौं सामान्य नेपालीले गर्दै आएका छन्। उनीजस्तो व्यक्तिबाट हुने काम त्यसभन्दा ठूलो स्तरको हुनुपर्छ। आफ्ना ससुराकोजस्तो काम सानो अनि ‘जनताको सेवा' र ‘जनताको आँसु'का ठूला कुरा गर्ने बानि उनले नसिक्दै राम्रो होला। भविष्यमा हिमानी ट्रस्टबाट हुने गतिविधिलाई कामको आधारमा मूल्यांकन गरिनुपर्छ, उनको बोली र प्रचारात्मक खानेकुरा र कम्बल वितरणको आधारमा होइन। उनले पचास लाख रुपैयाँ राखेर ट्रस्ट सुरु गरेको बताएकी छिन्। उनको र ट्रस्टमा संलग्न अन्यको पृष्ठभूमि हेर्दा त्यति ठूलो तामझामका साथ घोषणा गरिएको ट्रस्टको राशि पचास लाख रुपैयाँमात्र हुनु खासै ठूलो कुरा होइन। तुलना गर्न खोजिएको होइन तर उनको पृष्ठभूमिको व्यक्तिले गरिब र दुखीको आँसु पुछ्ने विषय सार्वजनिकरूपमै उठाइसकेपछि, उनले उठाएको कदम पनि त्यहीअनुरूप हुनुपर्छ। उनले आफ्नो ट्रस्टको उद्देश्य अत्यन्त फराकिलो राखेकी छिन्। आउँदा दिनमा धेरै ठूलो रकम नजुटाउने हो भने पचास लाख रूपैयाँको ट्रस्ट स्थापना गरेर त्यसले शिक्षा, स्वास्थ्य, बालबालिका, बृद्धबृद्धा र युवा सबै क्षेत्रमा काम गर्न असंभव हुनेछ।
हिमानी शाहले ट्रस्टलाई राजनीतिसँग नजोड्न आग्रह गरिन् तर उनी स्वयंले ट्रस्टको उद्घाटन समारोहमा पूर्व राजा र रानीलाई अझै पनि राजतन्त्र कायमै छ भन्ने अर्थ लाग्ने गरी ‘श्री ५ महाराजाधिराज' र ‘श्री ५ बडामहारानी' भनेर सम्बोधन गरिन्। त्यो पूर्णतः राजनीतिक सम्बोधन थियो। समाज सेवा नै गर्ने हो भने त्यस्ता अनावश्यक राजनीतिक रँग नदल्दा नै उनको हित हुनेछ। नेताहरूको खस्कँदो छविका कारण पूर्व राजा, हिमानी स्वयं र पूर्व युवराज पारसको समेत स्वीकार्यता बढ्दै गएको देखिएको छ। तर कुन हदसम्म स्वीकार गर्ने भन्ने विषय पूर्व राजपरिवारले जनता र राजनीतिक दललाई नै छोडिदिनु उपयुक्त हुनेछ। विशुद्ध समाजसेवा गर्ने हो भने पूर्व राजपरिवारको छवि स्वतः सकारात्मक बन्दै जानेछ। भोली देशको स्थिति अत्यन्त प्रतिकूल हुँदै गयो भने, निश्चय पनि धेरैले पुनः राजतन्त्रको ओत खोज्नेछन्। तर समाजसेवाको जालो हालेर धमिलो पानीबाट ‘श्री ५ महाराजाधिराज' र ‘श्री ५ बडामहारानी' लाई सतहमा ल्याउन खोजेको हो भने हिमानी ट्रस्टले बृहत्तर सद्भाव बटुल्न सक्नेछैन। ट्रस्टको उदघाटन समारोहमा पूर्व राजाले आफूलाई ज्ञानेन्द्र शाहमात्र भनेर सम्बोधन गर्दा पुग्ने बताए। तर उनकै नाममा बाँडिएको विजया दशमीको शुभकामना कार्डमा उनको नाम ‘ज्ञानेन्द्र वीर विक्रम शाहदेव' लेखिएको छ। गद्दीनसीन राजाबाहेक अरूका हकमा 'देव' लेख्ने प्रचलनै छैन।

माथि उल्लेखित सबै बुँदाप्रति ध्यानाकर्षण गराउनुको तात्पर्य के हो भने नेपालको आन्तरिक र भूराजनीतिक परिस्थितिका कारण नेपालले भोलि ठूलै अनीष्टको सामना गर्न पर्दैन भनेर ढुक्क हुनसक्ने स्थिति छैन। त्यसबारे विश्लेषक तथा राजनीतिज्ञले पनि चिन्ता व्यक्त गरिरहेकै छन्। साँच्चिकै त्यस्तो परिस्थिति आयो भने बलियो परम्परागत र सांस्कृतिक आधार भएको पूर्व राजसंस्था राष्ट्रका लागि उपयोगी साबित हुनसक्छ। त्यसैले, पूर्व राजाप्रति जसलाई जति आक्रोश भए पनि, राजसंस्थाको अवधारणामै जति विमति भए पनि र सो संस्थाका सबै सदस्य सामान्य नागरिकसरह भैसकेका भए पनि, तिनको गतिविधि र छवि उच्च रहनु नेपाल र नेपालीका लागि हितकर हुनेछ। गणतन्त्र घोषणा हुनुपूर्वका केही वर्षमा राजा ज्ञानेन्द्रको छवि र विश्वसनीयता आएको ह्रासको असर अझसम्म गइसकेको छैन। त्यसलाई सुधार गर्न हिमानी ट्रस्टले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ तर त्यसका लागि हिमानी शाहमा इमान्दारीको खाँचो पर्नेछ र उनले बोलेर होइन, उल्लेख्य कामै गरेर देखाउने पर्ने हुन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out