भारतीय खबरको संवेदनशीलता

सूर्यनाथ उपाध्याय - हालै भारतीय अखबार इन्डियन एक्सप्रेसको 'नेपाली भूमिमा नेपाली माओवादी र लस्करे तोयवा नामको पाकिस्तानी मूलको अन्तर्राष्ट्रिय आतंकवादी संस्थाले भारतका केही माओवादीलाई तालिम दिइरहेकोप्रति सचेत रहन भारतको गृह मन्त्रालयले केही नेपालीसित जोडिएका र भारतीय माओवादीको प्रभाव रहेका प्रान्तका सरकारहरूलाई निर्देशन दिएको' खबर निकै गम्भीर र खतरापूर्ण रहेको छ । भारतीय शासनको आडमा माओवादीले नेपालमा सबै हातहतियार ल्याउनु, भारतको जमिनलाई प्रयोग गर्नुदेखि लिएर १२-१५ वर्षसम्मको ससस्त्र विद्रोह जसलाई मुक्तिकामी जनताको संघर्षको नाम दिइएको थियो, भइरह्यो । अन्त्यमा, फेरि भारतकै तत्परतामा शान्ति सम्झौता भयो र अहिले हामी पुरानो सत्ता समाप्त पारेर नयाँ समृद्ध नेपालको निर्माणमा लागेका छौं । यहाँ आउँदासम्ममा नेपाली माओवादीको मुक्तिकामना र संघर्ष अब देशको स्वाभिमान र राष्ट्रियताको संघर्षमा परिणत भई त्यसै क्रममा भारतसितको फाटो बढ्न गएको छ । यसबीचमा किन र के कारणले पहिले दुवै शक्ति के उद्देश्यले आ-आफ्नै वा संयुक्त स्वार्थका लागि एक-दोस्रोको आड पाउँदै थिए,  अहिले के बिगि्रयो, के कसले प्राप्त गर्‍यो, कसको उपादेयता सकियो वा कसको उद्देश्य कहाँनेर ठक्कर खायो, यो आफंैमा नेपाल र भारत सम्बन्धको जटिल तर रोचक ऐतिहासिक विश्लेषणको पाटो हो । जसको विश्लेषण समयअनुसार हुने नै छ । तर अहिले जेजसरी आरोप लगाइएको छ, त्यो वास्तवमा माओवादीप्रति लक्ष्यित छ भनेर केही व्यक्तिहरूले त्यसलाई वास्ता नगर्न वा यो माओवादी र भारतीय शासक वर्गबीचको समस्या भनेर आत्मतुष्टि लिन सक्लान्, तर देशका लागि भने यो राम्रो संकेत पक्कै होइन । भारतीय अखबारमा निक्लेको त्यो समाचारले एउटै कुरा भनिरहेछ- नेपालको भूमि भारतको गम्भीर हितविरुद्ध प्रयोग भइरहेको छ र त्यो पनि यहाँको राजनीतिक ठूलो दलको       तर्फबाट । यस्तो हो/होइन के हो ? नेपाल सरकारले यो आरोप होइन भनेर चुप लाग्ने वा यसबारे भारतीय पक्षसित कुराकानी गरी त्यस्तो सूचना छ भने त्यसको निराकरण
गर्ने ? नेपालको घोषित नीति आफ्नो भूभाग कसैको हितविरुद्ध प्रयोग हुन नदिने नै छ र त्यसमा पनि छिमेकी मुलुकहरूप्रति त झन ्संवेदनशीलता रहिआएको छ । यति सानो मुलुक छिमेकी ठूला मुलुकहरूसित जोरी खोजेर टिक्न-बस्न सक्दैन । यस्तो संवेदनशील विषयमा नेपाल सरकार स्वयम् आफैं अग्रसर भएर आफ्नो भूभागमा त्यस्तो क्रियाकलाप हुन नदिन सक्रिय भएर अगाडि आउनु अत्यन्त आवश्यक छ । नेपालको भूमि प्रयोग भयो भनी भारततर्फबाट लगाइएको आरोप माओवादीतर्फ होइन, स्वयम् नेपालको सरकारतिर लक्ष्यित छ । त्यसैले यसबारे सरकारले दरिलो किसिमले कारबाही गर्नु र होइन त्यस्तो भएको छैन भने खण्डन गरेर भारत सरकारलाई आश्वस्त पार्नु आवश्यक छ ।
त्यतिमात्र होइन, नेपालको भूमिमा मित्रराष्ट्रका प्रति गरिनुपर्ने मर्यादा कायम गराउनु पनि सरकारको काम हो । भारतीय कूटनीतिज्ञप्रति भएको व्यवहार शोभनीय होइन, यसका लागि सरकारले त्यस्ता तत्त्व वा व्यक्तिलाई उचित दण्डनीय कार्य गर्नुपर्छ । वास्तवमा दुई राष्ट्रको सम्बन्ध दुई सरकारमार्फत हुन्छ र सरकारले नै राष्ट्रको प्रतिनिधित्व गर्छ । एउटा मित्रराष्ट्र र दलबीचको यो संघर्षले सरकारलाई असान्दर्भिक र किनारामा राख्ने वा राखिएको वा हुनगएको जुन अहिलेको परिस्थिति छ, त्यो न कूटनैतिक नत वैदेशिक सम्बन्ध सञ्चालनको मर्यादाअनुरूप हो, न यो नेपालका लागि उपयुक्त हो । भारतकै लागि पनि उपयुक्त होइन । नेपालको राजनीतिमा भारतीय उपस्थितिले यस्तो तनावलाई कम
गर्दैन । भारतले दलहरूसित होइन, सरकारसित काम गर्नुपर्छ, सम्बन्ध राख्नुपर्छ । भारतीय कूटनीतिज्ञले जेजसरी यस देशमा विकास योजना बाँड्दै हिँड्छन्, जेजसरी जहाँ पुग्छन्, जे गर्छन्, त्यसबाट आफ्नै देशमा नेपाल सरकार किनारामा पर्दै गएको कुरा प्रस्ट छ । यस्तो कसका कारणले किन भइरहेको छ, यसको दूरगामी प्रभाव भारत-नेपालको सम्बन्धमा राम्रो पर्दैन । यति सत्य हो कि नेपालको वस्तुस्थितिमा नेपाल सरकारले आफ्नो स्थिति किनारामा पार्नु कुनै पनि नेपालीलाई दुःखद अनुभव हो र भारतका लागि पनि राम्रोचाहिँ हैन । दुवै सरकारले आफ्नो सीमा र मर्यादालाई बुझ्नु जरुरी छ ।
यस खबरको संवेदनशीलतालाई अर्को पाटोबाट पनि केलाउन
सकिन्छ । नेपालको भूमि भारतका लागि प्रयोग भयो भन्ने गुनासो यसपटक मात्र होइन, यसभन्दा पहिले पनि पटक-पटक भएको हो । नेपालको भूमिबाट पहिले पहिले अवैधानिक व्यापार भएको आरोप लाग्थ्यो, संसारमै र भारतमा पनि मुक्त व्यापारको अवधारणा पालन गरिएपछि त्यो हट्यो, तर अहिले आतंकवादको लागि वा लागूपदार्थ ओसारपसार वा अवैध मुद्राको कारोबारका लागि प्रयोग भयो भन्ने कुराको गुनासो छ । यस्तो गुनासो रोक्नका लागि गतिलो प्राथमिक काम भनेको खुला सीमाको व्यवस्थालाई कडा वा उचित रूपले नियमन गर्नुपर्छ भन्ने कुरा भारतलाई थाहा नभएको विषय होइन । तर त्यसतर्फ भने जहिले पनि नेापलको तर्फबाट मात्र चासो प्रकट भइरहेका छन्, भारतको तर्फबाट भने छैन । यो भने बुझ्न नसकिएको विषय हो । नेपाल र भारतबीचको सीमा भौतिक रूपले कायम छ, तर त्यसलाई सन्दर्भहीन बनाउने, राख्ने र मान्ने एकातिर र अर्कोतिर नेपालको भूमिबाट भारतीय हित विपरीतका कामहरू भएभन्दा यी दुई कुरा एक-दोस्रोसित मिल्दैनन् । यस्तो किन ? प्रकट रूपमा यो सरल प्रश्नको सजिलो र विश्वासिलो उत्तर नपाउनुले नै हाम्रोबीचको जटिल सम्बन्धलाई संकेत गर्छ । के हामी दुवै मिलेर त्यसको व्यवस्थापन र नियमन गर्न सक्दैनौं ? कुनै पनि राष्ट्रले आफ्नो आत्मरक्षार्थ केही सीमासम्मको बल प्रयोगको छुट अन्तर्राष्ट्रिय कानुनले पनि दिएको छ । त्यतिमात्र होइन, त्यस्तो बल प्रयोग आफ्नो हित विरुद्धको काम हुने पूर्वअनुमानको आधारमा पनि केही अवस्थामा हुनसक्छ । अपहरण गरिएका आफ्ना नागरिहहरूलाई इजरायलले युगान्डाको एन्टेवे एयरपोर्टमा आक्रमण गरेको विषय होस् वा पूर्वी पाकिस्तानबाट हजारौं शरणार्थी आफ्नो देशमा पसेकाले आन्तरिक र अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा खतरा उत्पन्न भयो भन्ने आधारमा आफ्नो सैनिकलाई बंगलादेशमा पसाएर पाकिस्तानी फौजलाई आत्मसमर्पण गर्न लगाउने भारतीय क्रियाकलाप होस् वा इराकमा सर्वनाशी आणविक हतियार भएको पूर्वअनुमानको आधार होस्, अन्तर्राष्ट्रिय कानुनकै आडमा अर्काको देशमा यी फौज पठाउने कामहरू भएको पनि प्रमाणित गरिएको छ । उक्त खबरले नेपालको हकमा पनि त्यस्तै हुन्छ कि भन्ने आशंका उत्पन्न भएको छ । ठूला राष्टले आफ्नो अभीष्ट निश्चित भएपछि कारण खोज्ने वा कारण सिर्जना गर्ने-गराउने चलनको सामुन्ने अन्तर्राष्ट्रिय कानुनको निरीहता आजको विश्वको ठूलो विडम्बना हो । यस्तो विश्व न्यायमा साना र कमजोर राष्ट्रहरूको सामुन्ने आफ्नो हित कसरी जोगाउने भन्ने प्रस्न ठूलो चुनौतीको रूपमा उपस्थित भएको छ । यस्तो चुनौतीको सामना रणनीतिक सन्तुलन र व्यावहारिक राजनीतिको माध्यमबाट मात्र हुन्छ, जसबाट ठूला र साना राष्ट्रबीच पनि अन्तर्राष्ट्रिय कानुनको बराबरीको सिद्धान्तलाई कम गर्न सकियोस् ।
अतः नेपाल सरकार र हाम्रा राजनीतिक नेताहरूले यस वास्तविकतालाई बुझ्नु अत्यन्त आवश्यक छ । यो वास्तविकता नबुझ्दा र उत्ताउलो पाराले छिमेकीलाई उत्तेजित पार्दा वा मित्रता र सहयोगको मीठा वचनभित्रको रणनीतिक अभीष्टहरूलाई नबुझ्दा वा आफ्ना समस्याको समाधानको जिम्मा अरूलाई दिँदा वा छिमेकीको उपस्थितिलाई आफ्नो बल ठान्दाको अवस्थामा आफ्नै अहित हुने कुराको पाठ सिकाइरहनुपर्ने होइन । तर किन हो कुन्नि हामी देखिरहेका छौं, यहाँ त्यस्तै भइरहेको छ । सर्वसाधारण नेपाली स्वाभिमानपूर्वक बाँच्न चाहन्छ, तर त्यो स्वाभिमान दिनदिनै तिरोहित भएर पछारिँदाको पीडाबाट आक्रान्त छ । देशमा ०६३ सालपछिका मात्रै घटनाहरूलाई हेर्‍यौं भने अलिकति पनि सचेत नागरिकले आफ्नो देशको स्वाभिमानको यो अवस्था देख्दा दिनदिनै मानसिक तनाव व्यहोरिरहेको छ । सायद अस्पतालको रेकर्ड हेर्ने हो भने यसबीचमा मानसिक रोगीहरूको संख्या बढेको भेटिनेछ, आत्महत्याको घटना त बढेकै छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out