आरके पसेपछि उजुरीको ओइरो

काठमाडौं । दस वर्षसम्म सशस्त्र युद्व गरी शान्तिप्रक्रियामा आएको एकीकृत नेकपा माओवादीभित्र राजावादी र मण्डलेहरूको लर्को लाग्न थालेपछि पार्टी हेडक्वाटरमा उजुरीको सङ्ख्या पनि त्यत्तिकै बढ्न थालेको छ। यसै हप्ता मात्र राधाकृष्ण मैनाली माओवादीमा प्रवेश गरेपछि उजुरीको सङ्ख्या झन् बढेको स्रोतको भनाइ छ। मैनालीले कतै माओवादी पार्टीको नेतृत्व नै लिने पो हुन् कि भन्ने त्रासले पार्टी नेतृत्वविरुद्ध लक्षित ती उजुरीहरूमा लामो सङ्घर्ष र त्यागबाट आएकालाई बेवास्ता गर्दै अवसरवादी र मण्डलेहरूलाई काखी च्यापेको आरोप लगाइएको छ। पार्टीलाई अवसरवादीहरूको अखडा बनाउन खोजिएको, प्रतिगामीसँग अङ्कमाल गर्दै हिँडेकोलगायतका आरोप लगाउँदै पार्टी नेतृत्वले मण्डले र राजावादीलाई खोजी–खोजी पार्टी प्रवेश गराउँदा सहिदको रगत र पसिना खेर जाने खतरा रहेको भन्दै चिन्ता प्रकट गरेका छन्। क्रान्तिको मूल स्पिरिट र युद्धकालीन अवस्थामा तिनै राजावादीहरूबाट आफ्ना नेता तथा कार्यकर्ताले भोगिरहेका पीडा र घाउमा नुनचुक छर्कंदै नेतृत्वले कलङ्कित र आपराधिक अनुहारका व्यक्तिलाई माओवादीमा भित्र्याएको आरोप उजुरीपत्रमार्फत लगाइएको छ। ठूलो बलिदानी, त्याग र लामो सङ्घर्षबाट स्थापित पार्टीलाई मण्डले र राजादावीहरूको अखडास्थल बनाउन खोजिएको भन्दै उजुरीमा माओवादीका सच्चा नेता तथा कार्यकर्ता त्यस्ता कार्य स्वीकार्न बाध्य नहुनेसम्मको चेतावनी दिइएको स्रोतको दाबी छ। 'जनयुद्ध र जनआन्दोलनमा घाइते भएकाहरू अझै उपचार नपाएर छटपटाइरहेका छन्, बेपत्ता बनाइएकाहरूको खोजीमा आफन्तहरू अझै भांैतारिइरहेका छन्। तर, नेतृत्वले त्यस कार्यमा प्रमुख दोषीलाई अबिर–माला लगाएर पार्टी प्रवेश गराइरहेको छ, यो सच्चा माओवादीलाई स्वीकार्य हुँदैन,' उजुरीमा उल्लेख रहेको स्रोत बताउँछ। निजी स्वार्थ सिद्ध गर्न राजावादीहरू माओवादीमा प्रवेश गरेको पनि उजुरीमा उल्लेख छ। झापाका राजेन्द्र फुँयालले पार्टी केन्द्रीय कार्यालयमा दिएको उजुरीमा त भविष्यमा तिनै नवप्रवेशीहरूले पार्टीको अस्तित्व समाप्त पार्ने खतरा नै औंल्याएका छन्। माओवादी केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार उजुरीमा पार्टी प्रवेश र एकताका नाममा अवसरवादीहरूलाई प्रवेश गराई सीधै नेतृत्वमा पुर्याधएपछि पार्टीको हरेक योजनाहरू विफल भएको दाबी गरेका छन्। युद्धकालमा सफल हुने माओवादी नीति शान्तिपूर्ण राजनीतिमा आएपछि किन विफल हुन्छन्?, कुनै निर्णय हुनु अगावै पार्टीभित्र आन्तरिक बहसको विषयहरू कसरी बाहिर पुग्छ? लगायतका दर्जनभन्दा बढी प्रश्न फुँयालले उजुरीपत्रमार्फत पार्टी नेतृत्वसँग सोधेका छन्। 'माओवादी आंशिक सुधारिएको राजावादी पार्टी बन्ने निश्चित छ,' उजुरीमा भनिएको छ। सच्चा भनिएका कम्युनिस्टहरू पनि बिगिँ्रदै गएर पछि राजावादी भएको इतिहासले पुष्टि गरेको प्रसङ्ग उल्लेख गर्दै उजुरीपत्रहरूमा पार्टीले त्यही नियति भोग्न नपरोस् भनिएको स्रोत बताउँछ। त्यसो त माओवादी उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले केन्द्रीय समितिमा प्रस्तुत गरेको फरक राजनीतिक प्रतिवेदनमा पनि पार्टीभित्र अवसरवादीहरू प्रवेश गरेको, अवसरवादीहरू नै हावी हुँदै गएको र उनीहरू नै स्थापित हुन खोजेको, पूर्णकालीन कार्यकर्ता पलायन हुँदै गएको तथा गैरपूर्णकालीन कार्यकर्तालाई प्रोत्साहन गर्ने काम भएकोजस्ता आरोप लगाइएको छ। यसरी उजुरी दिए पनि एकताकाका लोकप्रिय नेता मैनालीले माओवादीमा प्रवेशपछि तत्कालीन राजा ज्ञोन्द्रको कदमलाई समर्थन गर्नु आफ्नो राजनीतिक भूल भएको भन्दै क्षमायाचना गरेका थिए। मैनालीले शाही सरकारको सदस्य बन्नु आफ्नो जीवनकै गम्भीर र सबैभन्दा ठूलो भूल भएकाले आगामी दिनमा त्यस्तो भूल नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। लामो समयसम्म एमालेमा रहेर राजनीति गर्दै आएका मैनाली पञ्चायतकालमा झापा विद्रोहका नाइके हुन्। ०५४ सालमा एमाले विभाजन भएपछि उनी मालेतिर लागेका थिए। पछि उनकै पहलमा एमाले–मालेबीच एकीकरण भएको थियो। जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका मैनालीलाई स्थायी समितिमा मनोनीत गर्न माधवकुमार नेपालले बेवास्ता गरेपछि उनी राजाको नजिक पुगेका हुन्। देशभक्त र सम्पूर्ण राष्ट्रवादी शक्ति मिलेर जनविद्रोह गर्ने बताउँदै आएको माओवादीले मैनालीको पार्टी प्रवेशलाई राष्ट्रिय स्वाधीनता र परिवर्तनका निम्ति विशिष्ट रहेको संज्ञा दिएको छ। उसले मैनालीको प्रवेशलाई रोल्पा विद्रोह र झापा विद्रोह मिलनको संज्ञा पनि दिएको छ। माओवादीमा यसअघि शाहीमन्त्री हरिशंकर परियार, पूर्वराजपरिषद् सदस्य उत्तम परियार, पूर्वअञ्चालाधीश सूर्यबहादुर सेन ओली, राजावादी कलाकार नीर शाहलगायतले प्रवेश गरिसकेका छन्।

Recent Posts

दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out