भारतीय माओवादीलाई तालिम दिएको पुष्टि

काठमाडौं । नेपालका माओवादीहरूले भारतीय माओवादीहरूलाई नेपालका विभिन्न स्थानहरूमा सशस्त्र तालिम दिएको खुलासा भएपछि यो घटनाले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको छ। नेपालस्थित भारतीय दूतावास र भारतीय सुरक्षा एजेन्सीहरूले नेपालको गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा प्रधानमन्त्री समेतलाई यस विषयमा कात्तिक ८ गते एउटा लिखित पत्रसहित ११ पृष्ठभन्दा लामो गोप्य प्रतिवेदन बुझाएको कुरा विशेष स्रोतबाट प्राप्त हुन आएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत माओवादी नेताले भारतीय माओवादीलाई तालिम दिएको कुरा अस्वीकार गरेका भए पनि यो घटनालाई तथ्यहीन बनाउने प्रमाण पेश गर्न सकेका छैनन्। माओवादीले देखाएको व्यवहारले भारत र एकीकृत माओवादीको मात्र होइन नेपाल र भारतको दुईपक्षीय सम्बन्धमै असर पर्ने खतरा बढेर गएको छ।

स्रोतका अनुसार प्रतिवेदनमा नेपालका माओवादीहरूको 'लस्कर ए तोयवा'सँग सम्बन्ध स्थापित रहेको र पाकिस्तान र थाइल्यान्डबाट जाली भारु नोटको कारोबार नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको समेत उल्लेख गर्दै छिमेकी राष्ट्र चीनबाट भारतीय माओवादीलाई नेपालका माओवादीमार्फत् एके–४७ र चिनियाँ पेस्तोलहरू उपलब्ध गराइएको उल्लेख छ। गोप्य प्रतिवेदनमा नेपाली माओवादी नेता वर्षमान पुन, हरिबोल गजुरेल, भारतीय माओवादी सैन्य डिभिजन कमान्डर 'पंकज'बीच सर्लाहीको हरिवनमा भारतीय माओवादीलाई सैन्य प्रशिक्षण दिने सम्झौता भएको उल्लेख छ। नेपाली माओवादीले भारतको विहार छत्तीसगढ, झारखण्ड र उडिसाबाट आएका २४२ जना भारतीय माओवादीहरूलाई पूर्वी नेपाल र मध्य क्षेत्रका दुर्गम पहाडी क्षेत्रहरूमा सशस्त्र छापामार तालिम दिएको उल्लेख छ। माओवादी मुस्लिम संगठन आवद्ध नेपालगन्जका रजक अन्सारी र सैन्य कमान्डर विनोद गुरुङले अफगानिस्तान र पाकिस्तानमा गएर 'लस्कर ए तोयवा' नामक अन्तर्राष्ट्रिय आतंककारी संगठन सदस्य लतीफ खानसँग विस्फोटक पदार्थ बनाउनेसम्बन्धी प्रशिक्षण लिएर आएपछि भारतीय माओवादीहरूलाई नेपाली माओवादीहरूले तालिम दिएको मात्र दाबी गरिएको छैन भारतीय जाली नोट, मुस्लिम आतंकवादी, नक्सलवादी र नेपाली माओवादीबीच 'नेक्सस' छ भन्ने दाबीसमेत गरिएको छ। स्रोतका अनुसार पूर्वी नेपाल ताप्लेजुङ जिल्लाको च्याङथापु, यामफोदिन, तेलक र गोन पतेङको जंगलमा तालिम दिएको दाबी गरिएको छ। दाबी गरिएको स्थानको सीमा क्षेत्र सिक्किम नजिकै पर्छ। भारतीय सुरक्षा एजेन्सीले नेपाली सेना र सशस्त्र प्रहरी बलको गुप्तचर निकायलाई अति गोप्य तवरमा उपलब्ध गराइएको प्रतिवेदनमा हेडौंडाको हरिखोला जंगल, बुटवलको सैनामैनामा भारतीय माओवादीलाई माओवादीले तालिम दिएको दाबी गरिएको छ। रूपन्देहीको सैनामैनास्थित माओवादी क्यान्टोनमेन्टमा ४८ जना भारतीय माओवादीले नेपाली माओवादीबाट तालिम लिएको बताइएको छ। भारत सरकारले नेपालका माओवादीको अलकायदा आबद्ध अन्तर्राष्ट्रिय आतंककारी संगठन 'लस्कर ए तोयवा'सँगको सम्बन्ध, भारतीय जाली नोटको कारोबार र हातहतियारको तस्करीमा समेत नेपालको माओवादी र भारतीय माओवादीबीच गठजोड र सम्बन्ध भएको दाबी गर्दै माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता मोहन वैद्य र डा. बाबुराम भट्टराईलाई अन्तर्राष्ट्रिय आतंककारी संगठनसँग सम्बन्ध भएको भन्दै भारत सरकारले आतंककारीकै सूचीमा राखेको र नेपाल सरकारले पनि सोही अनुसारको सूचीमा राखी कारवाही कारवाही अगाडि बढाउन आग्रह गरेको छ। नेपाली माओवादी, भारतीय माओवादी र 'लस्कर ए तोयवा' नामक आतंककारी संगठनबीच सम्बन्ध स्थापित भएको भन्दै भारतीय सुरक्षा एजेन्सीहरूले भारतीय रेल्वे र पेटोल खानीमा आक्रमण गर्न सक्ने दाबी गर्दै नेपालका माओवालीमाथि विशेष निगरानी राख्न अक्टोबर ५ मा एक विशेष प्रतिवेदन तयार पारी नेपाल र भारतका सुरक्षा निकायहरूलाई सतर्क रहन भनेको छ। 'लस्कर ए तोयवा' नामक अन्तर्राष्ट्रिय आतंककारी संगठनसँग नेपाली र भारतीय माओवादीबीच गठजोड भएको भन्दै नेपालको सिमाना जोडिएको भूमि र विहारको बोर्डरमा २ लाख भारतीय सुरक्षाफौज थप तैनाथ गरिएको स्रोतको भनाइ छ। जुन २६ तारिखमा सम्पन्न माओवादी पोलिटब्युरो बैठकले भारतीय जनतामाथिको दमनविरुद्ध नेपाली माओवादीले आवाज बुलन्द गर्ने निर्णय गरेपछि भारतीय सुरक्षा निकाय नेपाली माओवादी र भारतीय माओवादीमाथि विशेष निगरानी राख्दै आएको छ। भारतको दिल्ली प्रहरीको हिरासतमा रहेका माओवादी नेता कोवाद घाण्डीले भारतीय माओवादी र नेपाली माओवादीबीच वैचारिक र भौतिक प्रशिक्षण दिएको बयान भारतीय सुरक्षा एजेन्सीलाई दिएका छन्। स्रोतका अनुसार भारतीय माओवादी नेता गणपति राव (किशुन जी) केही दिनअघि राजधानी काठमाडौं आएर प्रचण्ड, मोहन वैद्यलगायतका नेताहरूलाई भेटी दुई दिन ठमेलको काठमाडौं गेस्टहाउसमा बसेर फर्केको बताइन्छ। पशुपतिदेखि तिरूपतिसम्म 'लाल कोरिडर' स्थापना गर्ने नयाँ सहमति नेपालका माओवादी र भारतीय माओवादीबीच भएको स्रोतको भनाइ छ। माओवादी अध्यक्ष प्रचण्डले दृष्टि प्रतिनिधिको एक प्रश्नको जवाफमा 'भारतीय माओवादी र नेपालका माओवादीबीच भाइचारा सम्बन्ध र वैचारिक सम्बन्ध रहेको तर भारतीय माओवादीलाई तालिम दिएको र लस्कर ए तोयवा' सँग कुनै साइनो सम्बन्ध नरहेको दाबी गरेका छन्। यद्यपि नेकपा माओवादीको विस्तारित बैठक नजिकिँदै जाँदा चर्किएको आन्तरिक विवादमा भारतलाई प्रमुख शत्रु बनाउने कि नबनाउने भन्नेमा पार्टीभित्र छलफल चल्दा प्रचण्ड र मोहन वैद्यले भारतलाई तोकेरै प्रधान शत्रुका रूपमा अगाडि बढ्नुपर्ने प्रतिवेदन तयार गरेको माओवादी स्रोतको भनाइ छ। तर डा. बाबुराम भट्टराईले भने सहायक शत्रुका रूपमा भारतलाई हेरिनुपर्ने उल्लेख गरेका छन्। स्मरण रहोस् आगामी मंसिर ५ गतेदेखि गोरखाको पालुङटारमा माओवादी विस्तारित बैठकबाट भारतलाई हेर्ने आधिकारिक नीति तय गरिनेछ। विस्तारित बैठकमा भारतलाई प्रमुख मुद्दा बनाएर माओवादी विस्तारित बैठकले उसैलाई प्रमुख शत्रु बनाउने प्रवल सम्भावना बहुमत रहेको दाबी माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले दृष्टि प्रतिनिधिलाई बताए। माओवादी उच्च स्रोतका अनुसार माओवादीले राष्ट्रिय स्वाधीनताको विषयलाई प्रमुखता दिएर विद्रोहको आधार तयार पार्ने रणनीति तय गरेको छ। माओवादी अध्यक्ष प्रचण्डले विस्तारित बैठकबाट पारित गर्न तय गरेको प्रतिवेदनको पृष्ठ ७ मा उल्लेख भएअनुसार 'हाम्रो युद्ध गृहयुद्धको रूपमा सुरु भयो, अब राष्ट्रिय युद्धको रूपमा समापन हुन्छ', प्रचण्डले तयार पारेको प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख छ। 'अबको युद्ध परम्परागत ढंगले हुँदैन, त्यो विद्रोह राष्ट्रिय विद्रोहका रूपमा परिणत हुने र युद्धको चरित्र दीर्घकालीन बन्ने उल्लेख छ। प्रचण्ड, बाबुराम र मोहन वैद्यले आ–आफ्नो प्रतिवेदनमा गृहयुद्धबाट राष्ट्रिय युद्धमा जाने र राष्ट्रिय स्वाधीनताको युद्ध छेड्ने समग्र भाषा अलग भए पनि निर्णय एउटै गर्दै आगामी जेठ १४ सम्म यही सरकार चल्न यसरी नै दिने र संविधान नबनेपछि विद्रोहको खुल्ला उद्घोष गर्ने रणनीति बनाइएको छ। भारतीय सुरक्षा निकायले नेपालका माओवादीका कारण भारतको सुरक्षामा गम्भीर असर पुग्ने र अन्तर्राष्ट्रिय आतंकवादी हमला हुन सक्ने विश्लेषण नेकपा माओवादीको हालसम्मको गतिविधिमाथि निगरानी राख्दै गम्भीर विश्लेषणसहित नेपाल सरकार र नेपाली सुरक्षा निकायलाई अवगत गराएको हो। यस सम्बन्धमा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग सम्पर्क राख्दा 'आफूले यस विषयलाई गम्भीरतापूर्वक लिएको र प्रधानमन्त्री क्याविनेटमा समेत छलफलको विषय बनाएको बताइन्। समरण रहोस् यो समाचारका सम्बन्धमा दृष्टिले सर्वप्रथम गतांकमा गोप्य सूचनाको खुलासा गरेको थियो। प्रधानसेनापति प्रकरणपछि माओवादी अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिएपछि भारत र माओवादीको सम्बन्ध चिसो बनेको थियो। सत्ताबाट हटेपछि प्रचण्डले भारतलाई लक्षित गर्दै प्रभुले आफूलाई सिंहदरबार छोड्न बाध्य पारेको सार्वजनिक आरोप लगाएका थिए। सत्ताबाट हटेपछि राष्ट्रिय स्वाधिनताका नाममा माओवादीले भारतविरुद्ध उत्तेजक आन्दोलन गर्दै आएको छ। भारतीय राजदूत राकेश सुदलाई सोलुखुम्बुमा माओवादी पोलिटव्युरो सदस्य गोपाल किराँतीको नेतृत्वमा जुत्ता प्रहार भएपछि माओवादी भारत सम्बन्धमा ठूलै दरार उत्पन्न भइरहेको छ। यो घटनाकै कारण भारत भ्रमणमा जाने प्रचण्ड इच्छासमेत पूरा हुन सकेको छैन। सुनिल शर्मा, दृष्टि साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out