माओवादीमा विभाजन

काठमाडौं। करिब ६ हजार नेता कार्यकर्ता सहभागी हुने एकीकृत नेकपा माओवादीको छैटौं विस्तारित बैठक नजिकिँदै जाँदा माओवादीभित्र विभाजनको संकेत देखा परेको छ। गाउँदेखि केन्द्रसम्म नेताहरू तीन गुटमा विभाजित हुँदा गोरखामा मंसिर ५ गतेबाट हुने बैठकले पार्टी विभाजको रेखा कोर्ने माओवादी सम्बद्ध स्रोत बताउँछ। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र डा. बाबुराम भट्टराईको छुट्टाछुट्टै तीन प्रतिवेदन पेस हुने भएपछि अहिले तीनै नेता आआफ्नो पक्षमा राज्य र जिल्ला तहका नेता कार्यकर्तालाई मिलाउन तीव्र भेटघाटमा व्यस्त छन्। १४ वटै राज्य समितिमा प्रतिवेदन सुनाउने काम सकिएपछि अहिले नेताहरूले तल्लो तहदेखि माथिल्लो तहसम्म आफ्नो प्रतिवेदनको पक्षमा उभिन भनेपछि जिल्ला तहदेखि माओवादी विभाजित भएको छ। विभिन्न जिल्लाहरूमा नेता कार्यकर्ता तथा सभासद्हरू दाहाल, वैद्य र डा. भट्टराईको पक्षमा खुलेर लागेपछि गाउँतहदेखि नै माओवादी विभाजित हुन पुगेको हो।
स्थायी समितिको बैठकले विवाद टुंग्याउन नसकेपछि केन्द्रीय समितिमा पुगेको विवाद त्यहाँबाट टुंगिन सकेन र अन्ततः विस्तारित बैठकमा लैजाने तयारी भएको थियो। वर्तमान अवस्थालाई हेर्ने र भावी रणनीतिका बारेमा नेताहरूबीच तीब्र मतभेद देखिएपछि तिनै नेताको प्रतिवेदन विस्तारित बैठकमा लैजाने सहमति भएको थियो। तर, माओवादीमा तीन नेताको गुटबन्दीले पार्टीलाई विभाजित तुल्याउँदै लगेको छ। डा. भट्टराईले विराटनगरमा गरेको कार्यकर्ता भेटघाटलाई अध्यक्ष दाहाल पक्षधरले बिथोल्ने प्रयास गरेका थिए भने ताप्लेजुङमा माओवादी नेता र कार्यकर्ताबीच बोलचालसमेत बन्द भएको छ। यो केही जिल्लाको उदाहरणमात्र हो। माओवादी अहिले यसैगरी केन्द्रदेखि जिल्ला तहसम्म विभाजित भएको छ। उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रगतिशील संविधान बनाउन वर्तमान परिस्थितिलाई प्रयोग गर्दै अगाडि बड्नुपर्ने कार्यदिशा अगाडि सारेका छन् भने उपाध्यक्ष मोहन वैद्यले वर्तमान परिस्थितिमा संविधान बन्न नसक्ने भन्दै जनविद्रोहमा जानुको विकल्प नभएकोमा जोड दिएका छन्। त्यस्तै अध्यक्ष दाहालले भने दुवै प्रतिवेदनलाई समेट्दै संविधान नबने जनविद्रोहमा जाने कार्यदिशा अगाडि सारेका हुन्। अहिलेको बैठकमा अध्यक्ष दाहाल अल्पमतमा पर्ने निश्चित भएपछि उनले पटकपटक विस्तारित बैठक सारेका थिए। अध्यक्ष दाहाल र उपाध्यक्षद्वय भट्टराई र वैद्यबीच चर्केको अन्तरसंघर्ष अब वैचारिकमात्र नभई व्यक्तिगतसमेत बन्न पुगेको छ। अध्यक्ष दाहालले पार्टीलाई आर्थिक रूपले अपादर्शी बनाएको भन्दै अवैध व्यापार, तस्करी, भ्रष्टाचारलाई संरक्षण दिएर पार्टीभित्र नवधनाढ्य वर्ग जन्मेको उपाध्यक्षद्वय भट्टराई र वैद्यले जिकिर गरेका छन्। पार्टीमा अर्थाेपार्जनमा गम्भीर समस्या छन्, आयव्ययको लेखाजोखा छैन। आर्थिक क्षेत्रमा पारदर्शिता, सामूहिकता र लेखाप्रणाली समाप्त प्रायः भएको वैद्यको जिकिर छ भने सभासद्हरू किन्न करोडौं खर्च गर्नुमा पार्टीको सर्वहारा वर्गीय चरित्रको ठूलो उपहास भएको तथा पार्टीमा आर्थिक अराजकता, भ्रष्टाचार र अनियमितता अध्यक्ष दाहालकै कारण मौलाएका उपाध्यक्ष भट्टराईको भनाइ छ। २०५५ सालको चौथो विस्तारित बैठकदेखि सुरु भएको माओवादी भेद अहिले विस्फोटक अवस्थामा आइपुगेेको छ। भारतको गोरखपुरमा भएको उक्त विस्तारित बैठकबाट माओवादीभित्र दुई लाइन संघर्ष सुरु भएको थियो। २०६१ साल मंसिरमा पार्टी हेडक्वार्टरमा उपाध्यक्ष भट्टराईले तेह्रबुँदे फरक दस्तावेज दर्ता गराएपछि त्यसबेला उपाध्यक्ष भट्टराई र उनकी पत्नी हिसिला यमीलाई पार्टीले कारबाही गरी श्रमशिविरमा पठाएको थियो। त्यस्तै, २०६४ साल भदौमा बालाजुमा भएको पाँचौ विस्तारित बैठकमा पनि माओवादी नेताहरूबीच मतभेद देखिएको थियो। २०६५ मंसिरमा भक्तपुरको खरिपाटीमा भएको राष्ट्रिय भेलामा उपाध्यक्ष वैद्यले छुट्टै प्रतिवेदन दर्ता गराएका थिए। तर, त्यसबेला डा. भट्टराईको सहयोग लिएर अध्यक्ष दाहालले वैद्यलाई निस्तेज पार्ने काम गरेका थिए र यसपटकको पाँचौैं विस्तारित बैठकमा तिनै नेताबीच चर्काे अन्तसंघर्ष देखिएको छ। गोरखाको पालुङटारमा मंसिर ५ गते सुरु हुने विस्तारित बैठकमा सहमति हुने सम्भावना न्यून बन्दै गएपछि तिनै प्रतिवेदनमाथि मतदान हुने माओवादी स्रोतको भनाइ छ। यद्यपि, महासचिव रामबहादुर थापा बादल र अन्य केही नेताहरूले मतदान रोक्न पहल गरे पनि यो पहल सार्थक हुने सम्भावना हुने देखिएको छैन। पार्टीभित्र चर्किएको अन्तरद्वन्द्वको शृंखलालाई अन्त्य गर्न मतदान एकमात्र उपाय भएको भन्दै तिनै नेताले आ–आफ्नो पक्षमा लविङलाई तीव्रता दिएका छन्। यसले माओवादीमा औपचारिक रूपमा विभाजनको रेखा कोरिदिएको छ। वर्षाैंदेखि माओवादीको महाधिवेशन हुन नसक्दा विस्तारित बैठकमार्फत उसले आफ्नो कार्यदिशा तय गर्दै आएको छ। यस पटकको छैटौं विस्तारित बैठकमा अध्यक्ष दाहाल, उपाध्यक्षद्वय भट्टराई र वैद्यले पार्टी र अन्तरिम संघर्षलाई कसरी अगाडि बढाउने योजना अगाडि सार्दै छन् उनीहरूको योजना यस प्रकार छ। प्रचण्डको योजना – भदौ २५ देखि असोज २५ सम्म राज्यभेला सम्पन्न गरिसक्ने। – कात्तिक पहिलो हप्ताको अन्त्यसम्म केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न गर्ने। – कात्तिक र मंसिर महिनाभित्र आवश्यक रहेका जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्ने। अन्यको बैठक, भेला गरी आन्दोलनको ठोस कार्यक्रम निर्माण गर्ने। – कात्तिक, मंसिर र पुससम्म स्थानीय ग्रामीणस्तरदेखि जिल्ला र राज्यस्तरसम्म संयुक्त मोर्चा कमिटीहरू गठन गरी तिनलाई जनसेवामुखी, कामकाजी र प्रभावकारी बनाउन अभियानका रूपमा जाने। यो प्रक्रियामा सहकारी निर्माण अभियानलाई समेत जोडेर आम कार्यकर्तालाई परिचालन र व्यवस्थापनको समस्यालाई पनि समाधान गर्ने। – कात्तिक, मंसिर र पुसम्म स्थानीयदेखि जिल्ला र राज्यसम्म वाईसीएलका विशेष टिम गठन गरी प्रभावकारी प्रशिक्षण र परिचालन सुनिश्चित गर्ने। अहिले देशको राजनीतिक घटनाक्रम जे–जसरी विकास भइरहेको छ यो स्थितिले निकट भविष्यमै प्रतिक्रियावादीका तर्फबाट पार्टी र आन्दोलनलाई कमजोर पार्ने नियोजित षड्यन्त्रअन्तर्गत कुनै पनि अप्रत्याशित चाल (मुख्यतः संविधासनभा विघटन गराई राष्ट्रपति शासनमा जाने) चल्ने खतरा स्पष्ट देखिएको छ। त्यो अवस्थाको विरोधका लागि अविलम्ब स्थायी समितिबाट राष्ट्रिय स्वाधीनता र परिवर्तनका पक्षमा आन्दोलनको विशेष योजना निर्माण गरी व्यापक जनपरिचालनमा जानुपर्नेछ। त्यसका लागि पूरै पार्टीलाई अहिलेदेखि नै राजनीतिक रूपले तयार पार्नुका साथै केन्द्रीय कार्यालयबाट संक्रमणकालीन संगठनात्मक योजनाको विकासमा ध्यान दिनुपर्छ। ख. संघर्षसम्बन्धी योजना – तात्कालिक रूपले राष्ट्रियता, जनतन्त्र एवं जनजीविकासँग सम्बन्धित समस्यालाई लिएर स्थिति र आवश्यकताअनुसार आन्दोलन संगठित गर्न विभिन्न जबस, मोर्चालाई परिचालन गर्ने। यस प्रकारको आन्दोलन संगठित गर्दा यथाशक्य अन्य पक्षलाई समेत सहभागी गराई संयुक्त स्वरूप दिन जोड गर्ने। – शान्तिप्रक्रिया र संविधानसभा भंग गर्ने स्थिति आए तत्काल वैदेशिक हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता र परिवर्तनका पक्षमा खडा हुन आम जनसमुदायलाई अपिल गर्दै देशव्यापी आन्दोलनको ठोस कार्यक्रम घोषणा गर्ने। यसको कार्यक्रम तर्जुमा गर्ने प्रमुख जिम्मेवारी स्थायी समिति र केन्द्रीय कार्यालयले लिनेछ। – सदन र सरकारको मोर्चालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न जोड गर्ने। शान्ति र संविधान निर्माणको पक्षमा आफ्नो संघर्ष तीव्र पार्ने। – सदन र सरकारको मोर्चालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न जोड गर्ने। शान्ति र संविधान निर्माणको पक्षमा आफ्नो संघर्ष तीव्र पार्ने। – जनताको संघीय गणतन्त्रको प्रस्तावित संविधानलाई जनताले बुझ्न भाषामा संक्षेपीकरण गरी हाते पुस्तकका रूपमा प्रचार गर्ने। – सामान्य स्थितिमा पार्टीको विस्तारित बैठकपछि पार्टी नेतृत्वमा व्यापक संघर्ष गर्ने। बाबुरामको कार्ययोजना संगठनबारे – सामान्य स्थिति रहिरहे आगामी माघसम्ममा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नेगरी संगठनात्मक कार्यतालिका बनाउनुपर्छ। – सोहीअनुरूप पुससम्म स्थानीय भेला र जिल्ला तथा राज्य सम्मेलनहरू सम्पन्न गर्नुपर्छ। – जबस, मोर्चाहरूको राष्ट्रिय भेला वा सम्मेलन मंसिरसम्म गरिनुपर्छ। – कात्तिकसम्म स्थानीय, जिल्ला र राज्यस्तरमा क्रान्तिकारी संयुक्त मोर्चा कमिटीहरू निर्माण गरेर जनसेवा र संघर्षको कार्यक्रम तय गरिनुपर्छ। – वाईसीएलका विशेष टिमहरूको देशव्यापी सञ्जाल निर्माण गरी पुसम्ममा आवश्यक प्रशिक्षण दिनुपर्छ। संघर्षबारे – तत्काल जबस र मोर्चामार्फत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू लिएर विविध प्रकृतिका संघर्षका कार्यक्रम सञ्चालन गर्ने। – प्रस्तावित जनताको संघीय गणतन्त्रको संविधानलाई जनभाषाका संक्षेपीकरण गरेर हाते पुस्तिकाको रूपमा देशव्यापी रूपमा वितरण गर्ने र जनसमुदायको बीचमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने। सदनबाट जनसंविधानको पक्षमा प्रभावकारी संघर्ष सञ्चालन गर्ने.। – वर्तमान सरकार निर्माणको प्रक्रिया असफल भएको बहानामा संविधानसभा भंग गरेर राष्ट्रपति शासन वा अन्य कुनै प्रतिक्रान्तिकारी कदम चालिए तत्काल त्यसविरुद्ध देशव्यापी आन्दोलन संगठित गर्ने। – सामान्य अवस्था रहे राष्ट्रिय महाधिवेशनपश्चात् व्यवस्थित ढंगले देशव्यापी कार्यक्रम सञ्चालन गर्ने र संविधानसभाबाट संविधान जारी गर्न समयमा त्यसलाई उत्कर्षमा पुर्याउने। प्राविधिक योजनाबारे चार तयारी र चार आधार निर्माणसम्बन्धी विगतको प्राविधिक योजनालाई परिमार्जनसहित कार्यान्वयन गर्ने। वैद्यको कार्ययोजना हामीले क्रान्तिकारी कार्यदिशाको कार्यान्वयनका लागि चार तयारीसँग सम्बन्धित काममा निम्नअनुसार ध्यान केन्द्रित गर्नुपर्छ: (क) सैद्धान्तिक तथा राजनीतिक पक्ष – जनताको संघीय गणतन्त्रको स्थापना र राष्ट्रिय स्वाधीनता रक्षाका लागि जनविद्रोहको तयारीका कामलाई केन्द्रबिन्दुमा राखी सैद्धान्तिक तथा राजनीतिक कामलाई प्रभावकारी ढंगलेे अगाडि बढाउने। – पार्टीको विशेष प्रशिक्षण, नियमित स्कुलिङ, पार्टीको आन्तरिक प्रकाशन र प्रचार तथा प्रसार विभागद्वारा सैद्धान्तिक तथा राजनीतिक कामलाई व्यवस्थित तुल्याउने। (ख) सांगठानिक पक्ष पार्टी – गुटवाद तथा फुटवादका विरुद्ध संघर्ष गर्दै एकता–संघर्ष र रूपान्तरणका बीचबाट नयाँ ढंगको पार्टी बनाउन प्रयत्न गर्ने। – जनवादी केन्द्रीयताको पालनाका तथा गोपनीयताको रक्षाका लागि आवश्यक वातावरण तयार पार्नु।
– राज्य तथा जिल्लाहरूमा भेला गर्दै केन्द्रीय समितिको विस्तारित बैठकलाई प्रभावकारी बनाउने। – दुई लाइन संघर्षलाई स्वस्थ तथा मैत्रीपूर्ण बनाउने र यसका लागि निश्चित विधि विकसित गर्ने। पार्टी नीति, कार्यदिशा, निर्णय र जनवादी केन्द्रीयताको मान्यताविपरीत सार्वजनिक अभिव्यक्ति नदिने। पार्टीका सम्बन्धित समितिमा भिन्न मत तथा विचार राख्न प्रोत्साहित गर्ने, तिनलाई आवश्यकताअनुसार तलसम्म जान दिने, ती विषयबारे विविध प्रकारका फोरम चलाउने, कतिपय वैचारिक तथा राजनीतिक विषयमा सार्वजनिक बहस गर्ने। आलोचनाको स्वतन्त्रता तथा कामकारबाहीमा एकरूपताको मान्यतालाई दृढताका साथ अवलम्बन गर्ने। कुनै निश्चित प्रक्रियाद्वारा दुई लाइन संघर्षलाई संश्लेषण गर्दै पार्टीमा एकता, संघर्ष र मुख्यतः रूपान्तरणका आधारमा नयाँ एकता हासिल गर्दै जाने। – समूचित कार्यविभाजन गरी अविलम्ब तयारीका काममा लाग्ने। – कार्यकर्ता रेखदेख, व्यवस्थापन, संरक्षण तथा परिचालनका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने। – तयारी र कार्यकर्ता व्यवस्थापनका लागि केन्द्रीय तथा एकीकृत रूपमा योजना बनाई विशेष विभागमार्फत अभियानका रूपमा आर्थिक संकलन गर्ने। – राज्य र जिल्लाले आर्थिक उत्पादनका कामलाई व्यवस्थित तुल्याउने। – मधेसमा पार्टीका कामलाई व्यवस्थित तुल्याउने। – जबस, मोर्चा तथा विभागका कामलाई व्यवस्थित तुल्याउनेबारे विशेष पहल गर्ने। देशान्तर साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out