प्रचण्डमाथि वैद्यको संगीन आरोप

काठमाडौं । एकीकृत नेकपा माओवादीभित्र पार्टीले लिनुपर्ने कार्यदिशाका बारेमा वैचारिक बहस तीव्र बनेर गएपछि आगामी मंसिर ५ गतेबाट गोरखाको पालुङटारमा हुने विस्तारित बैठक सफलतापूर्वक सम्पन्न हुन नसक्ने संकेत देखिएको छ। बैठकको पूर्वसन्ध्यामा माओवादी अध्यक्ष प्रचण्डका राजनीतिक गुरुसमेत रहेका वैचारिक नेता मोहन वैद्य किरणले प्रचण्डले जनयुद्धमाथि 'गद्दारी' गरेको आसयका दर्जनौं आरोप लगाउँदै विस्तारित बैठकमा छुट्टै राजनीतिक प्रतिवेदन पेश गर्ने भएपछि यो विषयले माओवादीमा हलचल पैदा भएको छ।

माओवादी शान्ति प्रक्रियामा आउने निर्णय भएको चुनवाङ बैठकको निर्णयमाथि नै प्रश्नचिन्ह उठाउँदै वैद्यले फरक प्रतिवेदन पेश गर्ने भएपछि दुई दशकदेखि माओवादीमा एकछत्र राज गर्दै आएका प्रचण्डको राजनीतिक भविष्य धरापमा पर्ने विश्लेषकहरू बताउँछन्। माओवादीको बहुप्रतिक्षित विस्तारित बैठक सुरु हुन अब एक साता पनि बाँकी छैन। अध्यक्ष प्रचण्डले लिएको कार्यनीतिप्रति उपाध्यक्ष वैद्य मात्र होइन, अर्का उपाध्यक्ष बौद्धिक नेता डा. बाबुराम भट्टराईले समेत असहमति जनाएका कारण प्रचण्ड यतिबेला राजनीतिक जीवनकै सबैभन्दा कठिन मोडबाट गुजि्ररहेका छन्। माओवादी स्रोतका अनुसार 'त्यही भएर प्रचण्डले केन्द्रीय समितिको बैठक बोलाउने आँट गर्न सकेका छैनन्। बरु आफ्नो राजनीतिक भविष्य जोगाउन वैद्य र भट्टराईको दस्तावेजलाई समेत मिलाएर एउटै गोलमटोल दस्तावेज तयार गर्ने कसरतमा जुटेका छन्।' माओवादीले संसदवादी दलसँग सहकार्य गर्दै शान्ति प्रक्रियामा आउने चुनवाङ बैठकको निर्णय हुँदा वैद्य भारतीय जेलमा थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि जेलमुक्त भएका वैद्य सुरुमा चुनवाङ बैठकप्रति 'तटस्थ' रहँदै आएकोमा पछिल्ला दिनमा उक्त बैठकको निर्णयप्रति गम्भीर असहमति जनाएका छन्। वैद्यको यो कदमले माओवादीमा वैद्य र भट्टराईलाई लडाएर त्यसको फाइदा उठाउँदै नेतृत्व हत्याउन सफल हुँदै आएका प्रचण्डको अवस्था सहज हुने देखिएको छैन। अब वैद्य तथा भट्टराईमध्ये एकसँग आत्मसमर्पण नगरेको अवस्थामा प्रचण्ड नेतृत्वसमेत छोड्नुपर्ने अवस्थामा पुग्ने घटनाक्रमले देखाएको छ। वैद्यले विस्तारित बैठकमा पेश गर्न तयार पारिएको प्रतिवेदनमा जनसरकार विघटन र जनयुद्ध अन्त्यको घोषणा गरी प्रचण्डले दक्षिणपन्थी संशोधनवादी सिद्धान्तलाई अँगाल्न पुगेको संगीन आरोप लगाएका छन्। वैद्यले २०६३ साल असार ३ गते जनसरकार विघटन तथा मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दा जनयुद्धको पहल गर्ने समयमा गरिएको प्रतिबद्धता र क्रान्तिमा वल प्रयोगको सार्वभौम नियमलाई परित्याग गरेको विषय जोडदार रूपमा उठाउँदै प्रचण्डमाथि निर्मम प्रहार गरेपछि पार्टीमा रहेका प्रचण्डका अनुयायीहरू पनि झस्केको स्रोत बताउँछ। पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका नेता वैद्यले संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री खानका लागि प्रचण्डले अन्य राजनीतिक दलसँग गरेको ७ बुँदे सहमतिप्रति पनि गम्भीर असहमति जनाउँदै प्रधानमन्त्रीका लागि जनसेनाको भविष्यमाथि सौदाबाजी गरेको बताएका छन्। 'संविधानसभाको निर्वाचनपश्चात् ठूलो र सरकार गठनप्रतिसमेत लक्षित गरी ल्याइएको बहुमतीय प्रणाली, सेना समयायोजन, घरजग्गा फिर्ता तथा वाईसीएल सम्बन्धमा २०६५ असार ११ गते राजनीतिक दलबीच गरिएको सहमति तथा सम्झौता पनि गलत छन्।' माओवादीले अहिले सेना समायोजनको मुद्दालाई जोडदार रूपमा उठाइरहेको भए पनि उक्त सम्झौतामा प्रचण्ड नराम्ररी चिप्लिएका छन्। वैद्यको यो अभियोगपछि प्रचण्ड माओवादी जनसेनामाझ झन् आलोचनाको पात्र बनेको स्रोतले बतायो। प्रचण्डले हस्ताक्षर गरेको उक्त सहमतिमा ६ महिनाभित्र समायोजन र पुनर्स्थापना नभएका लडाकुलाई राज्यले दायित्व नलिने उल्लेख छ। यो सहमतिअनुसार २०६५ साल माघ ११ गतेबाट लडाकुले खाएको तलब भत्ता अवैध हुन जान्छ। त्यस्तै लडाकुलाई पुनर्स्थापनाका लागि आर्थिक प्याकेजलाई पनि विकल्प रोज्न दिने, शिविरमा दर्ता लडाकुहरू स्थापित मान्यता पूरा गरी मात्रै सुरक्षा निकायमा समायोजनका लागि योग्य हुने कुरामा प्रचण्डले सहमति जनाएका छन्। यो सम्झौताअनुसार माओवादीले सेना समायोजनमा समूहगत प्रवेशको अडान राख्न पाउँदैन। लडाकु छाती नाप्न तयार हुनैपर्छ। यो गल्ती नै अहिले माओवादीमा प्रचण्डलाई निल्नु न ओकल्नु भएको छ। वैद्यले प्रतिवेदनमा क्रान्तिमा शान्ति वार्ता र कुटनीतिक पहलको कार्यनीतिक महत्व भए पनि त्यसलाई रणनीतिक मोडलको स्तरमा पुर्याकएर प्रचण्डले गम्भीर गल्ती गरेको आरोप पनि लगाएका छन्। वैद्यकै प्रस्तावमा माओवादीको नेतृत्वमा पुगेका प्रचण्डसँग अहिले वैद्यको हरेक विषयमा असहमति देखिएको छ। वैद्यले प्रचण्डलाई मध्यपन्थी मात्र भनेका छैनन्– सरकार, सदन र सडक तीनवटै मोर्चामा प्रचण्ड असफल भएको किटानी पनि गरेका छन्। क्रान्तिबाट आए पनि प्रचण्ड नेतृत्वको सरकारले मुलुकमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसकेको, पार्टी कमिटीलाई बाईपास गरेर सरकार सञ्चालन गरिएको, पार्टी नीतिविपरीत उदारीकरण तथा वित्तीय पूँजीलाई नियन्त्रण नगरी उल्टै प्रोत्साहित गर्ने काम भएको आरोप लगाउँदै जनविद्रोहमार्फत् सत्ता कब्जा गर्ने पक्षमा रहेका वैद्यले भनेका छन्– 'यसले पुरानै राज्य मसिनरीमा रहेर नयाँ नेतृत्वद्वारा जनताको पक्षमा काम गर्न नसक्ने कुराको थप पुष्टि हुन्छ।' प्रचण्ड सडक आन्दोलन चलाउन पनि असफल भएको वैद्यकाृ जिकिर छ। सदनको कार्यसञ्चालनमा प्रभावकारी भूमिकाको अभाव रहेको ठोकुवा गर्दै सडक संघर्षको असफलताबाट पार्टी पंक्तिमा निराशा र अन्यौल छाएको वैद्यले ठोकुवा गरेका छन्। सरकार, सदन र सडकका तीनवटै मोर्चामा पार्टी असफल हुनुमा आन्दोलनको आधारभूत तथा मुख्य उद्देश्यविपरीत विगतमा सम्झौता र सहमति गरिनु मुख्य भएको आरोप लगाउँदै प्रचण्डले विद्यमान दक्षिणपन्थी अवसरवादका विरुद्ध संघर्ष गर्नुको सट्टा त्यससित झुक्ने, सम्झौता गर्ने तथा त्यसलाई संरक्षण गर्ने काम गरेको संगीन अभियोग वैद्यले लगाएका छन्। आफ्नै पार्टीका नेताले घुमाउरो ढंगले भारतसँग घुँडा टेकेको अभियोग लगाएपछि प्रचण्डको मण्डले राष्ट्रवाद सडकमा छताछुल्ल भएको छ। वैद्यले पार्टीभित्र गुटबन्दीको प्रक्रिया तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै नेतृत्वपंक्तिका बीचमा आपसी सम्बन्ध सुधार गर्न प्रचण्ड असफल भएको ठोकुवा गरेका छन्। त्यस्तै वर्ग संघर्ष र दुईलाइन संघर्षको समस्या समाधान गर्ने सामर्थ्य प्रचण्डले गुमाउँदै गएको र जनविद्रोहप्रति गम्भीर नभएको आरोप लगाउँदै वैद्यले भनेका छन्– जनविद्रोहको कार्यदिशाअनुरूप तयारीका कामलाई अगाडि बढाउनका लागि ठोस कार्ययोजना बनाउने र त्यसको कार्यान्वन गर्ने काममा नेतृत्व गम्भीर बनेको देखिँदैन।' वैद्यले प्रचण्ड आर्थिक रूपले पनि अपारदर्शी रहेको गम्भीर अभियोग लगाएका छन्। प्रचण्डकै नेतृत्वमा आर्थिक क्षेत्रमा पारदर्शिता, सामूहिकता तथा लेखा प्रणाली समाप्त पारिएको उल्लेख गर्दै वैद्यले क्रान्तिकारी कार्यकर्ता पलायन हुँदै पार्टी नवधनाढ्य वर्गको पोल्टामा पुग्न लागेको उल्लेख गरेका छन्। त्यतिमात्र होइन माओवादीमा अवैध व्यापार, तस्करी तथा भ्रष्टाचार व्यापक बन्दै गएको र प्रचण्डले त्यसलाई उल्टै संरक्षण दिएर पार्टीमा दण्डहीनतालाई प्रश्रय दिएको अभियोग पनि वैद्यको छ। वैद्यको व्याख्यामा प्रचण्ड सांस्कृतिक रूपले पनि टाट उल्टिइसकेका नेता हुन्। चरम पदलोलुपता, अति महत्वाकांक्षा, दलाली, भद्दा उपयोगितावाद जस्ता प्रदूषण पार्टीमा व्याप्त हुँदै गएको तर त्यसलाई रोक्ने काम प्रचण्डबाट नभउको उल्लेख गर्दै वैद्यले भनेका छन्– अवैध व्यापार, तस्करी तथा भ्रष्टाचार मौलाउनु, सामूहिकताविरुद्ध व्यक्तिवाद प्रभावी बन्दै जानु, जिम्मेवार कमरेडको दैनिक जीवन तथा आचरण फेरिएको अवस्थामा त्यसलाई रोक्न आचारसंहिता लागू गर्न तथा शुद्धिकरणको प्रक्रिया अगाडि बढाउन पनि प्रचण्डले सकेका छैनन्। विस्तारित बैठकपछि भारत भ्रमणमा गएर गुमेको सत्ता प्राप्त गर्ने अभियानमा रहेका प्रचण्डमाथि बैठकको पूर्वसन्ध्यामा वरिष्ठ नेता वैद्यले लगाएको संगीन आरोपपछि माओवादी विवाद मारामारको स्थितिमा पुग्ने सम्भावना बढेको छ। विस्तारित बैठकमा माओवादीभित्र भित्रभित्रै भुसको आगोझैं सल्किरहेको विवाद छताछुल्ल हुने मात्र होइन बैठकपछि माओवादीमा तीन गुटको उदय हुने संकेत देखिएको छ। दृष्टि साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out