दाहालप्रति दुई उपाध्यक्ष आक्रामक

भोजराज भाट, पालुङटार, मंसिर ७ - 'पालुङटारको विचारले वालुवाटारको निद खायो...माओवादी एक जुट हुँदा सन्सारै जिल खायो...' रुखो स्वभाव र औपचारिक मात्र कुरा गर्ने एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले प्रेमध्वज प्रधानको पालुङटारको गोरुले सल्यानटारको बीऊ खायो बोलको गीतलाई रिमिक्स गरेर मन्तब्य सिध्याउने क्रममा सकीनसकी गीत गाए। हलभरि ताली र हाँसोको गडगडाहट चल्यो। त्यसको दुई घण्टा नबित्दै अर्का उपाध्यक्ष मोहन वैद्यले खरो प्रस्तुतिले हलमा एकछिन त सन्नाटा छायो।
  अध्यक्ष पुष्पकमल दाहालप्रति फरक दस्तावेज राख्नुको औचित्य प्रष्ट्याउँदै उनले भने, 'यस्तै तवरमा पार्टीभित्र अवसरवादीको बाहुल्य हुँदै गयो र सच्चिएर अगाडि बढिन्न भने म पार्टीभित्र बस्दिन, अरु पनि बस्दैनन्।'
वैद्यले घुमाउरो शैलीमा विस्तारित बैठकले क्रान्तिकारी कार्यदिशा नलिए विद्रोह गर्ने चेतावनी दिए। 'सडक, सदन र सरकारको मोर्चाले पार्टी संसोधनवादतिर फस्छ, यसले अन्ततः पार्टी एमालेकरण हुने मात्र हो,' डेढ घण्टा लामो मन्तव्यमा वैद्यले भने, 'जनयुद्ध र दीर्घकालिन जनविद्रोहबाट मात्र सत्ता कब्जा हुन सक्छ, अहिले जनताको साथ पार्टीलाई छ, राष्टि्य परिस्थिति राम्रो छ। पार्टीले विद्रोहको ठोस योजना ल्याउनुपर्छ।'

नेतृत्वलाई खबरदारी गर्न र क्रान्तिको झण्डालाई निरन्तर फरफराउनका लागि आफूले फरक दस्तावेज राखेको वैद्यको जिकिर छ। अध्यक्ष दाहालद्धारा प्रस्तुत दस्तावेज छुट्टै लाईन नभएको उनको दाबी छ। 'अहिले पेश भएको उहाँ (दाहाल) को लाईन नै होइन, त्यो त बाबुरामको लाईन हो।', वैद्यले थप प्रष्टाए, 'खरिपार्टीको मेरो लाईन पारित भएको थियो, अध्यक्षले त्यसलाई कार्यान्वयन गरेनन्, त्यसैले मैले फरक मत राखेको हुँ।'

आफूले फरक दस्तावेज राखेर नेतृत्व दाबी नगरेको स्पष्टोक्ति वैद्यले दिए। 'प्रचण्डले भन्नुहुन्छ, किरणले लाईन मात्र ल्याउँछ, नेतृत्व गर्न सक्दैन भनेर। ल ठीक छ, लाइन म ल्याउँछ। म नेतृत्व गर्नै नसक्ने भने होइन तर अध्यक्षको रुपान्तरित नेतृत्वमा क्रान्ति सफल गर्ने मेरो सपना हो।', वैद्यले अगाडि भने, 'अहिले हेडक्वार्टरमा भएको व्यक्तिवादी प्रवृतिलाई सच्चाएर अध्यक्ष प्रचण्डकै नेतृत्वमा नेपाली क्रान्तिलाई सफल बनाउने मेरो लक्ष्य हो।'

भारतलाई न्युट्रिलाईज नगरिकन विद्रोह सम्भव छैन भन्ने दाहाल र भट्टराईको प्रस्तावमा वैद्यले असहमति जनाए। 'हामीले भारतीय सत्तासँग मात्र लड्ने हो, त्यहाँका जनतासँग होइन,' उनले भने, 'भारतीय माओवादी र उनका लाखौं समर्थक जनतासँग मिलेरै त्यहाँको सत्ता पक्षलाई न्यट्रलाईज गर्न सकिन्छ।'


विस्तारित बैठकको पूर्वसन्ध्यामा भट्टराईले सार्वजनिक गरेको आजको मार्क्सवाद नामक सानो किताबबारे वैद्यले खुलेरै आलोचना गरे। 'बाबुरामजीले लेख्नुभएको आजको मार्क्सवाद मार्क्सवादको विकास होइन, त्यसले मार्क्सवादलाई भ्रष्टिकरण गरेको छ।'

वैद्यले अध्यक्षबाट लगाएको गंगबु डिनरको आरोप पनि अस्वीकार गरे। 'त्यो डिनरमा महासचिव रामबहादुर थापा, उपाध्यक्ष नारायकाजी श्रेष्ठ, बाबुरामजी र मलगायत केही थियौं, त्यसमा पार्टी विग्रियो कसरी सच्चाउने भन्ने चिन्ता गरेका मात्रै हौं', वैद्यले भने, ' त्यसलाई अध्यक्षले अनावश्यक बढाइचढाइ गरेर पार्टीभित्र र बाहिरबाट घेराऊ परेको बोलिदिनुभयो। यसलाई उहाँले सच्चाउनै पर्छ।'

सोमबार विहान आफ्नो दस्तावेजबारे सवा दुई घण्टा लामो मन्तब्य दिएका उपाध्यक्ष भट्टराईले ढिलोचाढो सबै नेता आफ्नो लाईनमा सहमत भएरै छाड्ने दाबी गरे।
'डा बाबुराम भट्टराईले उठाएको विचार जहिले पनि सही छ, त्यो नेतृत्वले पछि बुझ्दै गयो', उनले विस्तारित बैठकमाझ फुर्तिसाथ भने,'जसरी चुनबाङमा बुझियो, यो कुरा इतिहासले पुष्ठि गर्दै आएको छ।'

दाहालले दस्तावेजमा 'बाबुरामसँग संघर्ष प्रधान, एकता कहिलेकाही' राखेको शब्दप्रति भट्टराईले आपत्ति जनाए। 'बाबुरामसँग प्रचण्डको आरोप ठीक कि बेठीक? २० वर्षदेखि हामीबीच संघर्ष, एकता र रुपान्तरण सँगसँगै हुँदै आएको छ। यसबारेमा अध्यक्षले प्रष्ट पार्नुपर्छ।'

आफूलाई भारतपरस्त गरेको आरोप समयक्रममा गलत सावित भएको भट्टराईको दाबी थियो। 'अझै पनि मलाई पार्टीभित्रैबाट भारतसँग नरम भएको आरोप लगाउँदै आएका छन्, ' भट्टराई हलमा आरोप लगाउनेलाई चुनौति दिदै भने, 'हाम्रो सिगो पार्टीले मैले भारतसँग कहाँनेर झुके, त्यो पत्ता लगावोस्, म पार्टीको जस्तोसुकै कारबाही भोग्न तयार छु।'

भट्टराईले ३५ वर्षको पछिल्लो अवधिमा क्रान्ति नभएको उदाहरण दिदै भने, 'हामीले पेरुको पाठ सिक्दै चुनवाङ बैठक गरेका हौ। चुनबाङ बैठकले जनयुद्ध र जनविदोहको संश्लेषित विचार ल्यायो, जुन पाटीको मौलिक लाइन हो।'

गंगबु डिनरबारे भट्टराई पनि थप स्पष्ट पारे। 'मार्क्सवादी पार्टीका नीति निर्माण गर्ने कुरा, संगठनात्मक संरचना कस्तो बनाउने भन्नेबारे त्यो डिनरमा छलफल गरेका हौं', भट्टराई भने, '२० वर्षको अन्तरालमा म उहा (वैद्य) सँग कहिलै छुट्टै बसेका थिइनँ, नेतृत्वको सामुहिकता र विचार संघर्षको विधि निर्माणको विषयमा छलफल भएको हो, यसबाट अध्यक्ष व्यक्तिवादी हुँदै गएको हो कि भन्ने आंशका हुन्छ। अध्यक्षले दुश्मनका मात्र होइन साथीहरुको घेराबन्दी परे भन्नु ठीक थियो त? यसबारे उहाँले जवाफ दिनुपर्छ।'

भट्टराईले वैद्यको दस्तावेज अनुसार मार्क्सवादको एउटै परिभाषा नहुने जिकिर गरे। 'पहिले सूर्यको किरणले स्ट्रेट भएर आउँछ भन्ने थियो, तर क्वाण्टम सिद्धान्त आएपछि त्यो बद्लियो। प्रकाश छिन्नविन्न र सिधा तरिकाले पनि आउँछ भन्ने सावित भयो।', भट्टराईको तर्क थियो, 'अहिलेको मार्क्सवाद पनि त्यही हो। त्यसलाई अहिलेको अवस्थामा नयाँ परिभाषा गरिनुपर्छ।'

उनले भारतलाइ चिढ्याएर होइन, उसलाई न्युटि्रलाईज गरेर जानुपर्ने तर्क दिए। 'अहिले सिधै भारतलाई चिढ्यायो भने उसले यहाँ हस्तक्षेप गर्ने सम्भावना रहन्छ, विभिन्न परिस्थिति हेरेर भारतलाई न्युटि्रलाइज गर्दै विद्रोहको योजना बनाउनुपर्छ, ताकि भारतले हस्तक्षेप गरेको वेला राष्ट्संघले सघावोस्। त्यस्तो अवस्थामा मात्र विद्रोहले अन्तर्राष्टि्रय मान्यता पाउँछ। होइन भने हामी पेरुजस्तै हुन्छौं, सत्तालाई टिकाउन सक्ने छैनौं।'

भट्टराईले फरक मत राखेर अध्यक्षमाथि थ्रेट नपारेको प्रष्ट पारे। 'बाचुञ्जेल स्टालिनका सत प्रतिशत विचार ठीक मान्ने र मरेपछि उनकै सहयोगी ख्रुश्चेबले स्टालिनलाई सबै बेठीक भएको आरोप लगाए,' उनले दाहालको कार्यशैलीप्रति लक्षित गर्दै भने, 'अध्यक्षको शैलीले उहाँ बाचुञ्जेल डरलाग्दो व्यक्ति बन्नुहुन्छ कि भन्ने हाम्रो आंशका हो, त्यो हुनुहुँदैन। त्यसैले पार्टीभित्र व्यक्तिगत भन्दा पनि सामुहिक नेतृत्व दिनुपर्छ भन्ने मेरो मान्यता हो।'

भारतको विरोध नगर्ने कम्युनिष्ट नेपाली कम्युनिष्ट हुन नसक्ने भट्टराईको तर्क छ।' सुगौलीसन्धीपछि हाम्रो देश अर्ध औपनिवेशिक, अर्ध सामन्तवाद हाबी छ, त्यसको नेतृत्व भारतले गरिरहेको छ, जसको अन्त्य हुनुपर्छ। त्यस्को नेतृत्व माओवादीले नै गर्नुपर्छ।', भट्टराई दाहाल र वैद्यप्रति आक्रोश पोख्दै भने, 'मैले निरन्तर पार्टीमा यस्तो धारणा राख्दै आएको छु, अनि म कसरी भए भारतपरस्त?'

भट्टराईले आफ्नो पनि विद्रोहकै लाइन भएको दाबी गरे। 'अब ६ महिनाको तत्कालिन कार्ययोजना बनाउनुपर्छ', उनको जिकिर थियो, 'त्यसका लागि सडक र सदनका मोर्चालाई तताउँदै विद्रोहको आधार तयार पार्नुपर्छ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out