जेठ १४ मा पुग्ने माओवादीका तीन बाटा

भोजराज भाट, काठमाडौं, कात्तिक २६- एकीकृत नेकपा (माओवादी)का तीन शीर्ष नेताले सरकार नपाए संविधानसभाको म्याद सकिने आगामी जेठ १४ सम्म पुग्ने तीनथरी बाटो तय गरेका छन्।तीनै नेताले निर्धारण गरेको बाटो एउटै छ : 'जनविद्रोह।' उनीहरूबीचको विवाद त्यसलाई कहिले प्रयोग गर्ने भन्ने मात्र रहेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधाननिर्माण र 'विद्रोह'को तयारी सँगसँगै गर्नुपर्ने धारणा अघि सारेका छन्। उपाध्यक्ष मोहन वैद्यले भने शान्तिप्रक्रिया छाडेर सोझै जनविद्रोहमा जानुपर्नेमा जोड दिएका छन्।

यी दुईभन्दा भिन्न अर्का उपाध्यक्ष बाबुराम भट्टराईले अन्तिम अवस्थासम्म जनपक्षीय संविधान बनाउनेतिर जोड दिनुपर्ने तर 'प्रतिगामी तत्व'ले संविधान बन्न नदिने षड्यन्त्र गरेको खण्डमा विद्रोहको उद्घोष गर्नुपर्ने धारणा राखेका छन्।

दाहालले राष्ट्रिय स्वाधीनताको विषयलाई प्रमुखता दिएर मात्र विद्रोहको आधार तयार पार्न सकिने ठान्छन्। केन्द्रीय समितिको मंसिर ५ मा हुने विस्तारित बैठकमा प्रस्तुत गर्ने दाहालको दस्ताबेजमा विद्रोहात्मक ढंगले क्रान्तिलाई पूर्णता दिने पार्टीको स्पष्ट नीति रहँदै आएको उल्लेख छ।
उनको स्पष्टीकरणपत्रको पृष्ठ ७ मा लेखिएको छ, 'मैले पहिले पनि भनेको छु, हाम्रो विकसित कार्यदिशा र रणनीतिको सार सुधारवादी ढंगले जानु पटक्कै होइन।'

'राष्ट्रिय स्वाधीनताको विषयलाई प्रमुखता दिएर मात्र हामीले विद्रोहका आधार तयार गर्न सकिन्छ,' उनले भनेका छन्, 'हाम्रो युद्ध गृहयुद्धको रुपमा सुरू भयो, अब राष्ट्रिय युद्धको रुपमा समापन हुन्छ र हुनुपर्छ।'

गत वैखाखमा स्थगित आफ्नो पार्टी आन्दोलनको 'तेस्रो धक्का'लाई पूर्णता दिन लाग्नुपर्ने दाहालले जोड दिएका छन्। माओवादीले त्यो बेला चैत २४ गते जनआन्दोलनको दिन पारेर देशव्यापी आमसभालाई 'पहिलो धक्का', बैशाख १८ गते मई दिवसको दिनदेखि सुरू गरेको अनिश्चितकालीन आमहड्ताललाई 'दोस्रो धक्का' र जेठ १४ भन्दा केही दिनअघि थाल्ने भनिएको हिंसात्मक हुनसक्ने आन्दोलनलाई अन्तिम् अर्थात् तेस्रो धक्काको रूपमा योजना बनाएका थिए।

'अब तेस्रो धक्काको कार्यक्रम बनाउन बाँकी छ, त्यसलाई पूर्णता दिन हाम्रो सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्छ। बुझ्नै पर्ने कुरा यो हो कि, अबको युद्ध परम्परागत ढंगले हुँदैन,' दाहालको स्पष्टीकरणको पृष्ठ ८ मा उल्लेख छ, 'तेस्रो धक्कासम्म पुग्दा त्यो पूर्णरुपले सफल नहुन पनि सक्छ, त्यतिवेला विद्रोह राष्ट्रिय युद्धमा परिणत हुनसक्छ। र, राष्ट्रिय युद्धको चरित्र दीर्घकालीन पनि बन्न सक्छ।'

दाहालको संविधान निर्माण र विद्रोहको तयारी सँगसँगै गर्नुपर्ने मत छ। उपाध्यक्ष मोहन वैद्यले भने शान्तिप्रक्रिया छाडेर सोझै जनविद्रोहमा जानुपर्नेमा जोड दिएका छन्। यी दुईभन्दा भिन्न अर्का उपाध्यक्ष बाबुराम भट्टराईले अन्तिम अवस्थासम्म जनपक्षीय संविधान बनाउनेतिर जोड दिनुपर्ने तर 'प्रतिगामी तत्व'ले संविधान बन्न नदिने षड्यन्त्र गरेको खण्डमा विद्रोहको उद्घोष गर्नुपर्ने धारणा राखेका छन्।

भट्टराईले विद्रोहका तीन सम्भावित परिदृश्यको कल्पना गरेका छन्।
पहिलो : सडक, सदन र सरकारको मोर्चाको कुशल संयोजन हुनसके जनताको संघीय गणतन्त्रको सारतत्वसहितको अधिकतम प्रगतिशील संविधान बन्ने र क्रान्ति केही भिन्न ढंगले अघि बढ्नेछ। तीन मोर्चाबाट गरिने संघर्षमा एक पक्षले अर्को पक्षलाई पूरै हटाउन सक्ने छैन र दुबैलाई मान्य हुने सम्झौंताको संविधान बन्न सक्छ। संविधान बने पनि कार्यान्वयनमा झडप पर्न सक्छ र जनविद्रोहको विन्दु केही पर सर्न सक्छ।

संविधानसभामा सर्वाहारा र न्युन-पुँजीपति वर्गको स्पष्ट बहुमत रहेको स्थितिमा सम्झौताको संविधान बन्नै सक्दैन वा बनाउनै हुँदैन भन्नु मार्क्सवाद नभएर अराजकतावाद हुन्छ। संविधानसभाबाट जनताको संघीय गणतन्त्रको संविधान बनाउन सक्रिय र इमानदारीपूर्वक पहल गरेर मात्र जनसमुदायलाई भावी जनविद्रोहको निम्ति तयार गर्न सकिन्छ।

दोस्रो : माओवादी नेतृत्वको संयुक्त सरकार भए मात्र यस्तो परिदृश्य हुनसक्छ। माओवादीले इमानदारीपूर्वक संविधानसभाबाट जनताको संविधान बनाउने प्रयत्न गर्दागर्दै प्रतिक्रान्तिकारी शक्तिहरूले संविधान बन्न नदिने, संविधानसभा भंग गर्ने आदि हर्कत गरे भने उनीहरू विरूद्ध तल सडकबाट जनताको जुझारू प्रतिरोध र माथि वैधानिक सरकारले उनीहरू विरूद्ध क्रान्तिकारी अधिनायकत्व संगठित गरेर मौलिक ढंगले जनताको जनवादी सत्ता कायम गर्ने हुनसक्छ।

यसरी सदन र सरकारको वैधानिक छत्रछायाभित्र हुने मौलिक क्रान्ति नेपालको वर्तमान भू-राजनीतिक जटिलतामा विशेष महत्वको हुनेछ, जसका विरूद्ध वाह्य हस्तक्षेप त्यति सहज हुने छैन र त्यसले क्रान्तिलाई जोगाएर निरन्तरता दिने सापेक्ष ग्यारेण्टी पनि गर्नेछ। वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा क्रान्तिको यो नयाँ मोडल ऐतिहासिक महत्वको हुनेछ। र, यसलाई मूर्तरुप दिन सच्चा सर्वहारावादी क्रान्तिकारीहरू विशेष सजग र सक्रिय हुन जरुरी छ।

तेस्रो : माओवादीलाई सरकारको नेतृत्वबाट वञ्चित गर्ने वा सदनसमेत भंग गर्ने कार्य भए क्रान्तिकारीले सडक र सदनको मोर्चा वा सडकको मात्र मोर्चा प्रयोग गरेर आम जनविद्रोह संगठित गर्ने प्रयत्न गर्नेछन् र प्रतिक्रियावादी सत्ताको संकट तीव्र बन्दै गइरहेको वर्तमान स्थितिमा त्यो सफल हुने सम्भावना पनि रहन्छ। तर विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय, वर्गीय र राजनीतिक शक्ति सन्तुलनलाई मध्यनजर ग्ार्दा त्यस्तो क्रान्तिकारी सत्ताविरुद्ध प्रत्यक्ष वा परोक्ष वाह्यरुपमा अमेरिका र भारतको हस्तक्षेप हुने खतरा प्रवल रहनेछ। त्यस्तो स्थितिमा माओवादी पुनः दीर्घकालिन जनयुद्ध र राष्ट्रिय युद्धमा फर्कने अठोट र तयारीविना पुरानै ढंगले जनवादी क्रान्ति पूरा गर्ने ध्येय राख्नु निकै चुनौतिपूर्ण हुनेछ। त्यसको निम्ति चार तयारी (सांगठनिक, राजनीतिक, वैचारिक र प्राविधिक) र मुख्यतः प्राविधिक तयारीको कामलाई आजैदेखि विशेष गम्भीरताका साथ लिनु अत्यन्त जरूरी छ।

भट्टराईले दस्तावेजमा जनविद्रोहको औचित्य प्ाुष्टि गर्न खोजेका छन्। 'अहिलेको वहसको विषय सशस्त्र जनविद्रोह संगठित गर्ने कि नगर्ने? भन्ने नभएर जनविद्रोह कसरी सफलतापूर्वक सम्पन्न गर्ने र त्यसलाई टिकाएर निरन्तरता दिने भन्ने हो,' भट्टराईको स्पष्टीकरणपत्र पृष्ठ ९ मा भनिएको छ, 'क्रान्तिकारी संकट तीब्र बन्दै गइरहेको वर्तमान नेपालमा क्रान्ति अनिवार्य र सम्भव छ तर पुरानै ढंगले होइन। नयाँ ढंगले मात्र सम्भव छ भन्ने कुरालाई सच्चा सर्वहारावादी क्रान्तिकारीहरूले विशेष ध्यान दिनैपर्छ र त्यही अनुसारको तयारी गर्नुपर्छ।'

राष्ट्रिय र अन्तर्राष्ट्रिय माहौल जनविद्रोह प्रतिकूल रहेको दाहाल र भट्टराईको विचारप्रति वैद्य सहमत छैनन्। उनले आफ्नो दस्तावेजमा अहिले विद्रोहका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल भएको ब्याख्या गरेका छन् (हेर्नुस् बक्स)। 'जनयुद्धको जगमा टेकेर नै आम सशस्त्र विद्रोह सफलतापूर्वक सम्पन्न हुनसक्छ, अन्यथा होइन। जनयुद्धको जगमा आम सशस्त्र विद्रोह नै नेपाली क्रान्तिको मौलिक मोडेल हो,' वैद्य दस्तावेजको पृष्ठ ४ मा छ, 'हामी स्पष्ट हुन जरुरी छ, नेपाली जनविद्रोह वा क्रान्तिको नयाँ मोडेल शान्तिपूर्ण संक्रमणको सिद्धान्तमा आधारित हुनै सक्तैन।'

आगामी योजनाबारे तीनै नेताको फरक धारणा छ। दाहाल र भट्टराईले जनताले बुझ्ने सरल भाषामा हाते संविधान बनाई देश्ाव्यापी प्रचार-प्रसार गर्नुपर्नेमा जोड दिएका छन्। दाहालले मंसिर-पुस महिनासम्म ग्रामीणस्तरदेखि जिल्ला र राज्यस्तरसम्म वाईसिएलका विशेष टीमको गठन गरी प्रभावकारी प्रशिक्षण दिर्ने योजना प्रस्ताव गरेका छन्। उनले कुनै पनि बेला संविधानसभा विघटन गरी राष्ट्रपति शासनमा जाने खतरा देखिएकोेले यो 'विशेष टीम' लाई प्रतिरोध दस्ताको रुपमा २४ सै घण्टा सजग राख्नुपर्ने औंल्याएका छन्।

वैद्यले जनविद्रोको तयारीका कामहरूलाई केन्द्रविन्दुमा राखी सैद्धान्तिक तथा राजनीतिक कामहरूलाई प्रभावकारी ढंगले अगाढि बढ्ाउनुपर्ने प्रस्ताव गरेका छन्। उनको दस्तावेजमा केन्द्रीय ब्यूरो, जनरल स्टाफको पुनर्गठन, जिल्लामा जुझारू टीम बनाउनुपर्ने योजना छ। वैद्यले 'साम्राज्यवादविरोधी र विस्तारवादविरोधी' शक्तिका बीच कार्यगत एकतामा जोड दिएका छन्।

भट्टराईले आगामी माघसम्म राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नुपर्ने माग राखेका छन्। दाहाल र वैद्यको दस्तावेजमा महाधिवेशनको कुरै उठेको छैन। वाईसिएलको टीमलाई देशव्यापी सञ्जाल निर्माण गरी पुसभित्र प्रशिक्षण दिइसक्नुपर्ने भट्टराईको पनि योजना छ। 'वर्तमान सरकार निर्माणको प्रक्रिया असफल भएको वहानामा संविधानसभा भंग गरेर राष्ट्रपति शासन वा अन्य कुनै प्रतिक्रान्तिकारी कदम चालिए तत्काल त्यसका विरुद्ध देशव्यापी आन्दोलन संगठित गर्नुपर्छ', भट्टराई दस्तावेजको पृष्ठ ५ मा भनिएको छ, 'सामान्य अवस्था रहेमा राष्ट्रिय महाधिवेशनपश्चात् व्यवस्थित ढंगलेे देशव्यापी संघर्षको कार्यक्रम सञ्चालन गर्ने र संविधानसभाबाट संविधान जारी गर्ने समयमा आन्दोलनलाई उत्कर्षमा पुर्‍याउनुपर्छ।'


दाहाल र भट्टराईको जनविद्रोहको योजनाप्रति वैद्यले 'ओठे क्रान्ति' मात्र हो कि भन्ने आंशका गरेका छन्। 'समस्याको प्रमुख जिम्मेवार मूल नेतृत्व रहेको स्पष्ट छ, कार्यदिशा जतिसुकै सही र क्रान्तिकारी भए पनि त्यसलाई कार्यान्वयन गरिदैन र क्रान्तिको तयारीमा गम्भीरतापूर्वक लगिदैन भने त्यसको वास्तविक अर्थ सो कार्यदिशाको विरोधमा अवसरवादी कार्यदिशाकै अवलम्बन गरेको ठहर्छ।', दाहालप्रति इंगित गर्दै वैद्यको दस्तावेजको पृष्ठ ६ मा भनिएको छ, 'अन्ततः त्यसको अर्थ गम्भीर दक्षिणपन्थी संशोधनवादी भासमा फस्नु नै हुन्छ। त्यसो हुन नपाओस् भन्नका लागि हामी विशेष रुपमा गम्भीर बन्न जरुरी छ।'

क्रान्तिका लागि अनुकूल समय : वैद्य
अन्तर्राष्ट्रिय रुपमा विश्वको प्रमुख दुश्मनका रुपमा परिचित अमेरिकी साम्राज्यवाद संकटग्रस्त बन्दै गएको र साम्राज्यवादी बर्बरता विरुद्ध समाजवादको विकल्प सशक्त रुपमा मुखरित भएको देखिन्छ। यसबाट अन्तर्राष्ट्रिय जगतमा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको कुरा स्पष्ट हुन्छ।

दक्षिण एसियमा दादागिरीको भूमिका निर्वाह गर्दै आएको भारत, यहाँ आफ्नो प्रभाव बढाउन प्रयत्नशील अमेरिका र नयाँ शक्ति केन्द्र्रका रुपमा विकसित चीनबीच त्रिकोणात्मक संघर्ष चलिरहेको छ। परन्तु दक्षिण एसियाली देशका लागि भने भारत नै प्रमुख खतरा रहेको छ।

श्रीलंकामा जातीय मुक्ति आन्दोलन स्थायी रुपमा पराजित भएको तथा सर्बाहारा वर्गको नेतृत्वमा जनवादी आन्दोलन विकसित हुन नसकेको स्थितिमा दक्षिण एसियामा क्रान्ति केही कमजोर बन्न गएको भए पनि भारत तथा नेपालमा क्रान्तिको धार शक्तिमै छ। र, अहिले पनि दक्षिण एसिया मूलतः क्रान्तिको तुफानी केन्द्र रहेको छ।

यस अवधिमा संविधानसभा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायतका पार्टी एजेण्डा स्थापित भएका छन्। संविधानसभामा अग्रता हासिल गरेर पार्टी जनवादी तथा कम्युनिष्ट आन्दोलनको मूल धार बन्न गएको छ । जनतामा पार्टीप्रतिको विश्वास बढ्दै गएको छ र जनताले पार्टीबाट क्रान्तिकारी रुपान्तरणको आशा तथा अपेक्षा गर्दै आएका छन्। क्रान्तिकारी कम्युनिष्टहरूबीच एकीकरणको प्रक्रिया अगाडि बढ्दै गएको छ।

यस्तो अवस्थामा क्रान्तिलाई अगाडि बढाउन वस्तुगत परिस्थति अनुकूल बन्दै गएको देखिन्छ। आत्मगत परिस्थितिका सन्दर्भमा केही समस्या अवश्यै छन्। परन्तु तिनको समाधान गर्दै तथा पार्टीलाई एकताबद्ध तुल्याउँदै तयारीका काममा विशेष जोड दिइएमा नेपालमा जनविद्रोहलाई प्रभावकारी ढंगले सम्पन्न गर्न सकिन्छ र सक्नै पर्छ।

परन्तु जनविद्रोहको तयारीका काम भने पछाडि पर्दै आएका छन्। सांगठनिक क्षेत्रमा कैयौं कमीकमजोरी देखिदै गएका छन्। कार्यदिशाबारे नेतृत्व पंक्तिमा एकरुपताको अभाव देखिन्छ र पारित कार्यदिशाको कार्यान्वयनमा गम्भीर समस्या पैदा हुँदै आएका छन्। आन्दोलन संसदवादी र राष्ट्रिय आत्मसमर्पणवादी भासमा फस्ने खतरा प्रबल बन्दै गएको छ। (वैद्यको दस्तावेजबाट)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out