चीनलाई च्याप्दै माओवादी

दक्षिणको छिमेकी भारतसाग सम्बन्ध चिसिएपछि उत्तरको छिमेकी चीनसाग सम्बन्ध गाढा तुल्याउन माओवादी नेताले चीन भ्रमण गर्ने क्रम तीव्र बनाइरहेका छन्
काठमाडौं, १२ कात्तिक : गत साता माओवादी र चीनसँग जोडिएका दुई प्रसंग नेपालीे मिडियामा खुबै प्रचारमा आए । पहिलो, माओवादी सेनाका कमान्डरहरूको चीन भ्रमण र सांघाई एक्स्पो हँुदै बेइजिङ पुगेका प्रचण्डको भ्रमण । जनसेनाका कमान्डरहरूको भ्रमणलाई लिएर सरकारले आपत्ति जनाएपछि यो प्रकरण चर्चामा रह्यो भने बेइजिङमा भएको राजनीतिक भेटघाटमा प्रचण्डले राखेको नयाँ प्रस्तावले उनको भ्रमणलाई चर्चामा ल्यायो 
महत्त्वपूर्ण कुरा के छ भने जनयुद्धकालको लामो अवधि नयाँदिल्लीदेखि भारतका विभिन्न सहरमा बसेर राजनीति र युद्धको योजना बुनेका माओवादी नेताहरूले शान्तिप्रक्रियापछि बेइजिङसँग निकटता बढाउन खोजेका छन् । माओवादी नेताहरूले गरेका शंृखलाबद्ध गरेका चीन भ्रमणलाई पनि यसैको पहलका रूपमा लिने गरिएको छ 
शान्तिप्रक्रियापछि माओवादीका धेरै नेताले भारतको तुलनामा चीनको भ्रमण बढी गरेका छन् । भारतसँग सम्बन्ध चिसिएर उत्तरी छिमेकीसँग गाढा सम्बन्ध बनाउन माओवादी नेताले चीन भ्रमण तीव्र बनाइरहेको आँकलन गरिएको छ । तर, माओवादी नेता कृष्णबहादुर महरा यस्तो भनाइको खण्डन गर्छन् । 'माओवादी कसैसित विशेष सम्बन्ध बनाउने पक्षमा छैन, सत्ताका लागि कुनै वैदेशिक शक्तिकेन्द्रको पुच्छर बन्ने पुच्छरवादबाट हामी मुक्त हुनुपर्छ,' उनको भनाइ छ, 'स्वतन्त्र मौलिक धार निर्माण गरेर मात्र नेपाल स्वतन्त्र रहन सक्छ, हामीले भारत र चीन दुवैसँग समान सम्बन्ध राख्नुपर्छ ।'
तर भारतले माओवादी नेताको चीन भ्रमणलाई शंकाको दृष्टिले हेर्ने गरेको माओवादी नेताहरूको गुनासो छ । 'यो भारतको माओवादी र स्वतन्त्र नेपाललाई हेर्ने गलत दृष्टकोण हो,' माओवादी प्रवक्ता भन्छन्, 'हामीले त दुवै देशसँग समान सम्बन्ध बनाउन चाहेका छौँ ।'
त्रिदेशीय समझदारीको हौवा
गत साता प्रचण्डले ५ देखि ९ कात्तिकसम्म चीन भ्रमण गरे । आफ्नो भ्रमण स्वाभाविक भएको भन्दै उनले 'नेपालमा रहेका भारतीय दलालहरूले' आफ्नो चीन भ्रमणलाई गलत रूपमा व्याख्या गरेको आरोप लगाए 
'सांघाई एक्पोमा जाने कुरा पहिला नै तय भएको थियो, उद्घाटनमा जान नपाएपछि समापनमा जानुभएको हो,' माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रचण्डको चीन भ्रमणको औचित्य पुष्टि गर्दै भने, 'त्यस्तो समारोहमा सम्मानसाथ आमन्त्रण गरेपछि नजाँदा राम्रो हुने थिएन ।'
भ्रमणको मुख्य उद्देश्य सांघाई एक्स्पोको अवलोकन भए पनि प्रचण्डले बेइजिङमा राजनीतिक भेटघाट गरे । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख वाङ जेनुन नेतृत्वको टोलीका साथै मन्त्री र सहायक मन्त्रीस्तरीय भेटवार्ताहरू पनि गरे प्रचण्डले । भेटवार्ता दुई देशबीचको सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धलाई अझ सुदृढ गर्नेमा केन्दि्रत भएको उनको दाबी छ 
प्रचण्ड यसपटकको चीन भ्रमणपछि नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक समझदारी आवश्यक रहेको बताएर चर्चामा आए । चीनको पाँचदिने भ्रमणपछि ९ कात्तिकमा स्वदेश र्फकंदा प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग व्यक्त गरेको यस्तो भनाइलाई विभिन्न रूपमा अथ्र्याउन थालिएको छ 
नेपालको शान्तिप्रक्रियालाई उपयुक्त निष्कर्षमा पुर्‍याउन र वर्तमान राजनीतिक गतिरोधको अन्त्य गर्न पनि काठमाडौं, बेइजिङ र दिल्लीबीच रणनीतिक समझदारी आवश्यक भएको प्रचण्डको मान्यता छ । नेपालका दुई छिमेकी देश आर्थिक विकासमा अघि बढिरहेको र नेपालको राजनीतिमा दुवैको चासो व्यक्त भइरहेका वेला प्रचण्डको यस्तो भनाइ आएको छ । 'हामीले चीन भ्रमणका क्रममा पनि यही कुरामा जोड दिएका छौँ कि हामी नेपालको शान्तिप्रक्रिया र संविधान निर्माण नेपाली मौलिकतामा अगाडि बढाउन चाहन्छौँ,' प्रचण्डले भनेका थिए, 'यसबारेमा चिनियाँ पक्ष धेरै सकारात्मक पाइयो ।'
अझ प्रचण्डले उनको चीन भ्रमणमा बेइजिङ र नयाँदिल्लीलाई समेत नेपालको बारेमा समान धारणा बनाउन आग्रह गरे । आगामी हप्ता चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिको नेतृत्वमा हुन लागेको दिल्ली भ्रमणका वेला त्रिदेशीय रणनीतिक समझदारीबारे कुरा गर्न चिनियाँ पक्षलाई आग्रह गरेको जानकारी दिँदै प्रचण्डले यसमा चीन सकारात्मक भएको दाबी गरे । 'चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने पक्षमा छैन, ऊ स्वतन्त्र नेपाल हेर्न चाहन्छ । तर, नेपालको शान्ति र संविधानबारे धेरै चिन्तित छ,' प्रचण्डले भने, 'उनीहरू नेपाललाई आर्थिक विकासको दिशामा गएको देख्न चाहन्छन् ।'
भ्रमण शृंखला
प्रचण्डको चीन भ्रमणपूर्व माओवादी जनसेनाका कमान्डरहरूले गोप्य रूपमा चीन भ्रमण गरे । उनीहरू एक साता लामो भ्रमण सकेर नेपाल फर्केपछि मात्र भ्रमण गरेको खुलासा भयो र विवाद उब्ज्यो । २९ असोज ०६७ माओवादी स्थायी समिति सदस्य वर्षमान पुन अनन्त, जनसेनाका डेपुटी कमान्डर चन्द्रप्रसाद खनाल बलदेव, जनार्दन शर्मा, दोस्रो डिभिजन कमान्डर सुकबहादुर मगर, चौथोका तेजबहादुर वली, छैटौंका महेन्द्रबहादुर शाही, माओवादी सभासद् ओनसरी घर्तीसहितका ११ जनाले साताव्यापी चीन भ्रमण गरेका थिए 
उनीहरूको चीन भ्रमणलाईर् लिएर सरकारले आपत्ति जनायो । सरकारले भ्रमण किन गरेको भन्दै यसबारे अनमिनसँग स्पष्टीकरणसमेत माग्यो । मन्त्री र माओवादी नेताबीच एक-अर्कालाई कारबाही गर्नुपर्ने भन्दै प्रचारयुद्ध गरियो । सरकारले अनमिनको निगरानीमा रहेका जनसेना चीन गएको विषयमा अनमिनसँग स्पष्टीकरण मागेको भए पनि अनमिनले बिदामा बसेका लडाकु कहाँ जान्छन् भन्ने आफूलाई थाहा नहुने जवाफ फर्कायो । प्रधानमन्त्री माधवकुमार नेपालले चीन भ्रमणमा जाने लडाकुलाई कारबाही गर्नुपर्ने भन्दै भाषण गरे भने माओवादी नेता अनन्तले विशेष समितिमा राख्नुपर्ने कुरा बोल्दै हिँड्ने प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने बताए । उता शुक्रबार मात्र शान्तिमन्त्री रकम चेम्जोङले चीन भ्रमण गर्ने लडाकुलाई कारबाही गर्ने दाबी गरेका थिए 
त्यसअघि माओवादी नेता प्रकाशको नेतृत्वमा १५ असार ०६७ मा माओवादी नेताको एक टोली चीन भ्रमणमा गएको थियो । चीन भ्रमणमा उपाध्यक्ष प्रकाशसहित माओवादी स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्यहरू हितराज पाण्डे, लोकेन्द्र विष्ट, केन्द्रीय सदस्यहरू खगराज भट्ट, सन्तोष बुढा, पवनमान श्रेष्ठ, कृष्णदेव सिंह, दुर्लभ पुन, सभासद् सत्य पहाडी, गंगा दाहाल थिए 
चीन भ्रमणका वेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका नेताहरूसँग बेइजिङमा वार्ता भएको थियो । त्यसबाहेक टोलीले चिनियाँ सरकारी अधिकारीसँग पनि भेट गरेको थियो । भ्रमणमा जाने टोली बेइजिङका साथै हुनान, येनान, ताङजाङ सहरमा पुगेको थियो । टोलीले बेइजिङबाहिर पनि हुनान, येनान, ताङजाङ सहरका कम्युनिस्ट पार्टीका स्थानीय नेताहरूसँग भेट गरेको थियो । चीन भ्रमणमा जाँदा माओवादी नेताहरू ग्रेटवाल र माओ जन्मेको गाउँ अवलोकन गर्न रुचाउने गरेका छन् 
त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्डको नेतृत्वमा २५ असोज ०६६ मा माओवादी उपाध्यक्ष मोहन वैद्य किरण, विदेश विभाग प्रमुख महरा र प्रचण्डका स्वकीय सचिवसमेत रहेका उनका पुत्र प्रकाश चीन भ्रमणमा गएका थिए । त्यसवेला माओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग भेट गरेका थिए । चीन भ्रमण सकेर २ कात्तिकमा स्वदेश फर्केका माओवादी अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरूसँग भनेका थिए, 'चिनियाँ कम्युनिस्ट पार्टी र माओवादीबीच र माओवादी र चीनबीचको सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी भयो ।' त्यसअघि १५ भदौ ०६६ मा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य चाङ काउलीको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्दा माओवादी नेतालाई भ्रमणको निम्तो दिएको थियो 
चीन भ्रमणपूर्व चारदिने लामो हङकङ भ्रमण गरेर प्रचण्डले उत्तरी छिमेकी चीनसँग सम्बन्ध विस्तारमा पाइला चालेका थिए । १ असोज ०६६ मा हङकङबाट फर्केका प्रचण्डले भ्रमण पार्टीको आन्तरिक कामका लागि तय भएको भए पनि केही चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेट गरेको बताएका थिए । तर, उनका विरोधीहरूले 'प्रचण्डको हङकङको भ्रमण संयुक्त राष्ट्रिय सरकारका लागि बेइजिङको समर्थन जुटाउने' अभिप्रायमा केन्दि्रत रहेको टिप्पणी गरेका थिए । हङकङ भ्रमणमा प्रचण्डसहित पत्नी सीता, माओवादी विदेश विभाग प्रमुख महरा र विदेश विभाग सदस्य मनोजगंग थापा सहभागी थिए 
त्यसअघि ग्ात जेठमा राष्ट्रपति प्रकरणपछि प्रचण्डले चीन भ्रमण स्थगित गरेका थिए । प्रधानमन्त्री भएलगत्तै प्रचण्ड ओलम्पिक खेलको समापनमा लागि बेइजिङ गएका थिए । 'परम्परा मिचेर' चीन भ्रमण गएको भन्दै भारतले चासो राखेको थियो । नेपालका सबै प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमण भारतबाट गर्दै आएका थिए 
चीनसँग ०६० देखि मात्र माओवादीको सम्पर्क बढेको पाइन्छ । त्यति नै वेला चीनबाट एके ४७ राइफल भित्रिए । माओवादीले यसलाई चिनियाँ जनताको सहयोग मान्दै आएको छ । ०५९ मा माओवादीका अन्तर्राष्ट्रिय विभाग सदस्य मनोज थापा बेइजिङ गए र सम्पर्क जोडेर फर्के । दुई हप्ताको चीन बसाइमा उनले दक्षिण एसियासम्बन्धी प्राध्यापक खोङ वे वाङलगायतका बुद्धिजीवीसँग भेट गरे । ०६२ मंसिरको १२ बुँदे सम्झौतापछि चीनसँग अलि नजिक भयो सम्पर्क । अनि ०६२ मा माओवादी नेता अनन्तले सम्पर्क सूत्रमार्फत केही उच्च चिनियाँ अधिकारीसँग मकवानपुरमा गोप्य भेट गरे । पछि त्यो टोलीले माओवादी नेतासँग कामीडाँडामा भेट गरे । पछि अनन्त चीन गए 
चीन हेर्ने माओवादी नीति
०६५ साउनमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि माओवादीले विदेश विभाग हेर्ने जिम्मा स्थायी समिति सदस्य कृष्णबहादुर महरालाई दिएको थियो । नयाँ जिम्मेवारीपछि उनको सक्रियाता निकै बढेको छ । 'व्ार्तमान भूमण्डलीकृत विश्वमा कुशलतापूर्वक राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई सही ढंगले परिचालत नगरीकन तीव्र गतिमा समुन्नत नयाँ नेपाल निर्माण गर्न सकिन्न,' माओवादीले आफ्नो चुनावी घोषणापत्रमा भनेको थियो । यसैका आधारमा कूटनीतिक सम्बन्ध विकास गर्ने भन्दै माओवादी नेताले विभिन्न मुलुकको भ्रमण गर्दै आएका छन् 
दक्षिणी र उत्तरी छिमेकीसँग सम्बन्ध सन्तुलित पार्नु माओवादीका लागि खुबै चुनौतीपूर्ण बन्दै आएको छ । युद्धकालमा माओवादी चीनसँग नरम र भारत तथा अमेरिकासँग कडा रूपमा प्रस्तुत हुन्थ्यो । शान्तिकालमा आउँदा पनि पुरानो नीति कुनै न कुनै रूपमा प्रकट गर्दै आएको छ माओवादीले । अहिले पनि माओवादी उत्तरी छिमेकीसँग बढी नजिक छ भन्ने पनि प्रशस्त भेटिन्छन् । भारतले यो आशंका खुला रूपमै प्रकट गर्ने गरेको छ । तर, माओवादी घोषित नीति भने दुवै देशसँग समान रूपमा सम्बन्ध विस्तार गर्ने नै छ 
माओवादीले संविधानसभा निर्वाचनपूर्व सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा आफ्नो कूटनीतिक सम्बध र त्यसमा पनि भारत र चीनसँगको सम्बन्ध कस्तो रहने भन्ने उल्लेख गरेको थियो । उसले आफ्नो प्रतिबद्धतापत्रमा भनेको छ, 'पञ्चशील सिद्धान्तका आधारमा विश्वका सबै देशसँग मैत्री सम्बन्ध राखिनेछ । भारत र चीनजस्ता दुई ठूला छिमेकीसँगको सम्बन्ध सन्तुलित र सुदृढ बनाउन प्रयत्न गरिनेछ । विश्व अर्थतन्त्रको नयाँ इन्जिन बन्न थालेका चीन र भारतको तीव्र आर्थिक विकासबाट लाभ लिन नेपाली शासकवर्गको विगतको 'बफर स्टेट' मानसिकता परित्याग गरेर दुई देशबीचको अन्तर्सम्बन्धको गतिशील पुल बन्ने नीति अनुसरण गरिनेछ ।'
भारत-नेपाल विशेष सम्बन्धबारे माओवादीले प्रश्न उठाउँदै आएको छ भने चीनले पनि यस्तो विशेष सम्बन्ध देख्न चाहेको छैन । 'नेपालको आत्मनिर्भर र दिगो विकासका लागि बि्रटिस-भारतको पालादेखि विकसित भएको नेपाल-भारत असमान सम्बन्धको गम्भीर समीक्षा गरेर त्यसमा समयानुकूल परिवर्तन गर्नै पर्दछ,' माओवादीले भनेको छ, 'त्यसको निम्ति मुख्य रूपमा सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि खारेज गरेर पञ्चशीलको सिद्धान्तका आधारमा र आपसी हितमा नयाँ सन्धि गरिनुपर्छ । त्यसरी नै अन्य सन्धि-सम्झौताको पनि पुनरावलोकन गरेर आवश्यकताअनुसार संशोधन वा परिमार्जन वा खारेज गरिनुपर्दछ । यसबारे गम्भीर कूटनीतिक तथा अन्य पहल गरिनेछ ।'
नेपाल र चीनबीच भएको मैत्रीसन्धिको पुनरावलोकन प्रयासले माओवादी-चीनबीचको सम्बन्धबारे कुरा उठ्न थालेका थिए । माओवादी नेतृत्वको सरकारका वेला चीनले सन् १९६० मा नेपाल र चीनबीच भएको मैत्रीसन्धिको पुनरावलोकनका लागि पहल सुरु भएको थियो । ०१७ वैशाख १६ मा नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वप्रसाद कोइराला र नेपाल भ्रमणमा आएका चीनका प्रधानमन्त्री चाउ एनलाईले हस्ताक्षर गरेपछि नेपाल चीन शान्ति तथा मैत्री सन्धि कार्यान्वयनमा आएको थियो । त्यसको ५० वर्षपछि यसअघि विवादमा नआएको र नेपालका कम्युनिस्ट पार्टीहरूले समेत मुद्दा नबनाएको सन्धिको चीनले पुनरावलोकनका लागि प्रयास सुरु गरेपछि माओवादी र चीनवीचको सम्बन्धलाई लिएर कुरा उठेका थिए । नेपाल भ्रमणमा आएका चीनका विशेषदूत हु जेंगुईले ०६५ फागुन १५ मा परराष्ट्र मन्त्रालयमा सम्पन्न वार्तामा नयाँ नेपाल चीन शान्ति तथा मैत्री सन्धिको मस्यौदा परराष्ट्र सचिव सुरेशप्रसाद प्रधानलाई हस्तान्तरण गरेका थिए । 'पि|m तिब्बतका नाममा चीनविरुद्ध नेपालबाट हुनसक्ने गतिविधिप्रति चीन असाध्यै चिन्तित छ । उसले नेपालको भू-भागबाट चीनविरोधी गतिविधि नियन्त्रण होस् भन्ने चाहन्छ । अहिले पनि निर्वासित जीवन बिताएका दलाई लामा सर्मथकले वेलावेलामा नेपालमा चीनविरुद्ध गतिविधि गर्दै आएका छन् । यसले भविष्यमा अझ उग्र रूप लिन सक्ने चीनको आशंका हुनसक्छ,' माओवादी एक पोलिटब्युरो सदस्यको आँकलन छ, 'तर, चीनको यो आशंका मेट्ने प्रयासमा भारतले अवरोध पैदा गरेको छ ।'
टेप प्रकरण
गत १८ भदौमा एउटा सनसनीपूर्ण समाचार प्रकाशमा आयो । सरकार निर्माणका लागि सभासद् खरिद गर्न भन्दै माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले ५० करोड चिनियाँ व्यापारीसँग मागेको भनिएको टेप सार्वजनिक भयो । यसले दुवै पक्षलाई विवादमा त तान्यो, तर माओवादी-चीनबीचको सम्बन्धमा भने कुनै प्रभाव पारेन 
केही सञ्चारमाध्यमले सरकार निर्माणका लागि सभासद् खरिदबिक्री गर्ने उद्देश्यले चिनियाँ अधिकारीसँग कुराकानी गरेको भन्दै अडियो टेप प्रकाशन तथा प्रसारण गरेका छन् । तत्कालै माओवादी नेता महराले त्यसलाई निराधार बताए 
'मेरो व्यक्तिगत चरित्र हत्या गर्ने र वर्तमान राजनीतिक निकासका लागि पार्टीले गरिरहेको सकारात्मक प्रयासलाई ध्वंश गर्ने सुनियोजित षड्यन्त्रका रूपमा आएको एउटा झुटको खेती हो,' माओवादी नेता महराले विज्ञप्ति जारी गरेर सफाइ दिएका थिए 
तर, यो विषय त्यत्तिकै सेलाएन । माओवादीबाहेकका राजनीतिक दलले यसलाई संसद्मा छलफल गर्नुपर्ने माग राखे भने माओवादीले भारततर्फ संकेत गर्दे विदेशी दूतावासले सार्वजनिक गरेको काल्पनिक अडियो टेपले नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर खतरा रहेको भन्दै यसको छानविन गर्न माग गर्‍यो । माओवादी र अन्य राजनीतिक दलका आ-आफ्ना भनाइ आए पनि न त यो प्रकरणले संविधानसभामा प्रवेश पायो न त कुन निकायबाट यस्तो टेप रेकर्डिङ वा निर्माण गरियो भन्ने कुरा छानबिन नै भयो । टेप प्रकरणपछि चीन माओवादीसित सतर्क हुन खोज्ने आँकलन गरिए पनि त्यो सत्य साबित भएन । चीन र माओवादीको घनिष्टतालाई टेप प्रकरणले न्यूनीकरण गर्न सकेको छैन 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out