इरफान खानलाई नेपालीहरू आकर्षक लाग्यो

दीपेन्द्र लामा, काठमाडौं, कात्तिक २९- इरफान खानले खेलेका दुई नयाँ फिल्म 'नक आउट' र 'हिस्स्' रिलिज नभएर के भो त, उनी आफै प्रकट भएका छन् काठमाडौंमा। आरोहणले गर्न लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन उनले मुम्बईको गर्मी छलेका हुन्। शनिबार काठमाडौं ओर्लिएका उनी एक हप्ता नेपालमा रहनेछन्। यो छोटो छुट्टीको क्रममा सोमबारदेखि दुई दिन पोखरामा बिताउने उनको योजना छ।
शाहरुख खानको फिल्म 'बिल्लु'मा 'बिल्लु भयंकर' बनेका इरफान आइतबार साँझ गुरुकुल नाटकघरमा भेटिँदा भने 'सिम्पल' थिए। पहिलोपटक नेपाल आएका उनै 'बिल्लु'सँग गरिएको अन्तरंगः
कस्तो लाग्यो काठमाडौं?
काठमाडौं जति सुन्दर छ, ट्राफिक सिस्टम त्यति नै खराब रहेछ।

खराब भन्नाले?
सडक साँघुरो छ, गाडी धेरै। कुनै नियमबिना गाडी गुडिरहेको लाग्छ। ध्वनि र वायु प्रदुषण पनि धेरै छ।
यहाँको अस्तव्यस्त सडक देखेर मुम्बई सम्भि्कनुभो?
जेहोस् तुलना गर्न सकिन्छ। यहाँ आउनुअघि मुम्बईको ट्राफिक सबैभन्दा अव्यवस्थित लाग्थ्यो। तर, मुम्बईको जस्तै समस्या यहाँ पनि रहेछ।
नेपाल भ्रमण कसरी जुर्‍यो?
सुनील पोखरेलको निम्तो पाएर। सन् १९८४ देखि ८७ सम्म नयाँ दिल्लीको 'नेसनल स्कुल अफ ड्रामा'मा सुनील र म क्लासमेट थियौं। उनी निर्देशनका विद्यार्थी थिएँ भने म अभिनयको।
तपाईको पहिलो नेपाली साथी सुनील नै हुन्?
हो। दिल्लीमा पढ्दा नेपालबाट सुनील, सिक्किम र मणिपुरका अर्का दुई विद्यार्थी मेरो केही फरक साथी थिए।
सुनीललाई तपाईले कस्तो व्यक्तिको रूपमा चिन्नुभएको छ?
सरल आत्मा भएको एउटा संवेदनशील र मिलनसार मान्छे।
पढाइ सिद्धिएपछि तपाईहरूबीच सम्पर्क हुन्थ्यो?
खासै भएन। म मुम्बई गएँ। उनी नेपाल आए। पछि मैले कसैसँग नम्बर लिएर उनलाई फोन गरेँ। दिल्लीमा उनी नाटक देखाउन आउँदा एकचोटी भेट भएको थियो।
(फोटोग्राफर विजय राईले खिचेका फोटो जाँच्न थाले उनी। पटकपटक लाइट नपुग्ने हो कि भन्दै फोटोको चिन्ता गर्दैथिए।)
दुई दिनको अनुभवमा तपाईलाई नेपालको केले आकर्षित गर्‍यो?
यहाँका मान्छेहरूले। एकदम नम्र स्वभावका छन् नेपाली। अनुहार पनि राम्रा छन्। नेपालीहरू यति आकर्षक होलान् भन्ने मैले अनुमान गरेको थिइन।
आइतबार कहाँ घुम्नुभयो?
स्वयम्भु गएँ। तर, बुद्धको पोखरीमा सिक्का फ्याक्ने ठाउँभन्दा माथि गइन। मान्छेहरूको घेराउमा परेँ। फोटो खिच्न र अटो लिन धेरै भीड लागेपछि म गाडीमा फर्किएँ। मेरी श्रीमतीमात्रै उक्लिइन् माथि। गाडीभित्र बस्नु परे पनि बाहिर बाँदरको चर्तिकलाले रमाइलो बनायो।
तपाईले पढ्नुभएको दिल्लीमा पनि बाँदरको यस्तै आतंक छ नि?
दिल्लीमात्र होइन मेरो जन्मसहर जयपुरमा पनि छ। घरबाहिर राखेको जुत्ता लिएर बिजुलीको खम्बामा चढ्थे बाँदरहरू। त्यस्तो बेला बाँदरलाई केरा दिएर जुत्ता फिर्ता लिनुपर्थ्यो।
जयपुर र मुम्बईबीच के अन्तर छ?
जयपुर धेरै सानो सहर हो। एकपटक मुम्बईबाट फर्किंदा झन् सानो लाग्यो। जयपुरमा मेरो अस्तित्व सिद्धिएपछि म मुम्बई गएको हुँ। मान्छे उही, घटना उही, ठाउँ उही, सबथोक दोहोरिन थालेपछि मैले जयपुर छाडेँ। जयपुरमा म 'स्याचुरेट' भइसकेको थिएँ।
मुम्बईमा पनि कुनै दिन 'स्याचुरेट' हुने त होइन?
मुम्बई धेरै ठूलो सहर हो। त्यहाँ मान्छेहरू सधैं व्यस्त हुन्छन्। केही काम नगर्दासमेत मानसिक रूपमा भए पनि मान्छेहरू व्यस्त हुन्छन्। मुम्बईमा गरिने काममा दिनहुँ नयाँनयाँ चुनौती थपिन्छन्। त्यसैले जयपुरको जस्तो अवस्था आउँदैन होला। तर भविष्यमा रिटायर्ड बस्नुपर्‍यो भने चाहिँ अर्कै सहर रोज्नेछु।
कस्तो सहर?
कुनै सानो सहर अथवा ठूलै भए पनि बैंगलोर, न्युयोर्क र कहिलेकाहीँ कोलकाता मलाई मन पर्छ।
मुम्बईमा त्यस्तो के छैन?
मुम्बई सहरमा 'प्लानिङ' छैन। सहरको आकार बढिरहेको छ तर व्यवस्थापन सुधि्रएको छैन। अमानवीकरण दिनप्रतिदिन बढ्दै छ। यो पछि असफल सहरमा परिणत हुन सक्छ।
एउटा सहर सफल हुन के चाहिन्छ?
मुख्य कुरो 'प्लानिङ' नै हो। पैसा आएर मात्र हुँदैन। त्यसअनुसारको सिस्टम पनि हुनुपर्छ। काठमाडौंले पनि यसबारे सोच्नुपर्छ।
पोखरा घुम्न जाँदैहुनुहुन्छ रे। किन छान्नुभयो?
मैले छानेको होइन। सुनीलजीहरूले नै छानेका हुन्। म त चितवनको जंगल घुम्न चाहन्थेँ। तर, भारत र चितवनको जंगलबीच खासै भिन्नता नभएको बताउँदै मलाई पोखरा पठाउन लागेका हुन्। ताल र हिमालले गर्दा पोखरा रमाइलो हुन्छ भनिएको छ।
(कुराकानी चल्दैगर्दा उनले थुप्रै बेरुवा चुरोट पिए। एकपटक लाइटर भुइँमा झर्दा उनी लाइटरको छरपष्टिएका पार्टपूर्जा बटुल्न थाले।)
तपाईले नेपाली चुरोट पिउनुभयो त?
पिएँ। त्यो...। अँ सूर्य हो क्यारे।
नेपाली फिल्म हेर्नुभयो?
कुन हेरौं? तपाई नै सुझाव दिनुस्। नेपाली फिल्म मध्यमवर्गीय र सहरी युवावर्गले त्यति हेर्दैनन् भन्ने सुनेको छु।
नेपाली फिल्मले बलिउडको 'कपी' गरेर यस्तो भएको हो कि?
कपी त बलिउडले पनि हलिउडको गर्छ।
कपी गर्नु ठीक हो त?
सकेसम्म मौलिक नै बनाउनु राम्रो। तर, मैले इरान र अरू केही ठाउँमा बाहेक मौलिक फिल्म बनेको पाएको छैन।
बलिउडले आफ्नो बजार बिस्तारै बढाउँदैछ। यसलाई सांस्कृतिक साम्राज्यवादी भन्न मिल्दैन?
सांस्कृतिक साम्राज्यवादी त बलिउड होइन हलिउड हो। संसारका सबै मान्छेले अंग्रेजी भाषा बोलून् र हलिउडको फिल्म हेरून् भन्ने अभियानमा उनीहरू लागेका छन्। हलिउड भारतमा समेत झांगिइसकेको छ।
(त्यसपछि उनी नागरिक प्रतिनिधिसँग फोटो खिचाउँदै बेरुवा चुरोट सल्काएर हलबाहिर निस्किए।)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out