रणनीतिक साझेदारी कि प्रतिस्पर्धा ?

सुधीर शर्मा
"समदूरीको समझदारी निर्माण गर्न नसक्दा हामी एक वा अर्को छिमेकीको चेपुवामा परिरहन्छौं ।" 
 के नेपाल, भारत र चीनबीच कुनै किसिमको साझा रणनीतिक साझेदारी निर्माण हुन सक्छ ? माओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणबाट फर्केर यस्तो प्रस्ताव राखेपछि राजनीतिक वृत्तमा यो विषय बहस र विवादको घेरामा छ । कतिपयले त्रिदेशीय रणनीतिक साझेदारीबाट मुलुकमा थप वैदेशिक हस्तक्षेप निम्तिन सक्ने आशंका जाहेर गरेका छन् । अन्य केहीले विद्यमान हस्तक्षेप हटाउन वा घटाउन द्विपक्षीय र त्रिपक्षीय छलफल/समझदारी उपयोगी हुन सक्ने धारणा राखेका छन् । यस सम्बन्धी बहस चल्दै जाला तर नेपालमा सक्रियता बढाउँदै लगेका उदीयमान विश्वशक्तिहरू भारत र चीनका आक्रामक आकांक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयचाहिँ अब प्रमुख बनेर आइसकेको छ । एक हदसम्म हाम्रो शान्ति र स्थिरतासमेत यसैमा निर्भर छ । यस अर्थमा अध्यक्ष दाहालको प्रस्ताव विचारणीय छ ।

नेपाली राजनीतिमा भारतको परम्परागत प्रभाव रहँदै आएको छ भने चीनले मुख्यतः गणतन्त्र स्थापनापछि राजनीतिक सम्पर्क फराकिलो पार्न थालेको हो । पछिल्लो समयमा माओवादीको भारतीय संस्थापनसँग दूरी बढेको र उनीहरू उत्तरको छिमेकीतर्फ नजिकिएको देखिएको पृष्ठभूमिमा दाहालले नयाँ प्रस्ताव ल्याएका छन् । त्रिदेशीय रणनीतिक समझदारीको प्रस्तावप्रति चिनियाँ पक्ष सकारात्मक रहेको बेइजिङको तात्तातो खबरसमेत उनले सार्वजनिक गरेका छन् । यसप्रति दिल्लीको आधिकारिक प्रतिक्रिया के हुनेछ, त्योचाहिं प्रस्ट भइसकेको छैन । मूलतः त्यो प्रतिक्रियामै यो प्रस्तावको औचित्य निर्भर छ ।
डेढ वर्षदेखि चिसिँदै आएको माओवादी-दिल्ली सम्बन्ध भारतीय राजदूत राकेश सूदलाई सल्लेरीमा जुत्ता प्रहारपछि कटुताको उत्कर्षमा पुगेका बेला दाहालबाट समझदारी प्रस्ताव आएको हो । यस्तो 'समझदारी' निर्माणमा चिनियाँ सुझाव पनि जोडिएको स्पष्ट छ । माओवादी ठूलो पार्टी हुनुको नाताले भारतसँग राम्रो सम्बन्ध राख्न चीनका नेताहरूले आफूलाई सुझाव दिएको दाहालले स्पष्टै बताइसकेका छन् । त्यसअनुसार निकट भविष्यमा नयाँदिल्ली जाने र आपसी असमझदारी मेटाउन भारतको राजनीतिक नेतृत्वसँग छलफल गर्ने उनको योजना छ । यसले माओवादी अब चीनतिर ढल्केर भारतविरुद्ध लाग्ने होइन कि दुवैसँग बृहत्तर सम्बन्ध गाँसेर अगाडि बढ्न खोजेको देखिन्छ अनि चीनले पनि माओवादीलगायत नेपालको मामिलामा भारतसँग सकभर एक तहको समन्वय चाहेको संकेत मिल्छ ।
त्यसो भए आपसी सरोकारका विषयमा नेपाल- भारत- चीनबीच रणनीतिक समझदारी सम्भव छ त ? अहिले नै हो वा होइन भन्नेमा जबाफ सम्भव छैन किनभने भारत र चीन प्रतिस्पर्धा र समन्वयको यस्तो जटिल चरणबाट गुजि्ररहेका छन् जसले क्षेत्रीय भूराजनीतिलाई जुनसुकै दिशातर्फ मोड्न सक्छन् । आर्थिक दृष्टिले हेर्ने हो भने यी दुई देश अति निकट आइसकेका छन् जसको वाषिर्क व्यापार ६० बिलियन अमेरिकी डलर नाघ्न लागेको छ तर सामरिक प्रतिस्पर्धाचाहिं चर्को छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एक रहेको चीनको सैन्य सामथ्र्य भारतको तुलनामा धेरै माथि पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको हैसियत बनाइसकेको छ । १९ वर्षपछि हालै सुरक्षा परिषद्को अस्थायी सदस्यमा चुनिएको भारत पनि आर्थिक र सैनिक दृष्टिले उदीयमान शक्ति हो । यसले गर्दा यी दुई शक्तिराष्ट्रबीच स्वाभाविक कूटनीतिक टकराव हुने गरेको छ ।
नेपालका सन्दर्भमा गणतन्त्र स्थापनापछि दरबारको ठाउँसमेत आफूले लिने आक्रामक नीति दिल्लीले अपनाएपछि टकराव चर्केको हो । शान्ति प्रक्रियाको अघोषित सूत्रधार रहेकाले उसको कूटनीतिक वर्चस्व बढ्नु अस्वाभाविक होइन । संयोगवश नेपाली राजनीतिमा भारतको हात माथि रहेकै बेला बेइजिङ ओलम्पिकताका तिब्बतमा गडबडी सुरु भयो । त्यसको उद्गम नेपाली भूमि रहेको र नेपालमै पनि तिब्बती गतिविधि विगतको तुलनामा बाक्लिएको चीनले ठहर गर्‍यो । तिब्बत सुरक्षालाई नै कारण देखाउँदै नेपालमा चीनको प्रत्यक्ष संलग्नता बढ्दै गयो ।
चीनले आफ्नो छरछिमेकमा सक्रिय विदेश नीति ठीक यही बेलादेखि अख्तियार गर्न थालेको थियो । दक्षिण एसियामा पाकिस्तान र बर्मा त उसका पुरानै मित्रशक्ति थिए, श्रीलंका, बंगलादेश र नेपालमा पनि उसले चासो, संलग्नता र सहयोग बढाएकामा भारत थप सशंकित भयो । खासगरी हिन्द महासागरीय तटवर्ती क्षेत्रमा सम्बन्धित देशहरूसँग सम्झौता गरी आफ्नो छुट्टै बन्दरगाह बनाउने र भूमि जोडिएका मुलुकहरूमा सडक र रेल यातायातको सञ्जाल विस्तार गर्ने चिनियाँ नीतिको रणनीतिक अर्थ दिल्लीमा खोज्न थालियो ।
चीनले 'स्टि्रङ अफ पल्र्स' अभियान चलाएर भारतलाई चारैतिरबाट घेर्न चाहेको रूपमा कतिपय थिंकट्यांकले यसलाई अथ्र्याएका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंह स्वयंले दक्षिण एसियामा चीनको प्रवेश चिन्ताजनक रहेको टिप्पणी केही साताअघि गरेका थिए । भारतले चिनियाँ प्रभाव क्षेत्र मानिएको दक्षिण-पूर्वी एसियामै सक्रियता बढाएर त्यसको जबाफ दिन खोजेको छ । भारतीय प्रधानमन्त्री सिंहले हालै (२४-३१ अक्टोबर) जापान, मलेसिया र भियतनाम भ्रमण गरी उनीहरूसँग रणनीतिक साझेदारी प्रयास गर्नुको अर्थ यही हो । भारतले दक्षिणपूर्वी एसियाका आसियान मुलुकहरूसँग राख्ने गरेको 'लुक इस्ट पोलिसी' लाई चिनियाँ मुखपत्र पिपुल्स डेली (२७ अक्टोबर) ले 'लुक टु इन्सर्कल चाइना त होइन ?' भनी शंका जाहेर गरेको छ । एकले अर्कोलाई घेर्न खोजेको आशंका वा यथार्थले यी दुई देशलाई सामरिक प्रतिस्पर्धामा घचेट्दै लगेको छ ।
यति हुँदाहुँदै पनि भारतले धेरै शत्रुतापूर्ण नीति नलेओस् र अमेरिकातर्फ बढी नढल्कियोस् भन्ने चिनियाँ धारणा बेलाबखत प्रकट भइरहन्छ । अमेरिकाले भारतलाई सामरिक सहयात्री बनाएर आफूविरुद्ध लक्षित गराउन खोजेको र त्यसलाई यथाशक्य तटस्थीकरण गर्ने चीनको नीति भर्खरै फेरि सतहमा आएको छ । अमेरिकी राष्ट्रपति ओबामाको भारत भ्रमणलगत्तै चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नयाँदिल्ली जान लाग्नुको एउटा उद्देश्य यस्तै केही रहेको हुन सक्छ । आसियान सम्मेलनको 'साइडलाइन' मा भारतीय समकक्षी सिंहसँग गत शुक्रबार भएको ४५ मिनेट लामो भेटवार्ताका क्रममा चिनियाँ प्रधानमन्त्रीले आफू यस वर्षको अन्त्य (डिसेम्बर) भित्र दिल्ली आउने जनाउ दिएका थिए । त्यसलाई भारतले पनि स्वागत गरेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणबाट र्फकने क्रममा चीनका एक वरिष्ठ नेताको नेतृत्वमा निकट भविष्यमै एउटा टोली दिल्ली जाने र त्यस क्रममा भारत-चीनबीच नेपाल मामिलामा समेत छलफल हुने जानकारी दिएका थिए । त्यसको केही दिनमै चिनियाँ प्रधानमन्त्रीको भारत भ्रमण घोषणा भयो । यसले दाहालको रणनीतिक प्रस्तावको चर्चा बेइजिङ र सांघाईमा उच्चस्तरमै भएको देखिन्छ तर यसको अर्थ हाम्रा यी दुई छिमेकीबीच नेपाल मामिलामा कुनै साझा समझदारी निर्माण भइहाल्छ भन्नु छिटो हुनेछ । खासगरी नेपालको आफ्नै राष्ट्रिय अग्रसरताबिना त यसले गति लिन पनि सक्दैन ।
चीन र भारतको नेपाल सक्रियता बढ्नुको एउटा मुख्य कारण उनीहरू दुवैले यो भूमिमार्फत आफ्नो राष्ट्रिय सुरक्षा सुनिश्चित नभएको गम्भीर निष्कर्ष निकाल्नु हो । चीनले तिब्बती खतरा देखेझैं भारतले आतंकवादी आश्रयथलो, नक्कली मुद्रालगायतका भारतविरोधी गतिविधि यहाँबाट भइरहेको ठान्छ । पछिल्लो उदाहरणका रूपमा एक महिनाअघि मात्र नागा विद्रोही समूहलाई अस्त्र आपूर्ति गर्ने एन्थोनी शिम्रे बंैककबाट काठमाडौं आउने क्रममा त्रिभुवन विमानस्थलमा समातिएका थिए जसलाई गुपचुप रूपमा भारत पुर्‍याएर नेसनल इन्भेस्टिगेसन एजेन्सीसमक्ष बुझाइएको छ ।
राजनीतिक संकल्प र चुस्त संयन्त्रको अभावमा नेपालले छिमेकी मुलुकहरूको सुरक्षा चिन्तालाई सम्बोधन गर्न सकिरहेको छैन । यसले गर्दा भारतको सक्रियता बढेको देखेर चीन आउने, चीन आएको देखेर भारतले भूमिका बढाउने र यसप्रकार शृंखलाबद्ध प्रतिक्रिया देखा पर्दै जाने गरेको छ । यस्तो बाहिरिया गतिविधिले हाम्रो आफ्नै सुरक्षा स्वार्थमा पनि चुनौती उत्पन्न गर्दै लगेका छन् । त्यसैले नेपालले पहिले आफ्नो राष्ट्रिय स्वार्थ र सुरक्षा स्वार्थलाई परिभाषित गरी त्यसमा आँच नआउने गरी भारत र चीनजस्ता छिमेकीका सुरक्षा चासोलाई सम्बोधन गर्ने हैसियत बनाउन जरुरी भइसकेको छ । यसलाई व्यवस्थित गर्न सक्ने हो भने त्यसले दाहालले भनेजस्तो एकखाले रणनीतिक समझदारीको आकारसमेत लिन सक्छ ।
यद्यपि नेपालमा शान्ति र स्थिरता नभएसम्म सुरक्षा व्यवस्था सुध्रन सक्दैन । त्यसका निम्ति शान्ति स्थापना र संविधान निर्माणका प्रक्रियालाई निर्धारित समयमै टुंगोमा पुर्‍याउनैपर्छ । भारत र चीनबीच यस मामिलामा मत बाझिरहे स्थिति झन् जटिल बन्न सक्छ । हालै राष्ट्रपति रामवरण यादवसँगको भेटमा चिनियाँ प्रधानमन्त्रीले 'घरभित्रको समस्या आफैं मिलाई' संविधान निर्माण गर्ने सुझाव दिएर यसमा जोडिएको भारतीय निर्भरतातर्फ संकेत गरेका थिए । छिमेकीहरूसँग समदूरीको समझदारी निर्माण गर्न नसक्दा हामीलाई एउटा वा अर्कोले चेपुवामा पार्ने अवस्था निम्तिरहन्छ ।
नेपाल, चीन र भारतबीच वास्तविक रणनीतिक साझेदारीचाहिं आर्थिक क्षेत्रमा हुन सक्छ । यी दुई विशाल छिमेकीको आर्थिक उन्नतिबाट नेपालले पर्याप्त लाभ उठाउन सक्छ । चीन नेपाल लगायतका मुलुक भएर दक्षिण एसियाली बजारमा छिर्न चाहेको र भारतले चीनसँग आर्थिक कारोबार बढाउन चाहेको अवस्था हो अहिले तर नेपालले यस्तो भूमिका खेल्नका निम्ति पहिलो सर्त उही शान्ति र स्थिरताको सुनिश्चितता हो जुन मुख्य राजनीतिक दलहरूबीच न्यूनतम समझदारी नभएसम्म सम्भव छैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out