झलनाथ र प्रचण्ड गल्दै कि षड्यन्त्र रच्दै

काठमाडौं । नेपाली काङ्ग्रेस र रामचन्द्र पौडेललाई थकाउन गरिएका अनेकौँ प्रयासहरू असफल भएपछि माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालले काङ्गे्रसलाई लडाउन नयाँ रणनीतिक चाल चल्नुभएको छ। नयाँ चालअनुसार पौडेललाई प्रधानमन्त्री स्वीकार गर्ने लिखित तथा मौखिक वचनबद्धता दिएर प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन लगाउने र 'स्थिति जिरो' भएपछि नयाँ खेल सुरु गरिने छ। पौडेलले उम्मेदवारी फिर्ता लिएपछि काङ्गे्रसकै शेरबहादुर देउवालाई उचाल्दै काङ्गे्रसभित्र अन्तरसङ्घर्ष चर्काउने र प्रधानमन्त्रीचाहिँ आफैं बन्ने सोच प्रचण्डले बनाउनुभएको बुझिन्छ। माओवादी पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भनी यसअघि लिएको निर्णय बदलिएको छैन र प्रचण्डले पौडेललाई स्वीकार गर्ने सहमतिपत्रमा हस्ताक्षर नै गरे पनि माओवादी पार्टीले त्यसलाई सहजै ग्रहण गर्नसक्ने विश्वासको कुनै आधार देखिएको छैन। कदाचित आफ्नो नेतृत्वमा सरकार गठन हुन नसकेमा झलनाथ खनाललाई प्रधानमन्त्री बनाएर अघि बढ्ने प्रचण्ड रणनीति यथावत् रहेको छ। तर, उच्चस्तरीय वार्ताका क्रममा भने पहिलेभन्दा आफूहरू लचिलो र उदार बनेको अभिनय प्रचण्ड र झलनाथले धेरै राम्रोसँग गरिदिनुभएको थियो। नेताद्वयको अभिनयले काङ्गे्रस नेतृत्वलाई कुनै न कुनै रूपले प्रभावित तुल्याएको छ। गोकर्ण रिसोर्टमा पछिल्लोपटक कात्तिक २९ गते भएको उच्चस्तरीय बैठकमा माओवादी र एमालेका अध्यक्षहरू पहिलेभन्दा नरम र लचिलो देखिएपछि काङ्गे्रसका नेताहरू छक्क परेका थिए। केही नेताहरूले प्रचण्ड र झलनाथको यस्तो व्यवहारप्रति थप चनाखो हुनुपर्ने धारणा बनाएका छन् भने केहीले चाहिँ प्रचण्ड र झलनाथ गलेको अर्थ लगाएका छन्। प्राप्त जानकारीअनुसार बैठकमा झलनाथ खनालले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन सकिने बताउँदै तत्काल उम्मेदवारी फिर्ता लिइदिन आग्रह गर्नुभएको थियो। चक्रिय प्रणाली (पालैपालो तीन दलका नेताहरू प्रधानमन्त्री बन्ने) मा सम्झौता गर्ने बताउँदै खनालले सबभन्दा पहिले पौडेललाई प्रधानमन्त्री बनाउन आफूहरू राजी हुने धारणा प्रकट गर्नुभएको थियो। तर, काङ्गे्रस नेता पौडेलले खनालको प्रस्तावलाई जस्ताको त्यस्तै स्वीकार गर्न सक्नुभएन। उहाँले 'यदि मलाई प्रधानमन्त्री बनाउने हो भने अहिले नै समर्थन गरे भइहाल्यो, मैले उम्मेदवारी फिर्ता लिनुपर्ने कारण नै छैन' भनी जवाफ फर्कानुभएको बताइन्छ। पौडेललाई प्रधानमन्त्री बनाउन आफू पनि सकारात्मक रहेको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले आफ्ना साथीहरूसँग कुराकानी गरेर मात्र निर्णय लिइने जानकारी गराउनुभएको थियो। किन लचिलो देखिए? माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनाइदिने भनी लिखित र मौखिक वचनबद्धता दिएपछि राजीव गान्धीको हत्यापश्चात् भारतीय नेता शरद पवारले प्रधानमन्त्री बन्न गरेको हतारोकै शैलीमा प्रस्तुत हुनुभएका झलनाथ खनालले परिस्थिति आफ्नो पक्षमा नरहेको यथार्थ पछिल्लो समयमा आएर बुझ्न थाल्नुभएको छ। चक्र–प्रणालीमा सम्झौता हुनसकेमा मात्र आफू प्रधानमन्त्री बन्न सक्ने देखिएपछि खनाल रामचन्द्र पौडेलका प्रति केही लचिलो बन्न बाध्य हुनुभएको बताइन्छ। चक्र–प्रणालीअनुरूप पहिले रामचन्द्रलाई प्रधानमन्त्री बन्न दिएर भए पनि त्यसपछि चाहिँ आफू प्रधानमन्त्री बन्ने सुनिश्चितता खोज्न खनाल तत्पर हुनुभएको ठानिएको छ। तर, माओवादी अध्यक्ष प्रचण्ड लचिलो देखिनुको कारण भने भिन्न छ। जानकारीअनुसार प्रचण्ड झलनाथ खनालका पक्षमा पनि हुनुहुन्न र पौडेलको उम्मेदवारी फिर्ता लिएको अवस्थामा आफैंलाई प्रधानमन्त्री बनाउन सम्पूर्ण कसरत गर्न प्रचण्ड पछि नपर्नुहुने निश्चित ठानिन्छ। माओवादी पार्टीले आफ्नो नेतृत्वमै सरकार गठन गर्ने भनी पहिले लिएको निर्णय नबदलेसम्म प्रचण्डका फोस्रो कुरामा विश्वास गर्नु गम्भीर भूल हुनेछ। कतिबेला कठोर देखिने र कतिबेला नम्र, उदार एवम् लचिलो देखिने भन्ने विषयका 'ज्ञाता' प्रचण्डको पार्टी अहिलेसम्म प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा दृढतापूर्वक उभिएको छ। तर, संसद्भित्र आफ्नो पक्षमा कसैगर्दा पनि बहुमत जुट्न नसकेपछि प्रचण्डले घुमाउरो बाटो हिँडेर भए पनि गन्तव्य प्राप्त गर्ने रणनीतिक योजना तर्जुमा गर्नुभएको छ। यही रणनीतिक योजना मुताबिक प्रचण्डले पनि रामचन्द्र पौडेललाई प्रधानमन्त्री स्वीकार गर्न सकिने अभिव्यक्ति दिनुभएको हो। तर, उहाँले साथीहरूसँग छलफल गरेपछि मात्र यस सम्बन्धमा अन्तिम निर्णय लिइने बताएर अझै अलमल र झेलको खेल खेल्ने सङ्केत गर्नुभएको छ। मङ्सिर ५ गतेदेखि सुरु हुने पार्टीको विस्तारित बैठकअघि प्रधानमन्त्री बन्न सक्ने अवस्थामा प्रचण्ड हुनुहुन्न र रामचन्द्र पौडेललाई प्रधानमन्त्री स्वीकार गरेर बैठकमा भाग लिन जाने मुडमा पनि उहाँ नरहनुभएको बुझिन्छ। त्यसैले अहिले देखापरेको लचिलोपन पौडेललाई प्रधानमन्त्री बनाउनभन्दा पनि उहाँलाई 'फस्ल्याङ्फुस्लुङ' बनाएर उम्मेदवारी फिर्ता गराउने नियोजित चालबाजीअन्तर्गत नै भइरहेको निष्कर्ष निकाल्न सकिन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out