पालुङटारमा माओवादीको सैन्यक्षेत्र पनि विभाजित

जिर मगर, मनोज अधिकारी, पालुङटार मंसिर १० - एकीकृत माओवादीको जारी छैठौं विस्तारित बैठकमा माओवादी सात डिभिजनका प्रतिनिधिले बोल्ने क्रममा आ-आफ्ना पक्षलाई समर्थन गर्दै धारणा राखेपछि पार्टीभित्र तीन खेमाका नेताका पक्षमा अन्य क्षेत्रजस्तै यहाँ सैन्य क्षेत्रमा पनि विभाजन देखिएको छ।
बन्दसत्रको चौथो दिन बिहीबार शिविरबाट आएर भाग लिइरहेका लडाकुसमेत प्रष्टरुपमा तीन नेता पक्षमा विभाजित भए।
माओवादी बैठकमा शिविरका लडाकु सहभागी हुन नहुने विवाद चलिरहेको बेला उनीहरू यसमा सहभागी मात्र भएनन्, आफ्ना पक्ष जाहेरसमेत गरे। प्रत्येक शिविरबाट एकजनालाई मात्रै बोल्न दिने प्रयास गरे पनि त्यो सफल हुन सकेन। उनीहरूले आ आफ्नो पक्षमा मत राखेपछि माओवादीको सेनामा समेत विभाजन आएको पुष्टि भएको छ।
प्रत्येक डिभिजनबाट एक-एकजनालाई मात्र बोल्न दिएर पूरै लडाकु अध्यक्ष पुष्पकमल दाहालको पक्षमा मात्रै रहेको सन्देश दिने योजनासमेत एकभन्दा बढी लडाकुलाई बोल्न दिएपछि विफल भएको छ।

सेना फर्मेसन अनुसार 'चेनअफ कमाण्ड'मा चल्ने भएकोले माओवादी जनमुक्ति सेनाको ...सुप्रिम कमाण्डर' दाहालको पक्षमा मात्र बोल्न सक्छन् भन्ने मान्यतासमेत यसले भत्काएको छ। सैद्धान्तिक रुपमा सेना समायोजन विशेष समिति अर्न्तगत गइसकेका लडाकु पार्टीभित्रको अन्तर्विरोधमा रुमलिएका छन्। शान्ति प्रक्रिया र संविधान निर्माणका लागि मुख्य विषय बनेका माओवादी लडाकाभित्रै पार्टी नेतृत्व विभाजनमा परेपछि स्थिति अरु जटिल बन्ने भएको छ।

अन्य राज्य समितिकै हैसियतमा बोलेका लडाकाका प्रतिनिधिले भने नेताहरूलाई बढी घोचपेच गरेनन्। बाबुराम भट्टराई पक्षधर रहेका केही लडाकुले भने निकै राखे। पार्टीले तीनवटा हतियार (दस्तावेज) दिएर त्यसलाई 'चेन अफ कमाण्ड'का रुपमा स्वस्थ्य छलफल गर्न नदिएको गुनोसो उनीहरूले पोखेका थिए।

'अध्यक्षले दिएको हतियार बीच बाटोमै जाँदा पडकिन्छ। (मोहन) वैद्यजीको निशानामा गए पनि व्यारेल भाँचिन्छ। भट्टराईले दिएको हतियारले सही निशानामा लाग्छ भनेर जनमुक्ति सेना बसेको छ,' पहिलो डिभिजनका भट्टराई पक्षधर कमाण्डर प्रमोदलाई उदृत गर्दै एक सहभागीले भने।

भट्टराई र अर्का उपाध्यक्ष बैद्य पक्षधर लडाकुका प्रतिनिधिले बोल्दा सिधै अध्यक्ष दाहाललाई लक्षित गरे पनि दाहाल निकट लडाकाले भने पूरै नेतृत्वलाई दोष दिने हिसाबले बोलेका थिए। उनीहरूको राय थियो, पार्टीले सही कार्ययोजना नदिएकाले शिविरमा थुनिएर बस्नु परेको छ।

उपाध्यक्ष वैद्य पक्षबाट प्रतिनिधित्व गर्ने लडाकुले 'चेनअफ कमाण्ड'को नाममा अध्यक्ष दाहालको विचार मात्रै अघि बढाउन खोजेको भन्दै आक्रोश पोखेको सहभागीहरूले बताए। बैद्य निकटकै लडाकु दिवसले भने, 'अध्यक्षले भनेको राष्ट्रियताको आन्दोलन सत्तामा जाने खेलमात्र रहेछ।'

'सेनाहरूले अलि सन्तुलित रुपमा बोले। उनीहरूले पार्टीले एक ढिक्का भएर निर्णय गरेपछि सेनाले त्यसलाई कार्यान्वयन गर्न तयार छौं भने,' एक सहभागीले नागरिकसँग भने।

अहिलेसम्म पार्टीकै निर्णय अनुसार आफूहरू शिविरभित्र रहेको समान धारणा उनीहरूले राखेका थिए। 'तपाईंहरू मिलेर एउटै प्रस्ताव लिएर आउनुहोस्। हिजो पनि पार्टीको निर्णय मानेका हौं। आज पनि मान्छौं। अझै पनि जनमुक्ति सेना सल्लाको रुखमुनि शिविरमा जीवन बिताइरहेका छौं,' लडाकुको भनाइ उदृत गर्दै सहभागीले भने।

बैठकका सहभागीका अनुसार, वक्ता लडाका अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यतर्फ बढी देखिए। सात डिभिजन मध्ये उपाध्यक्ष भट्टराईको पाँचौ र दोस्रो डिभिजनमा सहभागी गराइएन। ती डिभिजनमा तयार भएर पनि केही प्राविधिक कारण देखाएर सहभागी गराउन नसकेको भट्टराई निकट स्रोतले बतायो।

आफ्नो पक्षमा बोल्ने भनि डिभिजनको बैठकमा कुरा राख्दा दाहाल पक्षले दबाब दिएको स्रोतले बतायो। स्रोतले भन्यो 'सैन्य फरमेशन अनुसार कमाण्डरको हैसियतका आधारमा भन्नु भन्दा पनि विचारका आधारमा मनोबैज्ञानिक ढंगले डर, त्रास दिने काम भयो। त्यही कारणले कतिपय विचारहरु राख्न पाइएन।'

सेना समायोजन समितिका सदस्य तथा पार्टी इन्चार्ज वर्षमान पुनले डिभिजनका प्रतिनिधिहरु सेनाको हैसियतमा नआएको दावी गरे। 'बैठकमा पार्टीको हैसियतले आएकाले आफ्ना कुराहरु निडर भएर राखे। उनीहरुलाई कुनै धम्की र चेनअफ कमाण्डको कुरै थिएन,' पुनले भने। उनीहरुले सेना समायोजनलाई नलम्ब्याई चाडै सक्नलाई जोड दिए। 'समायोजन हुने भए हुने हुन्छ र नहुने भए हुँदैन भन्नु पर्‍यो। सेना समायोजन बारे स्पष्ट धारणा नेतृत्वबाट आउनुपर्छ। र त्यो कार्यन्वयन हुन्छ कि हुँदैन भन्नुपर्छ,' लडाकुको भनाई उदृत गर्दै पुनले भने।

कतिपय नेतामाथि जनमुक्ति सेनाले साथ दिएन भन्ने गुनासो थियो। त्यसलाई आजको बहसमा सेनाले प्रष्ट पार्ने प्रयास गरे। यो बहसबाट अब जनमुक्ति सेनाप्रति सबै नेतृत्व सकारात्मक धारणा हुन्छ। जनतालाई जतिकै जनमुक्ति सेनालाई पनि जनवादको आवश्यकता छ भन्ने कुरा उनीहरुले दर्शाए।

सात डिभिजनमध्ये तीनवटा डिभिजनबाट तीनपक्ष र एक तटस्थ बोले। दुई नम्बर डिभिजनबाट एकजनाले मात्रै बोलेको उनले बताए।

वैद्य पक्षधरले अध्यक्ष दाहाललाई बहुमतको धाक दिएर कुप्रचार गरेको आरोप लगाएको छ। बहुमतको कु प्रचार गर्नुभन्दा महाधिवेशनमा गएर वा यही बैठकबाट गोप्य मतदान गर्न चुनौति दिएको थियो। बोल्ने समय दशबाट ५ मिनेटमा झारेर राती सबै राज्यसमितिका प्रतिनिधिले बोल्ने क्रम सकिएको छ।

तीनै पक्षका प्रतिनिधिले आ आफ्ना पक्षधरको वकालत गरेका छन्। पार्टीभित्र एकता हुनुपर्नेमा उनीहरुको जोड रहेको छ। कार्यक्रम अनुसार बिहीबार बोलने क्रम सकिएले शुक्रबार बिहान स्थायी समितिको बैठक बसेर थप कार्यक्रम बारे निर्णय लिने छ।
बैठकपछि तीनै नेताले प्रतिवेदनमाथि उठेका विषयबारे जवाफ दिने तयारी भएको छ। प्रस्ताव प्रस्तुतकर्ता तीनजना नेताले शुक्रबार बिहान प्रष्टिकरण दिने पार्टी प्रवक्ता दिननाथ शर्माले जानकारी दिएका।

उनकाअनुसार तीनै नेताको प्रष्टिकरणपछि अध्यक्ष दाहालले छुट्टै प्रष्टिकरण समेत दिनेछन्। त्यसअघि शुक्रबार बिहान ७ बजेका लागि स्थायी समितिको बैठक तय गरिएको छ। बिहानको बैठकले राष्टि्य राजनीति र आन्तरिक पक्षबारे केही महत्वपूर्ण निर्णय लिनेछ।

यही बैठकले विस्तारित बैठकलाई कहिले, कसरी टुंगो लगाउने भन्ने कार्यक्रम पनि तय गर्छ। उनकाअनुसार पालुडटारबासीले यस क्षेत्रलाई सम्बोधन गर्ने गरि बृहत आमसभा गर्न दवाव दिइरहेका छन्। यसबारेमा पनि स्थायी समितिले निर्णय गर्नेछ। बैठकपछि तीन नेताहरु बाहे हलको माग अनुसार अन्य नेताले समेत बोल्ने कार्यक्रम रहेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out