'म पलायन भएको होइन'

नेपाली सिनेमा र अभिनेता सरोज खनालबीच गाढा नाता छ । कुनैबेला नेपाल रजतपटमा यी भलाद्मी हिरोले एकछत्र राज गरेका थिए । समयको गतिमा उनी 'सपनाको देश' अमेरिका छिरे र चौध वर्षपछि पुनः जन्मभूमि फर्किएका छन् । चलचित्र 'रगत' खेलिसकेपछि उनी अमेरिका उडे । लगभग सिङ्गो नेपाली कलाकारिताको एक पुस्ता अमेरिकामा छ, तीमध्ये सरोज प्रतिनिधि पात्र हुन् । यसपटकको तिहार मनाउन आफ्नो देश फर्किएका सरोजले चलचित्र 'मानव'बाट चौधवर्षपछि रजतपट कमब्याक गर्दैछन् । अबको बीस दिनभित्र पुनः अमेरिका फर्कने तयारीमा रहेका सरोज अमेरिकी सेनामा रहेका आफ्ना छोरा इराकबाट फर्किएपछि सँधैका लागि नेपाल आउँदैछन् । मेरिल्यान्डस्थित एक चेन रेष्टुराँ केएफसी पिज्जाहटका जनरल म्यानेजर समेत रहेका अभिनेता सरोज यतिबेला काठमाण्डू छन् । उनीसँग मेरोसिनेमाले ताजा संवाद गरेको थियो ।
नेपालीको माया पाउँदा पाउँदै अमेरिका पलायन हुनुभयो नि । किन ?
वास्तवमा अमेरिका जाने योजना थिएन मेरो । सांस्कृतिक कार्यक्रमको लागि मात्र त्यहाँ गएको थिएँ । खासमा त्यहाँको शिक्षा र प्रणाली देखेर मात्र अमेरिका बसेको हुँ । जहाँसम्म पलायन भएको भन्ने कुरा छ त्यो सत्य होइन । म पलायन भएको छैन । मेरो हकमा यो कुरा लागु हुँदैन । नेपाली सिनेमाको क्षेत्रलाई चटक्कै बिर्सेंर अर्काको देशमा बस्न मलाई मेरो अन्तरआत्माले दिँदैन । अमेरिका रहँदा पनि मैले वर्षको चारपाँचवटा स्टेज कार्यक्रम गरिरहेको छु । कल्चरल सो गर्छु । सबैलाई समेटेर 'युनाइटेड नेपाल' नामक संस्था स्थापना गरेको छु । म नेपाल आएपछि त्यो संस्था अमेरिकामै भलाइका लागि रहन्छ । उक्त संस्थाको पहल नेपाललाई नै गर्ने हो । सबैलाई गाह्रो परेमा सहयोग गर्ने हो । त्यसकारण म अमेरिका पलायन भएको होइन ।

स्वदेश फर्कने योजना र सम्भावना कस्तो छ ?
म नेपाली चलचित्रमा फर्किइसकेँ । बिहिबारमात्र मैले एक नेपाली चलचित्र 'मानव'मा साइन गरिसकेँ । उक्त सिनेमाको कथा राम्रो लागेपछि साइन गरेको हुँ । चौधवर्षपछि पनि म आफूलाई तरुण सरोज खनाल ठान्छु र त्यही अनुसार नेपाली सिनेमामा फर्किएको हुँ । अर्को वर्ष सँधैका लागि आफ्नो देश फर्कने योजनामा छु । इराकस्थित अमेरिकी सेनामा रहेको मेरो छोरो अर्को वर्ष फर्कदैंछ र उ फर्कियो भने हामी परिवारै नेपाल फर्कन्छौ ।

चौधवर्ष अगाडिको नेपाली सिनेमा र अहिलेको नेपाली सिनेमाबीच कस्तो तात्विक भिन्नता पाउनुभएको छ ?
चौधवर्ष अगाडि जतिबेला म कि्रयाशिल थिएँ त्यतिबेला वर्षमा एकदर्जन चलचित्र मुस्किलले बन्थे । अहिले वर्षेनी सरदर पचास/साठी सिनेमा बन्छन् । पहिलेका चलचित्र गुणस्तरिय हुन्थे, अहिले संख्यात्मक मात्र छ गुणस्तर छैन । यो बीचमा अमेरिका छँदा पनि मैले चारपाँचवटा नेपाली सिनेमा हेरे। सबै क्वान्टिटी मात्र बनेका रहेछन् । विषय र प्रस्तुतिकरणका हिसाबले चलचित्र कमजोर छन् । फोटोग्राफी र संगीतमा भने तुलनात्मक रुपमा सुधार भएको छ । अहिले अमेरिकामा नेपाली सिनेमा हेर्ने दर्शकको संख्या घटिरहेको छ । जुन फिल्ममा पनि राजेश हमालले बन्दुक लिएर उफि्ररहेको देखेपछि अमेरिकाका नेपाली दर्शकलाई वाक्क लागिसकेको छ । मेकिङ प्रगति उन्मुख छैन । नयाँ कुरा देख्न पाइएको छैन ।

नेपाली चलचित्रमा लगानी गर्ने अवस्था कत्तिको छ ?
मेरो हकमा सोध्नुहुन्छ भने त्यो सम्भावनालाई नकार्दिन । अमेरिकाबाट फर्किएपछि निर्माण पनि गर्ने सोचमा छु । तर पछिल्ला वर्षहरुमा वर्षेनी सरदर पचास/साठी सिनेमा बनेको कुरा आफैमा राम्र्रो हो । यसले के दर्शाउँछ भने नेपाली सिनेमामा लगानीको वातावरण र अवस्था अनुकूल छ । बरु निमार्ताहरुलाई हामीले प्रोत्साहन र संरक्षण गर्नुपर्छ ।

नेपाली कलाकार लगातार विदेश पलायन भैरहेको अवस्था छ । के नेपाली चलचित्रले कलाकारलाई सन्तुष्ट पार्न नसकिरहेको हो ?
एक हिसाबले यो कुरा ठीक पनि हो । स्वदेशमा सुनिश्चितता र भविष्य नदेखेर थुप्रै कलाकार साथीहरु विदेश जानुभएको छ । अरुको बारेमा भन्दा चारवर्षअघि जब लोकप्रिय गायक कर्णदास जब नेपाल छाडेर अमेरिका जानुभयो निकै दुःख लाग्यो । जति दुःख आफूले नेपाल छाड्दा पनि लागेको थिएन । गौरी मल्लजस्ता प्रतिभाहरु धमाधम अमेरिका आउन लागेपछि भने नेपाली सिनेमामा 'समथिङ रङ्' छ जस्तो लाग्न थाल्यो । किनभने यो फिल्डमा कलाकारले सामाजिक सुरक्षाको अनुभूति गर्नसक्नु पर्ने हुन्छ । राजनीतिक स्थिरता महत्वपूर्ण कुरा हो ।

नेपाली चलचित्रप्रति तपाईँको दृष्टिकोण र योगदान कस्तो छ र के रहन्छ ?
कलाकारको रुपमा मैले वास्तविक र राम्रो अभिनय गरेर जनताको मन जित्ने हो । हामीसँग प्रतिस्पर्धा धेरै छ । मित्रराष्ट्रसामु हामीले दह्रोसँग खुट्टा टेक्न सक्नुपर्छ । अब सँधै अरुको सामु घुँडा टेकेर मात्र हुँदैन । यसका लागि हामी आफैले पहल गर्नुपर्छ ।

नेपाली चलचित्रको समग्र विकासका लागि के गर्नु आवश्यक छ ?
प्राविधिक पक्ष ज्यादा ध्यान दिनुपर्छ । अहिलेसम्म नेपाली सिनेमा एउटै ट्रेन्डबाट बनिरहेका छन् । निर्माता/निर्देशकले नयाँ किसिमको ट्रेन्ड ल्याउन सक्नुपर्‍यो । उदाहरणका लागि आजभन्दा दसवर्ष अगाडि हिन्दी चलचित्रमा केहीपनि थिएन । उनीहरुसँग उत्कृष्ट कथा र प्रविधि पनि थिएन । पछि क्रमिक विकास गरेका हुन् उनीहरुले । यसका लागि हामीले समुन्द्रपारका मुलुकहरुमा चलचित्र देखाउने कोसिस गरौं । मुख्य कुरा चलचित्र निर्माणको अहिलेको ट्रेन्डबाट हामी हट्नुपर्छ ।

अन्त्यमा मेरोसिनेमामार्फत नेपाली चलचित्रका शुभेच्छुक फ्यान र दर्शकलाई के भन्नुहुन्छ ?
नेपाली चलचित्रलाई माया गरिदिनुस प्रोत्साहित गरिदिनुस यो सद्भाव र करुणाले नै नेपाली चलचित्र उँभो लाग्ने हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out