ओबामाको सन्देश

अमेरिकी राष्ट्रपति बराक ओबामाको भारत भ्रमणको मौका पारेर विश्वका दुई ठूला लोकतन्त्रहरूले आपसी व्यापार र विश्व मञ्चमा भारतीय भूमिका बढाउने सहमति गरेका छन् । अमेरिकाले भारतलाई १० अर्ब डलरका सामान बेच्ने घोषणा गरेको छ जसमा मुख्यतः विमानलगायतका रक्षासामग्री छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य बन्ने भारतीय चाहनाप्रति अमेरिकी राष्ट्रपतिले सिद्धान्ततः सहमति जनाएका छन् । यी दुई विषयले एसियाली रणनीतिक समीकरणमा उल्लेख्य प्रभाव पार्ने संकेत देखिएका छन् ।

तिक्ततापूर्ण परिस्थितिमा भारतबाट छुट्टिएको र उससँग तीनवटा युद्ध लडिसकेको छिमेकी पाकिस्तानले उल्लिखित दुवै समझदारीमार्फत् अमेरिकाले शक्तिको राजनीति’ गरेको आरोप लगाइसकेको छ । भारतसँग एकचोटि लडेको र आर्थिक/राजनीतिक हिसाबले भारतभन्दा निकै सबल चीनले पनि बढ्दो अमेरिका-भारत हिमचिमलाई शंकालु दृष्टिले हेरिरहेको छ । ऊ आफूलाई अमेरिकाले आफ्ना छिमेकीबाट एक्ल्याउन खोजेको ठान्छ । एसियामा बढ्दो चिनियाँ प्रभावलाई सन्तुलित गर्न अमेरिकाले भारतलाई प्रयोग गर्न खोजेको कतिपय रक्षा विश्लेषकहरूको बुझाइ छ । यस्तै अफगानिस्तानमा कहिल्यै नजित्ने जस्तो देखिएको युद्धमा सामेल अमेरिकाले पाकिस्तानसँग पनि उत्तिकै सुमधुर सम्बन्ध राख्नुपर्ने बाध्यता छ । त्यसैले उनले भारतीयहरूको चाहेजस्तो पाकिस्तानको आलोचना गरेनन् । अर्कोतिर अमेरिकाले पाकिस्तानलाई पनि युद्ध विमानहरू बेचिरहेको छ भने बर्सेनि उल्लेख्य डलर पनि सहयोग गरिरहेको छ । पाकिस्तानसँगको त्यो अमेरिकी सम्बन्धलाई भारतमा ओबामाको भ्रमणपछि पनि शंकाले हेरिनेछ ।
भारतीय संसद्मा बोल्दै ओबामाले सोमबार भारत ँएसियाको उदाउँदो नभई उदाएको शक्ति’ भनी प्रस्ट रूपमा प्रशंसा गरे । उनले लोकतन्त्र र बहुलवादजस्ता महत्त्वपूर्ण राजनीतिक/सामाजिक मूल्यमा अमेरिका र भारतबीच समानता भएकामा पनि जोड दिए तर स्थायी सदस्यताको विषयमा चाहिं उनी त्यति स्पष्ट भएनन् जति भारत चाहन्थ्यो । उनले आगामी वर्षहरूमा सुरक्षा परिषद्को सुधारसँगै भारतलाई स्थायी सदस्य भएको देख्न चाहेको बताए जसमा खासै स्पष्ट कूटनीतिक प्रतिबद्धता झल्किँदैन । परिषद्को सुधारको विषय लामो समयदेखि विवादित छ । भारतबाहेक जापान, जर्मनी, ब्राजिल लगायतका देशले पनि स्थायी सदस्यताको आशा गरेका छन् । अमेरिकाले जापानलाई यसअघि नै समर्थन गरिसकेको छ तर ठ्याक्कै कतिवटा र कुनकुन देशलाई त्यो महत्त्वपूर्ण सदस्यता दिने भन्नेबारे मत विभाजित छन् । सबै प्रमुख शक्तिहरूले दोस्रो विश्वयुद्ध लगत्तै सिर्जना गरिएको सुरक्षा परिषद्लाई बदलिँदो शक्तिसन्तुलन झल्किने गरी सुधार गर्नुपर्ने भनाइ धेरै अघिदेखि राख्दै आएका हुन् । अहिले परिषद्मा अमेरिका, बेलायत,फ्रान्स, रूस र चीन भिटो अधिकारसहितका स्थायी सदस्य हुन् ।
राजनीति र व्यापार एउटै सिक्काका पाटा हुन् । ती दुवैलाई सन्तुलन गर्नु अमेरिकाको चुनौती हो । भारतसँग उसको व्यापार सन् २००९/१० मा ३७ अर्ब डलर बराबर थियो भने चीनसँग सन् २००९ मा ३६६ अर्ब डलर पुगेको थियो । भारतसँगको कारोबारसँग तुलनै गर्न नमिल्ने व्यापार चीनसँग भएकाले अमेरिकाले चीनलाई पन्छाउँदै भारतलाई अँगालो मारिहाल्छ भनेर बुझिनु हुँदैन तर चीनको बढ्दो प्रभावलाई नियन्त्रण गर्न उसले यस क्षेत्रमा भारतलाई रणनीतिक साझेदार बनाउन खोजेको चाहिं देखिन्छ ।
चीनको आश्चर्यजनक आर्थिक वृद्धिसँगै विश्वमञ्चमा उसको राजनीतिक हैसियत पनि बढेको छ । केही वर्ष अघिसम्म व्यापारमा मात्र केन्दि्रत चीनले हालैका वर्षमा राजनीतिक प्रभाव देखाउन थालेको छ । विशेषतः बितेका केही महिनामा जापानसँग उसले गरेको बल प्रदर्शनले अमेरिका र चीनका छिमेकीलाई पनि शंकालु बनाएको छ । त्यसैले हालको विवादरहित विश्वशक्ति अमेरिकाले उदाउँदो विश्व शक्ति चीनको प्रभावलाई नियन्त्रणमा राख्न खोज्नु कूटनीतिक दृष्टिले अस्वाभाविक होइन । त्यो कुरा बुझेको चीनले पनि भारतलगायतका छिमेकीहरूसँग सुमधुर सम्बन्ध कायम राखेर पश्चिमा प्रभावलाई न्यूनीकरण गर्दै आफ्नो प्रभावलाई बढाउने प्रयास चालेको छ । त्यही प्रयासअन्तर्गत पर्छ केही सातामै हुने चिनियाँ प्रधानमन्त्रीको भारत भ्रमण ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out