चीन-मा'वादी सहयात्रा अविश्वसनीय र अपरिपक्व

संसारभर अमेरिकी रणनीतिलाई चुनौती दिएको उदाउँदो महाशक्ति चीनले आफ्नो प्रतिष्ठालाई समेत दाउमा राखेर नेपालजस्तो मुलुकमा अपरिपक्व खेलेको होला त? -लेखनाथ पौडेल
नेपालमा राजनीतिक प्रक्रिया अवरुद्ध रहेको, सङ्क्रमणकाल लम्बिँदै र राज्य कमजोर हुँदै गएको वेला छिमेकी मुलुक चीन परम्परागत रूपमा अपनाउँदै आएको नेपालको आन्तरिक मामिलामा अहस्तक्षेपको शालीन कूटनीतिक शैली छाडेर प्ा्रकट रूपमा भारतीय प्रभावको प्रति-सन्तुलन कायम गर्न अघिबढेको चर्चा व्याप्त छ। आफ्नो परम्परागत मित्रशक्ति राजतन्त्रको अन्त्यले उत्पन्न गरेको रिक्तता पूरा गर्न चिनियाँहरूले मा'वादीलाई निकट सहयोगी शक्तिको रूपमा अगाडि बढाएको आम मानसिकता बनिरहेको छ। र, व्याप्त राजनीतिक गतिरोध, शान्ति तथा संविधान निर्माण प्रक्रियामा देखिएको अन्योललाई दलीय असमझ्दारी मात्र नभएर छिमेकीहरूको शक्ति-सङ्घर्षका रूपमा समेत चित्रित गरिँदैछ।
शान्तिपूर्ण विकासको रणनीति अनुरुप आन्तरिक रूपमा सबल र सुदृढ हुने नीति लिएको तथा राजनीतिक, सामरिक रूपमा सुषुप्त रहने गरेको चीनको आर्थिक महाशक्तिको रूपमा भएको उदयसँगै राजनीतिक, सामरिक उदय पनि अनिवार्य बन्दै गएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पूर्वाधारको उच्चतम विकास, प्राविधिक उन्नति र गहन सामाजिक रुपान्तरणको चरणबाट गुजि्ररहेको यस उदीयमान महाशक्तिका सामु तीन प्रमुख चुनौती छन्― कम्युनिष्ट पार्टीको नेतृत्वमा राज्यसत्तालाई निरन्तरता दिने, अपुरो राष्ट्रिय एकता अभियानलाई पूरा गर्दै राष्ट्रिय अखण्डताको रक्षासँग जोडिएका ताइवान, तिब्बत, सिन्जियाङ्ग लगायतका मुद्दाको समाधान तथा आन्तरिक स्थायित्वसहितको सामाजिक व्यवस्था कायम गर्ने अभिभारा।

त्यसका लागि अफ्रिका, दक्षिण अमेरिका र मध्यपूर्वमा अमेरिकी र युरोपेली कम्पनीहरूलाई पछि पारेर ऊर्जा र कच्चा पदार्थ सुरक्षित गर्दै आफ्नो उत्पादनका लागि बजार समेत विस्तार गर्न चीन सफल भएको छ। ऊर्जा प्रवाह मार्गको सुनिश्चितताका लागि अफ्रिका र मध्यपूर्वदेखि चीन पुग्ने मार्ग रक्षार्थ हिन्द महासागर, अरेबियन सागर, हर्मुज स्ट्रेट, मालाका स्ट्रेटलगायतका रणनीतिक समुद्री मार्गमा आफ्नो उपस्थितिलाई बलियो बनाउन पीएलए नेवीको ब्लु वाटर क्यापाबिलिटी विस्तार योजना मुताबिक म्यानमारको स्विटे, बङ्गलादेशको चटगाउँ, श्रीलङ्काको हाम्वान्तोता, पाकिस्तानको गदारलगायतका बन्दरगाह परियोजना तथा पीएलए एअर फोर्सको आधुनिकीकरणलाई तीव्रता दिएको छ, चीनले।
दक्षिण एशियामा परम्परागत रूपमा भारतसँग निकट मानिने श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र माल्दिभ्समा समेत उल्लेखनीय प्रभाव विस्तार गरेर क्षेत्रीय शक्ति-सन्तुलनमा परिवर्तन ल्याएको अवस्थामा नेपालमा चीनको भूमिका विस्तारको प्रयास यहाँ प्रचार गरिएजस्तो नेपाल नीतिको परिवर्तन तथा मा'वादीप्रतिको विश्वस्तताका रूपमा नभएर विश्व व्यवस्थामा उसको प्रतिष्ठासँग जोडिएका कारणले भएको हो। सानो बजार, न्यून स्रोतसाधन हुँदाहुँदै पनि बेइजिङले नेपालको पूर्वाधार, जलस्रोत विकास, व्यापारिक क्षेत्रमा लगानीलगायतका परियोजनामा सहयोग बढाइरहेको छ। भू-प्राकृतिक रूपमा कठिन हुँदाहँुदै पनि नेपालको जलस्रोतको भविष्यमा चिनियाँ लगानीको बहुआयामिक प्रयोजनको सम्भावनालाई टार्न सकिँदैन भने तुलनात्मक रूपमा सानै भए पनि उसको उत्पादनका लागि बजार विस्तार लक्ष्यका रूपमा नेपाल रहनु स्वाभाविक छ।
चीनको राष्ट्रिय एकताको अभियानलाई अपुरो राखेको ताइवानको एकीकरण र त्यसै अभियानअन्तर्गत बेइजिङको मातहत आएको तिब्बत र सिन्जियाङ्ग प्रान्तको स्थायित्व चीनको परराष्ट्र सम्बन्धका प्रमुख निर्धारक हुन्। एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धता चीनको प्राथमिक चासो हो भने राष्ट्रिय एकता र अखण्डतामा चुनौतीका रूपमा रहेको तिब्बतसँग सीमा जोडिएको नेपालको रणनीतिक अवस्थितिका कारण पश्चिमा राष्ट्रले समर्थन गरेको फ्री तिब्बत आन्दोलनमा हुने गरेको नेपाली भूमिको प्रयोग उसको राष्ट्रिय सुरक्षा चिन्ता हो। खम्पा विद्रोहदेखि पछिल्लो समय राजनीतिक नेतृत्वलगायत विभिन्न क्षेत्रमा राष्ट्रिय जीवन बिताइरहेका व्यक्तिहरूको तिब्बतका निर्वासित नेता दलाई लामासँगको बाक्लिँदो भेट, सन् २००८ को 'लम्पिक ताका नेपालमा भएका फ्री तिब्बत गतिविधिहरूले उसलाई थप सशङ्कित बनाएका छन्।
तिब्बतबाट नेपाल प्रवेश गर्ने शरणार्थीहरूको सङ्ख्यामा आएको बढोत्तरी, उनीहरूको चीन विरोधी गतिविधिमा संलग्नता र पश्चिमा शक्तिका आडमा भारतको धर्मशालाबाट नेपालहुँदै तिब्बतमा सञ्चालित गतिविधिमा नेपालीस्थत तिब्बती शरणार्थीको संलग्नताले चीनको चिन्तालाई बढाएको छ। पश्चिमको प्रसारलाई रोक्न, भारतलाई सीमित गर्ने रणनीतिको कार्यान्वयन गर्न र विश्व व्यवस्थामा प्रतिष्ठाका लागि समेत नेपालमा प्रभाव विस्तार चीनका लागि महत्वपूर्ण छ।
भारत दङ्ग्याउन चीन! राजतन्त्रको अन्त्यपछि नेपालमा विश्वासिलो शक्ति गुमाएको चीनले त्यसबाट सिर्जित रिक्तता पूरा गर्न समाजवादी चीनका संस्थापक नेता मा'को नामसँग लिगेसी जोडिएको पार्टी एमा'वादीलाई विकल्पका रूपमा लिएको अनुभूति मा'वादीलाई बेइजिङले दिएको महत्व, विवादास्पद महरा टेप प्रकरण, मा'वादी लडाकूको चीन भ्रमण जस्ता घटनाक्रमले गराउँछन्। तर यसले नेपाली जनतामा कायम चीनप्रतिको पुरानो छविलाई धमिल्याएको मात्र छैन, मा'वादीलाई प्रयोग गरेर पश्चिम र भारतसँग शक्ति-सङ्घर्षमा लागेको आभाससमेत दिएको छ।
हिंसात्मक विद्रोहकालदेखि नै आफूइतरका शक्तिहरूको अन्तरविरोधमा खेल्दै विभाजित र कमजोर तुल्याउने रणनीति अख्तियार गरेको एमा'वादीले भारतीय संस्थापनलाई समेत पटक-पटक प्रयोग गर्दै र लत्याउँदै अहिले चीनसँगको निकट सम्बन्ध देखाएर भारतलाई दङ्ग्याउने नीति अख्तियार गरेको देखिन्छ। बोली र व्यवहारमा तादात्म्य नदेखिने मा'वादी अध्यक्षले सहसचिवसरहका कर्मचारीका रूपमा रहेका राजदूतलाई दूतावासमै गएर भेट्नेदेखि पूर्वमन्त्री समेत रहेका केन्द्रीय नेताकै संलग्नतामा राजदूतमाथि जुत्ता प्रहार गर्ने जस्ता व्यवहारले मा'वादीको अस्थिर र गैरकूटनीतिक चरित्र प्रदर्शन गर्छन्।
मा'वादीका यस्तै व्यवहार राष्ट्रिय राजनीतिमा विश्वासको सङ्कट खडा गर्न पनि प्रमुख जिम्मेवार छन्। हिंसात्मक द्वन्द्वमा हजारौंको रगत बगाएर, समृद्धिका सपना बाँडेर र लोकतन्त्रवादी पार्टीहरूप्रतिको वितृष्णामा टेकेर संविधानसभाको सबैभन्दा ठूलो दल हुँदै सरकारको नेतृत्व गर्दा समेत जनताका अपेक्षा पूरा गर्न असफल मा'वादी बरु आफैँ सभासद्को खरिदबिक्रीमा मुछियो। आफैंभित्रको चरम अन्तर्द्वन्द्व, वर्गीय अन्तरविरोध, आपराधिक क्रियाकलापमा संलग्नता, पार्टीको दिशाहीनता, तथाकथित राष्ट्रिय स्वाधीनता र तेस्रो जनआन्दोलनको असफलताले इमानदार कार्यकर्ता निरास र पलायन हँुदैछन्। यस्तै कारणले गर्दा जनाधार गुमाउँदै गएको मा'वादी पार्टी लोकतान्त्रिक रुपान्तरण कि जनविद्रोहमार्फत सत्ता कब्जा भन्ने अन्तरसङ्घर्षले दिशाहीन अवस्थामा पुगेको र मुलुकभित्र चौतर्फी आशङ्का र अविश्वासको घेरामा छ। त्यस्तै महरा टेप प्रकरण, नेपालको आन्तरिक समस्या समाधानका लागि बेइजिङले नयाँदिल्लीसँग वार्ता गर्नुपर्ने भन्ने अध्यक्ष पुष्पकमल दाहालको भनाइले एमा'वादीको पराधीन राजनीतिक मनोविज्ञानलाई उजागर गरेको छ। यसै पनि १०-१० वर्षसम्म भारतीय भूमिमा बसेर नेपाली मर्ने युद्ध गरेको एमा'वादीको कमजोर राष्ट्रिय आधारमा पछिल्ला प्रकरणहरूले झ्न् धेरै प्रश्न उठाइदिएका छन्।
प्रधानसेनापति प्रकरणबाट सहमतिको राजनीतिलाई प्रकट रूपमै लत्याएर अन्य राजनीतिक शक्तिहरूबाट एक्लिएको एमा'वादीको भारतसँगको सम्बन्ध अत्यन्तै चिसो बनेका वेला मा'वादी नेताहरूको चीन आउने-जाने क्रम बढेको छ। अर्कोतर्फ यहीवेला राजधानीमा बाक्लिँदै गरेका चिनियाँ प्रतिनिधिमण्डलका भ्रमणले बेइजिङले पञ्चशीलमा आधारित आन्तरिक मामिलामा अहस्तक्षेप, संस्थापनलाई नै विश्वासमा लिई सहयोग गर्दै विपक्षी खडा नगर्ने र सहज आर्थिक सहयोगको विशेषता बोकेको परम्परागत कूटनीतिलाई छोडेको प्रचार गर्न थालिएको छ।
महरा टेप प्रकरण, मा'वादी लडाकूहरूको चीन भ्रमण र अध्यक्ष दाहाल-चिनियाँ पक्षबीचको पछिल्लो भेटवार्तालाई आधार मानेर नेपालमा शक्ति-सन्तुलनको परिस्थिति बदलिएको र शक्ति-सङ्घर्षको सुरुआत भएको मानिएको छ। जबकि वास्तविकतामा मा'वादीले भारतविरुद्ध प्रति-सन्तुलन कायम गर्न चीन शक्ति-सङ्घर्षमा लागेको सन्देश दिएर दक्षिणलाई धम्क्याउने नाउँमा उत्तेजना फैलाइरहेछ। बेइजिङ पुगेर नेपालको मामिलामा चीनले भारतसँग कुरा गर्नुपर्ने भन्ने एमा'वादी अध्यक्षको भनाइबाट पनि यो कुरा पुष्टि हुन्छ। फेरि बिर्सन मिल्दैन, हतियार आयात, तालिम, घाइतेको उपचार र आश्रयस्थल नै भारत बनाएर नेपालमा हिंसात्मक युद्ध सञ्चालन गरेको मा'वादी भारतीय सद्भावमै १२ बुँदे समझ्दारीबाट शान्तिप्रक्रियामा आएर सरकारको नेतृत्वमा पुगेको तथ्यलाई।
यस्तो अस्थिर, अपरिपक्व र विश्वासको सङ्कटबाट गुज्रेको मा'वादीलाई मात्र नजिक राखेर लोकतान्त्रिक शक्तिलाई चिढ्याउने र नेपाली जनताबाट प्राप्त सद्भावलाई कमजोर बनाउँदै मा'वादीसँगै एक्लिँदै र कमजोर हुँदै जाने सम्भावनाको जोडघटाउ बेइजिङले गरेको हुनुपर्छ। संसारभर अमेरिकी रणनीतिलाई समेत आश्चर्यजनक रूपले चुनौती दिएको चीन जस्तो उदाउँदो महाशक्तिले आफ्नो प्रतिष्ठालाई समेत दाउमा राखेर नेपाल जस्तो मुलुकमा यति अपरिपक्व खेलमा लागेको आकलन गर्न सकिन्न। तैपनि प्रचार गरिएकै जस्तो वास्तविकता हो भने बेइजिङले एक चीन नीतिप्रति प्रतिबद्ध काङ्ग्रेस, एमालेलगायतका दलहरूलाई चिढ्याएर जनमत र विश्वास गुमाउँदै गएको एमा'वादीलाई साथ दिने कुराले नेपाली जनतामा रहेको चीनप्रतिको सद्भावमा क्षयीकरण हुनेछ र एक चीन नीतिप्रतिको प्रतिबद्धतामा फिक्कापन आउनेछ।
फेरि नेपाल कमजोर वा असफल राज्य बन्दा जस्तोसुकै शक्तिको विश्वास आर्जन गरे पनि तिब्बतको स्थायित्वका लागि गम्भीर चुनौतीका रूपमा रहेको नेपालबाट हुने फ्री-तिब्बत लगायतका चीन विरोधी गतिविधि रोक्ने एक चीन नीतिको कार्यान्वयन कठिन बन्नेछ। नेपालको शान्ति-प्रक्रियाको उचित निष्कर्षसहितको स्थिरताले मात्र चीनको सुरक्षा चासोलाई सम्बोधन गर्न सक्ने यथार्थ बेइजिङको रणनीतिक जमातले बुझ्ेको हुनुपर्दछ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out