वैद्य र भट्टराईको दस्तावेजमा आरोपः अध्यक्ष आर्थिक अपारदर्शी

पार्टीमा अर्थोपार्जनमा गम्भीर समस्या छन्, आयव्ययको लेखाजोखा छैन। आर्थिक क्षेत्रमा पारदर्शिता, सामूहिकता र लेखाप्रणाली समाप्तप्रायः बन्न गएको छ : मोहन वैद्य

सभासद्हरू किन्न करौडौं खर्च गर्नुमा पार्टीको सर्वहारा वर्गीय चरित्रको ठूलो उपहास भएको छ। पार्टीमा आर्थिक अराजकता, भ्रष्टाचार, अनियमितता व्याप्त छ : बाबुराम भट्टराई
भोजराज भाट, काठमाडौं, कात्तिक २५- एकीकृत माओवादीका उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अपारदर्शी ढंगले करौडौंको आर्थिक कारोबार गरेको आरोप लगाएका छन्।

गोरखामा मंसिर ५ गते हुने केन्द्रीय समितिको विस्तारिक बैठकका लागि तयार पारेको फरक दस्तावेजमा उपाध्यक्षद्वयले हेडक्वार्टरले अवैध व्यापार, तस्करी तथा भ्रष्टाचारलाई संरक्षण दिएर पार्टीभित्र 'नवधनाढ्य वर्ग' जन्मेको जिकिर गरेका हुन्। उनीहरूले पार्टीभित्रको आर्थिक अपारदर्शी रहनुमा अध्यक्ष दाहाल मुख्य जिम्मेवार ठहराएका छन्।

'एकातिर सभासद्हरू किन्न करौडौं खर्च गर्नु र अर्कोतिर होलटाइमर कार्यकर्ता भोकै र नांगै रहने स्थिति हुनुमा पार्टीको सर्वहारा वर्गीय चरित्रको ठूलो उपहास भएको छ,' भट्टराईको स्पष्टीकरण पत्रको पृष्ठ १० मा भनिएको छ, 'अहिले पार्टीमा जुन आर्थिक अराजकता, भ्रष्टाचार, अनियमितता व्याप्त छ, र समग्रमा पार्टी उत्पादनबाट कटेको परजीवी समूहमा रुपान्तरित हुन पुगेको छ।'

भट्टराईले आफ्नो पत्रमा सभासद् किनबेच र अपारदर्शी ढंगको आर्थिक कारोबारले पार्टी र क्रान्तिप्रति आम समुदायमा नकारात्मक सन्देश प्रवाहित भएको औल्याएका छन्। विस्तारित वैठकका लागि सीमित नेताहरूमाझ बाँडिएको लिखित पत्रमा हेडक्वार्टरले कहाँबाट, कति रकमको कारोबार गर्‍यो भन्ने विस्तृत विवरण उल्लेख छैन।

  असोज पहिलो साता चलेको केन्द्रीय समितिको बैठकमा भने भट्टराई पक्षधरले दाहालसँग चिनियाँ व्यापारीसँग पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले गरेको टेपप्रकरणबारे स्पष्टीकरण सोधेका थिए। यद्यपि, दाहालले आफ्नो ४ पृष्ठको दस्तावेज र ८ पृष्ठको स्पष्टीकरणपत्रमा भट्टराई र वैद्यले लगाएको संगीन आरोपबारे केही खुलाएका छैनन्।

'स्पष्ट गन्तब्य विनाको ६ दिने आम हड्तालको आव्हान र स्थगन, अध्यक्षको प्रधानमन्त्री निर्वाचनमा पटकपटकको हार, सभासद किनबेच र अपारदर्शी ढंगको आर्थिक कारोबार, पराजित सामन्ती राजावादी र प्रतिगामी तत्वहरूसँगको हिमचित र आफ्नै पार्टीको वैकल्पिक नेतृत्वमा भन्दा अर्कै पार्टीको नेतृत्वमा सरकार गठन गर्न जोड आदि घटनाक्रम र क्रियाकलापले पार्टी र क्रान्तिप्रति आम जनसमुदायमा समेत नकारात्मक सन्देश प्रवाहित हुन पुगेको छ,' भट्टराई पत्रको पृष्ठ ३ मा उल्लेख छ।

हेडक्वार्टरले पार्टीको आर्थिक मामिलामा हिनामिना वैद्यले पनि आफ्नो फरक प्रस्तावमा किटानी गरेका छन्। 'पार्टीमा एकातिर अर्थोपार्जनमा गम्भीर समस्या छन्, अर्कोतिर आयव्ययको कुनै लेखाजोखा छैन। आर्थिक क्षेत्रमा पारदर्शिता, सामूहिकता र लेखाप्रणाली समाप्तप्रायः बन्न गएको छ', वैद्य पत्रको पृष्ठ ७ मा लेखिएको छ, 'पार्टीभित्र नवधनाढ्य वर्ग पैदा हुने र अर्कोतिर क्रान्तिकारी कार्यकर्ताहरू बाध्यतावश पलायन हुनेपर्ने स्थिति छ। आर्थिक क्षेत्रमा अवैध व्यापार, तस्करी तथा भ्रष्टाचार व्यापक बन्दै गएको छ, यी कुरालाई नेतृत्वले उल्टै संरक्षण दिएको देखिन्छ।'

०६५ मंसिरको खरिपाटी भेलाले पार्टीभित्र देखिएको आर्थिक अनियमितता रोक्न र शुद्धिकरण अभियान थाल्न वैद्यको संयोजकत्वमा आयोग गठन भएको थियो। वैद्यले आयोगको प्रतिवेदन हेडक्वार्टरलाई बुझाएको तर त्यसलाई नेतृत्वले कार्यान्वयन गर्न आनिकानी गरेको दाबी गरेका छन्।

'पार्टीमा विशेषाधिकार प्राप्त अभिजात वर्ग पैदा भइरहेको छ, जिम्मेवार कामरेडहरूका दैनिक जीवन तथा आचरणमा जबर्जस्तरुपमा उपभोक्तावाद अभिव्यक्त हुँदै गइरहेका छन्', वैद्यको दस्तावेजमा उल्लेख छ, 'पार्टीमा बनेका आयोगका निर्णयहरूको अध्ययन तथा कार्यान्वयनबारे नेतृत्व पूरै मौन तथा उदासीन बनेको छ, यसले आंचारसहिता लागु हुने तथा शुद्धीकरणको प्रक्रिया अगाडि बढाउन सकिने स्थिति देखिदैन।' भट्टराईले पनि आफ्नो दस्तावेजमा पार्टीको खर्च र हिसाब प्रणाली सामुहिक र पारदर्शी बनाउनुपर्ने जोड दिएका छन्।

दाहालद्वारा नै गुटबन्दी
उपाध्यक्षद्वय वैद्य र भट्टराईले अध्यक्ष दाहालद्वारा पार्टीभित्र गुटबन्दी गरेको आरोप लगाएका छन्। दाहालले आफ्नो दस्तावेज सफल पार्नमा 'विश्वासपात्र' नेतालाई मुलकभर दौडाहामा पठाएको उनीहरूको दाबी छ।

'कथित उग्रवाम तथा दक्षिणपन्थी गठबन्धनको विरोधमा हेडक्वार्टरको रक्षाका लागि देशव्यापीरुपमा आह्वान गरी स्वयम् अध्यक्ष नै गुटबन्दीको प्रक्रियामा लागेका छन्,' वैद्यले आफ्नो दस्तावेजमा भनेका छन्, 'केही सभासद्हरूको भेला गराई कतिपय कामरेडहरूको विरोधमा उक्साउने काम भएको छ, जुन गम्भीर विषय हो।'

भट्टराईले पनि आफ्नो स्पष्टीकरण पत्रमा भिन्न मत राख्दा हेडक्वार्टरले पार्टी फुटाउन खोजेको, नेतृत्व हत्याउन खोजको आरोप लगाउने गरेको रहस्य खोलेका छन्। 'तत्कालीन नेकपा माओवादीभित्र रहँदा पनि अन्तरसंघर्षलाई व्यक्तिगत गालीगलौज र चरित्रहत्या गर्ने, मनपरी विल्ला भिराउने, सत्ता र शक्तिको डण्डाले पेल्ने, पूर्व गुटगत कित्ताबन्दी गर्ने, पदप्रतिष्ठाले लोभ्याउने, आर्थिक नाकाबन्दी गर्ने, भौतिक कार्वाहीसम्म गर्ने वा धम्काउन खाजेको तीतो सम्झना हामीसँग छ' भट्टराईको स्पष्टीकरणपत्रमा भनिएको छ।

'अहिले पनि भिन्न मत हुने बित्तिकै पार्टी फुटाउन खोजेको, नेतृत्व हत्याउन खोजेको, दुश्मनको गोटी बनेको आदि मिथ्या आरोप लगाई बदनाम गराउने र आम कार्यकर्ता पंक्तिलाई भ्रमित र आंतकित पार्ने गैर-सर्वाहारा प्रवृति पनि देखा पर्ने गरेको छ,' दाहालप्रति टिप्पणी गर्दै भट्टराईले आफ्नो पत्रमा भनेका छन्, 'यो पार्टीलाई विपरीतहरूको एकत्वको रुपमा होइन कि एकमनावादी ढंगले बुझ्ने अधिभूतवादी चिन्तनको परिणाम र न्युन-पँुजीवादी इर्ष्या-डाह वा भयआंतकले ग्रसित मानसिकताको उपज हो।'

गुटगत र नेतृत्वको निकटताका आधारमा कोही कार्यकर्ता बेफुर्सद रहने कोही बेरोजगार रहने स्थिति विडम्वनापूर्ण भएको भट्टराईको भनाइ छ। उनले दाहालमा नोकरशाहीतन्त्र हाबी भएको आलोचना गरेका छन्।

वैद्यले बाबुरामलाई पार्टीभित्रका गोप्य कुरा बाहिर चुहाएको र दाहालसँग भिन्न मत राख्दा उनले 'सत्ता' को दुरुपयोग गरी रिसइबी साध्ने गरेको आरोप लगाएका छन्। 'एकातिर दुई लाइन संघर्ष चल्ने बित्तिकै त्यसलाई अस्वस्थ बनाउने वा सत्ताको दुरुपयोग गरी दुश्मनीपूर्ण रुप दिने गरिएको छ', वैद्यले अगाडि भनेका छन्, 'अर्कोतिर कमिटीमा भिन्न मत राख्न हिचकिचाउने तथा गैरजिम्मेवार ढंगले आफ्ना विचारलाई बाहिर लैजाने काम पनि भएको छ। यो हाम्रा लागि गम्भीर समस्या हो।'

मध्यपन्थी धार नै खतरा
भट्टराई र वैद्यले अध्यक्ष दाहालले दाबी गरेको मध्यपन्थीको लाईन क्रान्तिका लागि अस्पष्ट, ढुलमुले र अन्ततः अवसरवादी चरित्र भएको दाबी गरेका छन्।

वैद्यले आफ्नो दस्तावेजमा पार्टीभित्र तीन धार देखिएको प्रष्ट पारेका छन्। पहिलो (बाबुरामको) : विद्रोहको सम्भावना छैन भन्दै सुधारवादी संविधान निर्माणमा जोड दिने धार। दोस्रो (दाहाल) : कुरामा जनविद्रोह र काममा सुधारवादी संविधान बनाउन खोज्ने। तेस्रो (आफ्नो) : सुधारवादी संविधान बनाउनेतिर होइन, जनताको संघीय गणतन्त्रको स्थापनाका लागि जनविद्र्रोहका जान जोडदिने धार। किरणले दाहाललाई आन्दोलनका क्रममा दक्षिणपन्थी अवसरवाद विरुद्ध संघर्ष गर्नुको सट्टा त्योसित झुकेको आरोप लगाएका छन्। यहाँनेर उनले दक्षिपन्थी अवसरवाद भनेर बाबुरामलाई इंगित गर्न खोजेका हुन्।

वैद्यको दस्तावेजमा भट्टराईभन्दा दाहाल क्रान्तिका लागि खतरनाक भएको टिप्पणी गरिएको छ। रुसी नेता लेनिनको भनाइ उदृत गर्दै उनले मध्यपन्थी अवसरवादलाई दक्षिणपन्थी अवसरवादभन्दा बढी 'डरलाग्दो र हानिकारक' भएको दाबी गरेका छन्। 'नांगो अवसरवाद, जसप्रति मजदुर जनसाधारणको मनमा तुरुन्त घृणा पैदा हुन्छ, त्यति डरलाग्दो र हानिकारक हुँदैन, जति त्यो मध्यपन्थी सिद्धान्त, जसले अवसरवादी व्यवहारलाई न्यायसंगत ठहराउनका लागि मार्क्सवादी सूत्रहरूको उपयोग गर्छ। अनेकौ कुतर्कहरूको सहारा लिएर क्रान्तिकारी काम कारबाही तथा गतिविधिहरुलाई असामयिक बताउँछ,' उनको दस्तावेजको पृष्ठ ६ मा लेखिएको छ।

वैद्यको विश्लेषणमा दाहाल 'भनाइमा सबथोक स्वीकार्ने र काममा केही पनि नगर्ने अवसरवादी प्रवृति हाबी भएको' नेता हुन्। 'लेनिनका विचारमा मध्यपन्थी अवसरवाद त्यो हो, जसले संघर्षका क्रान्तिकारी साधन, तिनको जनसमुदायमा प्रचार-प्रसार र क्रान्तिको तयारी बाहेक मार्क्सवादका सबै कुरा स्वीकार गर्छ,' दाहालप्रति कटाक्ष गर्दे वैद्यको स्पष्टीकरणपत्रमा भनिएको छ, 'मध्यपन्थी अवसरवादले कुनै पनि वस्तुलाई अमूर्त अर्थमा ग्रहण गर्छ, जसले विभिन्न अनमेल विचार र प्रवृत्तिहरूलाई एकै ठाउँमा घालमेल पार्ने काम गर्छ। यो एक अस्थिर राजनीतिक प्रवृति हो, यसले क्रान्तिको जटिल घडीमा दक्षिणपन्थी अवसरवादलाई सघाउँछ र अन्ततः त्यो त्यसमै बदलिने गर्छ।'

बाबुराम पनि दाहालप्रति उत्तिकै आक्रामकरुपमा प्रस्तत भएका छन्, 'पार्टीभित्र दक्षिणपन्थी सुधारवादी वा संशोधनवादी प्रवृत्ति नांगो रुपमा भन्दा पनि उग्र क्रान्तिकारिताको खोल ओढेर वा छद्म रुपमा प्रकट हुने बढी सम्भावना रहन्छ। विगतमा हाम्रो पार्टीमा देखा परेको आलोक प्रवृति त्यसको एउटा भद्दा उदाहरण हो।'

भट्टराईले दाहालद्वारा मध्यपन्थी धारबारे दिने गरेको स्पस्टोक्ति बालसुलभ सोचाइ भएको टिप्पणी गरेका छन्। 'दक्षिणपन्थी हुनुभन्दा उग्रपन्थी हुनु राम्रो वा दक्षिणपन्थी र उग्रपन्थी हुनुभन्दा मध्यपन्थी हुनु राम्रो भन्ने बालसुलभ सोचाइबाट पनि सर्वहारावादी क्रान्तिकारीहरू मुक्त हुनुपर्दछ। ती सबै गैर-सर्वहारावादी प्रवृति नै हुन् र ती सबैबाट हामी मुक्त हुनैपर्छ।'

आफ्नो कार्यदिशा क्रान्तिकारी भएको भन्ने दाहालको दाबीप्रति वैद्यले खण्डन गरेका छन्। 'क्रान्तिकारी कार्यदिशाको कार्यान्वयन नगर्नुको वास्तविक अर्थ अर्को कुनै कार्यदिशा अवलम्बन गर्नु हो', वैद्यले लेखेका छन्, 'जुन नेतृत्वले कार्यदिशाको कार्यान्वयनका लागि आवश्यक ध्यान दिदैन, त्यो नेतृत्वको त्यस कार्यदिशासितको सम्बन्ध र त्यसप्रतिको अधिकार पनि रहन सक्तैन।'

दाहाल र भट्टराईले 'वाम संकीर्णवाद', 'जडसूत्रवाद'लगायतको आरोपको बचाऊ गर्दै वैद्यले आफ्नो स्पष्टीकरणपत्रको पृष्ठ ३ मा भनेका छन्, 'एमालले बहुदलीय जनवादलाई न्यायसंगत वा सही देखाउनका लागि यस्तै पदावलीहरूको प्रयोग गर्दै आएको कुरा स्पष्टै छ, हाम्रो पार्टीमा पनि नवीनता, सृजनशीलता र मौलिकता जस्ता पदावलीको दुरुपयोग गरेर आफूलाई लोकतान्त्रिक गणतन्त्र र सुधारवादसम्म सीमित राख्न खोजिएको छ, त्यो गम्भीर बिडम्बनाको विषय हो। यस्ता पदावलीको प्रयोग क्रान्तिकारीहरूमाथि आक्रमण र अवसरवादीहरुको हित साधान गर्ने काममा हुन नपावोस् भन्नेवारे सतर्क रहन जरुरी छ।'

भट्टराईले दाहालको ढुलमुले चरित्रको कारण शान्तिप्रक्रियामा पार्टीले समग्ररुपमा हार खेप्दै आएको निष्कर्ष निकालेका छन्। उनले दस्तावेजमा किटानीसाथ भनेका छन्, 'सडक, सदन र सरकारको मोर्चाको अन्तरसम्बन्ध र तिनीहरुको सापेक्षिक महत्ववारे नेतृत्वपंक्तिमा रहेको अस्पष्टता वा त्रुटीपूर्ण सोच र अध्यक्षको भनाई र गराईमा रहेको ठूलो अन्तरविरोधको कारणले गत सवा वर्षमा पार्टीले न त सरकारको नेतृत्व हासिल गर्न सकेको छ, न त जनविद्रोहको उल्लेख्य तयारी नै गर्न नसकेको छ।'

भट्टराईको ५ पृष्ठको फरक दस्तावेज र ११ पृष्ठको स्पष्टीकरणपत्रमा उनी वैद्यप्रति 'नरम' र दाहालप्रति आक्रामकरुपमा प्रस्तुत भएको देखिन्छ। वैद्य र भट्टराई दुबैले आफ्नो दस्तावेजमा दाहालको खुलेयाम आलोचना गरे पनि उनको नेतृत्वलाई नै चुनौति दिने खालको उनीहरूले भाषा प्रयोग गरेका छैनन्। बरू दाहालले आफै दाबी गरेका छन्, 'नेतृत्व फगत मनोगत आकांक्षाद्वारा रातारात बन्ने र समाप्त हुने कुरा होइन। हाम्रो नेतृत्व पनि लामो समयदेखि वर्गसंघर्ष र विचारधारात्मक संघर्षको प्रक्रियाबाट सुदृढ र स्थापित हुँदै आएको हो।'

दाहालले आफूलाई प्राधिकार दिएकै कारण अहिलेको शान्तिप्रक्रियासम्म आइपुगेको दाबी गरेका छन्। उनले आफ्नो दस्तावेजको अन्तिममा विस्तारित वैठकको सुरुवातमा वैद्य र भट्टराईका राम्रा पक्ष समेटेर पूर्ण दस्तावेज ल्याउने आश्वासन दिनसमेत चुकेका छैनन्।

दाहालप्रति किरणको आरोप
• आन्दोलनमा दक्षिणपन्थी अवसरवादका विरुद्ध संघर्ष गर्नुको साटो त्यो सित झुक्ने,
सम्झौंता गर्ने तथा त्यसलाई संरक्षण गर्नु।
• नेतृत्वबाट कार्यदिशाको कार्यान्वयनको लागि मूर्त योजना बनाउनेतर्फ आवश्यक ध्यान नदिनु
• कार्यदिशा र नेतृत्वकाबीच अन्तर्विरोध पैदान हुनु
• शब्दमा क्रान्तिकारी कार्यदिशालाई स्वीकार्नु तर कर्ममा त्यसको कार्यान्वयनतर्फ आवश्यक ध्यान नदिनु
• तत्कालिक, दैनिक तथा भैपरिआउने कामहरुलाई प्राथमिकता दिनु, रणनीतिक महत्व तथा तयारीका कामहरुप्रति उपेक्षा गर्नु।
(असोज पहिलो साता केन्द्रीय समितिमा दाहालद्वारा प्रस्तुत भएको स्पष्टीकरणपत्रमा फरक मत राखेका बुँदाहरु) 
दाहालको मध्यपन्थी धारप्रतिको वैद्यको टिप्पणी
'नांगो अवसरवाद, जसप्रति मजदुर जनसाधारणको मनमा तुरुन्त घृणा पैदा हुन्छ, त्यति डरलाग्दो र हानीकारक हुँदैन, जति त्यो मध्यपन्थी सिद्धान्त जसले अवसरवादी व्यवहारलाई न्यायसंगत ठहराउनका लागि मार्क्सवादी सूत्रहरुको उपयोग हुन्छ र अनेकौं कुतर्कहरुको सहारा लिएर क्रान्तिकारी काम कारबाही तथा गतिविधिहरुलाई असामयिक बताउँछ।' यहाँ लेनिनले मध्यपन्थी अवसरवादलाई नांगो अवसरवाद अर्थात् दक्षिणपन्थी अवसरवादभन्दा बढी 'डरलाग्दो र हानिकारक' हुने कुरा बताउँदै त्यसको जनसमुदायमा प्रचारप्रसार र क्रान्तिको तयारी बाहेक मार्क्सवादका सबे कुरा स्वीकार गर्दछ। भनाईमा सबै थोक स्वीकार्नु र काममा केही नगर्नु मध्यपन्थी अवसरवादको एउटा प्रमुख विशेषता हो।
मध्यपन्थी अवसरवाद सारसंग्रहवाद विश्वदृष्टिकोणसँग अभिन्न रुपमा जोडिएको छ। सारसंग्रहवादले कुनै पनि वस्तुलाई अमूर्त अर्थमा ग्रहण गर्दछ। त्यसले विभिन्न काम, विषय वा अन्तर्विरोधहरुलाई समानान्तररुपमा प्रस्तुत गर्दछ र कुन प्रधान एवम् कुन गौण हो भनेर छुट्टाउने गर्दैन। त्यसले विभिन्न अनमेल विचार र प्रवृतिहरुलाई एकै ठाउँमा घालमेल पार्ने काम गर्दछ। यो एकको दुईमा विभाजन हुन्छ भन्ने भौतिकवादी द्वन्द्ववादमा होइन, दुईको एकमा संयोजक हुन्छ भन्ने अभिधूतवादमा आधारित छ। यसले सम्झौंता र वर्गसमन्वयवादलाई प्रश्रय दिन्छ। मध्यपन्थी अवसरवाद एक अस्थिर राजनीतिक प्रवृति हो। त्यसले क्रान्तिको जटिल घडीमा दक्षिणपन्थी अवसरवादलाई सघाउँछ र अन्ततः त्यो त्यसमै बद्लिने गर्दछ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out