आखिर, मुन्नी किन बदनाम भई?

ध्रुवचन्द्र गौतम- मुन्नी बदनाम हुई डारलिङ तेरे लिए...मैं झण्डु बाम हुई डारलिङ तेरे लिए। 'दबंग' भन्ने फिल्मको यो गीतका लागि मानिसले पटकपटक फिल्म हेरे भन्ने चर्चा छ। हिन्दी फिल्म 'दबंग' हिट भयो। धेरै दर्शकको भनाइ छ, पत्रपत्रिकाको पनि, यसलाई हिट तुल्याउनमा यही गीतको ठूलो हात छ।

यद्यपि यसका नायक सलमान हुन्, जो आजका लोकप्रिय नायकमध्ये एक छन्। फिल्ममा हास्य र एक्सनको 'झनाइ' छ। तैपनि मानिस मलाइकामाथि फिल्मांकन गरिएको यो गीतलाई फिल्म सफल हुने कारण मान्छन् भने केही त होला यसमा।
फिल्मी भाषामा यस्ता गीत र नृत्यलाई 'आइटम' भन्छन्। 'आइटम सङ' वा 'आइटम डान्स' त्यस्तो गीत वा नृत्यलाई मानिन्छ जसको कथासँग सम्बन्ध हुन पनि सक्छ, नहुन पनि सक्छ। तर, यसको प्रभाव भने फिल्ममा भएर पनि छुट्टै प्रकारको हुन्छ।
मलाइका, मलाइका अरोडा वा मल्लिका अरोडा पनि भन्छन् तिनीलाई। आज 'आइटम डान्स' गर्ने केटीहरूमा अग्रपंक्तिमै पर्छिन्। उनको शरीरले पनि उनलाई चाहेको परिस्थिति सिर्जना गर्न साथ दिएको छ। छरितो शरीरले कम्मर मर्काउँदै र अंगअंग थर्काएर नाच्दा उनको गतिले बिजुलीको चम्काइसित होड लिएजस्तो लाग्छ। उनी निर्धक्कसँग नाच्छिन्। यिनै कारणले उनका 'आइटम डान्स' प्रायः हिट छन्। उत्तेजनाको लहर उमार्ने गर्छिन् उनी दर्शकमा। केही वर्षअघि उनले 'चल छैंया छैंया' मा नृत्य गरेको सम्झन्छु। त्यसमा शाहरुख थिए, तैपनि मलाइकाले चर्चा कमाएकी थिइन्। यसमा सलमान छन्, तैपनि उनको चर्चा कम्ती भएन। सलमान उनका जेठाजु हुन्। मलाइकाले एक अन्तर्वार्तामा भनेकी थिइन्, जेठाजुका अघि नाच्दा मलाई कुनै संकोच भएन।
'आइटम डान्स'को परम्परा हिन्दी सिनेमामा धेरै पुरानो हो। सिनेमाजत्तिकै पुरानो भने होइन। हाम्रो बाल्यकालमै यस्ता नृत्यले फिल्म चल्ने अवधारणा आइसकेको थियो। अहिले त नायिकाहरू पनि 'आइटम डान्स' मज्जाले गर्छन्। पहिले भने यस्ता नर्तकीको एउटा बेग्लै परिचय हुन्थ्यो। प्रायः ती चुपचाप आउँथे, गीत गाउँदै नृत्य गर्थे र बेपत्ता हुन्थे। कहिलेकाहीँ एकभन्दा बढी नृत्य गर्नुपर्दा पुनः त्यसैगरी प्रकट हुन्थे। पछिपछि, तिनीहरू अलिअलि अभिनय पनि गर्न पाउँथे।
हाम्रो बाल्यकालमा कुक्कु भन्ने एउटी नर्तकी थिइन्। मैले देखेको प्रथम 'आइटम डान्सर' तिनै हुन्। हामी कक्कु भन्थ्यौं। कक्कुको अनुहार त मलाई त्यति सराहनीय लाग्दैन थियो, उनको देहमा भने धेरै कुरा थियो। दुब्लो, छरितो, अहिलेको मलाइका जस्तै। राजकपुरको फिल्म 'श्री चार सौ बीस' आदिमा उनको नृत्यको खुबी देख्न पाइन्छ। कक्कुको जगजगी नै थियो। त्यसपछि तिनको ठाउँ हेलेनले लिँदै गइन्। आजसम्मका यस्ता नर्तकीमा सम्भवतः हेलेन जति उच्चता कसैले पाएन। फिल्मको कथामा व्यवधान आएजस्तो लाग्यो भने, निर्देशक वा निर्माता भन्थे- 'एउटा हेलेनको डान्स हालिदेऊ।' उनी शरीर र सौन्दर्य अनि नृत्यकुशल सबै कुराकी धनी थिइन्। एउटा सिंगो जमानालाई हेलेनका थर्काइले सिनेमाहलसम्म पुर्‍याउने गरेको थियो।
पछि विन्दु, पद्मा खन्ना, जय श्री टी आदिले पनि आफ्ना नृत्यले दर्शकलाई मुग्ध तुल्याएकै हुन्। तर, हेलेनलाई देखेर रसविभोर भएका दर्शकको ध्यानलाई नाघ्न सक्ने क्षमता कसैले प्रस्तुत गर्न सकेनन्।
...
२००८ सालतिरको कुरो। वीरगन्जमा 'कीर्ति सिनेमा' थियो। त्यो हल बनेपछि वीरगन्जको शैली नै बद्लिएको थियो। अहिले अर्कै प्रसंग। त्यो हलमा 'निशाना' भन्ने फिल्म बरोबर लाग्थ्यो। खासगरी 'एक टिकट मे दो खेल'मा एउटाचाहिँ कि त्यही 'निशाना' भन्ने हुन्थ्यो कि 'जय महालक्ष्मी' भन्ने धार्मिक फिल्म। मैले सबैभन्दा बढी हेरेको फिल्म पनि यिनै दुई हुन्। अरू कारण होइन, एउटा टिकटमा दुई खेल भएकाले।
'निशाना'मा अशोक कुमार र मधुवालाको मुख्य भूमिका थियो भने गीतावालीको सहायक। त्यसमा गीतावालीको नाउँ 'मुनरिया' थियो। कीर्ति सिनेमाका प्रचारक टिनको एउटा 'भोंपु' मा मुख टाँसेर लाउड स्पिकरमै बोलेजस्तो गर्दै आउँथ्यो। उसले कराएर प्रचार गर्दा नायकनायिकाको नाउँ लिँदैनथ्यो। यस्तो पो भन्थ्यो- 'आज के रात कीर्ति सिनेमा मे मनुरियाका डान्स देखिए।'
मुनरियाको डान्स त्यति लोकप्रिय थियो। त्यसबखत 'आइटम डान्स' भन्ने चलन थिएन। हामीले यस्ता शब्द सुनेका पनि थिएनौं। तर, हिसाब गर्दै जाँदा मुनरिया अथवा कक्कुहरू नै प्रारम्भिक 'आइटम डान्सर' थिए। त्यसअघिको मलाई सम्झना छैन।
ती 'आइटम डान्सर'को लोकप्रियताको आफ्नै मापदण्ड, आफ्नै कसी हुन्थ्यो। एउटा अर्को रमाइलो दृश्य पनि देख्न पाइन्थ्यो। मैले केटाकेटी बेलामा देखेको छु, धार्मिक फिल्ममा देवीदेवता देखेपछि कतिजना पैसा फ्याँकेर अर्थात चढाएर दर्शन गर्थे। त्यसैगरी अहिले भनिएका 'आइटम डान्स' लोकप्रिय छ भने अथवा सोझो भाषामा भनुँ उत्तेजक छ भने त्यसको कदर गर्न पनि वीरगन्जका दर्शक चुक्दैनथे। पर्दातर्फ पैसा फ्याँक्थे र सिटी बजाउँथे। हिजोआज समय फेरियो, सिटी र ताली बजाउने मात्र छन्।
यी डान्सरभन्दा अघि अर्थात वीरगन्जमा वा गाउँगाउँमा के थियो त? 'लवण्डा'को नाच हुन्थ्यो। मलाई लाग्छ, सिनेमामा 'आइटम डान्स'को विकास यही 'लवण्डाको नाच'बाट भएको हुनुपर्छ।
त्यसबखत मञ्च वा चौपालमा लवण्डाको नाच हुन्थ्यो। अलि खुला ठाउँ छ भने 'नेटुवाको नाच' हुन्थ्यो। नेटुवा पनि नर्तक नै हुन्। लवण्डा भने अलिक लामो कपाल पालेका युवक वा किशोर हुन्थे। त्यसबखत नर्तकी पाउनु कठिन थियो। त यी लवण्डाहरू नै स्त्रीभेष धारण गरेर नाच्थे र जसजसलाई जुन तुष्टि लिनु छ यसैबाट चित्त बुझाउँथे। कुनैकुनै कार्यक्रममा एउटा कथा अर्थात नाटक हुन्थ्यो। त्यसमा नाटककै पात्र अथवा बीचमा आएर अन्य 'नचनिया' नाच्थ्यो। मैले थालनीमै लेखेको छु- 'आइटम डान्स' फिल्मका पात्रले फिल्म कथासित सम्बद्ध रूपमा पनि गर्छ, स्वतन्त्र रूपमा पनि। 'लवण्डाको नाच' मा नाटक छ भने यी दुवै तरिका अँगालिन्थ्यो। यो सबै हिसाबले हेर्दा यही 'लवण्डा के नाच'बाट 'आइटम डान्स' विकसित भयो भन्न सकिन्छ।
'लवण्डा'लाई गाउँमा अलग किसिमले हेरिन्थ्यो। त्यस हेराइमा तिनलाई विशिष्ट पनि मानिएको हुन्थ्यो। कतैकतै अलिकति 'बिग्रियो' भन्ने भाव पनि हुन्थ्यो। कस्तो होला त्यो हेराइ! 'लवण्डा'लाई 'नचनिया' अर्थात नाच्ने भन्थे। फलाना त लवण्डा बन गइल- हाम्रो गाउँमा यस्तो उक्ति कहिलेकाहीँ सुनिन्थ्यो।
मैले कुनैकुनै केटालाई देखेको छु जो पहिले साधारण किसानको छोरो थियो, एक दिन भागेर गयो र उनी 'लवण्डा' बनेर फर्क्यो। ऊ आफ्नो नचनिया जीवनका कुरा सुनाउँथ्यो। तिनमा पनि कोहीकोही फेरि नचनिया बन्न फर्कन्थ्यो। कोहीकोही भने कपाल छोट्याएर पुनः हलो जोत्ने, 'बेरहटिया' र 'कलेउ' खाँदै सामान्य जीवन बिताउँथे। मलाई लाग्छ- तिनीहरू क्रमशः विस्थापित हुँदै गएका थिए। धनीहरूको भोजभतेरमा उनीहरू नाच्न डाकिन्थे। क्रमशः यो चलन कम हुँदै गएर सहरीक्षेत्रमा लगभग निमिट्यान्न भएको अनुभव हुन थाल्यो। तिनलाई विस्थापित केले गर्‍यो?
दुई कुरा। एउटा त यी केटी बनेर नाच्ने केटा (लवण्डा)को ठाउँमा 'बाइजी' को नाच आउन थाल्यो। बाइजीहरू भारतबाट मगाइन्थे र फिल्मी अनि अन्य पनि गीतमा कम्मर भाँचीभाँची द्विअर्थी बोल बोल्दै पनि नाच्थे। नगरभरि हल्ला हुन्थ्यो- फलानाको बिहेमा बाइजीको नाच छ। त्यतिले काण्ड पुग्थ्यो। यसरी बजार घट्दै गएपछि लवण्डाको नाच भीड खोज्दै गाउँतिर लाग्यो। अब त त्यतातिरबाट पनि विस्थापित हुँदैछन्। एकदम भित्री गाउँमा भए कुन्नी, मैले त वषर्ौं भयो लवण्डाको नाच नहेरेको। अन्तिम पटक सम्भवतः वीरगन्जमै हेरेको थिएँ। साबुन वा यस्तै कुनै उत्पादनको प्रचार गर्न लवण्डा झिकाइएका थिए। अब प्रचारका आधुनिक तरिकाले त्यो पनि टाढिँदै गयो।
विस्थापित गर्ने अर्को कुरा झन् शक्तिशाली थियो, सिनेमा। सिनेमाले त बाइजीको नाचलाई पनि धक्का पुर्‍यायो। सिनेमामा सारा कुरा एकै ठाउँमा भेटिने भएपछि अनि लवण्डा वा बाइजीका ठाउँमा मलाइका नाच्ने भएपछि किन चाहियो अर्थोक?
एउटा प्रश्नले भने मलाई अझै पिरोल्छ। बाई हुनु त्यति सम्मानजनक मानिन्न तैपनि तिनलाई सबैले 'बाइजी' भनेर आदरार्थी सम्बोधन किन गर्थे?
यस्तो हुनसक्छ- बाई त्यतिखेर 'मुन्नी' जति बदनाम थिइन् कि? 'मुन्नी' एउटा भर्चुअल रियालिटी हो, बाइजी त लाइभ नै थिए। त्यसकारण पनि स्त्रीका नाताले त्यसलाई सम्मान गरेर 'जी' भनेको हो कि?
अन्त्यमा 'मै झण्डु बाम हुई' सम्बन्धी एउटा रोचक तथ्य। त्यो नृत्यपछि 'झण्डु बाम'ले मुद्दा हाल्यो, मानहानिको हो कि, नृत्य नदेखाइयोस् भनेर हो। अब आज हेरौं, त्यही मुद्दा दायर गरिएकी मुन्नी झण्डु बामकी ब्रान्ड अम्बेसडर बनाइएकी छन्, झण्डुकै तर्फबाट। अनि त्यही मुद्दा हालिएको 'मै झण्डु बाम हुई' भनेर मलाइकाले नाचेको दृश्य देखाउँदै 'झण्डु बाम' बेच्दैछ, झण्डु कम्पनी। झण्डु बामले मानिसलाई आराम पुर्‍याउँछ भनेर हो कि, मुन्नीले झण्डु र दर्शक दुवैलाई आराम दिन्छे भनेर हो?
यस्तो परिस्थितिमा लवण्डाको नाच के गरी टिक्थ्यो? त्यसै पनि लवण्डा वा बाईको पुरा वस्त्रलाई 'मुन्नी'हरूका झिना वस्त्रले अड्न दिने सम्भावनै थिएन।
लाग्छ- 'मुन्नी' को बदनामी नै उसको शक्ति हो, त्यसकारण दर्शकले स्वागत गरे। 'आइटम डान्स' का थालनीकर्ता भने कहाँ छन् कहाँ अहिले। ती पनि कहिलेकाहीँ सिनेमाको प्रयोजन पुरा गर्न सिनेमैभित्र देखिन्छन्। तर, मुन्नीका सामु ती त्यहाँ पनि टिक्न सक्दैनन्।
वर्णन गरेर साध्य छैन, झण्डु बाम बनेका मुन्नीहरूको...।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out