यात्रा दिल्लीको, त्रास बेइजिङको

गोपाल खनाल- प्रतिनिधिसभामा अल्पमतमा र माथिल्लो सदन सिनेटमा थोरै अन्तरसहितको बहुमतमा सीमित भई उल्लेखनीय लोकपि्रयता गुमाएलगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतको पहिलो भ्रमणमा शनिबार आर्थिक राजधानी मुम्बई आउँदैछन् । 'हो हामी सक्छौं' भन्ने चुनावी नारामार्फत सन् २००८ मा अमेरिकाको समर्थनमात्र होइन, विश्वकै सहानुभूति पाएका ओबामा र उनको डेमोक्रेटिक पार्टीले १५ कात्तिकमा सम्पन्न मध्यावधि निर्वाचनमा प्रतिनिधिसभामा बहुमत गुमाएको छ भने सिनेटमा पहिलेभन्दा थोरै अन्तरको बहुमत पाएको छ । सन् २००९ जनवरीदेखि विपक्षी रिपब्लिकन पार्टीका पहिलो अफ्रिकन-अमेरिकन अध्यक्ष बनेका माइकल स्टेफेन स्टीलले डेमोक्रेटलाई हराएर ओबामामाथि अर्को राष्ट्रपति चुनावका लागि चुनौती थपेका छन् । परिणामलाई रिपब्लिकन नेताहरूले 'ओबामा-पिल्लोसी नीति'को पराजयको संज्ञा दिएका छन् भने उनीहरूले ओबामालाई 'कोर्स चेन्ज' गर्न सल्लाहसमेत दिएका छन् । नेन्सी पिल्लोसी डेमोक्रेटको तर्फबाट अमेरिकी सभामुख हुन्, जो अव रिपब्लिकनले लिँदैछ । परिणामले तत्काल ओबामाका मुख्य विदेश नीति प्रभावित गर्ने छैन, तर कंग्रेसबाट विधेयक पारित गराउने सन्दर्भमा भने अवरोध सिर्जना गर्न सक्नेछ । फेरि मध्यपूर्व र एसियाजस्ता अमेरिकी स्वार्थ बढी जोडिएका रणनीतिक क्षेत्रमा अमेरिकी विदेश नीति विभाजित पनि छैन- चीन र भारतप्रति हरेक नेपाली नेता र पार्टीले लिएको विभाजित नीतिजस्तो ।            घरेलु यो प्रतिकूल अवस्थामा सामरिक दृष्टिकोणले सबैभन्दा अप्ठ्यारो क्षेत्र दक्षिण एसिया र त्यसको मुख्य रणनीतिक साझेदार भारत भ्रमणमा आउँदा स्वाभाविक रूपमा परिणाम प्रभावित हुनसक्छ । अथवा पूर्वनिर्धारित भ्रमण र पूर्वनिर्धारित एजेन्डाका कारण त्यहाँ आकस्मिक द्विपक्षीय/क्षेत्रीय ठोस उपलब्धि हासिल हुने सम्भावना छैन, त्यसैले अमेरिकी मध्यावधि निर्वाचन परिणामले ठोस उतार-चढाव ल्याउने सम्भावना नहुन पनि सक्छ । एउटा यथार्थ हो- भारत अमेरिकाको प्राथमिकतामा छ । नौ दिने दोस्रो एसिया भ्रमणमा भारत ओबामा प्राथमिकतामा छ, किनभने पहिला मुम्बई आउँदैछन् र सबैभन्दा बढी समय तीन दिन भारतमा बिताउँदैछन् । त्यसपछि उनी इन्डोनेसिया, दक्षिण कोरिया र जापान जानेछन् भने त्यसैबीचमा दक्षिण कोरियमा हुने विकासशील राष्ट्रहरूको समूह (जी २०) समिटमा समेत सहभागि हुनेछन् । चाखलाग्दो के छ भने सन् २००९ नोभेम्बरमा पहिलो एसिया भ्रमणमा आउँदा ओबामाले सबैभन्दा बढी समय तीन दिन चीनमा बिताएका थिए, अहिले भारतमा जस्तै । त्यसबेला उनले नोभेम्बर १३ मा जापानबाट भ्रमण सुरु गरी एसिया प्रशान्त आर्थिक सम्मेलन (एपेक) सिंगापुरमा सहभागी हुँदै चीन र अन्त्यमा दक्षिण कोरियामा नोभेम्बर १८ मा भ्रमण अन्त्य गरेका थिए । अहिले मुम्बईबाट भारत यात्रा सुरु गरेजस्तै त्यसबेला उनले आर्थिक केन्द्र सांघाईबाट चिनियाँ यात्रा सुरु गरेका थिए ।
पहिलो र दोस्रो एसिया भ्रमणलाई हेर्दा लाग्छ- ओबामा एसियाका दुई उदीयमान अर्थतन्त्रप्रति सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छन्- रणनीतिक बाहेक । प्रजातन्त्र र मानवअधिकारका मुद्दामा ओबामाको चीनसँग असहमति पहिलो भ्रमण सार्वजनिक भएकै हुन् । रेबिया कादिर, दलाई लामा, र चिनियाँ बन्दी नेतालाई नोबेल शान्ति पुरस्कारजस्ता मुद्दामा ओबामा र हुजिन्ताओबीचको फरक दृष्टिकोणले एसियाली राजनीतिक र कूटनीतिक अर्डरमा खासै प्रभाव पारेको देखिँदैन, किनभने शक्तिशाली राष्ट्रबीचको कूटनीतिक सम्बन्ध एउटै मुद्दामा ह्वात्तै शत्रुता र अर्को मुद्दामा ह्वात्तै मित्रतामा रूपान्तरित हुँदैन । नत्रभए यतिबेला जापान र चीन, चीन र भारत, ताइवान र चीन, भारत र पाकिस्तानबीच कूटनीतिक प्रतिबन्ध लागिसकेको हुने थियो । यस्ता थुप्रै उदारण छन् । वास्तवमा २१ औं शताब्दीको कूटनीतिक सम्बन्ध अर्थतन्त्र, सैन्यतन्त्र र आणविकतन्त्रमा व्यावहारिक रूपमा बढी हदसम्म निर्भर छ । उत्तर कोरिया, इरान, पाकिस्तान पनि शक्तिको सूचीमा हुनुमा सैन्य र आणविकतन्त्र जिम्मेवार छ ।                 
युएसए टुडेमा कलुम म्याकलियोडले बेइजिङबाट लेखेअनुसार ओबामाको एसिया भ्रमणका विश्व अर्थतन्त्र, व्यापार र आंतकवाद ओबामा भ्रमणका मुख्य एजेन्डा हुन् । जुन चार देशमा ओबामा भ्रमण गर्दैछन्, ती सबैले एसियाली क्षेत्रका विवादित मुद्दामा चिनियाँ हस्तक्षेप, यसको बढ्दो सैन्य र आर्थिक शक्तिविरुद्ध समान चासो राखेका छन् । अर्थात सारमा चीनलाई 'र्र्निन्त्रण गर' भन्ने साझा उद्देश्य त्यहाँ छ । त्यस्तै आशय नोभेम्बर ८ को 'आउटलुक'मा छ । जसअनुसार, भारत भ्रमणका अमेरिकी एजेन्डामा भारतीय उदयमाथि लगानी, चीनको प्रभुत्व नियन्त्रण, अफ्गानिस्तान र अफ्रिकामा नयाँदिल्लीसँग साझेदारी र अमेरिकी व्यापारको प्रबर्द्धन गर्नु छन्, जुन महत्त्वाकांक्षी र झूटा छन् । त्यसो त चीनलाई क्षेत्रकै खतरा शक्तिका रूपमा समेत पछिल्लोपटक विश्लेषण गर्न थालिएका रिपोर्टसमेत आएका छन् । 'चिनियाँ अवधारणा परिवर्तनमा यो वर्ष महत्त्वपूर्ण ऐतिहासिक भएर आएको छ', सिड्नीको लोवी इन्स्िटच्युट फर इन्टरनेसनल पोलिसीका सुरक्षाविज्ञ रोरी मेडकाफले भनेका छन्- 'एसियाका धेरै देशले चीनलाई एक वर्ष अघिभन्दा बढी खतराको रूपमा हेरेका छन् ।' स्वाभाविक छ, त्यस्ता देशमा भारत, जापान, ताइवान, अमेरिका आदि छन् ।
उता भारतका एजेन्डा प्रस्ट छन् । सारमा एसियाली शक्तिको पहिचानलाई अमेरिकाले अनुमोदनमात्र होइन, चीनविरुद्ध लड्नसक्ने क्षमता पनि प्रदान गरोस् भन्ने भारत चाहन्छ । सामरिक साझेदारी त १२३ आणविक सन्धिमार्फत सन् २००८ मा भइसकेको छ । भारतले सुरक्षा साझेदारीबाहेक चीनसँगको हैसियत बनाउने सुरक्षा परिषदको स्थायी सदस्यमा अमेरिकाले दरिलो र निःसन्देह समर्थनमात्र होइन, 'लबिङ'को अपेक्षा राखेको छ । तर ओबामाको एजेन्डामा यो समावेश नहुँदा नयाँदिल्ली सुरुमै निराश छ । यद्यपि ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार टोम डोनिलोनले भारतलाई विश्व साझेदार बनाउन उत्साहित गर्ने उद्देश्य भ्रमणको रहेको बताएर नयाँदिल्लीलाई आश्वस्त पार्न खोजेका छन् । 'हाम्रो उद्देश्य भनेको भारतको उदयलाई विश्वशक्तिको रूपमा आत्मसाथ गर्नु हो र विश्वलाई प्रदर्शन गर्नु छ कि यो फराकिलो र गहिरो सम्बन्ध हो', उनले फाइनान्सियल टाइम्सलाई १६ कात्तिकमा भनेका छन् । त्यसो त कास्मिर समस्या समाधान गर्ने सर्तमा मात्र अमेरिकाले भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यताका लागि सहयोग गर्नेसमेत रिपोर्ट आएका पनि छन्, जसलाई नयाँदिल्लीले स्वीकार्ने छैन । किनभने जम्मुकास्मिरमा 'आजादी'को पक्षमा बोल्दा लेखिका अरुन्धती रोयमाथि राजद्रोहको अपराध लगाउनुपर्ने मागसहितको 'प्रतिबन्धात्मक लोकतन्त्र' त्यहाँ छ । त्यसैले भारतले चाहेजस्तो वा अमेरिकाले सोचेजस्तो सफलता भ्रमणले नपाउन पनि सक्छ । किनकि अमेरिकी नीतिअनुसारै पनि चीन अमेरिकाको 'प्रतिस्पर्धी' राष्ट्र हो भने भारत 'सहयोगी' । सहयोगीले प्रतिस्पर्धीलाई नियन्त्रण गर्ने भन्ने अवस्था त्यति तर्कसंगत छैन । 
अर्को, भारत ओबामाले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गरुन् भन्ने पक्षमा छ । त्यति नभए कमसेकम अघिल्ला राष्ट्रपतिहरूकै पालमा भएजस्तो बलियो रणनीतिक साझेदारी कायम रहोस् भन्ने चाहन्छ । खासमा भारत ओबामा नीतिबाट सन्तुष्ट छैन । किनभने दक्षिण एसिया दूत रिचार्ड होलबु्रकले भारत, पाकिस्तान र अफ्गानिस्तानसँग समान सम्बन्ध कायम हुने र कुनै देशप्रति विशेष नहुने घोषणा गरेपछि भारत असन्तुष्ट बनेको हो । उनले भारतप्रति लक्ष्यित गर्दै पाकिस्तानसँग रणनीतिक संवाद हुँदा त्यसले अन्य छिमेकी सम्बन्धलाई नहोच्याउने बताएर अनुदार अडान पुनः सार्वजनिक गरेपछि नयाँदिल्लीको असन्तुष्टि पारो चढेको छ । अक्टोबर ३० मा वासिङटनमा उनले दक्षिण एसियामा शान्तिका लागि इस्लामावाद, काबुल र नयाँदिल्लीबीच समान सम्बन्ध स्थापित गरी शान्ति स्थापना गर्नुपर्ने बताए, जसमा भारत सहमत छैन । ओबामा प्रशासनका पाकिस्तान लगानी र अफ्गान मुद्दामा पाकिस्तानको भारत बराबरको साझेदारीलाई नयाँदिल्लीले उचित नठान्दा असमझदारी उत्पन्न भएका छन्, ती असमझदारी तत्कालै हट्ने सम्भावना छैन ।  त्यस्तै दक्षिण एसियामा शान्ति कायम गर्न चीन र भारत मिल्नुपर्छ, ओबामाको अघिल्ल्ाो वर्षको बेइजिङ वक्तव्यको भारतले तत्कालै आलोचनासमेत गरेको थियो । यस्ता थुप्रै मुद्दा छन्, जसलाई दिल्लीले सुरुमा अपेक्षा गरेजस्तो ओबामा यात्राले समाधान दिन सक्दैन ।
प्रधानमन्त्री मनमोहन सिंहका पूर्वसल्लाहकार सञ्जय बरूले भनेअनुसार, भारत र अमेरिकाले धार्मिक अतिवादको उदय, -इस्लामिक विश्व) र अधिनायकवादी व्यवस्थाको उदय -चीन) सामना गरेका छन् । उनी भन्छन्- 'कोही पनि चाहँदैन कि चीनले एकपक्षीय रूपमा एसियामाथि आधिपत्य कायम गरोस् ।' तर बरूको यो चाहनालाई सधै ंअमेरिकाले मात्र समर्थन गरेर पुग्दैन, भारत आफैंले चीनसँग सहयोगी सम्बन्ध स्थापित गर्नुपर्छ । शीतयुद्धकालीन 'लिगेसी'बाट अमेरिका-भारत सम्बन्धलाई खुला राख्ने तयारी सन् १९८० को दसकमा रोनाल्ड रेगनले राजीव गान्धीलाई ह्वाइट हाउसमा स्वातग गरेपछि भएको हो । र सम्बन्ध बलियो भने बिल क्लिन्टन र जर्ज बुर्सको नेतृत्वमा भएको हो । अब ओबामासँग यो सम्बन्धलाई नयाँ तहमा लैजाने मौका छ । तर के सधैं वासिङटनको निर्देशन र सहयोगले मात्र भारत एसिया शक्ति बन्छ ?   
gopal@kantipur.com.np

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out