माओवादीप्रति भारतीय पत्र प्रतिशोध

गोपाल खनाल -
भारतीय दूतावासले छिमेकी माओवादी र घरेलु 'आतंककारी' माओवादीबीच 'सैन्य तथा वैचारिक प्रशिक्षण आदान-प्रदान गर्ने' सम्झौता भएको दाबीसहितको गोप्यपत्र ८ कात्तिकमा परराष्ट्र मन्त्रालयलाई बुझायो । परराष्ट्रमन्त्री सुजाता कोइराला, गृहमन्त्री भीम रावल, परराष्ट्र सचिव मदन भट्टराई र गृहसचिव गोविन्द कुसुमलाई पठाइएको पत्रमा हरिबोल गजुरेल, वर्षमान पुन लगायत र विहारको सितामबाट 'पंकज' नेतृत्वमा आएका माओवादीका तीन नेताबीच सर्लाहीमा त्यस्तो सम्झौता भएको बताइएको छ । त्यस्तै जनमुक्ति सेना पठाएर मोतिहार सिताम जिल्लामा भारतीय माओवादीलाई प्रशिक्षण दिने सम्झौता भएको पत्रमा छ ।

'भारतको विहार, छत्तीसगढ, झारखण्ड र उडिसाबाट आएका कार्यकर्तालाई माओवादीले बुटवलदेखि करिब दुई किलोमिटर टाढा रहेको क्षेत्रमा प्रशिक्षण दिएको हो', पत्रको ठहर छ, 'प्रशिक्षण दिनेमा माओवादीका विनोद गुरुङ, नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न नेपालगन्जका रजक अन्सारीलगायत संलग्न छन् ।' ती कार्यकर्तालाई लस्कर-ए-तोइबाका सदस्य लतिफ खानले विस्फोटक पदार्थ बनाउने सम्बन्धी प्रशिक्षण दिइएको उल्लेख छ । अर्थात् नक्कली भारतीय रुपैयाँ कारोबारी, मुस्लिम आतंकवादी, नक्सलवादी र नेपाली माओवादीबीच 'नेक्सस' छ भन्ने निष्कर्ष पत्रमा छ ।     
हेटौंडादेखि करिब १० किलोमिटर टाढाको हरिखोला जंगलमा वाईसीएलले भारतीय माओवादी कार्यकर्ताका लागि प्रशिक्षण शिविर चलाएको अर्को दाबी दूतावासको छ । त्यसैगरी अगस्टमा सैनामैनास्थित माओवादी लडाकुका चौथो डिभिजनमा भारतीय माओवादीका करिब ५० कार्यकर्तालाई प्रशिक्षण दिइएको उल्लेख छ । भारतीय गृह मन्त्रालय, सुरक्षा/खुफिया एजेन्सीका नेपाली माओवादीको भारतीय माओवादीसँग सम्बन्ध रहेको प्रमाणित गर्ने यस्ता प्रतिवेदन नयाँ भने होइनन् । यद्यपि यो रिपोर्टमा तालिम दिएको स्थान र संलग्न नेताको नामसहित तालिमप्राप्त भारतीय माओवादीको संख्यासमेत तोकिएको छ, जुन पहिलेका रिपोर्टभन्दा गम्भीर
छ । त्यतिमात्र होइन, यही रिपोर्टलाई आधार मानी भारत सरकारले नेपाल र भारतका माओवादीबीच सम्बन्ध रहेको भन्दै प्रचण्ड, बाबुराम र वैद्यहरूलाई पनि 'आतंककारी'कै सूचीमा राखी कारबाही गर्नुपर्छ भन्ने आशय राखेको छ । ब्यालेटमार्फत ९ महिने सरकारको नेतृत्व गरेको र एकाधबाहेक शान्तिपूर्ण प्रतिस्पर्धामै रहेको माओवादीलाई 'आतंककारी' कित्तामा राखी त्यस्तै व्यवहार नेपाल सरकार गरोस् भन्ने भारतीय आग्रह भत्र्सनायोग्य छ । तत्कालका लागि माओवादीलाई सरकारमा निषेध गर्ने योजनाबाट यो निर्देशित छ ।        
भारत सरकारको यो विवरण भारतीय मिडियामा पाँच हप्ताअघि -असोज १९) मा सार्वजनिक भएको थियो, त्यस अर्थमा नेपाल सरकारलाई बुझाउन भनेर तयार पारेको बेग्लै प्रतिवेदन यो होइन । अक्टोबर ५ मा भारतीय गृह मन्त्रालयले नक्सल प्रभावित ८ प्रदेशका मुख्य सचिव र प्रहरी प्रमुखलाई पत्र लेखी नेपाल र भारतका माओवादीका गतिविधि निगरानी गर्न सचेत गराएको थियो । त्यो गोप्य खुफिया प्रतिवेदनको फोटोकपी सुदले परराष्ट्रमा बुझाएका हुन् । तर स्वयम् भारतीय गृह मन्त्रालयका अधिकारीसमेतले अनभिज्ञता प्रकट गर्नुले प्रतिवेदन कता लक्ष्यित छ भन्ने जवाफ दिन्छ । जस्तो, प्रकाशित भएकै दिन पश्चिम बंगालका गृह सचिव जीडी गौतमले भनेका थिए- 'म यस्ता कुरामा जानकार छैन ।'
राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, ५० करोड टेप प्रकरण हुँदै जुत्ता प्रहारसम्म आइपुग्दा र नेपाल निकासमा चीन निर्देशित त्रिपक्षीय रणनीतिक साझेदारीको मुद्दा सार्वजनिक हुँदै गर्दा भारतीय खुफिया रिपोर्ट परराष्ट्र मन्त्रालयमा पुग्नुलाई के भन्ने ? यद्यपि नेपाली माओवादीका अभिव्यक्ति, व्यवहार र भारतविरोधी कतिपय अनावश्यक र कथित क्रान्तिकारी कदमले गर्दा यस्ता रिपोर्ट तयार भएका हुन्, जसतर्फ माओवादी नेतृत्व सचेत हुनुपर्छ ।    
दलहरूबीच तुलनात्मक सकारात्मक ठानिएको तर हालसम्म परिणामविहीन गुप्तवासका बेला यस्ता रिपोर्ट आउँदा ती रणनीतिक लाग्छन् पनि । यसले मूलतः नेपाली माओवादीप्रतिको भारतीय अनुदारवादी धारणा सार्वजनिक त भएकैछ, त्यसमाथि माओवादी मुद्दामा राजनीतिक नेतृत्वभन्दा त्यहाँको कर्मचारीतन्त्र अझ सुरक्षा निकाय अनुदार भएको संकेतसमेत दिन्छ । किनभने अहिले पनि भारतीय नेता सायद तालिमसम्मको दुई माओवादीको सम्बन्धलाई स्वीकार्न तयार हुँदैनन् । पूर्व गृहमन्त्री शिवराज पाटिलले कहिल्यै स्वीकारेनन् र अलि कडा ठानिएका वर्तमान गृहमन्त्री पी चिदम्बरमले समेत दुई माओवादीको भौतिक सम्बन्ध रहेको बताउनसकेका छैनन् । त्यसैले रिपोर्ट थोरै यथार्थ र बढी अतिरञ्जनाबाट प्रेरित छ जस्तो देखिन्छ । अर्को, यस्ता रिपोर्ट आएको दुई सातासम्म मौनता साधेर बिनाअनुसन्धान र प्रमाणीकरण मुद्दालाई अझ अघि बढ्न दिने नेपाली शैली कमजोर कूटनीतिकै निरन्तरता हो ।     
नेपाली माओवादीलाई 'आतंककारी'सँग जोड्ने भारतीय खुफिया शृङखला प्रचण्डको ९ महिने सत्तापछि ह्वात्तै बढेको हो र यो प्रायोजितजस्तो पनि देखिन्छ ।  जस्तो- इन्दे्रणी बग्चीले 'टाइम्स अफ इन्डिया'मा जुलाई १ -१७ असार) मा 'भारतीय कमरेडलाई नेपाली माओवादी सहयोग रहेकोमा सरकार चिन्तित' शीर्षक समाचार लेखिन् । पाँच दिनअघि जुन २६ मा सम्पन्न माओवादी पोलिटब्युरोले लिएको 'अन्तर्राष्ट्रिय सर्वहारावादको सिद्धान्तका आधारमा विचारको आदान-प्रदानसहित संसारभरका क्रान्तिकारी कम्युनिष्टसँग जीवन्त सम्बन्ध राख्ने' निर्णयमा समाचार तयार भएको देखिन्छ । त्यस्तै भारतीय जनतामाथिको दमनविरुद्ध आवाज बुलन्द गर्ने निर्णयसमेत माओवादीको थियो, जसलाई भारतले आपत्तिजनक ठानेको थियो । क्रान्तिकारी शक्तिबाट छोटो समयमै 'स्खलित' माओवादीले क्रान्तिकारी कम्युनिष्टसँग सम्बन्ध राख्ने र 'सर्वहारा अन्तर्राष्ट्रवाद' निर्माण आफैंमा दोषपूर्ण थियो । तर त्योभन्दा बढी गलत त्यही निर्णयको आधारमा नेपाली माओवादीले भारतीय माओवादीलाई सहयोग गरेको भारतीय निष्कर्ष ।
अर्को उदाहरण- समाचार संस्था एएनआईले जनवरी ३१ मा  दिल्ली प्रहरीको विशेष सेलमा रहेका भारतीय उच्च माओवादी नेता कोवाद घान्डीलाई उद्धृत गर्दै नेपालका माओवादीसँग सम्बन्ध रहेको उल्लेख थियो । २० सेप्टेम्बर  २००९ मा पक्राउ परेका उनले सन् २००२ देखि ००६ सम्म चारपटक नेपाल भ्रमण गरेको र नेपाली माओवादीसँग वैचारिक र भौतिक सहयोग आदान-प्रदान भएको बयान दिएको प्रतिवेदनमा उल्लेख थियो । माओवादी शान्ति प्रक्रियामा आउनु अघिको अवस्था भएकोले अहिले पनि दुईबीच भाइचारा सम्बन्ध स्थापित गर्न यस्ता प्रचार गरिनुको अर्थ प्रस्ट छ । 
यी केही भारतीय खुफिया रिपोर्ट थिए, जसको उद्देश्य प्रचण्ड र वैद्यहरूलाई 'प्रतिबन्धित' घोषित भारतीय माओवादीकै समानान्तर व्यवहार गरिनुपर्छ भन्ने देखिन्छ । माओवादी बाहेकको सरकार नेपालमा बन्नुपर्छ भन्ने भारतीय धारणा त्यसकै परिस्कृत रूपमात्र हो, किनभने निर्वाचनबाट आएको सबैभन्दा ठूलो पार्टीसँग सम्बन्धविच्छेद गर्ने हैसियत र सामथ्र्य दिल्लीको छैन । यसको अर्थ राजदूत जुत्ता प्रहार गर्ने अमर्यादित र गैरकूटनीतिक व्यवहार, आन्तरिक राजनीतिक निकासमा हस्तक्षेपको औपचारिक आह्वान, 'नक्कली' राष्ट्रवाद र 'निरंकुशतावादी' सोच पनि त्यत्तिकै आलोचित छन् ।  
तर विडम्बना, यस्ता पत्र आउँदा र नेपाली माओवादीलाई कारबाही गर्नुपर्छ भन्ने छिमेकी दबाब बढ्दा नेपाल सरकारले एकीकृत र औपचारिक धारणा सार्वजनिक गरेको देखिएन । झट्ट हेर्दा माओवादीप्रति लक्ष्यित भएकाले मौन कूटनीति अख्तियार गर्दा लाभ हुने विश्लेषण सरकार र अन्य दलको हुनसक्छ । तर यो नेपाली राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको मुद्दासमेत हो, जसको एकीकृत जवाफ आवश्यक छ ।  
भारतीय विश्लेषण पूर्वाग्रहीपूर्ण होला, तर कमसेकम यथार्थ छानबिन गर्न सरकार तयार छ भन्नेसम्मको औपचारिक धारणा सुरुमै सरकारबाट आउनुपथ्र्यो । पत्र आएको दुई दिनपछि कात्तिक १० मा राजदूतले परराष्ट्रमन्त्रीलाई दबाब दिएपछि सायद बुधबार कोइरालाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी 'गम्भीर' भन्दै मन्त्रिपरिषदमा राख्ने बताइन् । सम्भवतः त्यो सरकारको आधिकारिक धारणा थिएन । त्यसैले सरकारका प्रवक्ता शंकर पोखरेलले बुधबारै 'माओवादी शिविरमा यस्तो गतिविधि नभएको र नेपाली भूमिमा कुनै पनि आतंकवादी सञ्जाल नभएको' बताएर आरोपको खण्डन गरे । ढिलै भए पनि यो सकारात्मक
छ । उनले भारतीय पक्षबाट एउटा ढंगले कुराहरू बाहिर आउने भएकाले सबैको जवाफ दिनु आवश्यक नभएको भन्दै 'नियोजित' हुनसक्ने संकेत गरे । प्रवक्ताको धारणा आन्तरिक छानबिनको प्रारम्भिक परिणाम पनि हुनसक्छ । त्यस्तै प्रधानमन्त्रीले पनि गम्भीर छानबिन गर्ने बताएर कम्तीमा मुद्दाप्रति चासो देखाएका छन् । जसको सत्यतथ्य सरकारले सार्वजनिक गर्नुपर्छ । अन्यथा यस्ता मुद्दाले द्विपक्षीय सम्बन्धलाई गलत दिशाउन्मुख गराउँछ ।
यथार्थ हो, सशस्त्र युद्धको बेला दुवैबीच सम्बन्ध थियो । दक्षिण एसियामा माओवादी युद्धलाई चर्काउने उद्देश्यले ०५८ जेठमा माओवादी पार्टी र संगठन मिलाएर 'कम्पोसा' गठन गरेका थिए । त्यस्तै ०६२ भदौमा प्रचण्ड र भारतीय माओवादी महासचिव गणपतिले संयुक्त विज्ञप्ति जारी गरी 'प्रतिक्रियावादी शासक विरुद्ध युद्ध चर्काउन' आह्वान गरे पनि । तर सरकारमा सहभागी भएकोमा सन् २००९ मे २० मा भारतीय माओवादी पोलिटब्युरोले नेपाली माओवादीलाई खुल्लापत्र लेखी आलोचना गर्‍यो । उसले सशस्त्र युद्धका आधार इलाका भत्काएको, 'जनसेना'लाई शिविरमा राखेको भन्दै संशोधनवादी नीति लिएको आरोपसमेत लगायो । त्यसयता दुई माओवादीको सम्बन्ध वैचारिक होला, तर तालिमकै तहमा विकसित भएको पत्याउने आधार छैनन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out