इटहरी, कात्तिक २० - राजनीतिक अस्थिरता, फितलो प्रशासन र अपराधी छुटाउन गरिने राजनीतिक दबाबका कारण नेपाली समाजमा आपराधिक क्रियाकलापमा वृद्धि हुने क्रम बढ्दो छ। पूर्वी नेपालको विभिन्न जिल्लामा आपराधिक कार्य गरी अदालत र जिल्ला प्रशासन कार्यालयबाट अपराध पुष्टि भई कारागार जीवन बिताउन आएका कैदी-बन्दीको तथ्याङ्कले त्यस्तो तथ्य बाहिर ल्याएको हो।
क्षेत्रीय कारागार झुम्का सुनसरीमा रहेका कैदी-बन्दीको विवरणले त्यस्तो झलक प्रस्तुत गरेको छ।
क्षेत्रीय कारागार झुम्कामा रहेका दुई सय ५८ कैदी र एक सय ९० बन्दीमध्ये सबैभन्दा बढी ज्यान अपराधका कैदी-बन्दी रहेका छन्। सो अपराध प्रमाणित भई कारागारमा कैदीका रूपमा कारबाही भोगिरहेका ७८ रहेका छन् भने ३४ जना पुर्पक्षका लागि बन्दी अवस्थामा रहेका छन्।
त्यसैगरी, पछिल्लो समयमा बढ्दो अपराधका रूपमा रहेको जबर्जस्ती करणीजस्ता यौनजन्य अपराध गर्नेको सङ्ख्या पनि कारागारभित्र ९६ छ। अदालतबाट अपराध पुष्टि भएर जेलजीवन बिताइरहेका ६७ जना यौनपिपासु छन्।
त्यसैगरी, जबर्जस्ती करणी अपराध घटनामा संलग्न भएको अभियोगमा २९ जनाले पुर्पक्षका लागि बन्दी जीवन बिताउँदैछन्।
कारागारको तथ्याङ्कमा उल्लेख भएअनुसार तेस्रो बढी अपराध हुने विषयमा लागूऔषध ओसारपसार तथा बेचबिखनका अभियुक्त रहेका छन्।
कारागार प्रमुख भोजराज रेग्मीका अनुसार पूर्वी नेपालमा अवैध हातहतियार ओसारपसार तथा बिक्रीजस्तो आपराधिक कार्य गर्नेको सङ्ख्या पनि उल्लेख्यरूपमा बढ्ने क्रममा रहेको छ। राजनीतिक दलसँग आबद्ध तथा आपराधिक क्रियाकलापमा संलग्न हुनेहरू नै त्यस्ता अपराधमा संलग्न रहने गरेको घटना विवरणले देखाएको छ।
प्रमुख रेग्मीका अनुसार हाल सो कारागारमा हातहतियार अपराधमा संलग्न ११ जना कैदी रहेका छन्। यी अपराधमा संलग्न हुनेहरू राजनैतिक दलको ठाडो आदेशमा जिल्ला प्रशासनबाट छुट्नेसमेत गरेका छन्।
त्यसैगरी, समाजको अर्को विकृतिका रूपमा रहेको मानव बेचबिखन तथा यौन अपराधका घटना पनि दिनानुदिन बढ्दो क्रममा छ। यी अपराधमा मुछिएकाहरू १० कैदी र १५ बन्दी रहेका छन्। डकैती मुद्दामा भने क्षेत्रीय कारागारमा हाल २५ कैदी र नौजना बन्दी छन्। -रासस
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago