माओवादी विवादमा भारत मुख्य विषय

"कमरेड भट्टराईको प्रधान अन्तरविरोध तथा कार्यदिशासम्बन्धी सोच सुधारवाद तथा राष्ट्रिय आत्मसमर्पणवादतर्फ उन्मुख बन्न खोजेको छ,' उनले दस्ताबेजमा भनेका छन्, 'जनवाद र राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित दुई आधारभूत अन्तरविरोधहरू घुलमिल भएर एउटै प्रधान अन्तरविरोध बन"
काठमाडौ, कार्तिक २८ -  माओवादीको विस्तारित बैठक नजिकिँदै जाँदा चर्किएको आन्तरिक विवादमा 'भारत' एउटा प्रमुख विषय बन्न पुगेको छ । भारतलाई 'प्रधान शत्रु' बनाउने कि नबनाउने भन्नेमा पार्टीमा आन्तरिक छलफल सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य भारतलाई प्रधान शत्रु तोकेर अगाडि बढ्नुपर्ने मान्यतामा छन् भने अर्का उपाध्यक्ष बाबुराम भट्टराई तत्कालै त्यसरी जान नहुने पक्षमा छन् । तैपनि पछिल्ला अवधिमा बढ्दो भारतीय चलखेलका कारण भट्टराईले समेत आफ्नो पूर्वनीति समीक्षा गर्न लागेको स्रोतले जनायो ।
गोरखाको पालुङटारमा मंसिर ५ देखि हुने विस्तारित बैठकबाट माओवादीले भारतलाई हेर्ने आधिकारिक नीति तय गर्नेछ । विदेश विभाग प्रमुख कृष्णबहादुर महराले भारतीय पक्षबाट 'निरन्तर षड्यन्त्र भएकाले' बैठकले उसैलाई मुख्य विरोधी मान्ने सम्भावना बढेको बताए । माओवादीले भारतसँग हालसम्म 'सहायक अन्तरविरोध' को नीति लिएको छ ।
'नेपालका माओवादीले भारतका माओवादीलाई तालिम दिएको झूटो कुरा गरेर उसले गम्भीर षड्यन्त्र गरेको छ,' महराले कान्तिपुरसँग भने, 'भारत आफैंले प्रधान अन्तरविरोध खोजेको स्पष्ट हुँदैछ ।'
माओवादीमा भारतलाई हेर्ने नीतिमा दाहाल र वैद्य एकातिर देखिन्छन् भने भट्टराई अर्कोतिर । पछिल्लो पटक भारतका गतिविधिले दाहाल र वैद्य अझ अनुदार भएका छन् भने भट्टराईमाथि पनि नयाँदिल्लीप्रति आक्रामक बन्न तीव्र दबाब परेको छ । 'भारतविरुद्ध राष्ट्रिय युद्ध गर्ने कि आन्दोलन गर्ने भन्ने मुख्य विवाद हो,' भट्टराईनिकट विदेश विभाग सदस्य राम कार्कीले कान्तिपुरसँग भने, 'आन्दोलन गर्ने विषयमा नेताबीच विमति छैन, युद्ध गरिहाल्ने कि नहाल्नेमा विवाद हो ।'
अध्यक्ष दाहालले 'भारतीय विस्तारवाद र घरेलु प्रतिक्रियावाद घुलमिल भएर' आएको तर्क पेस गरेका छन् । 'राष्ट्रिय स्वाधीनताका लागि विस्तारवादी हस्तक्षेपविरुद्ध संघर्ष गर्ने कुरा प्राथमिक हो कि आर्थिक विकास गरी 'प्रगतिशील राष्ट्रवाद' को संवर्द्धन गर्ने कुरा प्राथमिक हो ?' उनले आफ्नो राजनीतिक दस्ताबेजमा उपाध्यक्ष भट्टराईतिर प्रश्न सोझ्याएका छन् ।
उनले भट्टराईमा 'बर्जुवा सुधारवादमा सीमित रहने सार' पाएको आरोपसमेत लगाएका छन् । 'भारतीय विस्तारवादविरुद्ध संघर्षको पक्षलाई जसरी उहाँले सहायक बनाउन खोज्नुभएको छ, त्यहाँभित्र गम्भीर खालकै समस्या छ,' दाहालले भनेका छन् ।
उपाध्यक्ष भट्टराईले भने भारत सैनिक हस्तक्षेपको तरिकाले नआएका कारण उसलाई मुख्य विरोधी बनाउन नहुने तर्क पेस गरेका छन् । 'भारतीय विस्तारवाद प्रत्यक्ष सैनिक हस्तक्षेपको तरिकाले नभएर अप्रत्यक्ष राजनीतिक, आर्थिक, सांस्कृतिक तरिकाले आइरहेको छ,' उनले आफ्नो राजनीतिक प्रस्तावमा भनेका छन्, 'यो अवस्थामा अहिले नै भारतीय विस्तारवाद र नेपाली प्रतिक्रियावादी शासक वर्ग दुवैसँग एकैसाथ नेपाली जनताको प्रधान अन्तविरोध बनिसकेको निष्कर्ष निकाल्नु वस्तुसंगत र संघर्षको दृष्टिकोणले उपयोगी पनि हुँदैन ।'
भट्टराईले 'विदेशी शक्तिले देशमाथि प्रत्यक्ष सैनिक आक्रमण नगरेको हुँदा बाह्य अन्तरविरोध प्रधान हुने पहिलो सम्भावना स्वतः खारेज' हुने प्रतिवेदनमा उल्लेख गरेका छन् । 'भारतीय विस्तारवाद संरक्षित देशीय प्रतिक्रियावादीसँगको नेपाली जनताको अन्तरविरोध नै अहिलेको प्रधान अन्तरविरोध रहेको कुरा नै सही र वस्तुनिष्ठ निष्कर्ष हो,' उनले लेखेका छन् ।
वैद्यले पनि भट्टराईलाई प्रहारको तारो बनाएका छन् । 'कमरेड भट्टराईको प्रधान अन्तरविरोध तथा कार्यदिशासम्बन्धी सोच सुधारवाद तथा राष्ट्रिय आत्मसमर्पणवादतर्फ उन्मुख बन्न खोजेको छ,' उनले दस्ताबेजमा भनेका छन्, 'जनवाद र राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित दुई आधारभूत अन्तरविरोधहरू घुलमिल भएर एउटै प्रधान अन्तरविरोध बन्ने कुरा स्पष्ट हुन्छ ।'
सचिव सीपी गजुरेलले सरकारबाट माओवादीको बहिर्गमनदेखि 'राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा हस्तक्षेप' गरेको दाबी गर्दै भारतसँग मुख्य अन्तरविरोधको विषय उठेको बताए । 'भारतले सार्वजनिक रूपमा हस्तक्षेप जारी राखेको छ,' उनले भने, 'त्यसैले भारतबारे विश्लेषण बदल्नु आवश्यक देखिएको छ ।'
 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out