पालुङटारमा प्रचण्डलाई पिरैपिर !

पालुङटारमा भइरहेको माओवादीको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पिरमाथि पिर थपिएको छ। देशभरबाट भेला भएका ७ हजार कार्यकर्तासामु देशको सबभन्दा ठूलो पार्टीको हैसियत बनाएको माओवादीले आफ्नो भावी कार्यनीति र कार्यदिशा तय गर्दैछ। एक दशकभन्दा लामो जनयुद्धको नेतृत्व गरेर गाउँमा सफल भई सहर पसेको माओवादी अहिले कतातिर जाने दोधारमा फँसेको छ। दुई उपाध्यक्ष बाबुराम भट्टराई र मोहन वैद्य किरणले उनको उछित्तो काढेका छन्। बाबुराम भट्टराई शान्ति प्रक्रिया कायम राखी संविधान बनाएर चुनावमा गई बहुमत ल्याएर तीव्र आर्थिक विकास गरी पूँजिवादमार्फत् साम्यवादतर्फ जानुपर्ने विचारका छन्। चुनवाङ बैठकपछि १२ बूँदे समझदारी, शान्ति प्रक्रिया र संविधानसभासम्मको यात्रा भट्टराईको लाइन हो। मोहन वैद्य भने त्यसो गर्दा ‘एमालेकरण’ हुने भन्दै शान्ति प्रक्रिया भंग गरी विद्रोह गरी सत्ता कब्जा गर्नुपर्ने विचारका छन्। दुवै पक्ष ‘कट्टर’ छन्। प्रचण्डलाई पीर छ- भट्टराईको लाइनतिर लागौँ त हार्डकोर कार्यकर्ताको चित्त बुझाउन गाह्रो, अझ वैद्यले पार्टी नै फुटाउने चेतावनी दिएका छन्। वैद्यको लाइनतिर लागौँ त शान्ति प्रक्रिया, गणतन्त्र र संविधानसभाको अहिलेसम्मको उपलब्धि गुम्ने डर। विद्रोह वैद्यले भने जस्तो गर्ने कुरा हैन, हुने कुरा हो भन्ने प्रचण्डलाई थाहा छ- विशेष गरी खरिपाटी बैठकपछि वैद्यको लाइनअनुसार अन्तिम विद्रोह भन्दै देशभरका कार्यकर्ता राजधानी थुपारेर गरेको छ दिने आमहड्तालको दुःखद अन्त्य गर्नुपरेको घटनाबाट पनि उनी अझ प्रष्ट भइसकेका छन् विद्रोहको रोमान्टिसिज्मबारे। तर यो तीतो सत्य ‘हाम्रो सत्ता ल्याउँछौँ’ भन्दै त्यत्रो वर्ष ज्यानको पर्वाह नगरी युद्ध लडेकाहरुलाई भन्न सक्दैनन्। जसको टाउकोमा टेकेर, जेको आशा दिएर यहाँसम्म आइपुग्यो, त्यो हुँदैन भन्ने आँट कसैले गर्न सक्दैन। र त प्रचण्ड र वैद्यको मात्र हैन, बाबुरामको दस्तावेजमा समेत अन्त्यमा विद्रोह गर्ने नै लेखिएको छ। यी दुई एक्सट्रिम धारको चर्चा बढ्दा प्रचण्ड आफ्नो चाहिँ केही विचारै छैन कि जस्तो भान हुन्छ। तपाईँलाई मात्र हैन, स्वयं प्रचण्डलाई पनि त्यस्तै लागेको रहेछ। र त उनले आज स्पष्टीकरणमा यसो भनेछन्-
कार्ययोजना अरुको, नेतृत्व मेरो भन्नु भएको छ, त्यो गैरमार्क्सवादी हो। अहिले नेतृत्वको विचार छैन भन्नेहरुले किन त्यतिखेर मलाई देवत्वकरण गराउनतिर लाग्नुभयो? त्यो भनेको क्रान्तिको कुरा गर्ने तर क्रान्तिको सिन्को नभाच्ने, एमाले र मोहनविक्रम प्रवृति हो, जसबाट क्रान्ति सफल हुँदैन। चुनवाङ भट्टराईको र खरिपार्टी किरणको भनेर तानातान गर्ने प्रवृति मार्क्सवाद संगत छैन, र त्यो उहाँहरुको आत्मरति मात्र हो। त्यो यो वा कसैको नभई सामूहिक नेतृत्वको सामूहिक निर्णयको दस्तावेज हो। हिजो किरण कमरेडले अवसरवादीको बाहुल्य बनाएर जित्न खोजेको आरोप लगाउनुभयो, त्यसले मलाई राति अवेरसम्म निद्रा परेन। को छ र यहाँ अवसरवादी? कसलाई भनेको हो, त्यो उहाँ (वैद्य) ले स्पष्ट भन्नुपर्छ।
प्रचण्डले गल्ती स्वीकारे
प्रचण्डले आफ्नो स्पष्टीकरणका बेला सरकारमा जाँदा भएको गल्ती स्वीकार्दै यसो भने- हो, सरकारमा कि पुरै टीम जानुपर्दथ्यो, कि अध्यक्ष जानु हुँदैनथ्यो तर त्यस्तो निर्णय भएन। त्यसमा अनन्त (वर्षमान पुन) जस्ता युवा सदनमा आए, विप्लब (नेत्रविक्रम चन्द) जस्ता त्यहाँ परेन, त्यो बेला छनौट गर्ने सिलसिलामा गल्ती भएकै हो। पार्टीभित्र उत्तराधिकारी निर्माण गर्न ३/१ (अग्रज, प्रोड र युवा) को दस्ता निर्माण गर्नुपर्छ। शान्तिप्रक्रियामा यस विषयमा नेतृत्व चुकेको छ, अब त्यसलाई सच्चाएर अघि बढ्नेछु। सत्य अन्वेषणको रुपमा लाईन संघर्ष हुनुपर्छ, हारजितको रुपमा होइन। पार्टीभित्रको समस्या समाधानको उन्नत उपाय जनवाद नै हो। यी दुबै कुरा खरिपाटी भेलामा उठाएको कुरा स्मरण गराउन चाहन्छु। तर पार्टीलाई कदापि फुट्न दिन्न। जनसत्ताको वैकल्पिक व्यवस्था नगरी विघटन गर्नु, जनअदालतको भंग गर्नु कमजोरी रह्यो। जनयुद्धको योद्धा, घाइते, वेपत्ताका विषयमा ध्यान दिन नसक्नुबारे समग्र समीक्षा महाधिवेशनमा गर्नुपर्छ।
भारतसँग युद्धको तयारी
प्रचण्डले प्रधान शत्रु भारत नै भएको किटानी गर्दै भारतसँग हुनसक्ने संभावित ‘राष्ट्रिय युद्ध’ को तयारीका लागि विस्तृत कार्ययोजना ल्याउनुपर्ने प्रस्ताव गरेका छन्। उनले भने-
अन्तराष्ट्रिय जनमत तयार गर्दै भारतले माओवादी पार्टी र क्रान्तिलाई सिध्याउने योजना बुनिरहेको छ। राजतन्तको अन्त्यसँगै प्रधानअन्तरविरोधको रुप फेरिएको छ। सम्पन दलाल, नोकरशाही र भारतीय विस्तारवाद नै हाम्रो मुख्य शस्त्रु हुन्। अब राष्ट्रिय युद्ध तयारी गर्दै जनविद्रोहमा जानुपर्छ। यो भेलाले राष्ट्रिय प्रतिरोध गर्न सक्ने आन्दोलनको योजना बनाउनुपर्छ। माओवादी शान्तिप्रक्रियामा आइसकेपछि भारतको सत्ता पक्षबाट अनेक षड्यन्त्र रचिएको छ। रौतहट हत्याकाण्डमा भारतकै मान्छेहरु आई गोली चलाएका हुन्, यो कुरा उपेन्द्र यादवले पनि मलाई भन्नुभएको थियो। रुकमांगत कटुवाल कान्ड भारतकै कारण भएको हो, कांग्रेस-एमालेका कारण होइन। अहिलेको सरकार गठन प्रक्रिया पनि भारतकै कारण अवरुद्ध भएको छ।
अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गर्नु दुई साताअघि मात्र भारतले हामीले क्यान्टोनमेन्टमा भारतीय माओवादीलाई तालिम दिएको आरोप लगायो। त्यतिमात्र नभइ हामीलाई लस्कर ए तोइबाजस्ता आंतकवादी संगठनसँग जोडेर अन्तर्राष्ट्रिय जगतबाट एक्ल्याई सिध्याउने रणनीतिमा भारत छ, यसबारे हामी सचेत हुनुपर्छ।

मोहन वैद्यले के भने ?

• क्रान्तिप्रति नेतृत्वमा विचलन देखापरेको र पार्टीले निर्धारण गरेका कार्यदिशा कार्यान्वयनमा नेतृत्व चुकेको छ। हामीले अघि बढाएर नेतृत्वसम्म पुर्‍यायौँ तर नेतृत्वले शरीरको बोसो बढाउने काम मात्र गर्‍यो । त्यसैले अब बोसो घटाऔं, क्रान्ति अघि बढाऔं।
• यस्तै तवरमा पार्टीभित्र अवसरवादीको बाहुल्य हुँदै गयो र सच्चिएर अगाडि बढिन्न भने म पार्टीभित्र बस्दिन, अरु पनि बस्दैनन्।
• सडक, सदन र सरकारको मोर्चाले पार्टी संसोधनवादतिर फस्छ, यसले अन्ततः पार्टी एमालेकरण हुने मात्र हो। जनयुद्ध र दीर्घकालिन जनविद्रोहबाट मात्र सत्ता कब्जा हुन सक्छ, अहिले जनताको साथ पार्टीलाई छ, राष्ट्रिय परिस्थिति राम्रो छ। पार्टीले विद्रोहको ठोस योजना ल्याउनुपर्छ।
• अहिले पेश भएको उहाँ (दाहाल) को लाईन नै होइन, त्यो त बाबुरामको लाइन हो। खरिपाटीमा मेरो लाइन पारित भएको थियो, अध्यक्षले त्यसलाई कार्यान्वयन गरेनन्, त्यसैले मैले फरक मत राखेको हुँ।’
• अध्यक्षले प्रस्तुत गरेको दस्तावेजको धार स्पष्ट छैन। अध्यक्षको दस्तावेज हेर्दा सबै भेटिने, खोज्दा केही नभेटिने खालको छ । दुवैतिरका कुरा मिलाएर यता पनि ठिक्क, उता पनि ठिक्क पर्ने काम गर्नु भएन। अध्यक्षले आफ्नो धार स्पष्ट पार्नुपर्छ। कुन बाटो रोज्ने हो, स्पष्ट हुनुपर्‍यो।
• कांग्रेस, एमालेलगायत ‘संसदवादी दलसँगको सहकार्य अन्त्य गर्नुपर्छ। संसदवादी दलहरूले जनताले चाहेको संविधान बन्न नदिने कुरा पक्का भइसकेको छ । अब पनि उनीहरूसँग सहकार्य गरिरहे क्रान्तिको विघटन हुनेछ।
• अध्यक्षले मुखले क्रान्तिका कुरा गरे पनि व्यवहारमा पार्टीलाई दक्षिणपन्थी धारमा फसाउँदै लगेको छ। अध्यक्षले भाका फेरीफेरी पार्टीको क्रान्तिकारी कार्यदिशाको अपव्याख्या गर्नुभएको छ, उनलाई सुध्रन अन्तिम मौका दिइएको छ।
• जनताको संघीय गणतन्त्र स्थापना गर्न र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न जनविद्रोहको तयारीमा लाग्नुको विकल्प छैन। पार्टी सरकार, सदन र सडक भन्ने तीन ‘स’ मै अल्मलिएको र जनसरकार विघटन गर्नु गल्ती हो। जनयुद्धका उपलब्धिहरूको रक्षा हुन सकेन । राज्यसत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने पुनर्पुष्टि भएको छ।
• आफूले जोसित, जहाँ पनि, जे पनि गर्न हुने, बाबुरामजीसँग पनि झ्याउँकीरीझैं टाँसिन हुने, हामीले सँगै एक छाक भात खाँदा डिनर खायो भनेर दस्तावेजमै राख्ने ? अध्यक्षलाई जानकारी रहोस्, त्यसमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा मगर पनि सहभागी हुनुहुन्थ्यो। त्यसमा पार्टी विग्रियो कसरी सच्चाउने भन्ने चिन्ता गरेका मात्रै हौं’। त्यसलाई अध्यक्षले अनावश्यक बढाइचढाइ गरेर पार्टीभित्र र बाहिरबाट घेराऊ परेको बोलिदिनुभयो। यसलाई उहाँले सच्चाउनै पर्छ।’
• (असारको पहिलो साता प्रचण्डबाहेक माओवादीका सबै मुख्य नेता गोंगबुको एउटा घरमा भेला भएको घटनालाई प्रचण्डले गोंगबु डिनर र आफूलाई आफ्नैबाट घेराबन्दी भएको भन्दै आएका छन्। वैद्यले त्यसै सन्दर्भमा यो बोलेका हुन्)
• प्रचण्डले भन्नुहुन्छ, किरणले लाईन मात्र ल्याउँछ, नेतृत्व गर्न सक्दैन भनेर। ल ठीक छ, लाइन म ल्याउँछु। म नेतृत्व गर्नै नसक्ने भने होइन तर अध्यक्षको रुपान्तरित नेतृत्वमा क्रान्ति सफल गर्ने मेरो सपना हो। अहिले हेडक्वार्टरमा भएको व्यक्तिवादी प्रवृतिलाई सच्चाएर अध्यक्ष प्रचण्डकै नेतृत्वमा नेपाली क्रान्तिलाई सफल बनाउने मेरो लक्ष्य हो।
• हामीले भारतीय सत्तासँग मात्र लड्ने हो, त्यहाँका जनतासँग होइन। भारतीय माओवादी र उनका लाखौं समर्थक जनतासँग मिलेरै त्यहाँको सत्ता पक्षलाई न्युट्रलाइज गर्न सकिन्छ।’
• बाबुरामजीले लेख्नुभएको आजको मार्क्सवाद मार्क्सवादको विकास होइन, त्यसले मार्क्सवादलाई भ्रष्टिकरण गरेको छ।
• ‘फाटेको जालैले छेकेको, छेके पनि छर्लंगै देखेको। (पार्टी नेतृत्व विलासितामा लागेको भन्दै गीत गाएको)

बाबुराम भट्टराईले के भने ?

• पार्टीभित्र सत्ता र शक्तिको बलमा स्वतन्त्र रूपमा फरक विचार राख्नसमेत नदिइएको, आर्थिक नाकाबन्दी गरेर हैरान पार्ने गतिविधि चलिरहेको छ।
• यही गोरखाको लिगलिगकोटको दौडमा शाहहरूले घलेमाथि छल गरे । यो दौड होइन, विचारको लडाइँ हो । यसमा छल गर्न पाइँदैन। बाहिर वर्गसंघर्ष र भित्र अन्तरसंघर्ष कम्युनिस्ट पार्टीको जीवन नै हो। फरक विचार राखेकै भरमा दबाउन मिल्दैन।
• स्वदेशी दलाल, नोकरशाह र सामन्तवाद नै प्रधान अन्तरविरोध हो। मैले यसो भन्दा मलाई ०४८ सालमा फर्कियो भन्ने गरिएको छ। घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवाद घुलमिल भएर आएको भन्नेहरू ०३१ सालमा मोहन विक्रम सिंह उभिएको ठाउँमा छन्। एउटै गोलीले दुईतिर निसाना साँध्न सकिँदैन । प्रधान र गौण दुस्मन खुट्टयाउनु पर्छ । राजतन्त्र सकिए पनि सामन्तवाद कायमै रहेकाले त्यसका विरुद्ध नै संघर्ष केन्द्रित गर्नुपर्छ। आन्तरिक राष्ट्रियता बलियो भए मात्रै बाह्य पक्षसँग लड्न सकिन्छ। भित्र र बाहिर एकैपटक लड्न सकिन्न।
• साम्राज्यवाद नयाँ ढंगले आएको छ । भारतीय विस्तारवाद पनि साम्राज्यवादकै आडमा आएको हो र भारतीय विस्तारवादले यहाँका दलाल, नोकरशाह र सामन्तवादलाई सघाइरहेको छ। ‘त्यसैले सीधै भारतविरुद्ध राष्ट्रिय युद्ध गर्ने बेला आइनसकेकाले उसलाई जिस्क्याउनु ठीक हुँदैन। भारत सीधै बन्दुक लिएर नेपालमा हस्तक्षेप गर्न आए म नै सबभन्दा पहिले बन्दुक लिएर भारततर्फ पड्काउन जान्छु
• स्थानीय निकाय गठन नहुँदासम्म जनसत्ता विघटन नगरेको भए ठीक हुने हो। तर त्यसो गरेर गल्ती गरिएको छ। संविधानसभाको चुनावमा प्रायः सबै मुख्य नेताहरूले भाग लिनु र मुख्य नेताहरू सरकारमा सहभागी हुनु गल्ती थियो।
• अहिले पार्टी संगठन निकै ठूला र भद्दा भएकाले व्यवस्थित गरी विद्रोहअनुकूल बनाउन सबैस्तरका कमिटी निर्वाचित हुनुपर्ने र त्यसका लागि राष्ट्रिय महाधिवेशनमा जानुपर्छ।
• जनविद्रोहको लाइनलाई मैले कहिल्यै अस्वीकार गरेको छैन तर त्यसको तयारी पुगिसकेको छैन। राष्ट्रिय क्रान्तिभन्दा अहिले जनवादी क्रान्ति पूरा गर्नुपर्ने अवस्था छ । त्यसैले सडक, सदन र सरकारको मोर्चाबाट जनवादी क्रान्तिको तयारी गर्नुपर्छ। जनताको संघीय गणतन्त्रका अन्तरवस्तु समेटेर प्रगतिशील संविधान बनाउने तयारी गरेमात्रै विद्रोहको आधार खडा हुन्छ।
• पार्टी बहुपदीय व्यवस्थामा गए पनि व्यवहारमा सामूहिक नेतृत्वको अभ्यास भएको छैन। पार्टी सामूहिक नेतृत्वको पद्धतिमा आउनुपर्छ, अहिले अध्यक्षको मात्रै प्राधिकारजस्तो देखिएको छ।
• चार चोर चारवटा गौंडामा बसेर खसी बोकेर आएको सोझो व्यक्तिलाई त्यो खसी नभएर कुकुर भएको भन्दै झुक्याउँछन्। चार-चार जनाले भनेपछि होला भनेर सोझो व्यक्तिले खसी फालिदिन्छ र हुल्याहाले त्यसलाई लैजान्छन्। आफ्नै सहयोद्धा कामरेडबाट पटक-पटक भारतपरस्त भनेर आरोप लगाउँदा कहिलेकाहीं आफैं कतै म भारतपरस्त पो हुँ कि भनेर झस्कन्छु।
• अझै पनि मलाई पार्टीभित्रैबाट भारतसँग नरम भएको आरोप लगाउँदै आएका छन्। हाम्रो सिगो पार्टीले मैले भारतसँग कहाँनेर झुके, त्यो पत्ता लगावोस्, म पार्टीको जस्तोसुकै कारबाही भोग्न तयार छु।
• मैले उठाएको विचार जहिले पनि सही छ, त्यो नेतृत्वले पछि बुझ्दै गयो। जसरी चुनबाङमा बुझियो, यो कुरा इतिहासले पुष्टि गर्दै आएको छ।’
• ३५ वर्षको पछिल्लो अवधिमा क्रान्ति भएको छैन। ‘हामीले पेरुको पाठ सिक्दै चुनवाङ बैठक गरेका हौ। चुनबाङ बैठकले जनयुद्ध र जनविदोहको संश्लेषित विचार ल्यायो, जुन पाटीको मौलिक लाइन हो।
• २० वर्षको अन्तरालमा म उहा (वैद्य) सँग कहिलै छुट्टै बसेका थिइनँ, नेतृत्वको सामुहिकता र विचार संघर्षको विधि निर्माणको विषयमा छलफल भएको हो, यसबाट अध्यक्ष व्यक्तिवादी हुँदै गएको हो कि भन्ने आंशका हुन्छ। अध्यक्षले दुश्मनका मात्र होइन साथीहरुको घेराबन्दी परे भन्नु ठीक थियो त? यसबारे उहाँले जवाफ दिनुपर्छ।
• वैद्यको दस्तावेज अनुसार मार्क्सवादको एउटै परिभाषा हुन्न। पहिले सूर्यको किरणले स्ट्रेट भएर आउँछ भन्ने थियो, तर क्वाण्टम सिद्धान्त आएपछि त्यो बद्लियो। प्रकाश छिन्नभिन्न र सिधा तरिकाले पनि आउँछ भन्ने सावित भयो। अहिलेको मार्क्सवाद पनि त्यही हो। त्यसलाई अहिलेको अवस्थामा नयाँ परिभाषा गरिनुपर्छ।
• भारतलाइ चिढ्याएर होइन, उसलाई न्युट्रिलाइज गरेर जानुपर्छ। अहिले सिधै भारतलाई चिढ्यायो भने उसले यहाँ हस्तक्षेप गर्ने सम्भावना रहन्छ, विभिन्न परिस्थिति हेरेर भारतलाई न्युट्रिलाइज गर्दै विद्रोहको योजना बनाउनुपर्छ, ताकि भारतले हस्तक्षेप गरेको बेला राष्ट्संघले सघावोस्। त्यस्तो अवस्थामा मात्र विद्रोहले अन्तर्राष्टिय मान्यता पाउँछ। होइन भने हामी पेरुजस्तै हुन्छौं, सत्तालाई टिकाउन सक्ने छैनौं।
• बाचुञ्जेल स्टालिनका सत प्रतिशत विचार ठीक मान्ने र मरेपछि उनकै सहयोगी ख्रुश्चेबले स्टालिनलाई सबै बेठीक भएको आरोप लगाए। अध्यक्षको शैलीले उहाँ बाचुञ्जेल डरलाग्दो व्यक्ति बन्नुहुन्छ कि भन्ने हाम्रो आंशका हो, त्यो हुनुहुँदैन। त्यसैले पार्टीभित्र व्यक्तिगत भन्दा पनि सामुहिक नेतृत्व दिनुपर्छ भन्ने मेरो मान्यता हो।
• एउटै व्यक्ति शक्ति र सत्तामा हुँदा पार्टीमा समस्या हुन्छ। अहिले हाम्रो पार्टीमा पनि त्यही भएको हो। हामीमा ज्युँदा हुँदासम्म केही नभन्ने मरेपछि प्रशंसा गर्ने प्रवृत्ति छ। अध्यक्षमा पनि त्यही देखियो। उहाँ व्यक्तिवादी हुनुभयो।
• कम्युनिस्ट पार्टीको नेतृत्व पिरामिड जस्तो हुनुपर्छ। तर, अहिले पार्टी नेतृत्व धरहरा जस्तो भएको छ। धरहरा एकै पटक ढल्छ। भारतको विरोध नगर्ने कम्युनिष्ट नेपाली कम्युनिष्ट हुन सक्दैन। सुगौलीसन्धीपछि हाम्रो देश अर्ध औपनिवेशिक, अर्ध सामन्तवाद हाबी छ, त्यसको नेतृत्व भारतले गरिरहेको छ, जसको अन्त्य हुनुपर्छ। त्यस्को नेतृत्व माओवादीले नै गर्नुपर्छ। मैले निरन्तर पार्टीमा यस्तो धारणा राख्दै आएको छु, अनि म कसरी भएँ भारतपरस्त?’
• मेरो पनि विद्रोहकै लाइन हो। अब ६ महिनाको तत्कालिन कार्ययोजना बनाउनुपर्छ’, त्यसका लागि सडक र सदनका मोर्चालाई तताउँदै विद्रोहको आधार तयार पार्नुपर्छ।’

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out