असम्भव नारा लगाउँदै माओवादी

गोपाल खनाल
नेतासहित ५५ सय अगुवाको ६ दिन लामो पालुङटार प्लेनमबाट फर्केको दुई दिनपछि १४ मंसिरमा माओवादीले राष्ट्रिय राजनीतिलाई उत्साहित पार्ने एउटा लचकता प्रदर्शन गर्‍यो- लडाकु रेखदेख, अनुगमन र पुनःस्थापनसम्बन्धी सचिवालयको संयोजकमा बालानन्द शर्मालाई समर्थन गरेर । प्लेनम अघिसम्म आफ्ना कमाण्डर पासाडका लागि संयोजकको अडान राख्दै आएको माओवादीले सेनाका पूर्वरथी र कांग्रेस कोटाबाट प्राविधिक समिति सदस्य बनेका शर्मालाई स्वीकार्नु लचकता मानिनुपर्छ । काठमाडौं फर्केपछि शान्ति प्रक्रियामा 'ब्रेक थ्रु' हुन्छ भन्ने प्रचण्डको पालुङटार घोषणाको कार्यान्वयनस्वरूप शर्माको संयोजकत्व मानेको देखिन्छ । प्रचण्डका विश्वासपात्र वर्षमान पुनले पनि त्यसरी अथ्र्याएका छन्, यद्यपि बदलामा उनले पुनःस्थापन मोडालिटी र संख्या लगायत 'प्याकेज'मा अर्को पक्षको लचकताको ससर्त अपेक्षासमेत राखेका छन् । तर यो लचकतालाई कांग्रेस नेता डा. रामशरण महतले फरक ढंगबाट बुझे- 'राजनीतिक मामिलासम्बन्धी राष्ट्रसंघीय उपमहासचिव बी लिन पास्को शुक्रबार आउने भएकाले शान्ति प्रक्रियाप्रति इमानदार देखाउन माओवादीले सहमति जनाएको हो ।' माओवादी लचक नभएको भए विद्वान डा. महतले सायद यस्तो टिप्पणी गर्न सक्थे- 'नीति नै जनविद्रोहमार्फत सत्ताकब्जा गर्ने भएकोले माओवादी लडाकुको विषय समाधान गर्न चाहँदैन ।' विपक्षीप्रति प्रहारको यस्तो छुद्रता नेपाली राजनीतिक चरित्रभित्रै पर्ने भएकाले यसलाई अस्वाभाविक ठान्नुभएन ।

विश्लेषण/कोण फरक भए पनि र सर्तसहितकै कार्यान्वयन सही, विवादास्पद विषय लडाकु पुनःस्थापन सचिवालय संयोजकसहित निश्चित कार्ययोजनासाथ अघि बढ्न खोज्दैछ, जुन सकारात्मक छ । त्यसो त भोलिपल्टै तत्काल 'चेन अफ कमाण्ड' तोडिन्न भन्ने सचिवालय सदस्य तथा डेपुटी कमाण्डर चन्द्रप्रकाश खनालको कठोर धारणा पनि आएको छ । यसरी हेर्दा 'प्याकेज'मा सहमति खोज्ने 'बार्गेनिङ कार्ड'का रूपमा माओवादीले संयोजकमा अडान छोडेको देखिन्छ । चर्का सिद्धान्तको रटान लगाउनु र प्रतिकूलतामा 'बार्गेनिङ'जस्तो देखाएर ह्वात्तै लचकता प्रदर्शन गर्नु माओवादीको चारित्रिक विशेषता भएकाले यसबारे पनि टिप्पणीको अर्थ रहेन ।
घरेलु र बाह्य पात्रले समेत प्लेनमतिर दृष्टि लगाइरहेका बेला त्यस्तो चमत्कार त केही भएन, तर पहिलो असर सचिवालयमा पर्‍यो । सायद ६ महिने 'संक्रमणकालीन' नीति अन्तर्गतको पहिलो कदम थियो यो । र अपेक्षा गरौं, यस्तो सकारात्मक प्रभाव सरकार निर्माणसम्म पुग्नेछ । यसबाहेक पालुङटारले राष्ट्रिय राजनीतिक निकासका सन्दर्भमा माओवादीलाई पहिलेजस्तै अन्योलतामा छाडेको देखिन्छ- शान्ति पनि विद्रोह पनि ।  त्यस्तै शान्ति/संविधान कार्यनीति र जनविद्रोह रणनीति । अर्थात् शान्ति/संविधान बन्न नदिए र आफ्नो सत्ता नेतृत्व नस्वीकारे जनविद्रोहमा जाने ससर्त पहिलेकै अवस्थामा पार्टी कायम रहेको देखिन्छ । हठात् सत्ताच्युत भएयताको यो प्रचण्डको नारा नाटकीय विकास नभएसम्म प्रधानमन्त्री नपाउँदासम्म कायम रहनेमा ढुक्क हुँदा हुन्छ ।
भारतलाई प्रधानशत्रु मान्ने/नमान्ने पनि सर्तसहितको पहिलेकै एजेन्डा हो । सत्ताको नेतृत्वमा पुर्‍याउन नयाँदिल्लीले सहयोग गरेमा प्रधानशत्रु होइन, प्रधानमित्र मान्ने नगरे प्रधानशत्रु मान्ने पनि पुरानै नीति भयो । त्यसैले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति/कूटनीतिबारे पालुङटारले अपेक्षा सम्बोधन गर्नसकेको देखिएन ।          तर यति हुँदा पनि पालुङटार प्लेनमका केही महत्त्वपूर्ण सन्देश/संकेत छन् । पहिलो सन्देश माओवादीको आन्तरिक राजनीति/अभ्याससँग सम्बन्धित छ भने दोस्रो माओवादीको गलत र आत्मघाती निर्णय र त्यसैको आडमा माओवादीलाई धूलिसात पार्ने घरेलु र बाह्य परिस्थितिसँग ।

आन्तरिक अभ्यासबाट हेर्दा माओवादी प्लेनम ऐतिहासिक भएको छ । आन्तरिक राजनीतिक यो अभ्यासले उसको पहिलेको डरलाग्दो बाहिरी रूपलाई उदाङ्गो पारेको छ । माओवादी अब राजनीतिक त्रासदी रहेन भने प्रचण्ड पनि नामले अथ्र्याएजस्तो आतंकका पात्र रहेनन् । १० वर्षे जनयुद्ध, प्रचण्डपथ र हेटक्वार्टरजस्ता अधिनायकवादी स्वरूपको लोकतान्त्रिक रूपान्तरण भएको देखिन्छ ।

मोडरेट कम्युनिष्ट एमालेको बुटबल महाधिवेशन, लोकतन्त्रको पर्याय ठान्ने कांग्रेसको काठमाडौं महाअधिवेशन र पालुङटार बैठक आन्तरिक प्रजातान्त्रिक अभ्यासका दृष्टिकोणमा खास फरक देखिएनन् । जिल्ला तहदेखि क्यान्टोनमेन्टका डिभिजन/प्लाटुन कमाण्डर र केन्द्रीय नेतासम्मले फरक मत राखे र फरक नेतृत्वको पक्षपोषण गरे । जनवादी-केन्द्रीयताको नाममा अध्यक्षको तानाशाह पालुङटारमा चलेनमात्रै होइन, लडाकुले खुलेर अध्यक्षको आलोचना गरे । उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्यले प्रतिवेदनमात्र राखेनन्, त्यसमा अत्यन्त गम्भीर बहस हुँदै आरोपको तहमा समेत पुगे । बरु प्लेनमअघि विराटनगरमा प्रचण्डका कट्टर समर्थक हरिबोल गजुरेलले बाबुराम विरुद्ध बढी नै गरेका थिए । तर त्यसयता प्लेनमसम्म बाबुराम र वैद्य प्रचण्डका समानान्तर शक्तिका रूपमा स्थापित भए । यहाँभन्दा ठूलो आन्तरिक लोकतान्त्रिक अभ्यास के हुनसक्छ ?

आन्तरिक जनवादकै विकास हो- पहिलोपटक प्रचण्डको नेतृत्व वा सर्वोच्चतामाथि प्रश्नमात्र उठेन, नेतृत्व लिन तयार रहेको सन्देशसमेत दुई नेताले दिए । नमरुन्जेलसम्म स्टालिन सोभियत कम्युनिष्टका महासचिव भएका थिए भन्दै त्यस्तै कम्युनिष्ट संरचनाको अभ्यास गर्ने प्रचण्डका आन्तरिक सोचाइ थिए भने समाप्त भएको हुनुपर्छ । प्रचण्डको २० वर्षे एकाधिपत्य समाप्तिको प्रस्थानविन्दु पालुङटार प्लेनम भएको छ । माओवादीमा विभाजन भयो वा अभूतपूर्व एकता भयो भन्नेजस्ता दुवै टिप्पणी अतिवादी हुन् । बरु माओवादीले उग्रवामपन्थी वा अतिवादी कम्युनिष्ट शक्तिभन्दा विलकुल फरक चरित्र ग्रहण गर्‍यो र त्यो भनेको आन्तरिक प्रजातन्त्रसहितको वामपन्थी पार्टीको । अब चर्का भाषण गर्न छोड्यो भने माओवादी एमालेमा रूपान्तरण हुनेछ । माओवादीले अब जतिसुकै जनविद्रोह, ठूला क्रान्ति र सत्ताकब्जाका भाषणा गरोस् वा दस्तावेज तयार पारोस्, त्यो सामथ्र्य राख्दैन भन्ने प्रस्ट सन्देश प्लेनमले दिएको छ ।

त्यसो हो भने अब दोस्रो संकेत/सन्देशका रूपमा एउटा गम्भीर प्रश्न उठ्छ ।

माओवादीले आफ्ना दस्तावेजबाट जनविद्रोह र सत्ताकब्जाजस्ता अतिवादी शब्दावली हटाउने वा नहटाउने ? वा त्यस्ता धम्की दिन बन्द गर्ने कि नगर्ने ? त्यस्तै घरेलु कांगे्रस-एमाले र बाह्य भारतले माओवादीका दस्तावेज र केही व्यवहारलाई हेरेरमात्र प्रचण्डको उद्देश्य सत्ताकब्जा नै हो वा एकदलीय अधिनायकवाद स्थापाना नै हो भनेर त्यही बहनामा समाप्त पार्ने राजनीति बन्द गर्ने कि नगर्ने ? शान्ति प्रक्रिया, संविधान निर्माण र सरकार गठनमा माओवादीले गरेका लिखित प्रतिबद्धता पालना गरेन भनेर सत्तोसराप गर्ने अन्य दलले जनविद्रोह र सत्ताकब्जा गर्ने भन्ने उसको ससर्त मागलाई भने पत्याउनु दोहोरो मापदण्ड हो । माओवादी वास्तवमै जनविद्रोहमार्फत सत्ताकब्जामा गए अलोकतान्त्रिक भन्दै बाह्य सहयोगसमेत लिएर निमिट्यान्न पार्न सकिन्छ भन्ने षडयन्त्र गरिएको हुनसक्नेतर्फ पनि बहस केन्दि्रत हुनुपर्छ । 

यस्तो लोकतान्त्रिक विधिबाट प्लेनम सम्पन्न गर्ने पार्टीले जनविद्रोहको रणनीति बनाउनु आफैंमा उदेकलाग्दो छ । असम्भव रणनीति सार्वजनिक गरी आफूविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब निम्त्याउने माओवादी नीति वास्तवमै आत्मघाती छ । किनभने अहिले जति पनि राजनीतिक परिदृश्यबाट माओवादी एक्लिँदैछ, त्यसको मुख्य आधार उसको जनविद्रोह र त्यसमार्फत सत्ताकब्जाको अभिव्यक्ति, व्यवहार र दस्तावेज नै हो । माओवादीले जनविद्रोहको लाइनलाई दस्तावेजबाट मात्र हटाएको भए अन्य घरेलु र छिमेकीका राजनीतिक एजेन्डा कम हुनसक्थे ।

जनविद्रोह वा सहरी विद्रोह वैधानिक शक्तिको चरित्रभित्र पर्दैनन् । माओवादीले १२ बुँदे समझदारीमा हस्ताक्षरपछि जनविद्रोह गर्ने हैसियत गुमाएको थियो भने संविधानसभापछि सबैभन्दा ठूलो संसदीय पार्टीमा रूपान्तरण भइसकेको हो ।
फेरि माओवादीभित्रको शक्तिसंरचनाले पनि जनविद्रोहलाई सहयोग गर्दैन । जनविद्रोहका लागि पूरै पार्टी पंक्ति तयार हुनुपर्छ, जो सम्भव छैन । राजनीतिक नेतृत्वबीच सहमति नहुँदा कम्तीमा अध्यक्षको नेतृत्वमा लडाकु तयार रहनुपर्छ, तर पालुङटार बैठकले देखायो लडाकुसमेत नेता/नीतिप्रति पूर्णतः विभाजित छन् । जब जनविद्रोह गर्ने मुख्य हतियार लडाकु नै विभाजित छन् भने कसरी यो सम्भव हुन्छ ? अहिले माओवादीले नेपालका सुरक्षा निकायसमेतलाई पराजित गरेर सिंहदरबार कब्जा गर्ने कल्पना गर्नुजस्तो विडम्बना केही हुँदैन । त्यस्तै सत्ताकब्जा गर्ने माओवादी नीति भन्दै त्यसैमा आँधीबेहरी सिर्जना गरी उसलाई पूरै निषेधमा अन्य दल लाग्नु या त्रास मनोविज्ञान हो वा सुझबुझपूर्ण राजनीतिक चालबाजी हो । त्यस्तै छिमेकी र अन्तर्राष्ट्रिय परिस्थिति विद्रोहका लागि प्रतिकूल छ । सबैभन्दा नजिकको बाह्य सहयोगी चीन पुँजीवादी आर्थिक र समाजवादी राजनीतिक व्यवस्थाको मिश्रति मोडेलमार्फत महाशक्तिउन्मुख अमेरिकालाई चुनौती दिइरहेको छ । त्यसले समर्थन गर्ने अवस्था छैन । 'आतंककारीको सूची'मा राख्नुपर्छ भन्ने भारतले बरु दमनमात्रै गर्छ ।

चेग्वेभाराले क्युबा छोडेर बोलिभियातर्फ आन्दोलन छेड्न जाँदै गर्दा फिडेल क्यास्ट्रोलाई पत्रमार्फत भनेका थिए- 'क्रान्तिमा कि विजय हुन्छ कि मृत्यु ।' जनविद्रोह त्यस्तै हो कि त्यहाँ विजय हुन्छ कि मृत्यु ? के माओवादीमा अब मृत्युका लागि तयार हुने योद्धा छन् । सम्भवतः वैद्यबाहेक उनकै क्याम्पका पनि कोही छैनन्, प्रचण्ड र बाबुरामलाई छोडौं । त्यसो हो भने जनविद्रोह र सत्ताकब्जाजस्ता त्रासदीलाई फगत प्रधानमन्त्री प्राप्तिको भर्‍याङमात्रै नबनाई संसदलाई बनाउनेतिर प्रचण्ड केन्दि्रत हुन पर्दैन ? नसक्ने नारा उठाएर आफ्नो मृत्युपत्रमा आफैं हस्ताक्षर गर्ने माओवादी प्रयासले राष्ट्र राजनीतिक बन्दी कहिलेसम्म भइरहने ? माओवादीले सोच्नुपर्छ ।
gopal@kantipur.com.np

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out