मैले सिकाएँ प्रचण्डलाई बन्दुक चलाउन

सशस्त्र विद्रोहपछि माओवादीका हजारौँ कार्यकर्ताले बन्दुक चलाउन सिके । माओवादी कार्यकर्तालाई बन्दुक चलाउन तिनका नेताले सिकाएका थिए । तिनका नेतालाई बन्दुक चलाउन सिकाउने भने एकजना भारतीय सेनाका लाहुरे थिए । उनैले प्रचण्ड, किरण र बादललगायतका नेतालाई ०४५ सालमै गोरखा सिरानचोकमा एउटा बन्दुकको सहारामा युद्धकला सिकाएका थिए । घरको आँगनमा पिटी खेलेर तथा जंगलमा रूखका स्याउला टाउकोमा राखेर दगुर्दै प्रचण्डहरूले बन्दुक चलाउन कसरी सिके ? प्रशिक्षक टिबी पाठकको अनुभवः
टिबी पाठक
माओवादी केन्द्रीय सल्लाहकार सदस्य
दिनभर तालिम लिन्थ्यौँ । राति सुत्नेवेलामा सेन्ट्री बस्नुपथ्र्यो । उहाँहरू पालैपालो सेन्ट्री बस्नुहुन्थ्यो
०४५ सालतिर म अखिल भारत नेपाली एकता समाजमा काम गर्थेँ, त्यतिवेला हाम्रो माउ पार्टी थियो मशाल । मशालले नेपालमा जनयुद्धको तयारी गर्दै छ भन्ने सुनिएको थियो । मैले पहिला भारतीय सेनामा काम गरेको भन्ने थाहा थियो साथीहरूलाई । यस्तैमा पार्टी च्यानलबाट मलाई नेपाल जानुपर्ने भन्ने सूचना आयो । तर, किन भन्ने मेसो थिएन
भैरहवा हुँदै म नारायणगढ पुगेँ । त्यहाँ पुगेपछि साथीहरूले मलाई तत्कालीन मशालका महामन्त्री विश्वास (प्रचण्ड) कहाँ लैजानुभयो । विश्वासले पार्टी जनयुद्धमा जान लागेको बताउनुभयो
उहाँले मबाट पार्टीका नेताहरूले बन्दुक चलाउने तालिम लिन खोजेको पनि बताउनुभयो । पार्टीले मलाई त्यति धेरै विश्वास गरेको रहेछ, मलाई खुसी लाग्यो । त्यसैले मैले भनिदिएँ, 'म तालिम दिन तयार छु ।'

हाम्रो भेट विश्वासको घरमुनिको अर्कै घरमा भएको थियो । बादल पनि त्यही घरमा हुनुहुन्थ्यो । मैले भारतीय सेनामा तालिम लिँदाको अनुभव सुनाएँ

अनुभव सुनेर उहाँहरू रोमाञ्चित हुनुभयो । प्रारम्भिक तालिम त्यही घरको आँगनमा तत्कालै सुरु भयो । आँगनमा प्रचण्ड र बादललाई पिटी खेलाएँ । हतियारबारे जानकारी पनि दिएँ
दोस्रो दिन पनि त्यहीँ बसियो । सामान्य तालिम भयो । तेस्रो दिन बादलले आफ्नै घरमा लग्नुभयो । उहाँको घर विश्वासको घरबाट नजिकै थियो
बादलजीको घरमा पुगेपछि उहाँले सामान्य तयारी गर्नुभयो, त्यहाँबाट पनि हामी अघि बढ्यौँ । हामी नारायणगढ हुँदै मुग्लिङ पुग्यौँ । त्यसपछि पनि अघि बढ्यौँ, त्यो बाटोमा मेरो पहिलो यात्रा थियो, भूगोलबारे जानकारी थिएन । त्यसैले बादल कमरेडले जताजता लैजानुभयो म त्यतैत्यतै गएँ । खास कुन ठाउँ जाने हो, थाहा थिएन
साँझपख बगर भएको ठाउँमा पुग्यौँ । अनि उकालो लागेर राति जंगलमा पुग्याँै । रातिराति हिँडेर अलि माथि गाउँमा पुग्यौँ । डाँडामा पुगेपछि जंगल सुरु भयो । बाटो अलिक सुनसान भयोे । केहीबेर पछि गाउँ आयो, ठाउँ गोरखा सिरानचोकको फेद रहेछ भन्ने पछि थाहा भयो
सिरानचोक पुगेपछि पो थाहा भयो, थुप्रै नेता जम्मा भइसक्नुभएको रहेछ । विश्वासलाई त हामीले चितवनमा छोडेका थियौँ, तर उहाँ हामीभन्दा पहिले नै सिरानचोक पुगिसक्नुभएको रहेछ । साथमा कमरेड किरण पनि हुनुहुँदो रहेछ । किरणलाई त मैले पहिले नै चिनेको थिएँ
हामी १०/१२ जना थियौँ । राति ११ बजेतिर गाउँमा छरिएर सुत्यौँ । मलाई अर्को दिन के गर्ने भन्ने जानकारी थिएन । राति सबै साथीसँग परिचय पनि भएन
म नेपाल भित्रिएको चौथो दिन थियो, बिहान ६ बजे उठ्यौँ । जंगलमा गएर नेताहरूले तालिम सुरु गरौँ भन्नुभयो, मैले उहाँहरूलाई लाइन लगाएर एक घन्टाजति पिटी खेलाएँ । खाजा खाने वेलामा बल्ल परिचय भयो । त्यसपछि तालिम निरन्तर भयो
नजिकैको जंगलमा शिविर सञ्चालन भयो । म हतियार, शारीरिक र युद्धकलाबारे तालिम दिन्थेँ । विश्वासजी सैन्य विज्ञानसम्बन्धी सैद्धान्तिक विषयमा प्रशिक्षण दिनुहुन्थ्यो । पाखामा नौ बजेतिर घाम लाग्थ्यो, जंगलमा गोठाला पनि आउँथे, उनीहरूले थाहा नपाउन् भन्नेमा पनि सचेत हुनुपथ्र्यो । दिउँसो हतियारको तालिम, बेलुका सैद्धान्तिक तालिम, दैनिक रुटिनजस्तै बन्यो
त्यहाँ मैले उहाँहरूलाई दुस्मनमाथि निसाना साध्ने, राइफल खोल्ने, जोड्ने, गोली लोड/अनलोड गर्ने भन्ने सिकाएँ । राइफलका पार्टपुर्जाबारे जानकारी दिएँ
दुस्मनमाथि हमला गर्न जाँदा कसरी जाने, कस्तो भूगोलमा कस्तो नीति तयार गर्ने, दुस्मनको पोजिसन हेरेर अगाडि कसरी बढ्ने, आफूतिर कम मात्र खति गराएर कसरी जित हासिल गर्ने भन्ने विषय पनि तालिममा थिए
त्यति मात्र होइन, एम्बुस कसरी बनाउने, कसरी थाप्ने भन्ने पनि सिकाएँ । आक्रमण-प्रत्याक्रमणका योजनाबारे सबै योजना सुनाएँ । दुस्मनको ब्यारेक कब्जा गरेपछि पुनः कसरी मोर्चाबन्दी गर्ने र र्फकने भन्ने कुरा पनि तालिममा थियो । तालिमसँगै 'प्राक्टिकल' पनि हुन्थ्यो । कुनै निश्चित ठाउँलाई दुस्मनको किल्ला मानेर लडाइँको तालिम लिइन्थ्यो । त्यसैमा नेताहरू घाइते भएको अभिनय गर्थे, दुस्मनको घाइतेलाई नियन्त्रणमा लिने र आफ्नो घाइतेलाई उद्धार गर्ने तालिम पनि दिइयो
तालिम एक साता चल्यो । तर, एक ठाउँमा एक दिन मात्र तालिम लियौँ । जंगलमा दिनहुँ ठाउँ फेथ्र्यौं । सुरक्षा र गोपनीयताका लागि यस्तो गरेको हो । व्यवस्थापनमा गोरखाका पार्टीकै साथी खट्नुभएको थियो । जंगलमा बस्ने र खानपिनलगायतको व्यवस्थापन राम्रै थियो । खाना सामान्य नै थियो
त्यहाँ विश्वास कमरेडले सैद्धान्तिक विषयमा तालिम दिनुभयो । म युद्धकलाको प्रशिक्षक भए पनि कम्युनिस्टसम्बन्धी धेरै सैद्धान्तिक ज्ञान जान्ने मौका पाएँ । बन्दुक चलाउन मैले सिकाए पनि बम बनाउन उहाँले पहिले नै सिक्नुभएको रहेछ । मैले पनि विश्वासबाटै सिकेँ । तालिम लिँदा सबै साथीमा उत्साह नै थियो । विश्वास कमरेड, बादल कमरेड र आलोकलगायतले खुवै रुचि राखेर सिक्नुभयो
थ्री नट थ्री राइफलमा एक म्यागजिन गोली थिए । तर, हामीले त्यहाँ एउटा गोली पनि पड्काएनौँ । उहाँहरूलाई बेनेट फाइटिङ (युद्धका वेला गोली सकिए राइफलमा संगीन राखेर दुस्मनसँग लड्ने तरिका) का बारेमा पनि सिकाएँ मैले । यसमा आलोक (यानप्रसाद गौतम जो युद्धकालमा मारिए) निकै चुस्त थिए
'प्राक्टिकल' गर्दा दुस्मन ढिस्काढिस्कीबाट आइराखेको छ भन्ने अनुमान राखेर त्यहीअनुसार लड्ने गथ्र्यौं । समूह विभाजन गथ्र्यौं, सपोर्टिङ समूहले फायरिङ गर्ने, लड्ने टिम अगाडि बढ्ने हुन्थ्यो । सुतेर, उठेर वा बसेर कसरी अगाडि बढ्ने भन्ने भूगोलअनुसार हुन्थ्यो । उहाँहरू पालैपालो बन्दुक समातेर यसै गर्नुहुन्थ्यो
'दुस्मनलाई कतिवेला आक्रमण गर्नुपर्छ ?' उहाँहरूको प्रश्न हुन्थ्यो । म जतिवेला दुस्मन लाचार, कमजोर र विकेन्दि्रत हुन्छ, त्यहीवेला आक्रमण गर्नुपर्छ भन्थेँ । झमक्क साँझ पर्दा, मध्यरातमा, बिहान उठ्ने वेला, पानी परिरहेको वेला, हावाहुरी लागेको वेला, हिउँ परिरहेको वेला आक्रमण गर्न पनि सजिलो हुन्छ भन्ने जानकारी दिएँ
दिनभर तालिम लिन्थ्यौँ । राति सुत्नेवेलामा सेन्ट्री बस्नुपथ्र्यो । उहाँहरू पालैपालो सेन्ट्री बस्नुहुन्थ्यो । दुई-दुईजना दुईवटा सेन्ट्रीमा बस्ने गरेका थियौँ । तर, मलाई प्रशिक्षक भनेर उहाँहरूले सेन्ट्रीमा बसाल्नुभएन
मैले त्यहाँ एसएलआर, एसएमजी, एलएमजीलगायतका हतियारको तालिम दिन चाहेको थिएँ, तर हतियार भएनन् । तर पनि त्यतिवेलासम्म फौजी क्षेत्रमा यस्ता-यस्ता हतियार प्रयोग भइरहेका छन् भन्ने जानकारी दिएँ उहाँहरूलाई । टु इन्च मोर्टार, थ्री इन्च मोर्टारको बारेमा पनि जानकारी दिएँ । युद्धकला सिक्ने ड्रेस त थिएन, तर टाउकामा स्याउला राखेर जंगलमा दौडनुहुन्थ्यो उहाँहरू
उहाँहरूले दुस्मनबाट हतियार खोसेर जम्मा गर्ने हो, किनेर ल्याउने होइन भन्नुहुन्थ्यो । तालिम सिकियो, अब दुस्मनकै हतियार खोसेर लड्ने हो भन्नुहुन्थ्यो विश्वास
बिदाइ समारोहपूर्व एउटा कार्यक्रम भयो । तालिमको समीक्षा भयो । तालिम ऐतिहासिक महत्त्वको भएको भन्नुभयो नेताहरूले । यद्यपि यो प्रारम्भिक चरणको हो भनियो । उद्देश्य प्राप्तिका लागि महत्त्वपूर्ण छ, निरन्तरता दिनेछौँ भन्नुभयो । उहाँहरू बन्दुकलाई निकै माया गर्नुहुन्थ्यो, क्रान्तिको साधन भनेर पनि होला । सायद धर्ममा विश्वास गर्ने भए पूजा नै गरेर राख्नुहुन्थ्यो होला
सिरानचोकबाट र्फकने वेलामा आ-आफ्नो बाटोबाट हिँड्यौँ । म र एकजना साथी मस्र्याङ्दी नदीको किनारैकिनार भएर मुग्लिङ आयौँ र नारायणगढ पुग्यौँ । नारायणगढमा रहेको विश्वासको घरमा पुग्दा उहाँ पहिले नै त्यहाँ आइपुग्नुभएको थियो । एक दिन त्यहाँ बसेँ । त्यहाँ पनि चार-पाँचजना साथीलाई सामान्य तालिम दिएँ । अर्को दिन म फिर्ता भएँ
निकै उत्साहपूर्वक, इच्छाशक्तिका साथ तालिम लिएका थिए नेताहरूले । तालिम दिएर फकर्ंदा मलाई त्यतिवेला विश्वास थियो कि यो टिमले केही गर्छ । अहिले हेर्दा मेरो विश्वास सार्थक भयो भन्ने लाग्छ
को हुन् पाठक ?
गुल्मी पौदीअमराई- ९ मा २००६ जन्मेका पाठक १९६७ मा भारतीय गोर्खा आर्मीमा भर्ना भएका थिए । उनी १९७१ मा भारत-पाकिस्तान युद्ध लडे । आर्मीमा भएकै वेला उनी दाइलाई भेट्न दिल्ली गए । त्यहाँ एउटा कार्यक्रममा सहभागी भए, जहाँ कम्युनिस्टको बारेमा धेरै कुरा सुने । कम्युनिस्ट पार्टीका नेतालाई भेट्ने मौका पाए दिल्लीमा उनले
उनले सेनाभित्र स्वतन्त्र ढंगले बस्न खोज्ने मानिसका लागि उपयुक्त वातावरण नभएकोे भनेर राजीनामा गरे १९७४ मा । जागिर छाडेपछि उनी पञ्जावमा गए र बैंकमा जागिर सुरु गरे । त्यहाँ उनले नेपालीको अवस्था देखेपछि एउटा संस्था नै बनाए । १९७७ मा उनले अखिल भारत नेपाली समाज बनाए अरू साथीहरूसँग मिलेर । पछि अरू नेताहरूले १९७९ मा अखिल भारत नेपाली एकता समाज गठन गरे । उनी आफू संस्थापक सदस्य रहेको संगठन छाडेर अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरे । त्यही संस्थामा रहँदा २२ वर्ष पहिले तालिम दिन नेपाल भित्रिएका थिए
हाल उनी माओवादीको केन्द्रीय सल्लाहकार सदस्य छन् । जनयुद्धपूर्वको पहिलो तालिममा प्रशिक्षक पाठक थिए । प्रचण्ड र पाठक सम्धी-सम्धी हुन् । प्रचण्डपुत्री रेणु र पाठकपुत्र अर्जुनबीच विवाह भएको छ
को-को थिए तालिममा सहभागी ?
गोरखाको सिरानचोकमा करिब १५-१६ जनाको टोलीले तालिम लिएको थियो । माओवादी सचिव दिवाकरका अनुसार टोलीमा हालका माओवादी अध्यक्ष तथा तत्कालीन मोटो मशालका महामन्त्री विश्वास (प्रचण्ड), उपाध्यक्ष मोहन वैद्य (किरण), महासचिव रामबहादुर थापा (बादल), सचिव पोष्टबहादुर बोगटी (दिवाकर), माओवादी सचिवालय सदस्य देवप्रसाद गुरुङ, दण्डपाणि न्यौपाने (हाल बेपत्ता), यानप्रसाद गौतम (आलोक जनयुद्धका क्रममा मारिए), माओवादी पोलिटब्युरो सदस्य हरिभक्त कँडेल, हाल जनसेनाका डिभिजन कमान्डर रहेका सन्तु दराई, माओवादी केन्द्रीय सदस्य दिनेश शर्मा, किसुन मण्डल, ज्ञानु श्रेष्ठ, विष्णुहरि सुवेदी अटल थिए । तालिममा सहभागी दिनेश शर्माले खोटाङका राजविक्रम राई पनि उक्त तालिममा सहभागी रहेको जानकारी दिए  
प्रकाकीय
वर्ष ४ अंक २४५ पछि अर्थात् प्रकाशन आरम्भको ३ वर्ष ९ महिना ८ दिनपछि 'नयाँ पत्रिकाब्रोडसिट आकारमा प्रकाशन हुँदै छ । नेपाली पत्रकारितामा 'नयाँ पत्रिकासज्जा, सामग्री र आकार सबै दृष्टिले भिन्न थियो र त्यो जोखिमपूर्ण प्रयोग थियो । तर, आदरणीय पाठक र विज्ञापनदाताको उत्साहपूर्ण सहयोगले हामीले त्यो जोखिमपूर्ण प्रयोगलाई सफल प्रयोग सावित गर्‍यौँ । यहाँहरूको सद्भाव, प्रेम र सहयोगको विस्तारले 'नयाँ पत्रिकालाई पनि विस्तार गरेको छ अर्थात् यो 'ट्याबलोइडबाट 'ब्रोडसिटभएको छ ।
तर, हाम्रो प्रण छ- हामी अरू 'ब्रोडसिटहरूको भीडमा हराउने छैनौँ । हामी फेरि पनि टाढैबाट देखिने, चिनिने र पढिनेछौँ । 'नयाँ पत्रिका
को सबैभन्दा ठूलो पुँजी नसोचेको समाचार हो । खोजी पत्रकारिताको हाम्रो पृष्ठभूमि र पहिचानलाई अझ विस्तार गर्न पत्रिकाको ठूलो आकारले हामीलाई थप सहयोग गर्नेछ ।

नयाँ प्रकाशन अध्यक्षमा डा. दुमन थापा
नयाँ पत्रिकाको प्रकाशन संस्था नयाँ प्रकाशन प्रा.लि. को व्यवस्थापन परिवर्तन भएको छ । सञ्चालक समितिको बिहीबार बसेको बैठकले डा. दुमन थापालाई अध्यक्ष चयन गरेको छ ।
अर्घाखाँची नरपानीमा ४९ वर्षअघि जन्मिएका थापाले रामपुर केन्द्रीय क्याम्पसबाट स्नातक र बेलायतको रिडिङ युनिभर्सिटीबाट कृषि तथा ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । उनले अमेरिकाको कोलोराडो विश्वविद्यालयबाट विकास समाजशास्त्रमा विद्यावारिधि गरेका छन् । डा. थापाले हावर्ड विश्वविद्यालयबाट व्यवस्थापनको समेत अध्ययन गरेका छन् ।
डा. थापा कार्टर सेन्टर नेपाल शाखाको संस्थापक राष्ट्रिय सल्लाहकार हुन् । त्यस्तै माउन्टेन रिसोर्स म्यानेजमेन्ट ग्रुप (एमआरएमजी) का अध्यक्ष, एसिएन स्टडी सेन्टर फर पिस एन्ड कन्पिक्टर ट्रान्सफर्मेशनका अध्यक्ष उनी मेगा बैंकका सञ्चालक पनि हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out