नाङ्गिए महान् पार्टीका महान् नेता

weeklynepal -काठमाडौं । आफूलाई महान् एवम् गौरवशाली दाबी गर्ने माओवादी पार्टीका अध्यक्ष प्रचण्डले आफूमा पात्र र स्थानअनुसार कुरा गर्न सक्ने महान् क्षमता रहेको पुष्टि पुनः गर्नुभएको छ।
दिल्ली सम्झौता हुँदै सत्तामा पुग्न सफल तर सत्ताबाट बाहिर आएपछि राष्ट्रियताको आन्दोलनका नाममा भारतविरुद्ध सङ्घर्ष गर्दै आउनुभएका प्रचण्डले 'भारतलाई आफ्नो पार्टीले कहिल्यै प्रधान शत्रु नमानेको' बताउनुभएको छ। भारतमा नेपाली माओवादीको हितैषीका रूपमा समेत चिनिनुहुने एसडी मुनीसँग गत सोमबार बिहान भएको भेटमा प्रचण्डले 'आफू कहिल्यै भारतविरोधी नरहेको तर भारतले आफूलाई सत्तामा जान रोक लगाएको' भन्दै गुनासो गर्नुभएको थियो। भेटपश्चात् प्रचण्डसँग भएका कुराकानी सार्वजनिक गर्ने क्रममा प्राध्यापक मुनीले उक्त जानकारी गराउनुभएको हो। २०६६ सालको वैशाखमा सत्ताबाट बाहिरिएपछि माओवादीले भारतलाई 'भित्रभित्रै फकाउने र बाहिर–बाहिर तर्साउने' नीति लिँदै आएको छ। 'जसरी भए पनि सत्तामा पुग्ने' रणनीतिअन्तर्गत अनेकौँ प्रयास गर्दा पनि सत्ता प्राप्त हुन नसकेपछि माओवादीले त्यसको निम्ति सम्पूर्ण रूपले भारतीय भूमिका जिम्मेवार रहेको ठानेको छ। र, भारतलाई तह नलगाईकन 'नेपाली क्रान्ति' सम्पन्न नहुने निष्कर्षमा प्रचण्डको पार्टी पुगेको छ। मङ्सिर पाँच गते सुरु भई एक सातासम्म चलेको माओवादी केन्द्रीय समितिको विस्तारित बैठकमा प्रचण्डले अर्का नेता डा. बाबुराम भट्टराई भारतपरस्त हुनुभएको आरोप लगाउँदै भारतसँगको प्रधान अन्तरविरोध किटान गर्नुपर्ने धारणा प्रकट गर्नुभएको थियो। प्रचण्ड स्वयम्द्वारा प्रस्तुत प्रतिवेदनमा 'भारतीय विस्तारवाद' सँगको अन्तरविरोध प्रधान रहने व्यहोरा स्पष्ट रूपमा उल्लेख गरिएको छ। तर यही व्यहोरालाई 'प्रतिक्रियावादी'हरूले अलिक नबुझ्ने भाषामा कसरी मिलाएर राख्ने भन्ने कुराको निर्णय भने मङ्सिर १६ गतेबाट सुरु हुने पार्टी केन्द्रीय समितिको बैठकमा गरिने बुझिएको छ। भाषा, शब्दावली या शब्दजाल जस्तोसुकै बने पनि माओवादीले भारतलाई मुख्य दुश्मन निर्धारण गरेको कुरामा शङ्का गर्नुपर्ने ठाउँ कहीँ कतै देखिँदैन। तर, प्रचण्डले भने आफ्ना शुभचिन्तक भारतीय प्राध्यापक मुनीमार्फत भारतको आँखामा धुलो छर्ने प्रयास गर्नुभएको छ। मुनीहरूकै सल्लाहका आधारमा माओवादीप्रति नरम नीति लिँदा अहिले भारत नै अप्ठ्यारोमा परेको विश्लेषकहरूको धारणा छ। बेइजिङदेखि बिहारसम्म माओवादी सञ्जाल निर्माण हुनुमा मुनीकै गलत दृष्टिकोण जिम्मेवार रहेको पनि ठान्न थालिएको छ। माओवादीहरू कहिल्यै विश्वास गर्न नसकिने हिंसापरस्त तत्त्व हुन् भन्ने कुरा भारतका नीति–निर्माताहरूले पनि बुझिसकेको बताइन्छ। तथापि प्रचण्डले एकपटक फेरि मुनीलाई प्रयोग गरेर मित्रराष्ट्र भारतलाई चक्मा दिने प्रयास भने गर्नुभयो। मुनीसँग भएको गुप्त कुराकानीलाई सार्वजनिक गरिने आशङ्का सायद प्रचण्डले गर्नुभएन, बरु भारतीय अधिकारीसम्म आफ्ना कुराहरू गुप्त ढङ्गले नै पुग्ने विश्वास प्रचण्डले गर्नुभएको हुँदो हो। तर, भारत जानु अगावै मुनीले प्रचण्डका कुरा काठमाडौंमा छताछुल्ल पारिदिनुभयो। यस घटनाबाट प्रचण्ड कतिसम्म बोली फेर्न सक्नुहुन्छ भन्ने कुराको त पुनः प्रमाणित भएकै छ, यसले प्रचण्डको व्यक्तित्व अत्यन्त अविश्वसनीय एवम् धूर्त्याइँपूर्ण रहेको पनि पुष्टि गरेको छ। मुनीसँग प्रचण्डले भन्नुभएको कुराले आगामी सोह्र गतेदेखि हुने माओवादी केन्द्रीय समितिको बैठकमा 'उच्च महत्त्व' पाउने सम्भावना छ। विस्तारित बैठकमा प्रस्तुत तर केन्द्रीय समितिद्वारा परिमार्जनसहित पारित गर्ने भनिएको प्रचण्डको प्रतिवेदनमा पनि अब केन्द्रीय सदस्यहरूले विशेष होसियारी साथ बहसमा भाग लिने सम्भावना बढेको छ। कुनै न कुनै रूपमा भारतसँगको प्रधान अन्तरविरोधलाई स्पष्ट रूपमा अङ्कित गर्न प्रचण्डको वर्तमान अभिव्यक्तिले बल दिएको छ। मुनीसँग यसरी भारतलाई प्रधान शत्रु निर्धारण नगरिएको बताउनुहुने प्रचण्ड यसअघि 'भारतलाई अहिले नै मुख्य दुश्मन नतोकौँ' भन्ने धारणा राख्नुहुने डा. बाबुराम भट्टराईलाई लिखित एवम् मौखिक रूपमा 'भारतपरस्त'को आरोप लगाउँदै आउनुभएको थियो। गत वर्ष खन्ना गार्मेन्टमा आयोजित एक कार्यक्रममा बाबुराम भट्टराई भारतको मान्छे भएको बताउनुहुने प्रचण्डले यसअघि गत भदौमा सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रस्तुत एक दस्तावेजमा बाबुरामबारे लेख्नुभएको छ, 'बाबुरामजीको नयाँ ढङ्गले जानुपर्छ भन्ने कुरा, सकारात्मक हुँदाहुँदै पनि त्यहीँभित्र बुर्जुवा सुधारवादमा सीमित रहने सार छ कि भन्ने मलाई लागिरहन्छ। साम्राज्यवादविरुद्ध सङ्घर्षको पक्षलाई अहिले आएर भारतीय विस्तारवादविरुद्धको सङ्घर्षको पक्षलाई जसरी उहाँले सहायक बनाउन खोज्नुभएको छ, त्यहीँभित्र गम्भीर खालकै समस्या छ भन्ने लाग्छ।' सोही दस्तावेजमा प्रचण्डले भन्नुभएको छ, 'खतरा मोलेर मात्र क्रान्तिकारी प्रक्रियामा निरन्तर अगाडि बढ्न सकिन्छ। राष्ट्रिय स्वाधीनतालाई प्राथमिकता दिएर राष्ट्रिय युद्धको तयारीसहित विद्रोहको तयारीमा लाग्नुको विकल्प छैन।' प्रचण्डले लेखेको, बोलेको कुरामा विश्वास गर्ने कि उहाँको व्यवहारमा? सबैलाई 'बेवकुफ' बनाउँदै आफ्नो मकसद पूरा गर्न प्रयत्नशील प्रचण्ड नै अन्त्यमा 'बेवकुफ' प्रमाणित हुने अनुमान अहिले धेरैले गर्न थालेका छन्, तर अब कति समय लाग्ला, यो भने प्रतीक्षाको विषय बनेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out