'दरबार हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो’

काठमाडौ, पुस १२ - तत्कालीन राजा वीरेन्द्र मुलुकको दुर्गतिबाट आजित भएर सत्ता नियन्त्रणमा लिने तयारीमा थिए । युवराज दीपेन्द्रचाहिँ उनको उदारवादी कार्यशैलीबाट दिक्क थिए । त्यहीबीच राजनीतिक षड्यन्त्रअन्तर्गत दरबार हत्याकाण्ड भएको थियो । त्यसमा विदेशी शक्तिकेन्द्र पनि जोडिएको थियो । माओवादीलाई भारतीय सैन्य शिविरमा तालिम दिइएको थियो । त्यसबारे थाहा पाएलगत्तै राजाका सैनिक सचिव पदमुक्त गरिएका थिए ।
तिनै सैनिक सचिव विवेककुमार शाहले राजदरबारमा करिब ३० वर्ष कार्यरत छँदा थाहा पाएका थुप्रै अनुद्घाटित तथ्य चाँडै पुस्तकाकारमा सार्वजनिक गर्दैछन् । 'मैले देखेको दरबार' शीर्षकको ५९९ पृष्ठको यो पुस्तकमा समाविष्ट उनका संस्मरण र दैनिक डायरीमार्फत नेपाली राजनीतिकका अनेक पाटाको खुलासा हुँदैछ ।
वीरेन्द्रको "अपरेसन वाज"सेवानिवृत्त रथी शाहले आफ्नो पुस्तकमा दरबार हत्याकाण्ड हुनु ठीकअघि राजा वीरेन्द्रले सत्ता हातमा लिने तयारी गरेको रहस्यसमेत खोलेका छन् । त्यसनिम्ति 'अपरेसन वाज' नामको एक गोप्य योजना बनाइएको उनको भनाइ छ ।

एडीसी र सैनिक सचिवका रूपमा वीरेन्द्रसँग करिब २६ वर्ष बिताएका शाहले पुस्तकमा लेखेका छन्, 'माओवादीसँग कुनै हिसाबले सहमति भएपछि प्रतिनिधिसभा भंग गर्ने र राजनीतिक नेताहरूको सहभागितामा गोलमेच सम्मेलन गरी माओवादीसहितको राष्ट्रिय सरकार गठन गर्ने सरकारको (वीरेन्द्रको) योजना थियो ।'
दुई वर्षपछि आमचुनाव गर्ने र चुनावअगाडि संविधानको प्रस्तावना यथावत् राखी संविधान संशोधन गर्नेबारे समेत तत्कालीन राजाले गृहकार्य गरेको उनले खुलासा गरेका छन् । 'संविधान संशोधन गरी राजाको भूमिका बेलायत या जापानको राजाको जस्तो वा भारतका राष्ट्रपतिको जस्तो निर्धारण गरिनुपर्छ भन्ने पनि सरकारको सोचाइ थियो,' शाहले लेखेका छन्, 'यो प्रस्ताव माओवादीलाई मान्य नभए राज्यका सबै शक्ति प्रयोग गरेर उसलाई निःशस्त्रीकरण गरी राजनीतिको मूलधारमा ल्याउने रणनीति पनि सरकारबाट सोचिबक्सँदै थियो ।'
त्यही उद्देश्यअन्तर्गत राजाले आफ्ना भाइ धीरेन्द्र र सेनाका महासेनानी दिलीप रायमाझीलाई माओवादीसँग सम्पर्क एवं वार्ता गर्न छुट्टाछुट्टै रूपमा खटाएका थिए । वीरेन्द्रले देशमा संकट आएको अवस्थामा अपनाउनुपर्ने विभिन्न रणनीति उल्लेख गर्दै बनाएको 'वाज' नामक योजनाको गोप्य फाइल २०५७ को मध्यतिर आफूलाई अध्ययन गर्न दिएकोबारे शाहले उल्लेख गरेका छन् ।
वीरेन्द्रले पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापालाई फिल्ड मार्सल बनाएर सबै सुरक्षा निकायसँग समन्वयकर्ताको जिम्मेवारी दिने सोच बनाएका थिए । 'राजनीतिक नेताहरू र उनीहरूका गतिविधिमा समेत निगरानी राख्ने योजना बनेको थियो,' शाहले लेखेका छन् ।
२०५७ सालको अन्तिममा चीन भ्रमण गर्दा वीरेन्द्रले आफ्नो प्रस्तावित योजनामा सहयोगको आश्वासन पाएको हुनसक्ने शाहको आँकलन छ । उनले बेलायत र अमेरिकाको सहयोग लिने प्रयास गरेकोसमेत पुस्तकमा उल्लेख छ ।
'आफूले उठाउन चाहिबक्सेको कदममा भारतको सहयोग लिन मौसुफबाट व्यक्तिगत रूपमै प्रयास भइरहेको थियो,' सैनिक सचिव शाहका शब्दमा, 'यसमा भारतको दृष्टिकोण सकारात्मक भएन भने माओवादीसँग रहेको उसको सम्बन्ध उजागर हुने हुँदा भारतलाई नै असजिलो हुनसक्ने सरकारको बुझाइ थियो ।'
आफ्नो तयारी लागू गर्नै लागेका बेला वीरेन्द्र मारिए । 'मुलुकको समस्या समाधानका लागि यसरी एउटा गम्भीर योजनाले आकार लिन लागेका बेला रहस्यमय तरिकाले राजदरबार हत्याकाण्ड हुन पुग्यो,' शाहले त्यसलाई राजनीतिक षड्यन्त्र भनेका छन्, 'त्यसैले यस घटनामा स्वदेशी तथा विदेशी विभिन्न तत्त्वहरूको हात हुन सक्छ भन्ने मेरो विश्लेषण तथा निष्कर्ष रहेको छ ।'
हत्याकाण्डसँग जोडिएका रहस्य
दरबार हत्याकाण्डका पछाडि भारतीय भूमिका रहेको संकेत पूर्वरथी शाहले गरेका छन् । वीरेन्द्रले राजनीतिक कदम चाल्न लागेकोमात्र नभई जर्मन कम्पनी हेक्लर एन्ड कोकको हतियार 'एसेम्बल' गर्ने कारखाना काठमाडौंमै राख्ने र एचके जी-३६ नामको अत्याधुनिक राइफल उत्पादन गरेर दक्षिण एसियाली मुलुकहरूमा बेच्ने योजना पनि कतिपयले मन नपराएको वृत्तान्त पुस्तकमा छ ।
'एचके जी-३६ राइफल खरिद गर्ने र नेपालमै एसेम्बल गर्ने योजना हाम्रो छिमेकी देश भारतलाई मन परिरहेको थिएन । किनभने उसले भारतमै बनेको कम गुणस्तरको इन्सास राइफल बेच्न सबै किसिमले जोड दिइरहेको थियो,' शाहका भनाइमा, 'हतियारको राजनीति पनि राजदरबार हत्याकाण्डभित्र लुकेको एउटा प्रमुख कारण हुन सक्छ भन्ने मलाई लाग्दछ ।' वीरगन्जमा महावाणिज्य दूतावास स्थापना गर्न, बुटवललगायतका स्थानमा पेन्सन क्याम्प स्थापना गर्न र नेपालका लागि घातक हुने नागरिकता विधेयक जारी गर्न भारतले विभिन्न चरणमा निरन्तर दबाब दिइरहेको समेत उनले उल्लेख गरेका छन् ।
वीरेन्द्रलाई मन नपराउनेहरूले दीपेन्द्रलाई उकासेको पूर्वसैनिक सचिव शाहको दाबी छ । 'दीपेन्द्र सरकारलाई 'ही इज अ गुड लिडर, स्ट्रङ लिडर, दीपेन्द्र सरकार स्ट्रङ किङ हुन सकिबक्सन्छ' भनेर केही मान्छेले बारबार उक्साउने गरेको हामीले नदेखेका, नसुनेका होइनौं,' शाहले उल्लेख गरेका छन्, 'राजपरिवारभित्रको कलह र विवाद तथा कमीकमजोरीमा खेल्दै युवराजाधिराज दीपेन्द्रको महत्त्वाकांक्षालाई उकासेर लामो तथा सुविचारित षड्यन्त्रअन्तर्गत देशी तथा विदेशी शक्तिले दरबार हत्याकाण्ड गराएको हो भन्ने मेरो निष्कर्ष रहेको छ ।'
हत्याकाण्डपछि यसको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले त्यो रात घटनास्थलमा के भएको थियो भनेर मात्र छानबिन गरेको, तर घटना किन भयो, त्यसमा कसले सहयोग गरेको थियो जस्ता पक्षको खोजी हुन नसकेको शाहको भनाइ छ । त्यसको छानबिन गर्न आवश्यक परे विदेशी विशेषज्ञको पनि सहयोग लिनुपर्छ भनेर जोड दिए पनि राजा ज्ञानेन्द्रले ध्यान नदिएको उनले उल्लेख गरेका छन् । हत्याकाण्डमा मारिएकाहरूको पोस्टमार्टम पनि गरिएको थिएन ।
मुमा बडामहारानी रत्नको 'हुकुम' अनुसार त्यसो गरिएको शाहले खुलासा गरेका छन् । 'महाराजाधिराजको शरीरचाहिँ नचिर्ने हो कि ? हुकुम भयो । अनि प्रधानमन्त्री कोइराला पनि यस कुरामा सहमत हुनुभयो,' पुस्तकमा उल्लेख छ ।
माओवादीसँग रुष्ट भारत
राजसंस्थालाई विस्थापित गर्न भारतले माओवादीलाई प्रयोग गरे पनि संविधानसभा निर्वाचनबाट ठूलो शक्ति बनेपछि उसलाई 'साइज' मा राख्न 'मधेस कार्ड' प्रयोग गर्न थालेको शाहको बुझाइ छ । यस सन्दर्भमा उनले २०६३ चैत ७ गते भारतीय राजदूतावासमा कार्यरत द्वितीय सचिव दार्जिलिङ निवासी धीरज मुखियाको घरमा केही साथीहरूसँग डिनरमा जाँदा थाहा पाएको तथ्य सार्वजनिक गरेका छन् ।
त्यसै दिन गौरमा माओवादीका २७ भन्दा बढी कार्यकर्ता मारिएका थिए । 'हामी डिनरमा पुग्दा भारतीय दूतावासका तीन-चारजना कर्मचारी आइसकेका रहेछन् । तीमध्ये एक जनाको हातमा दुइटा मोबाइल थिए । उनी गौर घटनाको विवरण र अन्य जानकारी एउटा मोबाइलबाट 'अपडेट' गरी उक्त खबर अर्को मोबाइलबाट रिपोर्ट गरिरहेका थिए । साथै स्थानीय इन्र्फमरलाई केही निर्देशनसमेत दिँदै थिए । उनलाई गौरबाटै माओवादी कार्यकर्ताको हत्याबारे सम्पूर्ण ताजा विवरण आइरहेको थियो । त्यसबाट मलाई दूतावासका ती कर्मचारी भारतीय गुप्तचर संस्था रअका हुन् भन्ने स्पष्ट भयो,' शाहले लेखेका छन् ।
संयोगवश उक्त घटनाको भोलिपल्ट भेटिएका माओवादी नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले शाहसँग भनेका रहेछन्, 'भारतलाई हामीले प्रयोग गरिरहेका छौं भन्ने हाम्रो बुझाइ थियो तर भारतले हामीलाई पो उल्टै खेलाइरहेको रहेछ, अहिले आएर हामी स्तब्ध भएका छौं ।'
संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टीका रूपमा स्थापित हुनु, राष्ट्रियताका नारासमेत अगाडि सार्नु र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीका हैसियतमा पहिले चीनको भ्रमण गर्नुबाट भारत असन्तुष्ट बन्न पुगेको शाहको ठहर छ । 'भारत अब माओवादीबाट आफ्नो हितको रक्षा हुने देखिरहेको छैन । त्यसैले ऊ माओवादीलाई ठीक ठाउँमा ल्याउन चाहन्छ,' उनले लेखेका छन् ।
 भारतद्वारा माओवादीलाई तालिम
भारतले माओवादीलाई संरक्षण र सहयोग दिएको भन्ने अनेक संवेदनशील प्रसंग आफू सैनिक सचिव छँदा जानकारीमा आएको शाहको भनाइ छ । त्यस क्रममा उनले २०६० असारतिर सशस्त्र प्रहरीको एउटा कम्पनी भारतको देहरादूननजिक चक्रातामा कमान्डो तालिम लिन जाँदा पाएको सूचना उल्लेख गरेका छन् ।
त्यहाँबाट फर्केका एक इन्स्पेक्टरले आफ्नो गुल्मले चक्रातामा जहाँ तालिम लिएको थियो, एक महिनाअघि माओवादी टोलीले पनि त्यही स्थानमा तालिम लिएको रिपोर्ट बुझाएका थिए । ती इन्स्पेक्टरको भनाइमा, 'सशस्त्रको टोलीलाई तालिम दिने क्रममा जस्तो स्यान्ड मोडल बनाइएको थियो, हुबहु त्यस्तै स्यान्ड मोडल माओवादीले दाङको सतबरिया, अछामको मंगलसेन र संखुवासभाको चैनपुर आक्रमणमा प्रयोग गरेका थिए ।'
तालिम केन्द्रबाहिरका चिया पसलेले समेत 'योभन्दा अगाडि नेपालबाट तालिमका लागि आएको टोलीमा महिला पनि थिए तर तपाईंको टोलीमा महिला रहेनछन्' भनेको पनि ती इन्स्पेक्टरले उल्लेख गरेका थिए । त्यस्तै एकजना प्रशिक्षकले 'भारतले यो के गरेको होला, नेपालका माओवादी र नेपालकै सशस्त्र प्रहरीलाई पालैपालो तालिम दिइरहेको छ' भनेका थिए ।
भारतले श्रीलंका तमिल विद्रोही, बंगलादेशका मुक्ति बाहिनी र तिब्बतका खम्पाहरूलाई चक्राताको त्यही 'इस्ट्याब्लिसमेन्ट-२२' नामक अमेरिकाले बनाइदिएको 'कम्प्लेक्स' मा तालिम दिएको थियो । नेपालका माओवादीलाई समेत त्यहीं तालिम दिइएको सूचना आएपछि आफूले राजा ज्ञानेन्द्रसमेतको सहमतिमा गुप्तचर विभागका पूर्वडीआईजी लालबहादुर थापालाई २०६० साउनमा गोप्य अनुसन्धानमा खटाएको शाहले खुलासा गरेका छन् ।
चक्राता क्षेत्रको जानकार भएकाले थापालाई उक्त जिम्मेवारी दिइएको र उनी त्यही वर्ष दसैं-तिहार ताका त्यहाँ जाने तय भए पनि त्यसपश्चात् उनी 'बेपत्ता' भएको तर आफूचाहिँ सैनिक सचिवबाटै पदमुक्त हुनुपरेको विवरण शाहले उल्लेख गरेका छन् । उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०६० कात्तिकमा राजीनामा मागेका थिए ।
कोसोभोस्थित संयुक्त राष्ट्रसंघीय मिसनबाट फर्केका नेपाल प्रहरीका अर्का अधिकृतको सनसनीखेज भनाइ शाहले पुस्तकमा उद्धृत गरेका छन्, 'कोसोभो मिसनमा मैले काम गर्ने सेक्टरका प्रमुख भारतीय सिनियर आईपीएस अधिकृत थिए । एक दिन कुराकानीकै क्रममा उनले भने, 'हेर, नेपालमा हामी जे चाहन्छौं, त्यही हुन्छ । दरबारमा एकजना सैनिक सचिवलाई थाहा भयो कि, भारतले नेपालका माओवादीलाई तालिम दिइरहेको छ । भारतलाई लाग्यो, यसबाट उसलाई इम्ब्यारेसमेन्ट हुन सक्छ, त्यही भएर ती सैनिक सचिवलाई त्यहाँबाट हटाउन जरुरी छ । हाम्रो पनि दरबारमा एडीसी छन्, अरू मान्छे पनि छन् । अनि नेपालका प्रधानमन्त्री सूर्यबहादुर थापा त हाम्रै मान्छे हुन् । उनीसमक्ष पनि सैनिक सचिवलाई हटाउन प्रस्ताव पठाइयो । हामीले उनलाई परिचालन गर्‍यौं र महाराजलाई भनेर सैनिक सचिव हटाउन भन्यौं । अनि महाराजले पनि उनलाई हटाए ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out