शिलाको निरस जवानी

आइटम गीत 'शिला की जवानी'को एकोहोरो मनोवैज्ञानिक अतिक्रमणले गर्दा 'तीस मार खान' फिल्म रमाइलो (मनोरञ्जन होइन) गर्न ठीकै होला भन्ने थियो। निर्देशक फरहा खानले यसअघि 'ओम शान्ति ओम'लाई बासी फर्मुलामै पनि 'झकिझकाउ' बनाएकी थिइन्।  'मुन्नी बदनाम हुई'वाला फिल्म 'दबंग'ले बलिउडको शुद्ध र चटपटे स्वाद पस्किएको भर्खरै हो। लगभग 'दबंग' मार्काकै स्वाद चाख्न पाइने आश थियो 'तीस मार खान'मा। 'शिला'ले देखाउने लट्काझट्का बोनस छँदैथ्यो।

फिल्मको पहिलो दृश्य सिद्धिएर कास्टिङ चल्दै गर्दा सोचेजस्तो स्वाद पाइरहन्छ। तर जब, 'शिला की जवानी' गीत सकिन्छ, फिल्मले सन्तुलन गुमाउँछ। अथवा भनौं, शिला जवान हुन पाए पनि फिल्म चाहिँ 'जवान' हुँदैन।
पुनर्जन्मको हावादारी कथा भए पनि 'ओम शान्ति ओम'मा प्रेम, प्रतिशोध, विछोड, मिलन, लक्ष्य, अड्चन, ग्ल्यामर, मेलो ड्रामा अर्थात् बलिउडका चल्तीका सबै खुराक थिए। तर, 'तीस मार खान'मा नायिका छ, प्रेम छैन, नायक छ, खलनायक छैन, मिलन छ, विछोड छैन। सबैभन्दा महŒवपूर्ण, नायकको कुनै लक्ष्य छैन। लक्ष्य नभएपछि अड्चन हुने कुरै भएन। जसले गर्दा 'ड्रामा' सिर्जना हुँदैन।

पछिल्लो समय फिल्म निर्माणमा भन्दा प्रचारप्रसारमा बढी मिहेनत र खर्च गर्ने प्रवृत्ति बढेको छ। फरहाले यसपटक फिल्मको 'स्त्रि्कप्ट'भन्दा 'स्किम'तिर बढी दिमाग घुमाएको भान हुन्छ। 'तीस मार खान'भन्दा यसको प्रवर्द्धनमा गरिएका कसरतहरू रचनात्मक रहे।

हुलिया बदलेर चोरी गर्ने पात्र हो, तीस मार खान (अक्षय कुमार)। पुलिसको आँखा छल्न ऊ माहिर छ भनिन्छ। जन्मिने बित्तिकै डाक्टरको घडी र नर्सको सिक्री थुतेको दृश्यले पछिका दृश्यहरूमा उसले निकै चमत्कार देखाउँला भन्ने लाग्छ। तर, उसको कुनै चर्तिकला हेर्न नपाउँदै फिल्म समाप्त हुन्छ। ऊ घरिघरि पुलिसको फन्दामा पर्छ। फुत्किनलाई कुनै नौलो जुक्ति पनि अपनाउँदैन। न त हुलिया नै फेर्छ।
कुनै महसुर जादूगरको चमत्कार हेर्न टिकट काट्नेले पूरा शोमा जादू नै हेर्न पाएन भने अवश्य पनि ठगिएको महसुस गर्नेछ। 'तीस मार खान' त्यस्तै एउटा 'शो' हो, जसमा हिरो चमत्कारी छ भनिन्छ, तर उसले चमत्कार देखाउँदैन।
उसको खोजी गर्न आएका प्रहरीलाई आमाले 'दिमाग चाटेर' फर्काइदिन्छ। तर, ऊ प्रहरीलाई बिदाइ गर्न जुँगा टाँसेर आइपुग्छ। तीस मार खानको फितलो करामतको सिलसिला यही दृश्यबाट सुरु हुन्छ।
एउटा दृश्यमा प्रहरी अधिकारीले आफ्ना जुनियरहरूमाझ तीस मार खानलाई 'हाफ रविनहुड'को संज्ञा दिन्छ। किनभने उसले धनीलाई लुट्छ तर गरिबलाई दिँदैन रे। कथामा चाहिँ उसको चरित्र ठिक उल्टो छ। पूरा फिल्ममा उसले ठूलो धन एकचोटिमात्र लुट्छ र केही हिस्सा गरिबलाई दिएर जान्छ।
पटकपटक 'हातको सफाइ' देखाउन छोडेर तीस मार खान पूरै फिल्मभरि रेल लुट्ने बहानामा नक्कली फिल्मको सुटिङले रुमल्लिन पुग्छ। फिल्मभित्रको फिल्मको सुटिङमा निर्देशकले जहाँ जहाँ कमेडी गर्न खोजेकी छिन्, दर्शकलाई त्यहाँ त्यहाँ रिस उठ्ने सम्भावना हुन्छ। त्यस दौरानमा कुनै पनि पात्रप्रति दर्शकमा सहानुभूति प्रकट हुँदैन। दर्शकहरू त्यसपछि फिल्म हेर्ने होइन झेल्ने मनस्थितिमा पुगिसक्छन्। क्याट्रिना कैफ र अक्षय खन्नाले यो फिल्म किन खेले भन्ने खुल्दुली सबैलाई लाग्नेछ।
फिल्ममा डेनी डेन्जोङपा, मनोज वाजपेयी, आमिर खान र ओस्कर अवार्डको खिल्ली अनावश्यक उडाइएको छ। ओस्करमा मनोनित भारत-अंग्रेजको कथा रहेको फिल्म 'लगान', यसपालि ओस्करमा भिड्न लागेको 'पिप्ली लाइभ' र ओस्कर विजेता 'स्लमडग मिलिनियर'लाई व्यंग्य कस्दै फरहाले आफ्नो कित्ता छुट्याएकी छिन्। आफूलाई ओस्कर होइन फिल्मफेयर अवार्ड नै ठीक भन्ने संकेत उनले अन्त्यमा दिएकी छिन्।
तर, उनले 'तीस मार खान' फिल्मफेयर जित्न लायक बनाउन सकेकी छैनन्। फिल्म एउटा गम्भीर विधा हो र यसले रचनात्मक उचाइ ग्रहण गरेको हुनुपर्छ भन्ने मान्यतादेखि त उनी 'हजारौं माइल' टाढा छिन्।
'तीस मार खान' हेर्नु समय र पैसाको बर्बादी हो। यस्तो फिल्म हिट हुनु पनि हुँदैन। नत्र समस्त कला विधाकै लागि विडम्बना हुनेछ। यो हिट भयो भने एउटा प्रश्नले पिरोल्नेछ, 'झुर फिल्म बनाएरै दादागिरि चल्छ भने राम्रो फिल्म किन बनाउने?'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out