अमेरिकाको ठाउँमा चीन

भताभुंग घरको मुलीलाई बाहिर पनि कसैले टेर्दैन भन्ने उक्ति हालै दक्षिण कोरियाको राजधानी सिओलमा सम्पन्न जी-२० को बैठकमा अमेरिकी राष्ट्रपति बाराक ओबामासँग गरिएको व्यवहारबाट चरितार्थ भएको छ। देशको अर्थतन्त्रको ढाँचा र नीतिमा खोट देखा नपरेको र अर्थतन्त्र बलियो भएको अवस्थामा हुने अन्तर्राष्ट्रिय सम्मेलन र बैठकमा अमेरिकी राष्ट्रपतिहरू आकर्षणका केन्द्र बन्थे। त्यहाँ उपस्थित सरकार प्रमुखहरू उनको नजिक जान, सँगै तस्बिर खिचाउन र कुरा गर्न तँछाडमछाड गर्थे। तर यस पटकको जी-२० को बैठकमा अमेरिकी राष्ट्रपतिले त्यस्तो व्यवहार पाउन सकेनन्। उनलाई सबैले नजानिदो गरी उपेक्षा गरे। यसको मूल कारण अमेरिकी अर्थतन्त्रको खराब अवस्था नै हो। दी वाल स्ट्रिट जर्नलको २२ नोभेम्बर २०१० को अंकमा लेखिएअनुसार विश्व अर्थतन्त्रका चुनौतीका सम्बन्धमा संसारका २० वटा प्रमुख आर्थिक शक्ति राष्ट्रका सरकार प्रमुखबीच हुने छलफलमा यस पटक राष्ट्रपति ओबामा अमेरिकी अर्थतन्त्रका निम्न तीन कमजोरीको पृष्टभूमिमा भाग लिन सिओल गएका थिए। (१) अमेरिकामा उत्पत्ति भई विश्वभर फैलिएको हालैको आर्थिक संकटले अमेरिकी आर्थिक ढाँचा र नीति खोटपूर्ण भएको देखियो, र त्यस्को प्रतिरक्षा गर्न अमेरिका असफल भइरहेको देखियो, (२) भावी पिँडीलाई समेत ठूलो भार हुने गरी अत्यधिक मात्रामा बढ्दै गएको सरकारी ऋण, र (३) आफ्नो मुलुकलाई मात्र लाभ र अरु मुलुकलाई हानि हुने गरी आफ्नो मुद्रा डलरलाई योजनाबद्ध रूपमा कमजोर बनाउने उद्देश्यले थप तरलता प्रवाह गर्ने हालैको निर्णय।
सन् २००७ को अन्त्यतिर सुरु भएर अहिलेसम्म पनि केही हदसम्म कायम रहेको आर्थिक संकट वास्तवमा अमेरिकामा नै सुरु भएको थियो र पछिमात्र त्यो संकट विश्वव्यापी भयो। त्यो संकट कति भयानक प्रकृतिको थियो भने खरब‌‌ डलर खर्च गर्दा पनि न अमेरिकाको राष्ट्रिय आय आशा अनुरूप बढ्न सक्यो न त रोजगारी नै विस्तार भयो। अन्य विकसित मुलुकमा पनि लगभग त्यस्तै भयो। त्यसले गर्दा विश्वमा पुँजीवादको नेतृत्व गरिरहेको महाशक्ति राष्ट्रलाई आफ्नो आर्थिक ढाँचा (मोडल) र नीतिमाथिको विश्वास नै डग्मगाएको अनुभूति हुन थाल्यो। आफ्नै देशका केही शीर्ष अर्थशास्त्री र नीति निर्माता नै त्यस ढाँचा र नीतिको विपक्षमा उभिन पुगे। अतः देशभित्र त्यस्तो चुनौतीको सामना गरिहेका राष्ट्रपति आर्थिक ढाँचा र नीतिका सम्बन्धमा त्यस्ता बैठकमा निर्णायक बन्न नसक्नु स्वाभाविकै हो।

त्यसैगरी चुलिँदै गएको सरकारी ऋण दायित्व अमेरिकाको गम्भीर चिन्ता र विश्वभरी चर्चाको विषय बनेको छ। विगत धेरै वर्षदेखिको लगातारको बजेट घाटाको परिणामस्वरूप अमेरिकाको ऋण दायित्व धान्नै कठिन हुने गरी चुलिएको छ। त्यसो त अहिले विश्वका सबै ठूला विकसित राष्ट्र ऋणको भारबाट नराम्ररी थिचिएका छन्। जापानको ऋण दायित्व कुल गार्हस्थ्य उत्पादनको दोब्बर पुग्न लागेको छ। युरोपको अवस्था पनि त्यस्तै छ। तर पछिल्ला महिनामा अमेरिकी सरकारले संकट मोचनको लागि गरेको ठूलो सरकारी खर्चबाट त्यहाँको ऋण दायित्व यसरी चुलिन पुगेको हो। अमेरिकाको ऋण दायित्व र आन्तरिक राजस्व अनुपात अहिले ३५८ प्रतिशत पुगेको छ। अर्थात् तिर्न बाँकी सरकारी ऋण दायित्व वार्षिक राजस्वभन्दा साढे तीन गुणा बढी छ। यस्तै अमेरिकाको सरकारी ऋण दायित्व कुल गार्हस्थ्य उत्पादनको हाराहारीमा पुग्न लागेको छ। यसको अर्थ के हो भने अहिले कुनै ठूलै विपत्ति पर्‍यो भने अमेरिकी सरकार धेरै खर्च गर्न नसक्ने अवस्थामा छ। अमेरिकाका लागि यो कठिन र असजिलो अवस्था हो। यो तत्काल समाधान गर्न सकिने समस्या पनि होइन। व्यापक मात्रामा सरकारी खर्च कटौती गरी ठूलै अनुपातमा बजेट घाटा घटाउदै लगियो भने पनि यो ऋणभारबाट मुक्ति पाउन थुपै्र वर्ष लाग्नेछ। तर, त्यहाँ सरकारले त्यसरी खर्च कटौती गर्नसक्ने अवस्थै छैन। यसरी यो सरकारी ऋण दायित्वको बोझ पनि अमेरिकाको तेजोबध गर्ने अर्को प्रमुख कारण बनेको छ।

जी-२० को बैठकमा अमेरिका पूर्णतः प्रतिरक्षात्मक हुनुपर्ने अर्को कारण अर्थतन्त्रमा थप तरलता प्रवाह गरी आफ्नो मुद्रा कमजोर पारेर निर्यात बढाउनेे निर्णय पनि हो। बजारमा छ सय अर्ब डलर बराबरको थप तरलता प्रवाह गर्ने निर्णयले विश्व मुद्रा बजारमा अमेरिकी डलर सस्तो हुन गई अमेरिकाको निर्यात बढ्थ्यो र आयात घट्थ्यो। यसरी अमेरिकाजस्तो विश्व महाशक्ति र पुँजीवादको संरक्षक राष्ट्रले अरूलाई नोक्सान पुर्‍याएर आफूलाई फाइदा हुने नीति अपनाएपछि उसले पुरानो हैसियत गुमाएको हो। अझ त्यस नीतिबाट विशेषगरी निर्यातमा आधारित अर्थतन्त्र भएका जर्मनी, जापान, चीन, कोरिया ब्राजिल, इन्डोनेसिया आदि जी-२० का प्रमुख राष्ट्रलाई नोक्सानी पुग्थ्यो। चीन र जर्मनीले त अमेरिकाको त्यस नीतिको खुलेरै विरोध गरे। अमेरिकाले सन् १९३० को महामन्दी निम्त्याउने ...बेगर दाइ नेबर' अर्थात् छिमेकीलाई मगन्ते बनाऊ भन्ने नीति अहिले अवलम्बन गर्नुको मुख्य उद्देश्य डलरको तुलनामा आफ्नो मुद्राको अधिमूल्यन गर्न चीनलाई दबाब दिनु थियो। चीनले त्यसो गरिदिएमा चीनसँगको व्यापारमा अमेरिकालाई भइरहेको ठूलो घाटा कम हुन सक्थ्यो तर चीन अमेरिकाको दबाबमा त्यसो गर्न तयार थिएन। त्यसैले अरूलाई हानी पुर्‍याएर भने पनि आफूलाई लाभ हुने नीति अमेरिकाले अख्तियार गर्न पुगेको थियो। अमेरिकाले अपनाउन लागेको यो नीति विश्व व्यापार संगठनको खुला, उदार र प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय व्यापार सिद्धान्त र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन्तुलित विनिमय दरको माध्यमबाट सन्तुलित बाह्य क्षेत्र नीतिविपरीत पनि छ।

यसरी एकातिर अहिलेसम्मको विश्वको प्रभुत्वशाली मुलुक आफ्नै समस्याभित्र भासिएर हलचल गर्न नसक्ने अवस्थामा पुगेको थियो। अर्कोतिर चीन ठूलो व्यापार, चालु खाता र शोधनान्तर बचत, निरन्तर बढ्दो विदेशी मुद्राको संचिति, लगातारको उच्च आर्थिक वृद्धि दर, बेलायत, फ्रान्स, जर्मनी र जापानलाई उछिनेर विश्वकै दोश्रो सबैभन्दा ठूलो अर्थतन्त्र हुन पुग्नुले उस्को साख, शक्ति र प्रतिष्ठा शिखरमा पुगेको थियो। चीनले अमेरिकी डलरको सट्टामा आफ्नो मुद्रालाई अन्तर्राष्ट्रिय संचित मुद्रा बनाउन पनि पहल गरिरहेको छ र अरु मुलुकले पनि त्यस्लाई चुपचाप स्वीकार गरिरहेका छन्। आर्थिके आधारमा प्राप्त हुने शक्ति हासिल भएपछि अरूले त्यस्लाई स्विकार्नुको विकल्प हुँदैन। यसरी अमेरिका आफ्ना कमजोरी र असफलतालाई महसुस गरी विश्वको प्रमुख महाशक्ति राष्ट्रको स्थान क्रमिकरूपमा चीनलाई हस्तान्तरण गर्न मानसिकरूपमा तयार हुँदै गएको देखिन्छ।

दी वाल स्ट्रिट जर्नलमा लेखिएअनुसार चीनले अमेरिकालाई उछिन्न सक्ला कि नसक्ला भनी अमेरिकामा गरिएको एक सर्वेक्षणमा ४६ प्रतिशत अमेरिकी जनताले चीनले अमेरिकालाई उछिन्ने जबाफ दिएका छन्। यसरी युरोपमा औद्योगिक क्रान्ति र उपनिवेशवाद सुरु भएदेखि हालसम्म झन्डै तीन सय वर्षसम्म विश्वमा कायम रहँदै आएको युरोप र उत्तर अमेरिकाको प्रभुत्व अब क्रमिकरूपमा एसियामा स्थानान्तरित हुँदैछ र शक्तिको केन्द्र चीन बन्दैछ। सम्पूर्ण विश्व यसका लागि मानसिकरूपमा तयार भइरहेको स्वीकार अमेरिकी राष्ट्रपतिका आर्थिक सल्लाहकार समूहका प्रमुख लरेन्स समर्सले सोही जर्नललाई दिएको अन्तर्वार्तामा गरेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out