बहुलवाद बन्देजको बाहुबली राजनीति

हरिबहादुर थापा- 'बरु नयाँ संविधान नबनोस्, बहुलवादमा समर्पण गर्न सकिन्न', केही दिनअघि संविधानसभा सचिवालय परिसरमा माओवादी नेता देव गुरुङको मुखबाट यो वाक्य निकै चर्को स्वरमा सुनियो । माओवादीले कुनै पनि हालतमा बहुलवाद स्वीकार्न नसक्ने उनको जिकिरले लोकतन्त्रप्रति विश्वास गर्नेहरूलाई फेरि झस्कायो । यो शाब्दिक झगडानिम्ति अपनाएको रणनीति हो या उसको अन्तिम राजनीतिक अभीष्ट ? माओवादी नेताका मुखबाट आएको यो खतरनाक वाक्य यदि सत्य हो भने नयाँ संविधान लोकतान्त्रिक बन्ने छैन, किनभने माओवादीको सहमतिबेगर नयाँ संविधान बन्न सक्दैन । एकातिर माओवादीको 'बहुलवादी' संविधान नस्वीकार्ने अडान र अर्कोतिर कांग्रेसका नेताहरूको 'बहुलवाद बेगरको संविधान' अर्थहीन हुने ठहरले स्थिति अप्ठेरो बन्दैछ । दुईथरीको अडानबीच फेरि 'बहुलवाद' शब्द राजनीतिमा चर्किंदैछ । बहुलवाद बेगरको संविधान निर्माण गर्नु भनेको 'एकत्ववाद' या 'अधिनायकवाद' निम्त्याउने सडक निर्माण गर्नु हो भन्ने निष्कर्षमा लोकतन्त्रवादीहरू पुगेको देखिन्छ । माओवादीले 'बहुलवादी दर्शन'मै आफूहरूको विरोध रहेको धारणा अघि सारेका छन् । बहुलवादी दर्शन स्थापित भएमा आफूले चाहेजस्तो एकदलीय कम्युनिष्ट पद्धति स्थापित हुन सक्दैन भन्ने मान्यता उसले राखेको हुनुपर्छ । नत्र लोकतान्त्रिक पद्धति स्वीकार गरिसकेको पृष्ठभूमिमा यो शब्दप्रति असहमति र आक्रोश किन ?
संविधानभित्र निर्माणका विवादित गुजुल्टा फुकाउन गठित उच्चस्तरीय कार्यदल यतिखेर 'बहुलवाद' शब्दको सेरोफेरोमा अल्झिएको छ । कार्यदलमा राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वमाथि छलफल हुँदैछ । जस अन्तर्गत 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था' भन्ने शब्दको सट्टामा तीन प्रस्ताव आएका छन् । 'जनताको संघीय गणतन्त्र', 'समाजवादी गणतन्त्र', 'बहुलवाद र बहुदलीय प्रतिस्पर्धामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र'मध्ये कुन शब्द राख्ने भन्नेमा सहमति हुनसकेको छैन ।
त्यसो त माओवादीले 'बहुलवाद' शब्दविरुद्ध आक्रोश पोखेको पहिलोचोटी भने होइन । यसअघि संविधानको प्रस्तावनामा छलफल हुँदा पनि यो शब्दप्रति उसको कडा आपत्ति रहेको थियो । कांग्रेसले प्रस्तावनामा 'बहुलवादी खुला समाज' शब्द राख्न चाहेको थियो । माओवादीले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था राखिसकेपछि 'बहुलवादी' शब्द राख्नुको औचित्य छैन भनी यो शब्दको खुला आलोचना गरेको थियो । बुद्धिजीवी नेता डा. बाबुराम भट्टराईले त्यतिबेला सार्वजनिक रूपमा भनेका थिए- 'हामी बहुदल मान्छौं, तर बहुलवाद मान्दैनौं । माओवादी एकत्ववादमा विश्वास गर्छ । बहुत्ववादमा विश्वास नगर्ने हुनाले सैद्धान्तिक रूपमै बहुलवाद मान्न सकिँदैन ।'
बहुलवादको अभावमा बहुदलको कुनै अर्थ नदेख्नेहरू थुप्रै छन् । माओवादीले जात-जाति, भाषा-भाषी, राजनीतिक आस्था, विचार रक्षा गर्ने वचन दिइसकेको छ भने बहुलवादको विरोध
किन ? यसलाई मानवअधिकारवादी कृष्ण पहाडी 'बन्दुके कार्यकर्तालाई खुसी पार्ने जडसूत्रवादी फर्मूलामात्र भएको' टिप्पणी गर्छन् । उनी भन्छन्- 'संविधानसभाको माग र निर्वाचन हुनु नै बहुलवाद प्रवेशको उदाहरण हो । तर माओवादी आफ्ना जडसूत्रवादी र बन्दुक बोक्नेहरूलाई खुसी गर्न अनर्थको खेती गर्दैछन् ।'
पहाडी यो संविधानसभाबाट 'बहुलवाद विरोधी संविधान बन्न नसक्ने' तर्क राख्छन् । उनको तर्क छ- 'एउटा पन्क्षीको अन्डाबाट पन्क्षीको जन्म हुन्छ । मनुष्यको गर्भबाट मनुष्य नै जन्मन्छ । मताधिकारको पद्धतिबाट निर्मित संविधानसभा बहुलवादी संविधानकै पक्षमा हुनुपर्छ । प्रत्यक्ष मतबाट निर्मित संविधानसभाले एकतन्त्रीय या जनताकै विश्वासविरुद्ध बहुलवाद विरोधी संविधान जन्माउनै सक्दैन ।'
बहुलवादी शब्द 'ग्रीक' भाषाबाट आएको हो र यसको अर्थ 'धेरैको शासन' भन्ने बुझिन्छ । अर्थात् एकतन्त्रीय शासनको ठाउँमा धेरैजनाको प्रतिस्पर्धा र सहमतिमा शासन चलाउने बहुलवादी शैली हो ।
त्यसमाथि समाज कहिल्यै पनि एकरूपको हुँदैन, अर्थात् समाज बहुरूपबाट सञ्चालित हुन्छ । बहुलवादी दर्शन भनेको समाजको त्यही विविध रूप र यथार्थलाई स्वीकार गर्नु हो । आधुनिक लोकतन्त्रमा जनताको इच्छा र आकांक्षा पूर्ति गर्ने आधारभूत चरित्रको रूपमा 'बहुलवादी दर्शन'लाई लिइन्छ । यसको अभावमा शासकीय वृत्तमा सीमित हुने राजकीय शक्तिलाई आमतहमा वितरित गर्न सकिँदैन । जनताका फरक-फरक मत, जीवन पद्धति, विश्वास र अस्तित्वलाई समान स्वीकार गर्ने वातावरण बहुलवादी लोकतन्त्रमा मात्र प्राप्त हुन्छ । समाजका तिनै फरक खाले जीवन पद्धतिभित्र सहअस्तित्व, समझदारीको रेखा कोर्ने वातावरण बहुलवादी दर्शनले मात्रै प्रत्याभूत गर्न सक्छ ।
सबैले सबै वर्गप्रति सम्मान गर्न र सहनशील हुन बहुलवादी माहोल आवश्यक पर्छ । एकले अर्काको अस्तित्व स्वीकार नगर्ने हो भने निश्चित रूपमा त्यो मुलुकमा 'वितण्डावाद' जन्मन्छ । बहुलवादकै अभावमा एकतन्त्रीय शासन व्यवस्थाहरू विघटन हुनपुगेका हुन् ।
बहुलवाद माओवादीले बुझेजस्तै 'वितण्डावाद' या 'अनिश्चय'को सिद्धान्त होइन । यो त विचार पोख्ने, संवादको वातावरण सिर्जना गर्ने तथा शक्ति र अधिकारमा जनताको सहभागिताको सुनिश्चितता गर्ने माध्यम हो भनी विज्ञहरूले तर्क गर्दैआएका छन् ।  बहुलवादी संस्कार भएको समाजमा अधिनायकवादीहरूलाई टाउको उठाउन हम्मे-हम्मे पर्छ । बहुलवादी समाजमा मात्रै संवादको वातावरण बन्छ । त्यस्ता संवादले लडाइँ-झगडालाई समेत न्युनीकरण गर्छ, फरक-फरक मत र मान्यता राख्नेहरूलाई संवाद गर्ने मौका दिन्छ । जहाँ संवाद हुन्छ, त्यहाँ शंका कम हुन्छ । 'अन डेमोक्रेसी'का लेखक रबर्ट ए. डाहल संवादकै कारण लोकतान्त्रिक पद्धति अपनाएका मुलुकहरूबीच लडाइँ नभएको फेहरिस्त अघि सार्छन् । उनका अनुसार, सन् १९४५ देखि १९८९ को अवधिमा भएका चांैतीसवटा अन्तर्राष्ट्रिय प्रकृतिका लडाइँमध्ये कुनै पनि लडाइँ बहुलवादी शासन पद्धति अपनाउने मुलुकहरूबीच भएका थिएनन् । लोकतान्त्रिक मुलुकहरूबीच न लडाइँको कुनै त्रास रहेको थियो, नत लडाइँ चर्काउने कुनै तयारी नै ।
यो तथ्यले पनि लोकतान्त्रिक मुलुकका शासक अहंकारी, अन्धराष्ट्रवादी, आफूलाई विशेष गुणसम्पन्न देखाउने लहडबाट प्रेरित नभई संवाद र सहमतिमा चल्छन् भन्ने देखाउँछ । डाहल लेख्छन्-'बहुलवादमा मात्र आधारभूत अधिकारहरूको बहाली हुन्छ, आम स्वतन्त्रता प्राप्ति र आत्मनिर्णयको अवसरदेखि नैतिक स्वायत्तता, मानवीय विकास, राजनीतिक समानता, अत्यावश्यक निजी हितहरूको संरक्षण प्रजातन्त्रमै मात्र प्राप्त हुन्छ । अनेकौं खाले स्वेच्छाचारी शासन पद्धतिले स्पष्ट देखिने किसिमले विफलता देखाइसकेकाले संसारका धेरै ठाउँमा लोकतन्त्र विरोधी आस्था र विचारधाराले आफ्नो आकर्षण गुमाइसकेका छन् ।'
नेपालमा पनि ०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि 'बहुलवादी खुला समाज' शब्द सुनिँदै आएको हो । पञ्चायतकालभरि यो शब्दमाथि 'प्रतिबन्ध' थियो । संसदीय कालखण्डभरि बहुलवाद शब्दको सीमित प्रयोग हुन्थ्यो । जब तत्कालीन राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थाविरुद्ध कदम उठाए, त्यसपछि फेरि बहुलवादी शब्द व्यापक बहसमा आएको हो । लोकतन्त्रको मुटुका रूपमा 'बहुलवाद'लाई लिइन्छ । 'लोकतन्त्रमा बहुलवादको व्यापक सैद्धान्तिक महत्त्व हुन्छ', राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल लेख्छन्- 'विविधता प्रकृतिको उपहार हो । राज्यले यसलाई नष्ट गर्न सक्दैन, न पूर्ण नियन्त्रण नै गर्न सक्छ । इँटा बनाएजस्तो गरी मानिस र समाजलाई समरूपी बनाउन खोज्ने सिद्धान्त र त्यसमा खडा भएका राज्य व्यवस्थाहरू आफैं ढलेर गएका छन् । एउटाको समाप्तिमा मात्र अर्काेले ठाउँ पाउँछ भन्ने जरुरी छैन । एउटालाई मान्यता दिँदा अर्काेलाई निषेध गर्नैपर्छ भन्ने पनि जरुरी छैन । विविध चाहना र मान्यता एकैसाथ सहअस्तित्वमा रहन सक्छन् ।'
राज्यको शक्ति एक ठाउँमा सीमित हुनुपर्छ र त्यो एउटा दलले मात्र उपयोग गर्नुपर्छ भन्ने मान्यता विश्वबाट पतन भइसकेको छ । जनतामा निहित सार्वभौमसत्ता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता, बहुलवाद, बहुदलीय प्रतिस्पर्धा, मौलिक अधिकार, बालिग मताधिकारमा आधारित निर्वाचन लगायतका सवाल आधुनिक लोकतन्त्रको सर्वस्वीकृत मूल्य र मान्यता हुन् । यिनलाई निषेध गर्ने या साँघुरो पार्ने अवधारणा कुनै पनि लोकतान्त्रिक हुन सक्दैन ।
बहुजाति, बहुधार्मिक, बहुभाषिक समाजमा अन्तरसहिष्णुता र सम्पदाको रक्षाका निम्ति 'बहुलवाद'विनाको संविधान कोर्ने जमर्काे गर्नु मुलुकको हितमा छैन । पृथक दृष्टिकोणलाई सम्मान र मर्यादा नदिइकन कुनै पनि शक्ति अघि बढ्नसक्ने सम्भावना छैन । बहुलवादले मात्र पृथक दृष्टिकोण र एकताका तन्तुहरूलाई जीवित राख्न सक्छ । आफूबाहेक अरूको विचार र अस्तित्वलाई सम्मान नगर्ने हो भने मुलुकको एकताको तन्तु पनि समाप्त हुनसक्छ । माओवादीले समाजका विविध रूप, बहुदलीय प्रतिस्पर्धा, बहुल विचारलाई स्वीकार गर्ने हो भने बहुलवादी शब्दप्रति घृणा मेटाउनुपर्छ । बहुलवादी सामाजिक र राजनीतिक चरित्रको उपेक्षाले माओवादीप्रति शंसयमात्रै पैदा गर्छ ।
बहुलवादी शब्दको विरोध गर्नुको औचित्य पनि माओवादीले खुलाएका छैनन्, केवल शब्दको मात्रै विरोध गरी अमूर्त तर्क दिएका छन्, यसले 'अनिश्चय र वितण्डावादी' वातावरण सिर्जना गर्छ । पोलपोट, माओ, किमइलसुङ, स्टालिन, हिटलर, फिडेल क्यास्त्रोसम्मले बहुलवाद विरोधी अधियनाकवादी दर्शन प्रयोग गरेका थिए । यतिबेला बहुलवादको विरोध गर्नुमा त्यही पथ अपनाउन खोजेको हो कि भनी माओवादीइतर शक्तिहरू तर्सिएका हुन् । माओवादीले बाह्रबुँदे समझदारीदेखि यताका अनेक सहमतिहरूमा 'पूर्ण लोकतन्त्र'को पक्षमा आफूलाई उभ्याउँदै आए पनि बहुलवादबेगर पूर्ण लोकतन्त्र प्रत्याभूत हुन सक्दैन । त्यसो हो भने बहुलवादी शब्दप्रति किन घृणा ? जनताको मतमा निर्मित संविधानसभामै टेकेर अतिवादी सर्वसत्तावाद या अधिनायकवाद जन्माउन माओवादीले खोजेको हुनसक्छ, जसले चौतर्फी विरोधको माग गर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out