पारसलाई पोखरामा पक्राउ गर्दाका नाटकीय छ घण्टा

केपी ढुंगाना/मनोज अधिकारी, मंसिर २९- पूर्व युवराज पारस शाहलाई उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाईं बंगलादेशी नागरिक रुवेल चौधरीमाथि गोली चलाएको अभियोगमा पक्राउ गर्न पोखराको फूलबारी होटलमा पुगेको प्रहरीले उनलाई होटलबाट निकाल्न झण्डै छ घण्टा प्रयास गर्नु पर्‍यो। पीडितको जाहेरीविनै प्रहरीले सार्वजनिक स्थानमा गोली चलाएर त्रास फैलाएको अभियोग लगाएर उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो। पोखरामा पक्राउ गरेपछि उनलाई भरतपुर प्रहरी तालीम केन्द्रमा लगिएको छ। सामान्यतया पीडितले उजुरी दिनुपर्ने भए पनि यसमा प्रहरीले आफैंले तयार पारेको प्रतिवेदनलाई पक्राउको आधार बनाएको छ।
सार्वजनिक स्थानमा त्रास फैलाएर कानुनको उलंघन गरेको अभियोग लगाएर मंगलवार चितवन प्रहरीले उनी विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। बिहान ११ वजे पूर्जी आएपछि पोखराको फूलवारी होटलमा रहेका पारसलाई पोखरा प्रहरीले नियन्त्रणमा लिएर हेलिकप्टरबाट चितवन पठाएको थियो। तालीम केन्द्रको अतिथि कक्षमा राखिएका पारससँग जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले मंगलबारै घटनाका सम्बन्धमा बयान लिएका थिए।
मंगलबार राति अबेर गृहमन्त्रालयद्वारा डिआइजी गंगा पाण्डेको संयोजकत्वमा गठित अनुसन्धान समितिले समेत पारससँग बयान लिएको थियो। दुबै बयानमा उनका कानुनी परामर्शदाता नारायण श्रेष्ठ शाह संगै थिए। स्रोतका अनुसार प्रहरीका प्रश्नको जवाफ पारसभन्दा पहिल्यै श्रेष्ठले दिने गरेका थिए। 'पारसले बोल्दाबोल्दै रोकेर श्रेष्ठ आफैं बोल्थे अनि पारस उनले भनेको ठीक हो भन्थे।'
एक प्रहरी अधिकारीका अनुसार, पारसले बयानमा आफूले बन्दुक नपड्काएको दावी गर्दै सामान्य विवादलाई राजनीतिकरण गरिएको बताएका छन्। शाहलाई उदृत गर्दै स्रोतले भन्यो, 'बाहिर जसरी प्रचार गरियो घटना त्यस्तो भएको छैन।'
पारसले पटक-पटक रुवेलको नाम लिएपछि अनुसन्धानमा खटिएको प्रहरीले रुबेलसँग समेत घटनाबारे बयान लिने तयारी गरेको स्रोतले बतायो। स्रोतका अनुसार बुधबार रुवेलसँग बयान लिइने तयारी गरिएको छ।
शनिवार बेलुका चितवनमा रहेको टाइगरटप्स रिर्सोटमा पारस र चौधरीबीच विवादकाक्रममा पासरले हवाइफायर गरेको घटना सार्वजनिक भएपछि उनी विवादमा आएका हुन्। घटना सार्वजनिक भएपछि पारसमाथि कार्वाही गर्न सरकारलाई दवाव बढेपछि गृहमन्त्रालयले सोमबार डिआइजी पाण्डेको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो।
स्रोतका अनुसार प्रारम्भमा अनुसन्धान समितिको प्रतिवेदनका आधारमा पारसमाथि कार्वाही गर्ने तयारी गृहले गरे पनि सोमवार बेलुका प्रधानमन्त्री माधवकुमार नेपालले तत्काल कार्वाही गर्न निर्देशन दिएपछि मंगलवार बिहानै उनलाई पक्राउ गर्ने तयारी गरिएको थियो। स्रोतका अनुसार शाह भाग्नसक्ने आशंका गर्दै पक्राउको तयारीलाई अत्यन्त गोप्य राखिएको थियो। पोखरामा रहेका शाह हवाईमार्गबाट काठमाडौं आएर विदेश भाग्न सक्ने आशंका गर्दै गृहले अध्यागमनलाई समेत निगरानी गर्न निर्देशन दिएको थियो। स्रोतका अनुसार पारस पोखराबाट काठमाडौं आए पक्राउ गर्न काठमाडौं परिसरलाई समेत पक्राउ पुर्जीको परिपत्र आएको थियो।

शाहलाई पक्राउ गर्ने तयारीबारे अनुसन्धान समिति समेत अनभिज्ञ थियो। समितिका संयोजक पाण्डे चितवन पुग्नु अगाडि नै पारस विरुद्ध पुर्जी जारी गरी पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनले शाहविरुद्ध पक्राउ पुर्जी जारी गर्दै पोखरा र काठमाडौंमा पठाएको थियो। अञ्चल प्रहरी कार्यालय गन्डकीका प्रमुख एसएसपी केशव अधिकारी पुर्जी बोकेर फूलवारी होटल पुगेका थिए। सवा १२ वजे होटल छिरेका अधिकारीले सबा पाँच वजेमात्र पारसलाई होटेलबाट हेलिकोप्टरमा राखेर चितवन पुर्‍याएका थिए।

होटलमा पारसको आलटाल शाह सोमबार सहयोगीसहित पोखरा पुगेका थिए। होटल स्रोतका अनुसार, उनका सहयोगीले उनी एक साता होटलमा बस्ने जानकारी गराएका थिए। गृहमन्त्रालयबाट उनलाई मंगलबारै पक्राउ गर्ने निर्देशन आएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय चितवनलाई पक्राउ पुर्जी जारी गर्न र जिल्ला प्रहरी कार्यालय कास्कीलाई पारसलाई निगरानीमा राख्न निर्देशन दिएको थियो। प्रहरी प्रधान कार्यालयबाट निर्देशन पाए लगत्तै कास्की प्रहरी प्रमुख पुष्कर कार्की पारस बसेको फूलवारी होटल पुगेका थिए। उनी होटलमा आफ्ना सहयोगी अनिल अधिकारी र सुनिल कटुवालका साथमा थिए।

करिब साढे ११ बजे होटल पुगेका एसपी कार्कीले पारसका सहयोगी मार्फत् जानकारी पठाएपछि उनी बसेको कोठा नम्बर ३१२२ मा भेटेर पक्राउ गर्ने आदेश आएको जानकारी गराएका थिए। त्यो बेला पारस फ्रेस नै देखिएका थिए। स्रोतका अनुसार प्रारम्भमा पारसले आफू कतै नजाने भन्दै जे प्रकृया हो सो होटलबाटै पूरा गर्ने बताएका थिए।
'मैले आउनुको कारण बताएँ,' एसपी कार्कीले भने, 'उहाँले केही डकुमेन्ट छ भनेर सोध्नुभयो। मैले केही सार्वजनिक अपराधको केस छ भनेर सुनाए।' लगत्तै शाहले मेरो कारणले तिमीहरूलाई केही अप्ठेरो पर्दैन भन्ने जवाफ दिएका थिए।

स्रोतका अनुसार, एसएसपी अधिकारी आफ्ना सहयोगी प्रहरी निरीक्षक सुनील मल्लका साथ होटल पुगेका थिए। प्रारम्भमा अधिकारीले पारसका सहयोगी कटुवालसँग पारस विरुद्ध पक्राउ पूर्जी जारी भएकाले प्रहरीसँग जान आग्रह गरेका थिए। पारस विरुद्ध जारी पूर्जीमा 'सार्वजनिक अपराध ऐन उल्लंघन गरेकाले अनुसन्धानका लागि पक्राउ गरिने' उल्लेख थियो।
'पुर्जी दिएपछि उनी केही हड्बडाएका देखिन्थे, बारम्बार मोवाइल चलाइरहेका थिए। उनी आफ्नो कोठाभित्र बसेका थिए भने पक्राउ गर्न गएको प्रहरी उनको कोठा बाहिरको प्रतिक्षा कक्षमा बसेका थिए। स्रोतका अनुसार केही समयमा पारसले 'यस विषयमा म माथि कुरा गर्छु, भन्ने सन्देश पठाएका थिए। प्रहरीले शाहका सहयोगीलाई सहज रुपमा जानका लागि मनाउन आग्रह गर्दै आफूहरू रित्तो हात नफर्कने सन्देश पठाएका थिए। स्रोतले प्रहरीको भनाइ उदृत गर्दै भन्यो, 'सहज रुपमा प्रहरीसँग जाँदा नै उहाँका लागि राम्रो हुन्छ, नत्र हामी बल प्रयोग गरेर पनि लान्छौं।'
प्रहरीले शाहलाई गाडी तयार गरिसकेको जानकारीदिंदै सहज रुपमा बाहिर निस्कन आग्रह गरे पनि उनी कोठाभित्रै आलटाल गरेर बसेका थिए। स्रोतले भन्यो, 'उनी निक्कै नर्भस देखिएका थिए, बारम्बार वासरुमतर्फ ओहोरदोहोर गरेका थिए।'
अपरान्ह २ बजे एसएसपी अधिकारीले सहयोगी मार्फत् चितवन जान गाडी तयार भएको जानकारी पठाएपछि पारसका सहयोगीले अस्वस्थ भएकाले चिकित्सक र कानुनी सल्लाहका लागि वकिल बोलाएकाले केही समय पर्खन आग्रह गरेका थिए। त्यसपछि प्रहरी रोकिएको थियो।

दुई घण्टा बितिसक्दा पनि शाह कोठाबाट बाहिर निस्कन नचाहेपछि प्रहरीले 'जानैपर्‍यो, अबेला भयो, गाडी आएको छ' भनेपछि बल्ल उनलेले आफु मुटु रोगी भएकाले गाडीमा जान नसक्ने बताएका थिए। जानै पर्ने हो भने हेलिकोप्टर चाहिने वा होटलमै बसेर सबै कुरा गर्न सकिने आग्रह गरेका थिए। जवाफमा प्रहरीले घटनाबारे चितवनले अनुसन्धान गर्ने भएकाले जानैपर्ने बताएपछि शाहले हेलिकोप्टरको माग गरेका थिए।
पारसबाट नयाँ माग आएपछि एसएसपी अधिकारीले प्रधान कार्यालयमा फोन गरेर यसबारे जानकारी गराएका थिए। प्रधान कार्यालयले प्रहरीले हेलिकोप्टरको व्यवस्था गर्न नसक्ने तर, पारस आफैंले व्यवस्था गरे हेलिकोप्टमै लैजान निर्देशन दिएपछि प्रहरीले सहयोगी मार्फत शाहलाई यो खबर दिएको थियो।
उनले आफ्नै खर्चमा होटल परिसरमै फिस्टेल एयरको हेलिकोप्टर मगाएपछि एसएसपी अधिकारी उनलाई पौने पाँच बजे हेलिकोप्टरमा लिएर उडेका थिए। होटलमा प्रहरी पुगेपछि करिब चार घण्टा बिताएका शाहले हेलिकोप्टर चढ्न जाने बेलामा 'तिमीहरूले ड्युटी गरेका हौ, यसबाट तिमीहरूलाई कुनै अप्ठेरो पर्दैन' भन्दै हेलिकोप्टर चढेका थिए। पहिलो हेलिकप्टरको इन्धन सकिएपछि पुनः अर्को हेलिकप्टर मगाएर पोखराविमानस्थलवाट उडेको प्रहरी टोली पाँच बजेर आठ मिनेटमा भरतपुर पुगेको थियो।

तालिम केन्द्रमा पारसको गुनासो पोखराबाट उडेको हेलिकोप्टर सुरुमा भरतपुर विमानस्थलमा अवतरण गर्ने योजना थियो। शाहलाई पक्राउ गरेर ल्याउन लागेको थाहा पाएका सर्वसाधारणको भीड विमानस्थल वरिपरि लागेपछि भरतपुर प्रहरी तालिम केन्द्र भित्रै अवतरण गराइएको थियो।
हेलिकोप्टरबाट ओर्लेपछि उनलाई सीधै पाहुना कोठामा लगिएको थियो। त्यहाँ पुग्नासाथ उनले कोठा वरिपरि हेरिसकेपछि भनेका थिए, 'कोठा फोहोर भयो। म यहाँ बस्न सक्दिन।' शाहले गुनासो गरे पनि चितवन प्रहरी र अनुसन्धान टोलीले त्यही कोठामा पारसको बयान लिएको थियो। स्रोतका अनुसार, पारसले पटक-पटक यो कोठामा बस्न र सुत्न नसक्ने गुनासो गरेका थिए।
शाहले निरन्तर गुनासो गरेपछि प्रहरीले अर्को विकल्प खोजी गर्दै त्यहाँबाट बाहिर निकालेको छ। त्यसपछि कहाँ लगियो, खुल्न सकेको छैन। तालीम केन्द्र प्रमुख एसपी बलराम पौडेलले भने, 'अनुसन्धानका लागि उहाँलाई केन्द्रमा राखिएको छ, केन्द्रको भान्छामा जे पाक्छ हामी उहाँलाई त्यही दिन्छौं। कुनै विशेष व्यवस्था गरेको छैन।'
सेनाले पनि अनुसन्धान सुरु गर्‍यो
शाह प्रकरणबारे सेनाले समेत अनुसन्धान सुरु गरेको छ। राष्ट्रिय निकुञ्ज ऐन अर्न्तगत निकुञ्जभित्र हतियार सहित प्रवेश गर्नु गैर कानुनी भए पनि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्सभित्र पारसले हतियार बोकेर गएका थिए। मन्त्रीपरिषद्ले पूर्व राजपरिवारको सदस्यको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिए पनि शाहको सुरक्षामा अझै नेपाली सेना खटिंदै आएका छन्। स्रोतका अनुसार सैनिक मुख्यालयले सोमवार नै पारसको सुरक्षामा खटिएका सात जनालाई अनुसन्धानका लागि केन्द्रमा झिकाएको छ।
सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले चितवन घटनाबारे सेनाले अनुसन्धान सुरु गरेको बताए। क्षेत्रीले नागरिकसँग भने' निकुञ्जभित्र हतियार कसरी भित्रियो भन्ने अनुसन्धानका लागि कोर्ट अफ इन्क्वायरी गठन गरिसकेका छौं।' क्षेत्रीले अनुसन्धानका लागी सात जना सैनिकलाई केन्द्रमा झिकाएर सोमवारबाटै अनुसन्धानको घेरामा राखेको बताए।
शाह पक्राउ परेलगत्तै गृहमन्त्रालयले उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ। गृह प्रवक्ता जयमुकुन्द खनालले आपराधिक अभियोग लागेका शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिँदै भने 'उनको सुरक्षामा गृह मन्त्रालयको कुनै सुरक्षा निकाय खटिएका छैन।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out