दिल्लीको झगडामा बिथोलिएको बैठक

"भारतप्रति नरम, कडा वा अति कडा कस्तो नीति लिने भन्नेमा एकमत नभएकाले पालुङटार प्लेनम निष्कर्षहीन बन्यो ।" - सुधीर शर्मा
 भारतीय प्राध्यापक एसडी मुनीको नामलाई नेपाली राजनीतिमा निकै विवादास्पद रूपमा लिने गरिन्छ । उनी नै सबभन्दा उच्च तहका भारतीय हुन् जसले आफ्नो संस्थापनको सहमतिमा २०५८ सालमै माओवादी नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई भेटेका थिए । त्यसयता उनी निरन्तर माओवादीको सम्पर्कमा रहे र उनीहरूलाई १२ बुँदे समझदारीमार्फत् शान्तिपूर्ण मूलधारमा समाहित हुन प्रेरित पनि गरे । अघिल्लो साता काठमाडौंमा एउटा सेमिनारमा भाग लिएर र्फकनुअघि मुनीले थुप्रै नेपाली नेतालाई भेटे ।
त्यस क्रममा माओवादी अध्यक्ष दाहाललाई सोधे, 'तपाईंहरूले भारतलाई प्रधानशत्रु घोषणा गर्नुभएकै हो ?' पालुङटारबाट भर्खरै फर्केका दाहालले भने, 'हामीले भारतलाई प्रधानशत्रु घोषणा गरेका छैनौं ।'
माओवादीले भारतलाई 'मुख्य शत्रु' मान्ने औपचारिक निर्णय वास्तवमै गरेका छैनन् तर पालुङटार प्लेनममा त्यसैबारे औधी छलफलचाहिँ भएकै हो । वास्तवमा त्यसै मामिलामा चर्को मत विभाजन भएपछि माओवादी नेताहरू कुनै रणनीतिक निर्णय नगरीकनै राजधानी फर्केका हुन् ।
माओवादीमा भारत एउटा यस्तो मुद्दा बन्न पुगेको छ जसको वरिपरि उनीहरूको आन्तरिक विवाद घुम्न थालेको छ । शान्ति र संविधानको भविष्य के हुन्छ अथवा माओवादीकै भाषामा 'जनविद्रोह' हुन्छ वा हुँदैन भन्नेजस्ता बहसलाई समेत उनीहरूले भारतकै भूमिकासँग गाँसेर हेर्न थालेका छन् किनभने अध्यक्ष दाहालको बुझाइमा गणतन्त्र आएपछि नारायणहिटीको ठाउँ नयाँदिल्लीले लिएको छ । त्यसैले 'वार्ता पनि दिल्लीसँगै गर्ने, संघर्ष पनि दिल्लीसँगै' भन्ने घोषणा उनले गरेका छन् ।
प्राध्यापक मुनीले आइतबार कान्तिपुरमा प्रकाशित अन्तरवार्तामा नेपाली राजनीति पाँचवटा शक्तिबाट प्रभावित हुनेगरेको उल्लेख गरेका थिए । माओवादी, कांग्रेस, एमाले र मधेसवादी दलपछि उनले पाँचौं शक्ति भारतलाई मानेका थिए । माओवादीले पनि मुनीले भनेझैं नेपालको आन्तरिक राजनीतिमा भारतको भूमिकालाई प्रधान मान्न थालेको छ किनभने प्रधानशत्रु मान्न खोज्नु उसको प्रधान भूमिकालाई अनुमोदन गरिदिनु हो । घरेलु मामिलामा विदेशीलाई तानेर सुरु गरिएको बहसले रुमल्लिएको राजनीतिलाई ठीक ठाउँमा ल्याउन सघाउँछ कि नेपालको सार्वभौमिकतालाई थप खुम्च्याउँछ भन्ने दृष्टिबाट पनि यसलाई हेरिनुपर्छ । 
माओवादीले स्वदेशी मामिलामा भारतलाई तान्नुपछाडिको एउटा कारकचाहिँ कसै न कसैलाई प्रधानशत्रु किटान गनर्ैैपर्ने कम्युनिस्टहरूको शास्त्रीय शैलीले गर्दा पनि हो । व्यावहारिक रूपमा त यसको आवश्यकतै छैन । भारतकै कुरा गर्ने हो, उसैले माओवादीलाई शत्रुजस्तो व्यवहार गरिरहेको छ भने 'तँ हाम्रो मुख्य शत्रु भइस्' भन्ने आसयको सार्वजनिक घोषणा गरिरहन जरुरी छैन तर कोसँग प्रधान अन्तरविरोध छ भन्ने निक्र्योल गरेर तदनुरूप आफ्नो दीर्घकालीन रणनीति र तत्कालीन कार्यनीति बनाई सामरिक सूत्र खोज्ने कम्युनिस्ट चलनलाई माओवादीले परित्याग गर्न सकिरहेका छैनन् ।
अनेक सैद्धान्तिक फूलबुट्टा भरेर प्रस्तुत भए पनि माओवादी नेतात्रय दाहाल, भट्टराई र वैद्य मुख्यतः भारतलाई प्रधानशत्रु मान्ने कि अर्धशत्रु अथवा शत्रु नै नमान्ने भन्ने बाह्य विवादकै परिक्रमा गरिरहेका छन् । भट्टराई तत्काल भारतलाई प्रहार गर्ने पक्षमा देखिन्नन्, बरु उसलाई नचिढ्याई शान्ति र संविधानको कार्यसूची टुंग्याउनुपर्ने अडानमा छन् । वैद्य आफू भारतीय जेलमा छँदा २०६२ असोजको चुनबाङ बैठकले लिएको लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको कार्यदिशा नै गलत रहेकाले जतिसक्दो चाँडो यो प्रक्रियाबाट बाहिरिएर युद्धमा र्फकनुपर्ने मान्यता राख्छन् । उनले देशभक्त शक्तिहरूलाई संयुक्त मोर्चामा संगठित गरी भारतविरुद्ध 'राष्ट्रिय युद्ध' थाल्नुपर्ने अतिवादी सोच लिएका छन् ।
दाहालले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउन अन्तिम बिन्दुसम्म कोसिस गर्ने तर त्यो हासिल नभए जनविद्रोहको वैकल्पिक बाटोमा जाने धारणा राखेका छन् । त्यस्तो अवस्थामा भारतलक्षित 'राष्ट्रिय युद्ध' गर्नुपर्ने उनको मत वैद्यसँगै मिल्थ्यो तर पालुङटारमा आफ्नो दस्तावेजबाट 'राष्ट्रिय युद्ध' को प्रसंग हटाएर उनले 'राष्ट्रिय स्वाधीनताको संघर्ष' मात्र उल्लेख गरेर थोरै लचिलोपन देखाएका छन् ।
भारतप्रति नरम, कडा र अति कडा कस्तो नीति लिने भन्ने सवालमा परस्परविरोधी मत आएकाले पालुङटार प्लेनमले अब कसरी अगाडि बढ्ने भन्ने कार्यदिशासमेत पारित गर्न सकेन । प्लेनमलाई चुनावी प्रक्रियामा लगेर पार्टीमा तीनवटा धारलाई संस्थागत गर्नु र विभाजनको बीउ रोप्नुभन्दा संविधानसभाको समयसीमा (जेठ १४) सम्मका लागि संक्रमणकालीन कार्यदिशा बनाउने निचोडमा माओवादी नेतृत्व पुगेको देखिन्छ । त्यो कार्यदिशा पनि पालुङटारबाट नभई बिहीबारबाट हुने केन्द्रीय समिति बैठकबाट पारित गर्न खोजिएको छ । त्यसपछि पनि पार्टीभित्रको 'भारत विवाद' भने नटुंगिने पक्कापक्की छ ।
भारतको बृहत्तर वैदेशिक नीतिको प्राथमिकतामा नेपाल धेरै माथि पर्दैन तर खुला सिमाना रहेको रणनीतिक महत्त्वको छिमेकी मुलुकका घटनाक्रमप्रति दिल्लीको आँखा सदा चनाखो देखिन्छ । अझ यहाँको सबभन्दा ठूलो पार्टीको गतिविधि त उनीहरूको 'राडार' बाहिर रहने कुरै भएन । नेपालका पूर्वविद्रोहीलाई कसरी हेर्ने भन्ने मामिलामा भारतीय संस्थापनमा पनि एकमत छैन माओवादीमा भारत नीति तय गर्ने सिलसिलामा फरकफरक मत प्रकट भएझैं ।
अहिले नयाँदिल्लीमा माओवादीलाई 'तह लगाउनुपर्ने' मत हावी छ । भारतका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायणन जसले आईबी (इन्टेलिजेन्स ब्युरो) प्रमुख छँदा त्यहाँका माओवादीविरुद्ध अनेक अपरेसन चलाएका थिए र कम्युनिस्टविरोधी छवि बनाएका थिए, उनी १२ बुँदे समझदारी नै गलत प्रक्रियाको प्रारम्भ हो भन्ने मान्यताका पक्षधर हुन् । १२ बुँदेका पक्षमा भारतीय संस्थापनमा 'लबिइङ' गर्ने तत्कालीन विदेश सचिव श्यामशरणले अवकाश पाएपछि दिल्लीबाट नेपाल हेर्ने अनौपचारिक जिम्मा तिनै नारायणनले पाएका थिए अनि उनको आज्ञाकारी दूतको भूमिकामा राकेश सूद काठमाडौं आए । सूद र नारायणनको जोडीले नेपालको शान्ति प्रक्रियालाई धरापतिर हुत्याउन निर्णायक भूमिका खेलेको दिल्लीका जानकारहरू सुनाउने गर्छन् ।
नारायणनलाई केही महिनाअघि सुरक्षा सल्लाहकारबाट हटाएर पश्चिम बंगाल राज्यको गभर्नर बनाइएको छ तर दिल्लीको माओवादी नीति धेरथोर उनैले तय गरेको अनुदारवादी लाइनमै चलिरहेको छ । काठमाडौं र दिल्ली दुवैतिर अत्यन्त अलोकपि्रय भइसकेका सूदलाई निकट भविष्यमै स्वदेश फिर्ता बोलाइयो र चर्चामा आएझैं नेपाल बुझेका, राजनीतिक सुझबुझ भएका एक वरिष्ठ कूटनीतिज्ञलाई राजदूत बनाएर पठाइयो भने पनि सायद भारतको जारी नीतिमा तत्कालै ठूलो फेरबदल आउनेछैन ।
भारतको नीतिका कारण मात्र होइन, माओवादीकै कतिपय व्यवहारले पनि उनीहरूलाई दिल्लीबाट झन्झन् टाढा पुर्‍याइरहेको छ । खासगरी यसबीचमा उनीहरूले चलाएको भारतलक्षित राष्ट्रिय स्वाधीनताको आन्दोलन जसले कुनै परिणाम दिएन त्यसले माओवादीको पहिचान थप भारतविरोधी बनाएको छ । माओवादीहरू चीनसँग ढल्केर भारतविरुद्ध खनिएको धारणा दिल्लीमा व्याप्त हुँदै गएको छ । माओवादी नेता कृष्णबहादुर महराले कुनै चिनियाँसँग ५० करोड रुपैयाँ मागेको आसयको लैनचौरबाट सार्वजनिक अडियो टेप, सहीगलत जे भए पनि त्यसले माओवादीको छविलाई चीनमुखी बनाइदिएको छ । चीनकै सीमामा पुगेका भारतीय राजदूत सूदमाथि माओवादीहरूले गरेको चिनियाँ जुत्ता प्रहार यस्तै अर्को घुम्तीको घटना बन्न पुगेको छ ।
पछिल्लो समयमा भारतका राजदूत सूदले नेपालका माओवादीको भारतीय माओवादी र लस्कर-ए तोइबाजस्तो उग्रवादी समूहसँग सम्पर्क रहेको आरोप लगाएपछि त माओवादीलाई पर हुत्याएर होइन, नजिक राखेर 'इन्गेज' गर्नुपर्ने तर्क गर्नेहरू दिल्लीमा अल्पमतमा परेका छन् । त्यसैले माओवादीप्रति भारतीय धारणा अरू अनुदार बन्दै छ र ठीक यही समय माओवादी अध्यक्ष दाहाल दिल्ली जाने तम्तयारी गर्दै छन् ।
भारतसँग वार्ता र संघर्षको दुईधारे नीति लिएका दाहालले केहीअघि संघाई एक्स्पोबाट फर्केलगत्तै भारतसँग सम्बन्ध सुधार्न चिनियाँहरूले सुझाव दिएको खुलासा गरेका थिए । उनले चीन, भारत र नेपालबीच रणनीतिक सम्बन्ध हुनुपर्ने प्रस्तावसमेत राखेका थिए तर राजदूत सूदले भारतीय माओवादी र लस्करसँग सम्बन्ध रहेको आरोप लगाउँदै नेपालको परराष्ट्र मन्त्रालयमा पत्राचार गरेर दाहालको प्रस्तावलाई ओझेलमा पार्ने प्रयास गरे । भारतको अनुदारवादी धारले माओवादीलाई एक इन्च पनि ठाउँ दिन नहुने कडा मान्यता अँगालेको यसबाट पनि देखिन्छ ।
दाहालचाहिँ भारतीय पक्षसँग 'निर्णायक वार्ता' गरेर आफ्नो र पार्टीको भावी बाटो तय गर्ने प्रयासमा देखिन्छन् । सम्भवतः भारतीयसँगको कुराकानीपश्चात् मात्र उनको दिल्ली दृष्टिकोण वा व्यवहार प्रस्ट हुनेछ तर भारतसँग कसरी र कस्तो समन्वय राख्ने भन्नेमा चाहिँ उनी पनि चुकिरहेका छन् । नेपालका अन्य नेताझैं दाहालले पनि गुप्तचर एजेन्सी र कूटनीतिक कर्मचारीहरूलाई मात्र सम्पर्क माध्यम बनाइरहेका छन् । भारतका राजनीतिक दल एवं राजनीतिक नेतृत्वस्तरमा स्थिर पहुँच राख्न नसक्नु नेपाली नेताहरूको ठूलै कमजोरी हो । दाहाल लगायत सबै प्रमुख नेताहरूले भारततर्फ उच्च राजनीतिक सम्बन्ध विस्तारमा जोड दिए मात्र द्विपक्षीय सम्बन्ध भरपर्दो र दिगो हुन सक्छ ।
निश्चय पनि नेपालमा भारतको राजनीतिक पहुँच अन्य सबै अन्तर्राष्ट्रिय शक्तिभन्दा बढी छ तर यसको अर्थ के निर्णायक उही हो त ? वास्तवमा हाम्रै नेताहरूले खेल्ने ठाउँ दिएकाले मात्र विदेशीहरूको भूमिका बढेको हो । आखिर सार्वभौमिकता भनेकै जति खुम्च्यायो त्यति खुम्चने, अनि जति फुकाउने आँट गर्‍यो, त्यति फैलने गर्छ । नेताहरूले यो कूनीतिक सूत्रलाई आत्मसात् गर्नुपर्छ अझ खासगरी भारत विवादमा अल्झिरहेका माओवादी नेताहरूले ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out