ओशो : सेक्स होइन, जीवनगुरु

३ - 'म तिमीलाई एउटा प्रश्न सोध्नेछु, सही उत्तर दिन सक्यौ भने भगवानसँग भेट गराइदिउँला,' मन्द-मन्द मुस्कानसहित प्रेम हास्याले चुनौतीपूर्ण नजर मतिर फ्याँकिन्। ती दिनहरूमा ओशो 'भगवान रजनीश' का नामले परिचित थिए र प्रेम हास्या उनकी प्रमुख सहायक थिइन्। युरोपेली मुलकी हास्या 'गडफादर' नामक कालजयी अंग्रेजी सिनेमा निर्माता रोडीकी पुरानी पत्नी पनि थिइन्। मचाहिँ २३ वर्षे अल्लारे थिएँ र लेखेवापत एक पैसा पनि नपाइने 'आदि/इत्यादि' स्तम्भमा आफ्नो नाम छापिएको देखेर त्यसैत्यसै मख्ख पर्दै हिँड्थेँ।
प्रेम हास्यालाई भेटेको चारदिन अघिमात्र रजनीश (आजभोलि 'ओशो' का नामले परिचित) लाई प्रथमपटक देखेको थिएँ। सन् १९८६ भर्खर सुरु भएको थियो, अमेरिका छाड्न बाध्य बनाइएपछि रजनीश आफ्ना सन्यासीहरूको दलबलसहित काठमाडौं आएका थिए। सहरभर चर्चा थियो, 'सोल्टी होटलमा तरुनीहरूले घेरिएर बस्ने, आफूलाई भगवान भन्ने, सेक्सको कुरा खुलेर गर्ने गुरु आएछ। विनोद खन्ना त बलिउडको स्टारडम च्वाट्टै छाडेर त्यो गुरुको बगैंचे हुन पुग्यो रे...।' नयाँसडक, पिपलबोटमा यस्ता चर्चा सुनेदेखि मेरो मन पनि चञ्चल र आतुर भएको थियो, रजनीशको दर्शन गर्न। अझ भनौं रजनीश आश्रमका अप्सराहरूको दर्शन गर्न।
एक दिन, मेरो इच्छा र आतुरता पुर्ति गर्ने ढोका खुल्यो। मैले स्तम्भ लेख्ने 'साप्ताहिक मञ्च' को नाममा भगवान रजनीशका भक्तहरूले पठाएको निमन्त्रणापत्र बोकेर म डराईडराई सोल्टीको गेटभित्र पसेँ। मलाई रजनीश होइन, सोल्टी होटलको भव्यतासँग संकोच र डर लागेको थियो। वास्तवमा त्यतिन्जेल मैले सोल्टीको नाममात्र सुनेको थिएँ। त्यसअघिसम्म म कहिल्यै पनि फुटपाथे चियापसलभन्दा माथि गएको थिइनँ। ठूलो, भव्य हल थियो। हलभित्र राता लुगा लगाएका विदेशी सुन्दरी टनाटन थिए। हुन त आधाजसो पुरुष पनि थिए तर मैले तिनलाई देखिनँ। मानिसका आँखाले त्यही मात्र देख्दो रहेछ जसको चाहना उसको मनभित्र हुन्छ। साँच्चै भन्ने हो भने मानिस आफ्नो आँखाले होइन मनले संसार देख्छ।
हुन त त्यस विशाल कक्षमा धेरै ज्ञानी/ध्यानी पुरुष पनि थिए तर मैले त्यस दिन सुरुमा केवल सुन्दरीहरूको मस्त जवानी देखेँ, मस्त हाँसो सुनेँ। यत्तिकैमा अचानक पुरा हल सुनसान भयोे। भगवान रजनीश हलमा प्रवेश गरेका रहेछन्। मेरा आँखा भने उनको व्यक्तित्वको भव्यतामा भन्दा रजनीशले लगाएको टोपीमा जडिएका हिरामा केन्द्रित भए, उनलाई घेरेर आउने सेक्सी सन्यासिनका उदात्त छातीमा अडिए। मेरो ध्यान रजनीशको केन्द्रमा होइन, परिधिमा नै अड्कियो। यत्तिका वर्षपछि पनि म जीवनको केन्द्रमा होइन परिधिमा, त्यो पनि कुनै तालमा हैन, बेताल बेसुर नै नाचिरहेको छु। म एउटा यस्तो समाजको अंश हुँ, जुन समाजको चेतनास्तर विषयको केन्द्रमा कहिल्यै पुग्न चाहँदैन, परिधिमा नै तालविहीन बेसुर रूपले कराएर हल्लिएर दिन, महिना, वर्ष र दसकौं बिताउँछ। हाम्रो चेतनाको मोटामोटी स्तर भनेको 'मैले सबथोक जानेको छु, देश खत्तम भयो, यो मन्त्रिमण्डल गएपछि रामराज्य आउँछ र यो व्यवस्था नै गएपछि चाहिँ स्वर्गभन्दा पनि अलि माथि रहेको बैकुण्ठलोकमा पुग्छौं साथीहरू' भनेर मुट्ठी बजार्दै भन्ने नै हो।
खैर, त्यस दिन रजनीश बोल्न थालेपछि चाहिँ मैले केही क्षणका निम्ति परिधिलाई बिर्सिएँ, रजनीशको टोपीका हिरालाई बिर्सिएँ, उनलाई घेरेर बसेका सुन्दरीका उन्मुक्त गौरीशंकरहरू पनि बिर्सिएँ। रजनीशको व्यक्तित्व र वाणीको केन्द्रीय ओजका अगाडि परिधिका सबथोक फिक्का लाग्दो रहेछ, 'फोकस आउट' तस्बिरजस्तै। रजनीशको प्रवचनपछि प्रश्नोत्तरको चरण सुरु भयो। हलमा अधिकांश भक्तहरू नै थिए। उनीहरूले प्रत्येकपटक प्रश्न गर्दा रजनीशलाई 'भगवान' भनेर सम्बोधन गरेको देख्दा मलाई आश्चर्य र क्रोध एकैसाथ लाग्यो। आफूजस्तै हाडछालाले बनेको मान्छे पनि कहीँ भगवान हुन्छ र? कत्रो गफ! कत्रा गफाडी!!
यस्तै भाव मनमा राखेर मैले पनि रजनीशलाई प्रश्न गरेँ। प्रश्नमा कुनै दम थिएन। फोकटमा स्तम्भ लेख्ने एउटा अर्द्धशिक्षित, अहंकारी र मुर्ख पत्रकारले जस्तो प्रश्न सोध्छ त्यस्तै थियो मेरो प्रश्न। फरक यतिमात्र, मैले प्रश्न सोध्दा रजनीशलाई 'भगवान' नभनी 'मिस्टर रजनीश' भनेर सम्बोधन गरेको थिएँ। प्रत्युत्तरमा रजनीशले शान्त तर आदेशात्मक स्वरमा जवाफ दिनुभयो, 'फस्ट एडरेस मि एज भगवान रजनीश अनली देन आइ विल आनसर योर क्वेसन (पहिला मलाई भगवान रजनीश भनेर सम्बोधन गर अनिमात्र तिम्रो प्रश्नको उत्तर दिनेछु)।'
मैले घाइते अहंकार लिएर रजनीशलाई त्यस दिन पहिलोपटक 'भगवान' भनेर सम्बोधन गरेँ, सानो स्वरले।
तर घर फर्केर आएपछि एउटा अनौठो उत्सुकताले मलाई छोपिरह्यो। रजनीशको व्यक्तित्व, वाणी, उनलाई घेरेर बस्ने सुन्दरी, रातो लुगा लगाएर सोल्टीको बगैंचामा घुम्ने रजनीश सन्यासीहरू, यस्तैयस्तै उत्सुकता मनमा आइरहे। रजनीशलाई एक्लै भेट्ने रहर जाग्यो। उनका नेपाली भक्तलाई अनुनयविनय गरेर अनेकौं प्रयास गरेँ। केही लागेन, सब प्रयत्न व्यर्थमा गए। बुझ्दै जाँदा थाहा भयो, रजनीशसँग एक्लै भेट्ने कार्य त्यति साधारण र सजिलो रहेनछ। रजनीशको दरबारमा उनका अधिकांश नेपाली भक्त खासै हैसियत राख्दैनथे। 'भगवान' रजनीशको त कुरै छाडौं, दसपटक जति फोन गरेपछि बल्लतल्ल पे्रम हास्यालाई ५ मिनेटका निम्ति भेट्ने समय पाइयो। कोठामा प्रेम हास्या र आनन्दु नामक अर्की विदेशी महिला पनि थिइन्। मेरो अनुरोध सुनेपछि मन्द-मन्द मुस्कानसहित प्रेम हास्याले एउटा चुनौतीपूर्ण नजर फ्याँक्दै भनिन्, 'म तिमीलाई एउटा प्रश्न सोध्नेछु, सही उत्तर दिन सक्यौ भने 'भगवान' सँग भेट गराइदिउँला।' हुन्छ सोध्नुस् भनेर म प्रतीक्षा गर्न थालेँ त्यो प्रश्नको जसको उत्तरमा मेरो अभिलाषाको फैसला हुनेवाला थियो।
हास्याले आफ्नो मुस्कानलाई अझ गहिरो पार्दै सोधिन्, 'भगवान रजनीश कुनै साधारण मनुष्य होइनन्। उनी बुद्ध हुन्, बुद्ध। अचानक भगवान बुद्ध तिम्रा अगाडि उभिए तिमी के प्रश्न सोध्नेछौ? याद राख, एउटा मात्र प्रश्न सोध्न पाइनेछ।'
हास्याको चुनौतीले मलाई अवाक बनायो। जीवन र जगतका यति धेरै प्रश्न छन् कुनचाहिँ एउटा प्रश्न सोधूँ? मलाई मौन देखेर हास्याले अलिकति सुख्खा आवाजमा सम्झना गराइन्, 'विजय, तिम्रो ५ मिनेटको समयमध्ये ३ मिनेटको समयमात्र बाँकी छ।' त्यसपछि भने कुनै बाटो नदेखेर मैले सहजपूर्वक आफ्नो जवाफ दिएँ, 'भगवान बुद्ध कुनै दिन मेराअगाडि आउने कल्पनासमेत नगरेको मानिस हुँ म। त्यस्तो क्षणको कल्पना मात्रले पनि मेरो मन अहिले खलबलिएको छ। र, एउटा खलबलिएको मनले त्यस्तो गहन प्रश्नको उत्तर ३ मिनेटमा खोज्नै सक्दैन। मलाई कृपया समय थपिदिनुस्।' सुनेर हास्याले उन्मुक्त हाँसोसहित भनिन्, 'ठिक छ विजय, म तिमीलाई २४ घन्टाको समय दिन्छु। प्रश्न उही रहनेछ।'
त्यस दिन राति अबेरसम्म र भोलिपल्ट बिहान पनि धेरै सोचेँ, सम्भाव्य उत्तरका विषयमा। र, अन्तमा थाकेर प्रश्न सोच्ने प्रयास गर्न पनि छाडिदिएँ। तर एउटा सुखद आश्चर्य! जब मैले उत्तर खोज्ने प्रयत्न छाडिदिएँ तब अचानक मन हल्का भएर आयो र एक प्रकारको 'इसारा' आफूले पाएको अनुभव भयो। त्यही 'इसारा' बोकेर म निर्धारित समयमा हास्या रहेको कोठामा पुगेँ र जवाफ दिएँ, 'यदि तपाईंले भनेझैं भगवान बुद्ध मेराअगाडि प्रकट भए भने म उनलाई केही पनि सोध्ने छैन। स्वयं बुद्ध नै आफ्नो अगाडि प्रकट भएको भाग्यमानीका निम्ति के पो सोध्न बाँकी रहन्छ! होइन र?'
सुनेर प्रेम हास्याको मुहारमा अपूर्व उज्यालो छायो र उनले 'ब्युटिफुल ब्युटिफुल' भन्दै मेरो हात समाइन्।
त्यस दिन, त्यो उत्तर मैले जानेर दिएको थिइनँ। सोच्दासोच्दा नसकेर थाकेर दिएको थिएँ। साँच्चै भन्नुपर्दा त्यो उत्तर त्यस दिन मैले दिएकै थिइनँ। मेरो मुखबाट अनायास शब्द निस्केकामात्र थिए। तर ती शब्दले मलाई आचार्य रजनीशको मौनदर्शनको अहोभाग्य उपलब्ध गराइदिए। त्यसको तीन हप्ताजस्तो पछि रजनीश नेपालबाट फर्केर गए र उनी मेरो मानसपटलबाट पनि हराए।
...

मेरो मानसपटलबाट हराएका रजनीश करिब २० वर्षपछि फेरि फर्किए स्वामी आनन्द अरुणका माध्यमबाट। हुन त यसबीच उनको शरीर पृथ्वीबाट विदा भैसकेको थियो। बीचका वर्षहरूमा मेरो जीवनमा धेरै आरोहअवरोह आए। बाहिरबाट हेर्दा म लाखौं मानिसले चिन्ने एक सफल पत्रकारजस्तो देखिए पनि आफूभित्रै एक प्रकारको खालीपन महसुस गर्दथेँ। र, त्यो खालीपनलाई भर्न म विभिन्न प्रकारले भौंतारिन थालेँ। यसरी भौतारिँदा-भौतारिँदा एकदिन अनायास मैले अफूलाई बौद्धगुरु चोकिनिमा रिम्पोचेअगाडि पाएँ। चोकिनिमा रिम्पोचेले मलाई प्रेमपूर्वक शरणमात्र दिनुभएन, अपितु यस युगका केही महान बौद्ध लामाहरूसम्म पुग्ने बाटो पनि खोलिदिनुभयो। त्यसै क्रममा नाम्खा रिम्पोचेको दर्शन पाएको क्षणदेखि मेरो मनको खालीपन बिस्तारै-बिस्तारै भरिन थालेको छ। लामा गुरुहरूको कृपाले एउटा अनन्त आध्यात्मिक यात्राको पहिलो पाइला चाल्ने सौभाग्य मिल्यो। जसको जीवनमा थोरबहुत अध्यात्म छैन उसको जीवनमा अरू सबथोक भएर पनि यथार्थमा केही छैन र जसको जीवनमा थोरबहुत भए पनि अध्यात्म छ उसको जीवनमा अरू केही नभए पनि धेरै थोक छ।
आचार्य रजनीशले जीवनका पछिल्ला वर्षमा 'ओशो' नाम धारण गर्नुभयो। म ओशोको सन्यासी होइन, अनुयायी पनि होइन। म ओशोप्रेमी हुँ। दुई वर्षअगाडि अरुण स्वामीले तपोवनमा भएको एउटा सत्संग कार्यक्रममा बोल्ने अवसर दिँदा निम्न शब्द मेरा मुखबाट अनायास निस्केका थिए :
जब म १९८६ को जनवरी सम्झन्छु, रजनीशले आफूलाई 'भगवान' भनाउँदा मलाई क्रोध उठेको थियो। कति अबुझ थिएँ म! 'भगवान' शब्दको अर्थ कति सीमित रूपमा मात्र बुझ्थेँ। मलाई थाहा थिएन कुनै पनि व्यक्ति जब 'भगवत्ता' सँग पूर्णरूपेण समाहित हुन पुग्छ तब उसलाई 'भगवान' बाहेक अर्को कुनै शब्दले सम्बोधन गर्न सकिन्न। महान बौद्ध लामाहरूको कृपा नभएको भए मलाई यो पनि थाहा हुने थिएन कि लुम्बिनीमा जन्मेका राजा सुद्धोधनका छोरा राजकुमार सिद्धार्थभन्दा पहिला पनि बुद्धहरू थिए र पछि पनि भए। 'बुद्ध' शब्द बौद्ध धर्ममा शाक्यमुनि बुद्धका निम्ति मात्र 'आरक्षित' छैन। आज मलाई कुनै सन्देह छैन- ओशो पनि 'भगवान' शब्दको पूर्णरूपेण अधिकारी हुनुहुन्थ्यो, हुनुहुन्छ र भइरहनुहुनेछ। साँच्चै भन्ने हो भने उहाँले भगवान शब्द धारण गरेर त्यो शब्दलाई जीवन्तता प्रदान गर्नुभयो।
मेरो मुखबाट यी शब्द अनायास निस्किँदा तपोवनमा एउटा सन्यासीका आँखाबाट आँसु झरेको आज पनि सम्झन्छु।
ओशोले जीवनमा दस हजारभन्दा बढी विषयमा स्वस्फूर्त प्रवचन दिनुभएको छ। अनगिन्ती विषयमा बोल्नुभएको छ। यी अनगिन्ती विषयमध्ये 'सेक्स' पनि कहिलेकाहीँ यदाकदा एक विषयका रूपमा परेको छ। तर एकथरीलाई बजारमा भ्रम छ- ओशोले खाली सेक्समात्र सिकाउनुहुन्छ भनेर। सत्य के हो भने- ओशो 'जीवन' सिकाउनुहुन्छ जसभित्र सेक्स पनि पर्छ, यदाकदा। आवश्यक र प्रासंगिक स्थानहरूमा। उदाहरणका लागि ओशोको एउटा बहुचर्चित पुस्तक छ- 'संभोग से समाधी तक'। जसजसले यो पुस्तकलाई 'मस्तराम की मस्त जवानी' टाइपको पुस्तक ठानेर किने सब निरास भए। ९९ प्रतिशत पण्डितहरूले चाहिँ त्यो पुस्तक पढ्दै नपढी त्यसको तुलना आफूले ट्वाइलेटभित्र अथवा सिरकभित्र 'लुकेर' पढेको 'विट्टो रानी की मस्त जवानी' नामक ग्रन्थसँग गरिदिए।
ओशो कतै पनि 'सेक्स' सँग एउटा 'नक्कली ब्रह्मचारी पण्डित' डराएर भागेझैं भागेका छैनन्। न त उनी सेक्सका पछाडि एउटा 'लोभी स्याल' र्‍याल चुहाउँदै स्यालनीका पछाडि दौडेझैं दौडेका छन्। ओशोले सेक्सलाई 'आई टु आई' (आँखामा आँखा) राखेर होसपूर्वक (विद अवेरनेस) हेर्न सिकाएका मात्र छन्। सेक्स होस् वा अन्य कुनै विषय ओशोका हजारौं प्रवचनको सार यतिमात्र हो- 'न भोगो न भागो सिर्फ जागो'। जीवनका हरेक पक्षलाई जाग्रत भएर होसपूर्वक 'साक्षी' भावले हेर्ने आवश्यकता मात्र छ।
सेक्समात्र होइन, कुनै पनि विषयलाई गहिरिएर साक्षीभाव राखेर होसपूर्वक (विद अवेरनेस) हेरियो भने त्यो विषय वासना वा अन्य कुनै घटना पनि मनबाट आफसेआफ तिरोहित हुन्छ, खस्छ भन्ने ओशोको मान्यता छ। सेक्सका विषयमा जब कुनै मानिसले ऊ आफैंसँग हुँदै नभएको (र यो जुनीमा सम्भवतः उसले कहिल्यै नपाउने) कथित नैतिकताको मसी चोपेर सार्वजनिक उपदेश दिन्छ, मलाई हाँसो लाग्छ। यस्ता पाखण्डीका जीवनसँग सम्बन्धित कैयौं घटना सम्झन्छु र हाँसो उठेर आउँछ। एकपटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भारत भ्रमणमा संलग्न एक वरिष्ठ कर्मचारीले नयाँदिल्लीमा भ्रमणदल बसेको ताजमान सिंह होटलमा राति ११ बजे फोन गरेर झिकाएको एउटा 'पेसेवर महिला' गल्तीले मेरो कोठामा टकटक गर्दै उसको नाम लिएर मलाई बोलाएको सम्झन्छु। मैले मुस्काउँदै उसलाई बोलाउने मान्छेको सही कोठा नम्बर बताइदिएँ भिआइपी लिस्ट हेरेर। काठमाडौं फर्केपछि एक दिन त्यो 'सज्जन' लाई मैले टेलिभिजनमा देखेँ- नैतिकता र सदाचारको उपदेश दिँदै थियो।
बाहिरबाट हेर्दा शान्त, भलाद्मी, थीर गम्भीर देखिने, तौलीतौली कुरा गर्ने, तौलीतौली लेख्ने (वा लेखाउने), बोल्ने (वा बोल्न लगाउने) कतिपय मानिस आफू मनभित्रै कामवासनाले कति धेरै उम्लिरहेका छन्, तपाईं अनुमान लगाउन सक्नुहुन्न। कति अतृप्त र अधुरा छन् विचराहरू! मौका पाउनेबित्तिकै त्यो 'उम्लाइ' जहाँ पनि छताछुल्ल पोखाउन हमेसा तयार हुन्छन् त्यस्ता मानिस। तर यसमा दोष तिनको होइन। विचरा 'नक्कली' थीर गम्भीरहरूले स्विकार्न नचाहेको साधारण सत्य के भने शरीरको भोक पेटको भोकभन्दा धेरै गहिरो बसेको छ, मानिसको मनमा। अलिकति मौका पाउनेबित्तिकै बाहिर प्रकट भइहाल्छ त्यो।
यो अन्तरनिहित पीडाबाट वास्तविक रूपमा मुक्ति पाउन ओशोले भनेका छन्, 'जिस चिज से मुक्त होना है उसको जान लेना जरुरी है।' हुन त यो कुनै नयाँ कुरा होइन। परापूर्व कालदेखि पूर्वीय ऋषिहरूले भन्दै आएका छन्, 'ज्ञान त्यो हो जसले तिमीलाई 'मुक्त' गर्दछ।' ओशोले मानिसलाई अनेकौं कुराका अलावा कामवासनाबाट पनि मुक्त हुने तरिका सिकाएका छन्। मानिसको सेक्स ऊर्जालाई नै प्रयोग गरेर, त्यो ऊर्जाको रुपान्तरण गरेर समाधिमा पुग्ने बाटो देखाएका छन्। जसरी वैज्ञानिकले प्रयोगशालामा रोगका किटाणु प्रयोग गरेर त्यही रोगविरुद्ध औषधि बनाउँछन्, ठिक उही मार्ग ओशोले पनि अपनाएका छन्।
बुझ्नुपर्ने कुरा के भने ओशोका दसौं हजार प्रवचनमध्ये मुस्किलले एक दर्जन प्रवचन सेक्ससँग सन्दर्भित छन्- त्यो पनि अत्यन्तै प्रासंगिक अवस्थाहरूमा। ओशो 'सेक्स गुरु' होइनन्, 'फ्रि फ्रम सेक्स' गुरु हुन्। ओशो सेक्सबाट जति मुक्त छन्, जति पर छन् उति थोरै मनुष्य भएका होलान्। हो कामवासनाको ऊर्जालाई कसरी रुपान्तरण गर्न सकिन्छ भनेर सिकाउने गुरुचाहिँ उनी पक्कै हुन्। यो बेग्लै कुरा हो कि ओशोलाई ओशोकै कतिपय सन्यासीले समेत बुझ्न सकेका छैनन्। एक महान गुरुका अबुझ र अनुशासनहीन चेलाचेलीको ठूलो जमात सृजना भएको छ। यिनकै कतिपय क्रियाकलापले एउटा महान विचारकका अद्भुत व्याख्याबाट समाजको ठूलो हिस्सा लाभ लिनबाट बञ्चित भएको छ। दोष गुरुको शिक्षामा होइन, चेलाचेलीको गलत बुझाइमा र क्रियाकलापमा लुकेको छ। जीवन र जगतका कतिपय कठिनतम विषयलाई ओशोले जुन सहजता र सरलतासाथ व्याख्या गरिदिएका छन् त्यो आफैंमा एउटा चमत्कार हो।
सत्तरीभन्दा बढी भाषामा अनुवाद गरिएको ओशो साहित्य आज संसारमा सबैभन्दा बढी बिक्ने विषयमध्ये एक भएको छ। उहाँको नाममा सातसय भन्दा बढी शीर्षकका पुस्तक प्रकाशित भएपनि मलाई आश्चर्य लाग्छ- तीमध्ये २ वटा अपवादबाहेक सबै पुस्तक यथार्थमा उहाँले स्वस्फुर्त रूपले दिनुभएको प्रवचनका संगालो हुन्। ओशो एक सद्गुरु हुन्, बुद्धपुरुष हुन् र मानव इतिहासका महानतम विचारकमध्ये एक हुन् भन्ने कुरामा मलाई रत्तिभर सन्देह छैन। पूर्णताको हदैसम्म विचार, शब्द र वाणीका त्रिमुर्ति ओशो भन्नुहुन्थ्यो, 'शब्दहरूको माध्यममा मलाई कुनै विश्वास छैन तर तिमीहरू आज चेतनाको जुन स्तरमा छौ त्यहाँसम्म पुग्न मैले भाषा नबोली नहुनाले मात्र बोलिदिएको हुँ। परम ज्ञान त 'निशब्द' छ। अस्तित्वले 'मौन' को माध्यमबाट मात्र आफ्ना गहनतम रहस्य प्रस्ट गर्दछ। गहनतम रहस्यहरू प्रकट हुने 'मौन' बाहेक अर्को कुनै द्वार छैन।'
ह्यापी बर्थ डे टु यु ओशो! ह्यापी बर्थ डे!!
(११ डिसेम्बर, ओशो जन्मदिनका अवसरमा)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out