गोली पड्काउँदै छोरीको जन्मदिन मनाए पारसले

चाँदनी हमाल, चितवन, मंसिर २८- पूर्वयुवराज पारस शाहले आफ्नी छोरीको जन्मदिन हवाइ फायर गरेर मनाएका छन्। शाही पदबाट मुक्त भए पनि चितवन राष्ट्रिय निकुञ्ज भित्रको होटल टाइगर टप्समा छोरी पूर्णिकाको जन्मदिन मनाउन गोली र बन्दुक पड्काउने पुरानो शैली भने छाडेनन्। राजतन्त्र समाप्तीपछि आमनागरिक भए पनि उनी काठमाडौंदेखि नै एडिसी र सुरक्षागार्डको घेरामा टाइगरटप्स पुगेका थिए।
चारदिनको बसाइका लागि परिवारसहित रिसोर्ट पुगेका उनले छोरीको वर्थ डे डिसेम्बर ११ तारिखका दिन धुमधामले होटलमै मनाए।
छोरी खुशी पार्न उनले हात्तीलाई समेत केक खुवाएका थिए। हात्तीहरुकै बीच छोरीको खुशीमा दिनभर रमाएका उनले राती भने नशामा गोली चलाएपछि विवादमा तानिएका हुन्। ११ डिसेम्बर अर्थात् मंसिर २५ गते छोरी र परिवारका अन्य सदस्य सहित वर्थडेको खुशीयाली मनाएपछि मदिरा सेवन गर्न होटलको बारमा उनी छिरेका थिए।

'हात्तीसँगै पारसले छोरीको बर्थ डे मनाउँदा दिन राम्रै थियो' होटलका चिफ एक्जुकेटिभ अफिसर मार्कोसले नागरिकन्युजसँग भने। पारसले त गोली चलाए नि ? भन्ने नागरिकन्युजको प्रश्नमा उनले भने- 'पहिलेको पुरानो कुरा सोध्नु भएको हो त्यस्तो केही भएन् होटलमा।' मार्कोसले खुलेर कुरा नगरे पनि होटलका म्यानेजर यादव वान्तवा र अन्य कर्मचारी र सुरक्षागार्डहरुले भने गोली चलेको स्वीकार गरे।

प्रत्यक्षदर्शी कर्मचारीका अनुसार राति सवा १२ देखि साढे १२ बजेबीचतिर गोली चलेको हो। पारस अरु पाहुनासहित बारमा थिए। उनी ग्लासमा ड्रिङ्कस लिएर बारको बीचमा बालेको आगो नजिक बसेर पिउँदै थिए। अरु केही पाहुना र उनीबीच कुराकानी बढ्दै जाँदा चर्काचर्की पर्न थाल्यो। राजतन्त्र र गणतन्त्रका कुरा पनि हुँदै थियो। पारसलाई अर्को व्यक्तिले राजतन्त्रका बारेमा बढी भन्न थालेपछि उनले सहन सकेनन्। जुरुक्क उठेर त्यही व्यक्तिमाथि जाइलागे। विदेशी जस्तै देखिने ती व्यक्ति परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरी थिए। 'हातपात हुँदा हुँदै बारमा रहेका अन्य पाहुनाले उनलाई रोके। तर पारसले उत्तिनै खेर बन्दुक निकालेपछि सबै डराए'- होटलका सुरक्षा गार्डले भने।'

बन्दुक निकालेपछि पनि पाहुना र कर्मचारी मिलेर पारसलाई बारबाट बाहिर निकाले तर बाहिर आए लगत्तै उनले फायरिङ्ग गरे। एक फायर भएपछि उनीसँगै आएका सुरक्षागार्डले उनलाई शान्त बनाउन एकान्तमा लगेका थिए। बारदेखि पश्चिमपट्टी रहेको खुला स्थानमा टाउको समाएर पारस केहीबेर कुर्सीमै बसेका थिए। फेरि कुनै घटना हुन नदिन पारसलाई उनको कोठामा पुर्‍याएर सुरक्षागार्डहरु बारमा फर्किएको कर्मचारीहरु बताउँछन्।

त्यतिखेरसम्म होटलमा त्रास फैलिसकेको थियो पारसकै सुरक्षागार्डहरुले रुवेललाई पनि सुरक्षित कोठामा पुर्‍याएको होटल कर्मचारीहरुले नागरिकन्युजलाई बताए। 'होटलमा केहीसमय तनाव भयो तर क्षति भएन्',नाम नभन्ने सर्तमा एक कर्मचारीले भने। भोलिपल्ट अर्थात आइतबार बिहानै रुवेल परिवारले होटल छाडे। उनीहरु सिधै नवलपरासीतिर लागेका थिए।

पारसले भने दिउँसो तिर होटलबाट चेक आउट गरेर पोखरा लागे। मेघौलीमा हात्तीपोलो चलिरहेकै बेला पारस टाइगर टप्स आएका थिए। विदेशी पाहुनाका कारण होटलमा ठाउँ नपाएपछि उनी फर्किए पनि हात्तीपोलो सकिएलगत्तै उनी होटलमा चारदिनका लागि बस्न आएका थिए।

टाइगर टप्समै रहँदा एकदिन सर्लाहीको धार्मिक कार्यक्रममा समेत उनी सामेल हुन पुगेका थिए। उपप्रधानमन्त्री सुजाता कोइरालाकी छोरी मेलानी, ज्वाँई रुवेल र छोरा मेहिल घुमफिरकै सिलसिलामा शनिबार टाइगरटप्स पुगेका थिए। रुबेल पहिलेदेखि नै साथीसँग ड्रिङ्कस गरिरहेका बेला पारस नै उनीहरुसँग घुलमिल हुन पुगेका थिए तर गफले राजनीतिक मोड लिएपछि गोली चल्ने स्थितिसम्म पुगेको थियो। रुबेलले आफुलाई मार्नकै लागि पारसले बन्दुक निकालेको प्रतिक्रिया नागरिकन्युजलाई दिए- 'साथीहरुले नरोकेको भए मर्ने थिएँ।'

चितवन राष्ट्रिय निकुञ्जको नियम अनुसार अनुमति बिना निकुञ्जभित्र हतियार भित्र लैजान पाइँदैन। हतियार मात्र हैन मिडियाकर्मी जाँदा पनि क्यामेरामा समेत चेकजाँच हुने गर्छ। पारससँग आएका उनका सुरक्षागार्ड सुरज रिजालले भने यति मात्र भने- 'घटना भएको थाहा पाएँ तर म उनीसँग थिइनँ। ठाउँ नपुगेपछि हामी मेघौलीमै राइनो रिसोर्टमा बसेका थियौं।' सुरक्षास्रोतका अनुसार उनीसहितको एकटोली काठमाडौंदेखि नै पारसको सुरक्षाका लागि खटिएको थियो।

फायरिङको छानबिन शुरु
पारसले होटलमा गोली चलाएको घटना सार्वजनिक भएलगत्तै सोमबार चितवन प्रहरीको एक टोली घटनाको छानबिन गर्न होटल पुगेको छ। चितवनका डिएस्पी रविराज खड्काको नेतृत्वमा छानबिनका लागि होटल पुगेको हो। 'के कसरी घटना भयो होटलबाट जानकारी लियौं अब यसैबाट थप अनुसन्धान अगाडि बढ्छ'- खड्काले भने।

प्रहरी निरीक्षक मदन थापा, सूर्य श्रेष्ठ लगायत तीनजना भने घटनाको यथार्थ बुझ्न बिहानै होटल पुगेका थिए। होटलबाट फर्केर भन्न मिल्ने कुरा मात्रै मिडियाकर्मीलाई जानकारी दिइने उनले बताए।

प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले घटना भएको भन्ने आफुले थाहा पाएकाले बुझ्दै गरेको बताए। 'घटना कसरी भयो भन्ने छानबिन टोली फर्केपछि थाहा हुन्छ'- उनले भने।


मिडियाकर्मीलाई होटल छिर्न निषेध
पारस शाहले गोली चलाएको घटनाको समाचार संकलन गर्न गएका संचारकर्मीलाई टाइगर टप्स होटल प्रवेश गर्न दिइएन। होटल कर्मचारी रामहरि कुँवरले गेष्ट लिएर गएको गाडीमा पत्रकारलाई सहयोग गर्न खोजे पनि उनलाई समेत जागिरबाट निकाल्ने धम्की दिएपछि मिडियाकर्मी होटल पुग्न सकेनन्। पहिले लैजान राजी भएका उनले भने- 'गाली मात्रै गर्छन भन्ने सोचेको धेरै गाह्रो धम्की आयो माफ गर्नुहोला भित्रबाट कसैलाई गाडीमा नपठाउनु भनेको छ।'

होटलका सिइओ मार्कोसले पनि सबै सरकारले जिम्मा लिएकाले उनैसँग अनुमती माग्न संचारकर्मीलाई भने- 'पोजेटिभ न्युजका लागि बोलाउछौ अहिले चै सरकारलाई नै भन्नुस',उनले भने।

होटल जाने माध्यम खोज्दै संचारकर्मीको टोली दिनभर मेघौली विमानस्थलको चौरमा अलपत्र थिए। होटलमा पुग्न चितवन राष्ट्रिय निकुञ्जका प्रमुख नरेन्द्रमानबाबु प्रधानसँग सहयोग माग्दा उनले साधन नभएको र व्यस्तता रहेको भन्दै पन्छिए। संचारकर्मीलाई पनि साथै लैजान स्थानिय प्रशासनलाई भन्दा डिएस्पी रविराज खड्काले भने , 'होटलबाट फर्केपछि भन्न मिल्नेजति भनिहाल्छौ नि।' मेघौली सुरक्षा रेकर्ड अनुसार बिहान नौ बजे टाईगर टप्स छिरेका खड्काले दिनभर आफु भित्र नभएको भनेर संचारकर्मीलाई ढाँटे। टोली सोमबार राती अबेरमात्र फर्कने उनले बताए।
होटलका कर्मचारी र गार्डहरुलाई पनि घटनाको बारेमा नबोल्न उर्दी छ। होटलको फोन आइतबारदेखि कम उठ्ने गरेको छ भने कर्मचारीहरुको व्यक्तिगत फोन पनि उनीहरु उठाउँदैनन्।
होटल पुग्न सदरमुकामबाट झण्डै ३७ किलोमिटरको दुरी पार गर्नुपर्छ। होटलमा जान मेघौली पुगेपछि नारायणी नदी र सातकिलोमिटर बढी निकुञ्जको जंगल छिचोल्नुपर्छ। होटलकै सवारीसाधनबाहेक अरु साधनको त्यहाँ पहुँच छैन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out