सुपरस्टारका नजरमा नायिका

सुपरस्टार राजेश हमालले नयाँ पुराना पुस्ताका नायिकासँग काम गरेका छन् । नेपाली फिल्ममा नायिकाको भूमिका कमजोर हुने उनको ठम्याइ छ । 
दीपक रायमाझीको निर्देशन र छवि ओझाको निर्माणमा ०४७ मा बनेको फिल्म 'युगदेखि युगसम्म'बाट मेरो फिल्मी करिअर सुरु भयो । यस अवधिमा थुप्रै नयाँ नायक आए, गए । केही नायक विस्थापित भए । धेरै नायिकाको प्रवेश भयो । नयाँ नायिका झुल्किए र हराए । मैले आफ्ना जीवनका स्वणिर्म समय नेपाली फिल्मकै लागि खर्च गरेँ, जुन वेला मेरो मनमा 'आगो' थियो, फिल्म खेल्ने । यति लामो फिल्मीयात्रामा मैले थुप्रै नयाँ/पुराना नायिकासँग रिल-जीवनमा नाच्न पाएँ, प्रेम गर्न पाएँ 
फिल्मी अभिनयका सुरुवाती दिनमा मसँग अभिनय गर्ने नायिका खुब मिहिनेत गर्थे, उनीहरू आफ्नो चरित्र र भूमिकाप्रति निकै गम्भीर थिए । आफ्नो बौद्धिक पक्षमा पनि ध्यान दिन्थे त्यतिवेलाका नायिका । मैले अनुभव गरेको के भने, नायिकाहरू समयसापेक्ष छन् । आजकालका नायिका मिहिनेत गर्छन्, तर उनीहरू आफ्नो भूमिकाप्रति खासै गम्भीर भएजस्तो मलाई लाग्दैन । पहिलेका नायिकाजस्तो मिहिनेत पनि गर्दैनन् आजकालका नायिका 
जीवनमा त्यस्ता थुप्रै घटना हुन्छन्, जो मनको कुनामा सधैँ सुरक्षित हुन्छन् । ती क्षण फेरि समाउन नसकिनेगरी निकै पर पुगिसकेका हुन्छन् । तर, हामीलाई तिनको सम्झनाले सधैँ घेरिरहन्छ । पहिलोपटक फिल्म खेलेको सम्झना घरी-घरी आउँछ । तर, त्यो सम्झनालाई म समाउनचाहिँ सक्दिनँ । मेरो पहिलो फिल्म 'युगदेखि युगसम्म'मा नायिका थिइन् 'कृष्टि केसी' । उनी अहिलेका चल्तीका कोही नायिकाजस्ती पनि होइनन् । बौद्धिक थिइन् । उनी अभिनय पनि राम्रो गर्थिन् र निकै सुन्दर थिइन् । अहिले त उनी नेपाली फिल्ममा मात्र होइन, नेपालमै छैनन् । अहिले अमेरिकामा छिन्, उनी 
हरेक मान्छे सधैँ हिट भइराख्न सक्छ वा चर्चामै रहिरहन सक्छ भन्ने होइन । नेपाली फिल्ममा एउटा युग थियो- मीनाक्षी आनन्द, तृप्ती नाड्कर, भुवन चन्दजस्ता राम्रा नायिकाको । अहिले समयले उनीहरूलाई सम्बोधन गरेन भन्दैमा हामीले यो भुल्नुहुँदैन- इतिहास कहिल्यै पनि मर्दैन, यो सधै साक्षी हुन्छ समयको । यो फिल्मी करिअरमा मलाई राम्रा लाग्ने र मन पर्ने नायिका मीनाक्षी आनन्द, गौरी मल्ल, कृष्टि केसी, करिश्मा मानन्धर, विपना थापा, निरुता सिंह, जल शाहहरू हुन् । उनीहरूमध्ये कोही अहिले फिल्मको रंगिन दुनियाँबाट टाढा छन् । तर, उनीहरूको योगदान नेपाली फिल्ममा निकै छ र दर्शकको मनमा बसिरहेका छन् भन्ने लाग्छ 
'ग्ल्यामर' नेपाली मिडियामा बढी चल्ने शब्द हो । ग्ल्यामरलाई धेरैले 'सेक्सी'का रूपमा पनि बुझ्छन् । ग्ल्यामर आकर्षण हो । नायिका ग्ल्यामर देखिन छोटै लुगा लगाउनुपर्छ भन्ने जरुरी छैन । नेपाली रजतपटकी ग्ल्यामरस नायिका करिश्मा मानन्धर, विपना थापा र झरना बज्राचार्य हुन् । उनीहरूको अभिनय पनि नवनायिकाभन्दा अब्बल र उत्कृष्ट छ । तर, तीमध्ये पनि ग्ल्यामरस लाग्ने नायिकाचाहिँ करिश्मा मानन्धर नै हुन् । उनको ग्ल्यामर छवि अझै धेरै समय रित्तिने छैन 
नायिकाको सही मूल्यांकन भएन । हुन त वेला- वेला नेपाली नायिका विभिन्न स्क्यान्डलमार्फत चर्चामा आउने गरेका छन् । केही निर्देशक/निर्माताले नायिकाको नाजायज फाइदा उठाउँछन् भन्ने पनि सुनिन्छ । तर, यो कति सत्य हो मलाई थाहा छैन 
मेरो विचारमा, कुनै युवती नायिका बन्न लालायित छ भने उसले बुझ्नुपर्छ, नायिका हुनका लागि पहिलो सर्त, 'आवरण-सुन्दरता' हो । आवरणका साथै अभिनय क्षमता पनि चाहिन्छ । निर्देशकलाई प्रभाव पार्न सुन्दर अनुहार चाहिए पनि भित्री सुन्दरता त अभिनय नै हो । अभिनय पक्ष राम्रो हुनैपर्छ । नत्र उनी कसरी राम्री नायिका बन्न सक्छिन् ? अभिनय क्षमता नभएका, तर निर्देशक वा निर्माताले मात्रै तानेर ल्याएका नायिका चाँडै पाखा लाग्छन् । त्यसो भएको पनि छ 
मसँग अभिनय गरेका नायिकामध्ये सञ्चिता लुइँटेलको आँखा निकै मन परेको हो । उनको आँखा शान्त तलाउजस्तो छ । जहाँ कुनै रंगीन माछा पैडिन सक्छ । निरुता सिंहको आँखा पनि मलाई निकै मन पर्छ, सुन्दर लाग्छ । उनको आँखा निर्दोष छ । तर, कोही पनि नेपाली नायिकाको आँखा मादक लागेको छैन । अभिनय मन परेको चाहिँ करिश्मा मानन्धर, विपना थापाको हो । भारतीय नायिकाका आँखा निकै सुन्दर हुन्छन् । उनीहरूको सबैभन्दा सशक्त पक्ष भनेकै आँखा हो । ऐश्वर्या राय, माधुरी दीक्षितहरूका आँखा भुतुक्कै पार्नेखालका छन् । एन्जेलिना जोलीको आँखाचाहिँ मादक छ । मैले कुनै वेला बलिउडमा राम्रैसँग जमेकी नायिका मनीषा कोइरालासँग पहिलो फिल्म खेलेँ, 'धर्मा' । त्यसवेेला उनीसँग राम्रैसँग गफ जम्यो, मेरो । सुटिङका वेला भेट हुँदा हामी पढाइ, करिअर र सपनाबारे कुरा गथ्र्यौं । उनको धेरै पढ्ने बानी रहेछ । मलाई पनि पढाइमा औधि रुचि छ । उनी अरू नायिकाभन्दा निकै बौद्धिक लाग्यो । नेपाली रतजपटमा फर्केर आउँदा उनी छुट्टै छवि लिएर आइन् । उनी अभिनय पनि निकै राम्रो गर्छिन् । झरना बज्राचार्य पनि मलाई बौद्धिक नायिका लाग्छ 
दर्शक सधैँ 'केही नायिका अंगप्रदर्शन गरेरै चर्चाको शिखरमा पुगेका छन्' भन्ने दाबी गर्छन् । नेपाली नायिकाले त्यस्तो विधि अंगप्रदर्शन गरेजस्तोचाहिँ मलाई लाग्दैन । के नेपाली नायिका सधैँ ब्ल्याक एन्ड ह्वाइट सिनेमा 'आमा'मा जस्तै गुन्यु-चोलीमै नाच्नुपर्छ भन्ने छ र ? सन् २००३ मा भारतीय निर्देशक रजत मुखर्जीको फिल्म 'लभ इन नेपाल'मा झरना बज्राचार्यले 'तानियाँ'को भूमिका पाइन् । उनी 'कतरा...कतरा...' गीतमा दिएको अंगप्रदर्शनले हिट भइन् । उनी त्यतिवेला विवादमा पनि आएकी थिइन् । तर, उनलाई विवादमा ल्याउनुपर्ने खास कारण मैले देखेको छैन । विश्वका अरू नायिका पनि अंगप्रदर्शन गर्छन् । झरनाले पनि प्रसंगविना ठाउँ-कुठाउँ अंगप्रदर्शन गरेकी हुन्जस्तो मलाई लाग्दैन । म त झरनालाई 'ब्रेन विद ब्युटी' भन्छु । झरना 'ग्ल्यामरस' पनि छिन् । नेपाली फिल्ममा जति नै अंगप्रदर्शन गरिन्छ भनिए पनि म त्यसलाई त्यस्तोविधि अश्लीलचाहिँ भन्दिनँ । अहिलेकै पुस्ताले जस्तै सामान्य फेसन त फिल्ममा पनि अपनाउनुपर्छ नि !
अहिलेका नायिका कामप्रति लगनशील छन् । धेरैजसो बौद्धिक छैनन् । तर, केही नायिकाले भने अध्ययनमा चासो राख्न थालेका छन् । सबैको यही आरोप छ, 'नेपालका नायिका आफूले अभिनय गर्ने फिल्मको स्त्रिप्ट पढ्दैनन् ।' तर, म यो स्विकार्न तयार छैन । मैले अनुभव गरेअनुसार, नायिका आफ्नो भूमिकाबारे बुझ्छन् । स्त्रिप्ट पनि पढ्छन् । तपाईंले आरोप लगाएजस्तो, उनीहरू आफ्नो सुन्दरतामा मात्र ध्यान दिन्छन् भन्नेचाहिँ म मान्दिनँ । दर्शक हाम्रा नायिकालाई घमण्डी पनि भन्लान् । नायिकाले यस्ता कुराको वास्तै नगरी, आफ्नो अभिनय-क्षमता तिखार्न प्रयोग गरे राम्रो हुन्थ्यो । नायिका सुन्दर त हुनैपर्छ । तर, उनीहरूले आफ्नो सुन्दरता मात्र होइन, कला पनि बेचिरहेका छन् । नेपाली नायिकाको सिमाना तोकिएको छ । सुन्दर नभए त दर्शकले पनि फिल्म हेर्दैनन् 
तर, हाम्रा फिल्ममा नायिकाको भूमिका कमजोर बनाइन्छ । यसको कारणचाहिँ निर्देशक र 'स्त्रिप्टराइटर' हुन् । हामी कलाकार त निर्देशकका आदेशपालक मात्र त हौँ नि ! स्त्रिप्टमा नायिकालाई केन्द्रबिन्दुमा राखिन्न । स्त्रिप्टमा जे लेखिएको छ, नायिकाले त्यही भूमिका निर्वाह गर्नुपर्छ । हामीकहाँ सुटिङको माहोलले पनि कलाकारलाई अभिनयमा डुब्न दिँदैन । हाम्रो समाजमा विद्यमान पुरुषप्रधान धारणाले पनि नायिकाको भूमिकालाई कमजोर बनाएको होला 
मलाई थाहा छ, नेपाली चलचित्रले समातेको मूलधारको गोरेटो फराकिलो छैन । हामीले अझै धेरै कुरा सिक्नु छ । मैले अभिनय गरेका धेरै फिल्ममा वर्षौंदेखि एउटै 'फर्मुला' प्रयोग भइरहेको छ । बलिष्ठ पाखुरा भएको आदर्श नायक अनि कमजोर नायिका, नायक-नायिकाको प्रेम, तनाब, द्वन्द्व, हास्यमै हाम्रा फिल्म अल्झिइरहेका छन् । फिल्म हेरिने विधा हो, जसलाई दर्शकले रुचाउनुपर्छ । अनि मात्रै यो चल्छ । दर्शकले रुचाउने फिल्म बनाइरहेका छौँ भन्ने लाग्छ । जति नै आलोचना भए पनि नेपाली फिल्मले गतिचाहिँ लिएको छ । तुरुन्तै परिवर्तन नदेखिए पनि ढिलोे-चाँडो दर्शकले स्तरीय फिल्म पाउँछन् नै । सायद, नेपाली फिल्मले कलात्मक सीप भएका र आफ्नै गोरेटो बनाउन सक्ने सिर्जनशील व्यक्ति पाएको छैन । म एकजनाले मात्रै चाहेर नेपाली फिल्मको स्तरवृद्धि हुने हो र ? फेरि म एकजनाका लागि निर्देशकले व्यावसायिक धारभन्दा बाहिरको फिल्म पनि त बनाउँदैनन् । मैले मात्र के गर्न सक्छु र ? फिल्म स्तरीय बन्न धेरै पक्षले रोल खेलिरहेको हुन्छ । हुन त मैले लगातार फिल्म पाएँ । तर, पनि वेला-वेला मलाई लाग्छ-मैले त्यस्तो उल्लेखनीय काम गर्न सकिनँ, जसबाट म गर्व गर्न सकूँ 
प्रस्तुतिः दीपक सापकोटा

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out