जापानी प्रेमिकाले भविष्यवाणी गरेकी थिइन् : दीपेन्द्रको मृत्यु कुकुरको जस्तै हुनेछ

म दीपेन्द्र सरकारलाई मौसुफ सानै छँदादेखि चिन्थेँ । सरकारलाई नजिकबाट चिनेको २०३१ साल वैशाखदेखि हो । जब मैले राजप्रासाद सेवामा आवधिक शाही पाश्र्ववर्तीका रूपमा काम सुरु गरेको थिएँ । युवराजधिराज सरकारको जन्म १३ असार २०२८ मा भएको हो । त्यस हिसाबले त्यतिवेला सरकार तीन वर्ष पनि पुगिबक्सेको थिएन । दीपेन्द्र सरकार जन्मदै राजा हुन जन्मेको । तर, राजदरबारमा युवराजधिराज सरकारलाई राजाका रूपमा हुर्काउने कुनै परिपाटी या संस्कार मैले देखिनँ । मैले सुनेको थिएँ- युरोपमा राजतन्त्र भएका देशमा राजा बनाउन बच्चैदेखि त्यहीअनुसारको शिक्षा-दीक्षा र तालिम दिइन्छ । त्यसका लागि अनुभवी र दक्ष विशेषज्ञको टिम बनाएर उनीहरूको 'गाइडेन्स'मा भावी राजालाई हुर्काउने गरिएको हुन्छ । तर, म जतिवेला नेपालको राजदरबारभित्र प्रवेश गरेँ, त्यहाँ त्यस्तो केही देखिनँ । बरु मलाई त्यहाँको पारा देखेर अचम्म लागेको थियो ।
पञ्चायती शासनकाल भएकाले राजा वीरेन्द्र र रानी ऐश्वर्य दुवै देशको राजनीतिक, आर्थिक, प्रशासनिक तथा अन्य विविध काममा व्यस्त भइबक्सन्थ्यो । पञ्चायतकाल त्यसमा पनि राजाको सक्रिय नेतृत्व । त्यो भएर राजा वीरेन्द्र पूरै व्यस्त । रानी ऐश्वर्यले राजाको काममा सहयोग पुर्‍याउनुपर्ने । सामाजिक काममा मौसुफको उस्तै व्यस्तता । त्यसो भएर दीपेन्द्र सरकार शाही रनरको रेखदेखमा हुर्किबक्स्यो, जो सेनाका सिपाही हुन् । अनि नानीहरूले हेरे युवराजधिराजलाई । न शाही रनर धेरै पढेलेखेका हुन्थे, न नानीहरू नै । विशेष संस्कार पनि उनीहरूलाई हँुदैनथ्यो । उनीहरूको रेखदेख र हेरविचारमा युवराजधिराजको बाल्यकाल बित्यो । त्यसबाट दीपेन्द्र सरकारले के सिकिबक्स्यो होला ? एउटा सामान्य परिवारमा जन्मेको बच्चा आमाबुबाको माया, ममता र रेखदेखमा हुर्किन्छ । तर, सरकारले सानैदेखि आमाबुबाको माया कस्तो हुन्छ भन्ने महसुस गर्न पाइबक्सेन । आमाबुबाको सामिप्यबाट वञ्चित युवराजधिराज त्यतिवेला शाही रनर र नानीहरूबाट फुत्केर बाहिर निस्केपछि एडिसी अफिस आइबक्सन्थ्यो । त्यत्ति थियो सरकारको जाने, घुम्ने र खेल्ने ठाउँ । बाल्यावस्थामा कुनै किसिमको शिक्षा, दीक्षा र तालिम थिएन युवराजधिराजलाई । त्यो देख्दा अबको २१औँ शताब्दीमा नेपालले कस्तो राजा पाउने होला भन्ने कुरा मेरो मनमा आउने गथ्र्याे । म भर्खर दरबार गएको थिएँ, यो कुरा कसैलाई पनि भन्ने कुरा आएन फेरि राजदरबारको कुरा । मैले पूरा 'सिस्टम'बारे त्यत्ति धेरै अनुभव पनि पाएको थिइनँ ।
त्यो उमेरमा युवराजधिरालाई के कुरा सिकाउने ? अनि शाही रनरको ड्युटी के हो ? कामको कुनै बाँडफाँड थिएन । त्यतिवेला दीपेन्द्र सरकारको कस्तो बानी विकास भइरहेको थियो भने कुनै ठूलो मान्छेलाई एक मुक्का हान्ने अनि त्यो मान्छे भुइँमा लडेर छटपट गरेकोमा मज्जा लिने । फेरि सरकारले त्यसैलाई गालामा झापड हान्नुपर्ने, फेरि त्यो मान्छे भुइँमा लडेर रुनुपर्ने । अनि सरकार मजा लिएर हाँस्ने । सरकारमा बच्चा साथीलाई समेत झापड र मुक्का हानेर ढलाउनुपर्ने मानसिकता थियो । यसप्रकार सरकारमा 'इगो' र हठीपन बढ्दै गएको थियो । यसरी युवराजधिराजका सकारात्मक स्वभावमा विस्तार नहुने देखिरहेको थिएँ मैले । त्यही उमेरका बालबच्चाका बीचमा सम्पर्क र प्रतिस्पर्धामा राखेको भए पनि राम्रै हुन्थ्यो । तर, कहिल्यै त्यो सोचाइ दरबारमा भएन । भावी राजा त के, सामान्य मानिसको जस्तो स्वाभाविक व्यक्तित्व विकासको अवसर पनि युवराजधिराजलाई प्राप्त भएन ।

ग्याङफाइटका नायक

१० वर्षसम्म दीपेन्द्र सरकारको मानसिकता र व्यक्तित्व विकास जसरी भइरहेको थियो, त्यसबारे आफू सवारी ड्युटीमा भएको वेला मैले वीरेन्द्र सरकारलाई जाहेर पनि गरेको थिएँ । ठ्याक्कै त्यही कुरा पछि दीपेन्द्र सरकारले मसँग गुनासोका रूपमा व्यक्त गरिबक्सेको थियो । त्यसैकारण पछि गएर आमाबाबुसँग सरकारको सम्बन्ध टाढिँदै गएको थियो । मैले सरकारहरूको बीचमा विचार र दृष्टिकोण फरक-फरक हुँदै गएको देखिरहेको थिएँ । खासगरी बडामहारानी ऐश्वर्यसँग सरकारको सम्बन्ध धेरै टाढा हुँदै गएको थियो । आमाछोराको सम्बन्ध त नजिकको हुनुपर्ने हो, तर सरकारहरूबीच त्यसरी आत्मीय सम्बन्ध विस्तार भएन । त्यसमाथि सरकारहरू दुवैजना कडा दिमागको 'स्ट्रङ हेडेड' । मैले भनेकै हुनुपर्छ भन्ने स्वभाव विकास भएको थियो युवराजधिराज सरकारमा । त्यस्तै स्वभाव थियो बडामहारानी ऐश्र्वयको पनि । दुवैजना एक-अर्कासँग नझुक्ने र पटक्कै लचिलो नुहुने । आमाछोराबीच बच्चादेखि नै आत्मीयता, निकटता र माया-ममता परिणाम थियो यो । आमाछोराबीचको सम्बन्ध भित्री रूपमा 'प्राविधिक' मात्र रहन पुगेको थियो ।
मैले दीपेन्द्र सरकारको पूरै जीवन देखेको छु । मौसुफको व्यक्तित्व कसरी विकास हुँदै आयो, एकदमै नजिकबाट अनुभव र अध्ययन गरेको छु । सरकारको अस्वाभाविक उपद्रो, हठ, बदमासी, परपीडक स्वभाव, इगो, उपेक्षित भएको अनुभूति, मायाप्रेमको तृष्णा, महत्त्वाकांक्षा, नैराश्य, आवेग आदिलाई छर्लंग देखे-भोगेको छु । जतिवेला सरकार किन्डरगार्डेनमा होइबक्सन्थ्यो, हामीले सवारी चलाउनुपथ्र्याे स्कुलमा । दीपेन्द्र सरकार स्कुल जान नचाहने । ऐश्वर्य सरकारलाई जसरी भए पनि पठाउनैपर्ने । अनि दीपेन्द्र सरकार जान्न भनेर जिद्दि गर्ने, ऐश्र्वय सरकार जानैपर्छ भनेर चर्को स्वरमा हप्काइबक्सने । त्यसक्रममा मौसुफबाट दीपेन्द्र सरकारलाई गालामा झापड लगाएको पनि मैले कैयौँपटक देखेको छु । स्कुल सवारी होइबक्से पनि कहिलेकाहीँ त बीचबाटोमै 'मोटरबाट ओर्लन्छु' भनेर जिद्दि गर्ने । कस्तो छुकछुके भने एडिसीलाई हैरानै पारिबक्सन्थ्यो । सबै एडिसीहरू सरकारबाट टाढा भाग्न खोज्थे । दीपेन्द्र सरकार एडिसी अफिसमा नआए पनि हुन्थ्यो जस्तो हुन्थ्यो । आफूले भनेको नगर्ने एडिसीलाई सरकारले रुवाइबक्सन्थ्यो । तीमध्ये म प्रमुख थिएँ । त्यसैले कहिलेकाहीँ सरकारको लात र थप्पडसमेत मैले खाएको छु । म सरकारलाई गर्न हुने र नहुने कुरा सम्झाउँथँे, तर सरकारलाई पटक्कै मन पर्दैनथ्यो । त्यसैले सरकारले मेरो नाम 'डेन्जरस एडिसी' राखिबक्सेको थियो । नानीहरूसँग राम्रो व्यवहार नगर्ने । नानीहरूले मौका पायो कि शाही रनरहरूलाई बुझाइदिहाल्ने । शाही रनरले पनि नसकेपछि एडिसीहरूलाई बुझाउने । एडिसी अफिसमा आएर टेबलको सिसा फुटाइदिने । कलम भाँचिदिने । असामान्य उपद्रोसिवाय अरू केही नगर्ने स्वभाव थियो सरकारको ।

दीपेन्द्र सरकार लोअर केजीदेखि कक्षा ३ सम्म काठमाडौं त्रिपुरेश्वरस्थित कान्ति ईश्वरी शिशु विद्यालयमा अध्ययन गरिबक्स्यो । कक्षा ४ देखि सरकारलाई बूढानीलकण्ठ स्कुल भर्ना गरियो । सरकारको बोडर्स् गर्नुको पछाडि सरकारको त्यही उपद्रो र हठी स्वभाव कारण थियो भन्ने मलाई लाग्छ । किनभने दरबारमा सरकारले तलदेखि माथिसम्म सबैलाई हैरान पारिबक्सेको थियो । बूढानीलकण्ठ स्कुल सवारी भएपछि सरकारको उपद्रो घट्छ भनेको त झनै बढ्यो । युवराजधिराजको हिसाबले पनि सरकारले स्कुलमा अरू विद्यार्थीको तुलनामा अलिक ज्यादा नै स्वतन्त्रता र अवसर पाइबक्स्यो । सरकारका बदमासी बढे । त्यहीवेलादेखि नै रक्सी खान सुरु गरेको सूचना हामीले पाएका थियौँ । 'ग्याङफाइट'मा टिमलिडर नै भएर गएको भन्ने खबर आइरहन्थ्यो । एकपटक सरकारका सहपाठीको सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थीसँग झगडा परेछ । अनि सरकार बूढानीलकण्ठ स्कुलका विद्यार्थीको 'टिमलिडर' भएर खेतैखेत हिँडेर सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थी कुट्न गइबक्सेछ । यसरी बूढानीलकण्ठ स्कुल गएपछि 'म अरूभन्दा ज्यादा नै तगडा छु' भनेर देखाउने र अरूलाई पिटेर ढाल्ने अवसर पाइबक्स्यो, जुन मनोविज्ञान सरकारमा सानो छँदादेखि नै प्रवल थियो । 'बडिबिल्डर', 'बक्सर' या 'कराते एक्सपर्ट'का रूपमा पनि सरकारले आफूलाई विकसित गरिबक्स्यो । सरकारको रुचिअनुसारकै सैनिक अधिकृत र प्रहरी अधिकृतलाई छानेर दरबारले प्रशिक्षक र एडिसीका रूपमा बूढानीलकण्ठ स्कुल पठाएको थियो । कहिलेकाहीँ छुट्टीका वेला राजदरबार सवारी हुँदा आफ्ना पाखुरा हामीलाई देखाउँदै 'ए, तिम्रो कति सानो पाखुरा, हेर त मेरो...' भनिबक्सन्थ्यो । बूढानीलकण्ठ स्कुलबाट बिदामा सवारी भएका वेला दीपेन्द्र सरकार एक दिन राति राजदरबारको उत्तर-पूर्वको पर्खालबाट हामफालेर बाहिर सवारी भएछ । सरकार हराएपछि राजदरबारमा निकै हल्लीखल्ली मच्चियो । सरकारलाई खोज्न एडिसी र सैनिक प्रहरीलाई निकै समस्या पर्‍यो । अनेक दौडधुपपछि बल्ल उनीहरूले युवराजधिराजलाई राजदरबार फर्काएका थिए । त्यसवेला सरकारका केही साथीलाई सैनिक प्रहरीले राजदरबारमा बोलाएर सोधपुछ पनि गरेको थियो । जेहोस् बूढानीलकण्ठ स्कुल गएपछि दीपेन्द्र सरकारको आमाबुबासँग झनै दूरी बढ्यो । सरकारहरूले खर्चमा नियन्त्रण गरिबक्सेको थियो । तर, युुवराजधिराजले अन्य कैयौँ स्रोत र उपायबाट खर्च जुटाउने गरिबक्सेको मैले थाहा पाएको थिएँ । युवराजधिराजले आफ्ना आमाबुबाले दिएको खर्चले नपुगेर अन्यत्रबाट खर्च जुटाउन थाल्नु भनेको वास्तवमै चित्रण गर्न नसकिने अवस्था हो । त्यस्तो अवस्थाबाट एउटा मान्छेको सही व्यक्तित्व विकास कसरी हुन सक्थ्यो ?

जापानी प्रेमिकाको भविष्यवाणी
इटन कलेजमै पढ्दा दीपेन्द्र सरकारको जापानी केटीसँग 'अर्को अफेयर' चलेको रहेछ । त्यहीँ अरू केटीसँग पनि अनेक हिसाबले सरकारको चक्कर चलेको थियो भन्ने कुरा पछिसम्म सुनिन्थ्यो । त्यो जापानी केटीसँग भने निकै गहिरो सम्बन्ध रहेको थाहा भयो । उसले पछि धेरैपटक नेपाल आएर दीपेन्द्र सरकारलाई भेटिरहेकी थिई । कहाँ-कहाँ के-के हुन्थ्यो, त्यो भने मलाई थाहा भएन । त्यतिवेला म वीरेन्द्र सरकारको एडिसी थिएँ । युवराजधिराजका अरू नै छुट्टै दुई एडिसी थिए । सरकारका सबै कार्यक्रम उनीहरूले मिलाउँथे । सरकारको त्यो जापानी केटीसँग विवाहकै विषयमा निकै लफडा परेछ । किनभने सरकारले उसलाई पनि विवाह गर्छु भनिबक्सेको रहेछ । आखिरी पटक-पटक नेपाल आएका वेला त्यो जापानी केटीलाई एअरपोर्ट पुर्‍याउन दीपेन्द्र सरकारले एडिसी सेनानी गजेन्द्र बोहरालाई पठाइबक्सेछ । एअरपोर्ट पुग्ने वेला गजेन्द्रसँग त्यो केटीले के भनिछ भने, 'योर क्राउन पि्रन्स इज म्याड । हि विल डाई ए डग्स डेथ ।' -तिम्रो युवराजधिराज पागल हो । उसको मृत्यु कुकुरको जस्तै हुनेछ ।) त्यसपछि त्यो जापानी केटी कहिल्यै नेपाल फर्केर आइन । सायद उसको बोली सत्य भयो ।

परपीडक दीपेन्द्र

बेलग्रेडमा मैले के देखेँ भने युवराजधिराज सरकार केटीहरूको मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो । सरकार वेलावेला मैले यसो गरेँ, उसो गरेँ भनेर विभिन्न प्रसंग सुनाइबक्सन्थ्यो । कुरा सुन्दा सरकार ज्यादै 'सेडिस्ट नेचर'को पनि लाग्यो मलाई । एकपटक सरकार होटलमा रातभरि डि्रङ्क्स गरेर बसिबक्स्यो । एकजना स्थानीय केटी पनि सँगै थिई । राति तीन बजे सरकार 'म यो केटीलाई तल छाडेर आउँछु' भनेर कोठाबाहिर सवारी भयो । सुन्दरप्रताप रानासहित अरू दुई एडिसी थिए । लिफ्ट चढ्ने वेला सरकारले 'तिमीहरू जानु पर्दैन' हुकुम भयो । सरकार त्यो केटीलाई लिएर लिफ्टभित्र छिरिबक्स्यो । मैले सुन्दरलाई भर्‍याङबाट तल पठाएँ । अर्को एडिसीलाई माथि नै राखेँ । सरकार लिफ्टमा साढे दुई घन्टा राज भई बिहान साढे पाँच बजे मात्र तल ओर्लिबक्स्यो । तल गएको एडिसी तलै र माथिको एडिसी माथि नै कुरेर बस्नुपरेको थियो । लिफ्ट बिगि्रएको हो कि भनेर कसैलाई खबर गर्ने कुरा पनि आएन । एकैपटक बिहान सरकार हाँस्दै सवारी भयो ।

त्रिभुवनले झैँ बिहे गर्ने दीपेन्द्रको योजना

सरकारले मसँग कतिसम्म कुरा खोलिबक्सेको थियो भने, 'यस्तै हो भने म ग्रयान्डफादरले गरेजस्तै विवाह गर्छु । नागार्जुन गएर कसैले थाहा नपाउने गरी विवाह गर्ने तयारी गर्दै छु । कानुनी रूपमा पनि बुझ्दै छु । वडा अध्यक्षसँग पनि कुरा गर्न लगाएको छु ।' राजदरबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ मा पर्छ । सरकारले त्यही वडाबाट विवाह दर्ता प्रक्रिया मिलाउन लगाइबक्सेको रहेछ । वडा अध्यक्ष र आफ्ना नजिकका साथीभाइ बोलाएर नागार्जुन बंगलामा गएर 'सिभिल म्यारिज' गर्ने तयारीमा सरकार होइबक्सन्थ्यो । राजा त्रिभुवन बाहिर गएको मौकामा थियो रे ! यसरी दीपेन्द्र सरकारले १९ जेठको घटना हुनुभन्दा वर्ष दिनअगाडि नै देवयानीसँग विवाह गर्ने तयारी सुरु गरिबक्सेको थियो । सरकारले अरूसँग विवाह गर्ने कुनै सम्भावना नै थिएन ।
दीपेन्द्र सरकारसँग भेट भएको वेला अक्सर विवाहको विषयमै कुरा हुन्थ्यो । पहिले-पहिले देशको समसामयिक परिस्थितिबारे पनि कुरा हुन्थ्यो । तर, पछि गएर विवाहको तनाबका कारण अन्य विषयमा कुरा कम हुँदै गइरहेको थियो । दीपेन्द्र सरकारले देवयानीबाहेक अरू जसलाई चाहे पनि विवाह गराइदिन महाराजधिराज तथा बडामहारानी तयार होइबक्सन्थ्यो । तर, सरकार देवयानीबाहेक अरूसँग विवाह गर्दै नगर्ने अठोटमा पुगिबक्सेको थियो । त्यसवेला देवयानीसँग दीपेन्द्र सरकारको विवाह गराउन एउटा निकै ठूलो समूह नै सक्रिय रहेछ, जुन कुरा हामीले धेरै पछि मात्र थाहा पायौँ । देवयानीसँग विवाह गराउन परिवारका सदस्य मात्र होइन, देश-विदेशका विभिन्न समूह पनि योजनाबद्ध रूपमै क्रियाशील रहेछन् । देवयानी भारतको ग्वालियर राजघरानाकी नातेदार भएकाले भारतीय संस्थापन पक्ष तथा नीति निर्माण तहमा रहेका केही पदाधिकारीमा देवयानीलाई नेपालकी बडामहारानी बनाउन पाए राम्रो हुन्थ्यो भन्ने सोचाइ थियो । त्यस्तै देवयानीनिकट राणा परिवारका साथै युवराजधिराजका एडिसीहरूको पनि सरकारको विवाह देवयानीसँगै होस् भन्ने चाहना भएको देखिन्छ । स्वर्गीय त्रिभुवन सरकारका बडामहारानीहरू पनि भारतको हिमाञ्चलप्रदेशको राजपुत परिवारकै सदस्य होइबक्सन्थ्यो । त्यसपछि भने नेपालको राजपरिवारका कुनै पनि सदस्य र भारतीय नागरिकबीच विवाह भएको थिएन ।

कडा राजा बन्न चाहन्थे दीपेन्द्र
०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको अवस्थामा कुनै किसिमको सुधार आएन, जनताले खासै केही पाउन सकेनन् । 'महाराजधिराजले कडा कदम चाल्नुपर्‍यो' भनेर पछिल्ला वर्षहरूमा दरबारको एउटा खेमाबाट निरन्तर दबाब आइरहेको थियो । मेरो बुझाइमा दरबारको त्यो अनुदारवादी खेमाको प्रतिनिधित्व बडामहारानी, युवराजधिराज दीपेन्द्र र अधिराजकुमार ज्ञानेन्द्रबाट हुन्थ्यो । यो खेमाले राजा महेन्द्रलाई आदर्श मान्थ्यो, राजा कडा हुनुपर्छ र दलहरूलाई पेलेरै जानुपर्छ भन्ने कठोर मान्यता राख्थ्यो । मुमा बडामहारानी रत्नलगायत राजपरिवारका अधिकांश सदस्य यस खेमामा होइबक्सन्थ्यो । तर, महाराजधिराज वीरेन्द्र 'प्रजातान्त्रिक तवरले नै अघि बढ्नुपर्छ, पार्टी तथा तिनका नेताहरूलाई सहयोग गर्नुपर्छ, सिकाउनुपर्छ, पार्टी प्रणालीलाई बलियो बनाउनुपर्छ' भन्ने मान्यतामा अडिग होइबक्सन्थ्यो । जति चर्को दबाब आउँदा पनि आफ्नो मान्यताबाट सरकार अलिकति पनि विचलित होइबक्सेन । यसरी अगाडि बढ्दा सरकारको 'लिडरसिप' फितलो भयो भन्ने पनि आरोप थियो । त्यही दृष्टिकोणबाट प्रभावित भएर युवराजधिराज सरकारबाट आफ्ना बुबालाई कमजोर नेताका रूपमा लिइबक्सन्थ्यो र 'म कडा नेता बन्छु' भन्ने सोचाइ राखिबक्सन्थ्यो । युवराजधिराजको अपरिपक्व, परपीडक एवं हठी स्वभावलाई 'दह्रो नेतृत्व'को गुणका रूपमा व्याख्या गरिदिनेहरूको दरबारभित्र र बाहिरसमेत बिल्कुलै कमी थिएन । दीपेन्द्र सरकारलाई 'हि इज अ गुड लिडर, स्ट्रङ लिडर, दीपेन्द्र सरकार स्ट्रङ किङ हुन सकिबक्सन्छ' भनेर केही मान्छेले बारबार उक्साउने गरेको हामीले नदेखेको, नसुनेका होइनौँ । यसप्रकार राजपरिवारभित्रको कलह र विवाह तथा कमीकमजोरीमा खेल्दै युवराजधिराज दीपेन्द्रको महत्त्वाकांक्षालाई उकासेर लामो तथा सुविचारित षड्यन्त्रअन्तर्गत देशी-विदेशी शक्तिले दरबार हत्याकाण्ड गराएको हो भन्ने मेरो निष्कर्ष रहेको छ ।

दरवारका  पूर्वसैनिक सचिव विवेक शाहको भर्खरै प्रकाशित
पुस्तक ँमैले देखेको दरबार’को अंश

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out