भट्टराईले भने, ‘दाहालको दस्तावेज सारसंग्रहवादी’

काठमाडौं, पुस २१ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालको ‘जनविद्रोहको मूल कार्यदिशा’ मा असहमति जनाउँदै औपचारिक रूपमै लिखित फरक मत (नोट अफ डिसेन्ट) केन्द्रीय कार्यालयमा मंगलबार दर्ता गराएका छन् ।
उनको फरक मतलाई सात नेताहरूले हस्ताक्षर गरी समर्थन गरेका छन् । भट्टराईले फरक मतमा स्थायी समिति र केन्द्रीय सदस्यका साथै महिला र मधेसीको प्रतिनिधित्व गराएका छन् । उनको फरक मतमा स्थायी समिति सदस्य एवं प्रवक्ता दीनानाथ शर्मा, पोलिटब्युरो सदस्यद्वय नवराज सुवेदी, भीमप्रसाद गौतम र मधेसीबाट प्रभु साह, रामरिझन यादव, महिलाबाट सविना अर्याल र सेती–महाकालीबाट खगराज भट्टले हस्ताक्षर गरेका छन् ।

अध्यक्ष दाहालले सोमबार केन्द्रीय समिति बैठकमा जनविद्रोहको मूल कार्यदिशा भएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको अर्को दिन भट्टराईले उनको मूल आशय (स्पिरिट) मै असहमति जनाउँदै सात नेताको हस्ताक्षरसहित नोट अफ डिसेन्ट दर्ता गराएका हुन् । करिब ४५ मिनेट शान्ति र संविधान, प्रमुख अन्तरविरोध, आजको माक्र्सवादलगायत विषयमा व्याख्या गरेपछि आफ्नो ८ पेज लामो नोट अफ डिसेन्ट बैठकमा पढेर सुनाएका थिए ।
बैठकपछि प्रवक्ता दीनानाथ शर्माले बैठकमा भट्टराईले भिन्न मत प्रस्तुत गरेको जानकारी दिए । भट्टराईनिकट एक पोलिटब्युरो सदस्यका अनुसार व्यक्तिगतभन्दा प्रतिनिधिमूलक बनाएर भट्टराईले फरक मत राखेका हुन् । उनको यो फरक मत तल्ला समितिमा छलफलमा जाने छ । आफ्नो विचारलाई सुरक्षित गर्न भट्टराईले नोट अफ डिसेन्ट लिखित रूपमा दर्ता गराएको स्रोतले जनायो । उनको फरक मत पार्टीको ‘विचारधारा’ पत्रिकामार्फत तल्ला समितिहरूमा लिइने छ ।
‘बाबुरामजीले मात्र होइन, अब पार्टीको अर्को पक्षको प्रतिनिधित्व गर्दै फरक मत दर्ता भएको हो,’ उनले भने, ‘सबै क्षेत्रको प्रतिनिधित्व भएको फरक मत हो ।’
रोल्पाको फुन्टिबाङ बैठकमा २०६१ सालमा भट्टराईले एक्लै १३ बुँदे फरक मत दर्ता गराउँदा उनी कारबाहीमा परेका थिए । यसपटक अध्यक्ष दाहालले अन्तरविरोधबारे पाँचबुँदे कार्यविधि केन्द्रीय समितिको जारी बैठकमा प्रस्तुत गरी फरक मतलाई तल्लो तहसम्म छलफलका लैजाने प्रस्ताव गरेका छन् । तर अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन कार्यान्वयनमा जाने छ । दाहालनिकट एक पोलिटब्युरो नेताका अनुसार बैठकमा भट्टराईले आफूले फरक मत प्रस्तुत गरेको भए पनि बहुमतले पारित गरेको पार्टीको निर्णय कार्यान्वयन गर्ने बताएका थिए ।
भट्टराईले फरक मतमा मूल नेतृत्वको कार्यशैली, मूल्यांकन र आगामी कार्यदिशाबारे फरक मत राखेका छन् । उनले अध्यक्ष दाहालको कार्यशैलीको आलोचना गरेका छन् । सामूहिक नेतृत्व केन्द्रीकृत अभिव्यक्तिको अभाव भएको र सर्वहारा संस्कृति कमजोर हुँदै गएको आरोप लगाएका छन् ।
उनले नेपालको कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी र जडसूत्रवादीबाट खतरामा रहेको औंल्याएका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी र जडसूत्रवादीबाट खतरा छ,’ भट्टराईको भनाइ उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, ‘एमालेले स्पष्ट रूपमा दक्षिणपन्थीको नेतृत्व गरेको हुनाले जडसूत्रवादबाट आन्दोलनमा खतरा छ ।’
‘जनयुद्ध’, जनआन्दोलन–२, मधेस आन्दोलनको उपलब्धि संविधानसभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लगायत उपलपब्ध रक्षा गर्दै अगाडि बढे मात्र गन्तव्यमा पुग्न सकिने उनले बताएका छन् । पालुङटार बैठकमा प्रस्तुत फरक दस्तावेजको सार निकाली उनले बैठकमा प्रस्तुत गरेका हुन् ।
उनले दाहालको कार्यदिशा ‘सारसंग्रहवादी’ भएको उल्लेख गर्दै यसले मुलुकलाई अन्योलमा पार्ने बताएका छन् । ‘अध्यक्ष प्रचण्ड र उपाध्यक्ष किरणको संयुक्त दस्तावेज सारसंग्रहवादी छ,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसले मुलुकलाई न जनविद्रोहमा लैजान्छ, न शान्ति र संविधान निष्कर्षमा पुर्‍याउँछ ।’
भारतसँग मुख्य अन्तरविरोधका सम्बन्धमा उनले राष्ट्रियताको भन्दा आन्तरिक जनवादको प्रश्न प्रमुख भएको उल्लेख गरेका छन् । ‘यतिबेला मूल प्रश्न आन्तरिक जनवादकै हुन्छ,’ उनले भनेका छन् । उनले भारतलाई प्रमुख दुस्मन तोक्ने अवस्था नभएको उल्लेख गर्दै देशभित्रकै सामन्तवादका अवशेषसँग संघर्ष गर्नुपर्ने र त्यसका लागि सडक, सदन र सरकारबाट आन्दोलन गर्नुपर्ने बताएका छन् । दाहालको राजनीतिक प्रतिवेदनमा भने राष्ट्रिय स्वाधीनताको संघर्षका लागि देशभक्तहरूसँग कार्यगत एकता गर्नुपर्ने उल्लेख छ ।
 पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले भट्टराईको नोट अफ डिसेन्टमा भएको विश्लेषण सहीजस्तो देखिए पनि संश्लेषण नमिलेको बताए । अन्तरसंघर्षलाई व्यवस्थित गरी लैजाने कुरा भने ठीकै छ ।
‘पार्टीको निर्णय मान, फरक विचारको सम्मान गर’
यसैबीच बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीलाई अराजक र निरंकुश हुनबाट जोगाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
दाहालतिर संकेत गर्दै भट्टराई पक्षका केन्द्रीय सदस्यहरूले पार्टीलाई निरंकुश नबन्न सुझाव दिए । दाहाल पक्षका नेताहरूले अराजक हुन नहुने बताएका थिए । ‘पार्टी नोकरशाह पनि नहोस्, अराजक पनि नहोस्,’ उनीहरूको भनाइ थियो, ‘फरक विचारलाई सम्मान गर र पार्टीको निर्णय मानेर कार्यान्वयन गर ।’ बैठकमा पोलिटब्युरो सदस्य प्रभु साह, नवराज सुवेदी, आहुती, गंगा श्रेष्ठ, निनु चापागाईं, सुरेश आले, हकिकुल्लाह खाँ, अन्जना विशंखेलगायत करिब ४० जनाले बोलेका थिए ।
उनीहरूले मधेसी नेताको बढुवा गर्दा अन्य क्षेत्रलाई पनि ध्यान दिन र अन्य जनजातिलाई पनि समावेश गर्न माग राखेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out