जनविद्रोहका लागि माओवादीको ४ तयारी

काठमाडौ, पुस २३ - माओवादीले 'जनगणतन्त्र' का लागि सडक संघर्षलाई प्राथमिकता दिँदै चार तयारी र चार आधार निर्माण गरी जनविद्रोह संगठित गर्नुपर्ने नीति तय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले शान्ति, संविधान र सरकारभन्दा सडक मोर्चालाई प्राथमिकतामा राख्ने निर्णय पनि पारित गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको केन्द्रीय समितिबाट बहुमतद्वारा पारित राजनीतिक दस्तावेजमा जनविद्रोहका चार तयारी -वैचारिक, राजनीतिक, सांगठनिक र आर्थिक/प्राविधिक) र चार आधार (अन्तर्राष्ट्रिय सम्बन्ध, सुरक्षा निकायको सन्तुलन, जनसमुदाय र युवाको परिचालन) गर्ने उल्लेख छ । उनको १७ पेज लामो दस्तावेजको पृष्ठ आठमा 'पार्टी कार्यदिशाबारे' शीर्षकमा यो कुरा उल्लेख छ ।

'जनताको संघीय गणतन्त्र अर्थात् जनगणतन्त्र स्थापनाका लागि शान्ति, संविधान र सरकार मोर्चाको संघर्षका साथै सडक संघर्षलाई प्राथमिकता दिँदै चार तयारी र चार आधार निर्माण गरी जनविद्रोह संगठित गर्नुपर्दछ,' दस्तावेजमा उल्लेख छ, 'यसका लागि राष्ट्रिय स्वाधीनता र जनताको सर्वोच्चताका साथै जनजीविकासँग सम्बन्धित जल्दाबल्दा प्रश्नहरूसमेत लिई आन्दोलन संगठित गर्दै अगाडि बढ्ने नीति पनि पार्टीले स्पष्ट गरेको छ ।'
अध्यक्ष दाहालको जनविद्रोहको तयारी गर्ने कार्यदिशाप्रति उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानको जोड दिँदै यसका लागि सदन, सरकार र सडक संघर्षलाई जोड दिने भन्दै फरक मत (नोट अफ डिसेन्ट) लेखिसकेका छन् ।
मंसिर पहिलो साता सम्पन्न छैटौं विस्तारित बैठकमा प्रस्तुत र मंगलबार केन्द्रीय समिति बैठकद्वारा पारित दस्तावेजमा जनविद्रोहका लागि विभिन्न शक्तिबीच मोर्चा बनाउने पनि उल्लेख छ । 'राष्ट्रिय स्वाधीनताको विषयलाई प्राथमिकता दिई पार्टीलाई एकताबद्ध तुल्याउन, वामपन्थी, प्रगतिशील, देशभक्त एवं जनवादी शक्तिहरूका बीचमा व्यापक मोर्चा बनाई आन्दोलनको सृष्टि गर्नु तथा तत्काल र योजनाबद्ध रूपले राष्ट्रियता र जनवादको विषयलाई जोडेर जनविद्रोहको संगठित गर्नुपर्छ,' दस्तावेजमा भनिएको छ, 'राष्ट्रिय प्रतिरोध युद्धको तयारी गर्नुको अर्को विकल्प छैन ।'
माओवादीले सडक, सदन र सरकारको मोर्चा हस्तक्षेप गर्ने नीति विद्रोहको आधार तयार पार्ने योजनाको रूपमा लिएको छ । 'सैद्धान्तिक स्पष्टताका लागि केही प्रश्नहरू' शीर्षकमा दाहालले भनेका छन्, 'संविधानसभाको सबैभन्दा ठूलो पार्टी हुनुको नाताले तत्कालीन रूपमा सडक, सदन र सरकारको मोर्चाबाट हस्तक्षेप गर्ने जुन नीति लिएको छ, यसलाई क्रान्तिको कुनै मोडेलका रूपमा होइन, अपितु विद्रोहको आधार तयार पार्ने पार्टीको आजको ठोस योजनाका रूपमा मात्र बुझ्नुपर्छ ।'
माओवादीको दस्तावेज पृष्ठ ११ मा शान्ति र संविधान निर्माण गर्न पार्टी इमान्दार र गम्भीर भएको पुष्टि गर्ने उल्लेख छ, जुन जनविद्रोहको नीतिसँग विरोधाभास देखिन्छ । 'जनताको शान्ति र जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्न पार्टी इमान्दार गम्भीर रहेको तथ्यलाई पुष्टि नगरी एवं शान्ति र संविधानका विरुद्ध प्रतिक्रियावादी षड्यन्त्रको पर्दाफास नगरी आजको नेपाली जनता विद्रोहका निमित्त तयार हुन सम्भव छैन,' दस्तावेजमा जसरी पनि सेना समायोजन र संविधान निर्माण गर्नु आत्मघाती हुने उल्लेख छ, 'जसरी पनि सेना समायोजन र पुनःस्थापना गरेर शान्ति प्रक्रिया टुंग्याउने र जस्तो भए पनि एकथान संविधान बनाउने नीति लिइयो भने पार्टी र क्रान्तिका लागि आत्मघाती हुनेछ ।' दाहालले माओवादीलाई आत्मसमर्पण गराउने, विघटन र ध्वस्त पार्ने रणनीतिमा अर्को पक्ष लागेको दाबी गरेका छन् ।
दस्तावेजमा राजनीतिक गतिरोध 'भारतले गरेको' निष्कर्ष निकाल्दै प्रधानअन्तरविरोध उससँगै हुनुपर्ने उल्लेख छ । 'आज देशमा देखा परिरहेको राजनीतिक गतिरोधका पछाडि प्रधानअन्तरविरोधको स्थितिमा आएको परिवर्तनले काम गरिरहेको छ,' भारतले विभिन्न हस्तक्षेप जारी राखेको उल्लेख छ, 'दलाल नोकरशाह पुँजीपति र सामन्ती वर्ग मिलेर बनेको घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवाद घुलमिल भएर एउटा कित्ता र आम नेपाली जनता अर्को कित्ता धु्रवीकृत बनेका छन् र यसले प्रधानअन्तरविरोधको स्थिति स्पष्ट गरेको छ ।'
पार्टीभित्र भ्रष्टाचार तस्करी भयानक
एउटा वर्गको निर्माणको कुरा गर्ने माओवादीभित्र धनी र गरिब वर्ग बन्न थालेको दाहालले उल्लेख गरेका छन् । 'पार्टीभित्र सम्पन्न र विपन्नहरूका अलग-अलग वर्ग बन्न थालेका छन् । माथिदेखि तलसम्मका केही सीमित पदाधिकारी वा टाठाबाठाहरूको दिनप्रतिदिन वर्गउत्थान हुँदै र कार्यकर्ताहरूको विशाल पंक्ति बेरोजगार, अभाव र उत्पीडनको सिकार बन्दै जाने गम्भीर स्थितिको विकास भइरहेको छ,' त्यसमा थप उल्लेख छ, 'यतिमात्र होइन, पार्टीमा आर्थिक अराजकता व्याप्त छ र भ्रष्टाचार, तस्करी र जबरजस्ती असुलीका भयानक विकृतिहरूले टाउको उठाइरहेका छन् ।'
मधेसका लागि योजना
माओवादीले तराई-मधेसका लागि आन्दोलन केन्द्रित गर्ने निर्णय गरेको छ । मधेसी नेताको बढुवालगायत भारतविरुद्ध आधार तयार पारी योजना बनाउने निर्णय केन्द्रीय समितिले गरेको छ । अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमा मधेससँग सम्बन्धित विषयमा करिब डेढ पृष्ठ खर्चेका छन् ।
'नेपाली भूराजनीतिक अवस्थिति र भारतीय विस्तारवादका विरुद्ध संघर्षको विशिष्टता समेतका कारण पार्टीले नेपाली जनवादी क्रान्तिका लागि मधेसको रणनीतिक महत्त्व र भूमिकालाई स्वीकार गर्दै आएको छ,' दस्तावेजमा उल्लेख छ, 'मधेसमा काम गर्ने नेता, कार्यकर्ता र समर्थक शुभचिन्तकमाथि प्रतिक्रियावादी र अपराधी गुण्डाहरूद्वारा भइरहेका हमलाहरूको प्रतिरोध गरी उनीहरूको भौतिक सुरक्षा सुनिश्चित गर्न ठोस योजना बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ ।'
आगामी कार्ययोजना
जनगणतन्त्रका लागि 'वैचारिक र राजनीतिक पक्ष' बारे दाहालले सबै तयारी गर्ने उल्लेख गरेका छन् । 'जनताको संघीय गणतन्त्रका लागि जनविद्रोह, स्वाधीनताको आन्दोलन र राष्ट्रिय प्रतिरोधसम्मको आवश्यकता र महत्त्वलाई केन्द्रविन्दुमा राखेर सैद्धान्तिक, राजनीतिक प्रशिक्षण, स्कुलिङ, प्रकाशन तथा प्रचारप्रसारका कामलाई ठोस योजना बनाई प्रभावकारी रूपले सञ्चालन गर्ने' उल्लेख गरिएको छ, 'आन्दोलनका विरुद्ध भइरहेको घेराबन्दी तोड्न अविलम्ब तयारीको आवश्यकतालाई आत्मसात् गरी युद्धस्तरमा स्थानीय तहदेखि केन्द्रसम्म संयुक्त मोर्चा कमिटीहरू गठन, वाईसीएल टिम गठन गर्ने, केन्द्रीय ब्युरो र स्टाफको पुनर्गठन गरी पहिलो चरणको काम माघभित्र सम्पन्न गरिसक्ने ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out