कमजोर हुँदैछ वैवाहिक सम्बन्ध

काठमाडौ । काठमाडौँ सीतापाइलाकी २६ वर्षीया एक युवतीले धुमधामसँग बिहे गरेकी थिइन् । तर उनी आठ महिना पनि पति तथा परिवारसँग राम्रोसँग बस्न सकिनन् । घरपरिवारकै राजीखुसीमा उनको कपनका एक सरकारी अधिकृतसँग बिहे भएको थियो ।
राजधानीको एक प्रतिष्ठित अस्पतालमा कार्यरत उनले आफूले भनेजस्तो घर नभएको र घरमा स्वतन्त्रता नपाएको भन्दै पतिको घर छोडेको बताइन् । उनले त्यस विवाहको कुनै नाम निशासा नरहने गरी रु १० लाखमा गत साउनमा कानुनीरूपमा सम्बन्धविच्छेद गरिन् ।
राजधानीकै बालुवाटार निवासी एक अर्की युवतीको स्थानीय संस्थामा काम गर्दागर्दै एक वर्ष अगाडि विवाह भएको थियो । तर उनी पनि पति तथा घरपरिवारसँग सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगेकी थिइन् । पढाइको कुरा गर्ने हो भने पनि उनी स्नातक हुन् । घर छोड्नुको कारण उनले यसरी सुनाइन्- 'पति जागिरका कारण घर बाहिर बस्नुहुन्थ्यो । घरमा सासू र आमाजूले सधैँ सम्पत्तिको कुरा गर्ने ।
कामले बेलुका अलि ढिलो घर पुगे ढोका नखोलिदिने । सधैँ किचकिच गर्ने । कोठामा थुनेर राख्ने तथा कुट्ने गरेपछि कसरी बस्न सकिन्छ त ?'
अर्का एकजना युवकले पनि सँगै बाँच्ने सँगै मर्ने कसम खाई विवाहबन्धनमा बाँधिएको तीन महिनामै सम्बन्ध तोडे । उनकी पत्नी राजधानीको एक अस्पतालमा काम गर्थिन् । उनलाई घरपरिवारभन्दा जागिर प्यारो लाग्न थालेपछि उनले सम्बन्ध टुक्रयाउन राजी भएको बताए । जागिर खाँदै गरेकी उनले त्यसै सम्बन्ध तोडिनन् । आफूले माग गरेको मोटो रकम पाएपछि झिटीझाम्टा बोकेर हिँडिन् । केटीले रु नौ लाख पाएपछि सँगै जीवन जीउने भनी कसम खाएको सम्बन्ध तीन महिनामै तोडेको ती ३० वर्षीय युवकले सुनाए ।
यस्ता अनगिन्ती घटनामध्ये यी त केही उदाहरण मात्रै हुन् । समयको परिवर्तन, घरेलु हिंसा, पश्चिमी जगतको प्रभाव, व्यक्तिगत स्वतन्त्रताको बढ्दो चाहना, भौतिकवादको बोलवाला, यौनमा विविधताको खोजी आदि कारणले वैवाहिक सम्बन्ध अब पहिलाको जस्तो बलियो छैन ।
जति पढेलेखेका भए पनि, जति कमाउने भए पनि, जति ठूलो काम गरेको भए पनि, जति सामाजिक प्रतिष्ठा बोकेका व्यक्ति भए पनि बिहेजस्तो पवित्र र सामाजिक सम्बन्धलाई अलिकति तनावमै पनि सजिलै टुक्रयाउन थालिएको छ हिजोआज । पहिलाजस्तो पति-पत्नीबीच सहिष्णुताको संस्कार अब पाउन दुर्लभ हुँदै गएको छ । काठमाडौँ उपत्यका मात्र होइन, बाहिरी जिल्ला, सहर र गाउँघरसम्म पनि यो नयाँ हावा विस्तारै फैलँदै गएको छ ।
पढाइलेखाइ, जागिर, आत्मनिर्भरता, विश्वव्यापीकरण, आधुनिक समयलगायतले महिला र पुरुषलाईर् सशक्त र सचेत पार्दै गएपछि उनीहरूले वैवाहिक सम्बन्धमा आउने सामान्य उतारचढावलाई पनि ठूलो झन्झटका रूपमा लिई सम्बन्धविच्छेद नै गर्न अघिसर्ने गरेको अधिवक्ता मीरा ढुङ्गाना बताउनुहुन्छ ।
जसले जे भने पनि मनसँग जोडिएको सम्बन्ध तोडिनु भनेको पति-पत्नी दुवैका लागि जीवनभर रहिरहने एउटा मानसिक घाउ हो । यसले व्यक्तिलाई मानसिक पीडा दिन्छ । जीवन सहज होस् भनेर त विवाहजस्तो समाजमा नातासम्बन्धको विकास भएको हो । यो सम्बन्धको पनि लामो इतिहास छ । तर आवेशमा गरिएको सम्बन्धविच्छेदले उनीहरूलाई जीवनभर कतै न कतै चिमोटिरहन्छ ।
पश्चिमा मुलुकहरूमा विकास भएको बिनाविवाह सँगसँगै बस्ने (लिभिङ टुगेदर) सम्बन्धको प्रभाव नेपालमा पनि परेकाले वैवाहिक सम्बन्ध कमजोर हुन थालेको धेरैको ठम्याइ छ ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष नयनकला थापाले पति-पत्नीको पहिचानविना महिलाले आफ्नो अधिकारका लागि उजुरी दिन थालेपछि नेपालमा पनि यस्तो सम्बन्ध गरी बस्नेहरू रहेकोबारे औपचारिकरूपमा थाहा हुन आएको बताउनुभयो ।
बिनाविवाह वयस्क पुरुष र महिलासँगै बस्ने नयाँ चलन नेपालमा लैङ्गिक हिंसाको सम्भावनालाई निम्त्याउने कारणका रूपमा देखिन थालेको छ । जसलाई ऐन, कानुन र नियमले छुट्टैरूपमा सम्बोधन गर्न नसकेको आयोगको धारणा छ ।
यस्तो सम्बन्धबाट पीडित हुनेहरूलाई घरेलु हिंसाविरुद्धको ऐनले समेत सम्बोधन नगर्ने आयोगका निमित्त सचिव ऋतुराज भण्डारीले बताउँदै अगाडि भन्नुभयो- 'किनकि यस्तो सम्बन्ध घरभित्रको नाता सम्बन्धसँग सम्बन्धित हुँदैन ।'
नेपालको परिवेशलाई हेर्ने हो भने यस्तो सम्बन्धबाट सिर्जित गर्भधारणले शारीरिक र मानसिकरूपमा महिलालाई पीडित र सामाजिकरूपमा लाञ्छित बनाउने देखिन्छ । अधिकांश महिला यौन हिंसाको सिकार हुनसक्ने, बच्चाको पहिचान हुन नसक्ने र बच्चा तथा महिला पैतृक सम्पत्तिको हकबाट वञ्चित हुने आयोगले तयार पारेको तथ्याङ्कले देखाएको छ ।
नेपालका विशेष गरी ठूला नगर क्षेत्रमा कतिपय अविवाहित युवायुवती, विवाहित पुरुष र अविवाहित महिला, अविवाहित पुरुष र विवाहित महिला तथा एकल महिला र पुरुषबीच खर्चको मितव्ययिता र यौन आवश्यकता पूर्तिका लागि सँंगसँगै बस्न थालेका छन् । आयोगले यस्तो सम्बन्धबाट पीडित भएको भन्दै १० जना महिलाले उजुरी दिएको जनाएको छ ।
तर पश्चिमा मुलुकहरूमा विना विवाहसँगै बस्ने सम्बन्धको सुरुवात भएको भने धेरै भइसकेको छ । तथ्याङ्कका अनुसार बेलायतमा २५ प्रतिशत बच्चाहरू विनाविवाह सँगै बस्ने सम्बन्धबाट जन्मेको पाइन्छ । प|mान्समा १९९९ मा १७.५ प्रतिशत जोडी यो सम्बन्धमा रहेको पाइएको थियो । डेनमार्क, नर्वे र स्वीडेनजस्ता सुशासन र सामाजिक सुरक्षाको प्रत्याभूति भएका मुलुकहरूमा समेत ५० प्रतिशत बच्चा अविवाहित जोडीबाट जन्मिएका हुन्छन् । फिनल्यान्डमा सन् २००५ को अध्ययनअनुसार वयस्क उमेर समूहका २१ प्रतिशतमा 'लिभिङ टुगेदर रिलेसनसिप' देखिएको थियो ।
न्युजिल्यान्डमा २००१ मा नै १८.३ प्रतिशत महिला र पुरुष यो सम्बन्धमा रहेको पाइएको थियो । अन्य पश्चिमी युरोपेली देशहरूमा आठ प्रतिशत जोडी यो सम्बन्धमा रहेको देखिन्छ ।
एसियातर्फ हेर्ने हो भने, फिलिपिन्समा कुल जनसङ्ख्याको १८ प्रतिशत जनसङ्ख्या यो सम्बन्धमा रहेको पाइन्छ । खासगरी २० देखि २४ वर्ष उमेर समूहका युवायुवती यो सम्बन्धमा रहने गरेको आयोगमा सङ्कलित तथ्याङ्कले देखाएको छ ।
व्यक्तिगत स्वतन्त्रता र यौन स्वच्छन्दतामा आवश्यकताभन्दा धेरै खुला रहेका कारण विभिन्न विकृति र विसङ्गतिले ग्रस्त पश्चिमा शैलीको नकारात्मक संस्कृतिको सिकोले नेपाली समाज र आधुनिक पुस्तालाई सङ्क्रमित गर्दैछ । भारतमा पनि यस्तो सम्बन्धको नकारात्मक प्रभाव बढ्दै गएको र यसको परिणामस्वरूप विशेषगरी महिला र बालबालिका पीडित हुने गरेकाले त्यहाँको उच्च न्यायालयले विनाविवाह सँगै बस्ने जोडीलाई पनि विवाहित जोडीसरह नै मान्ने फैसला गरेर एक स्पष्ट दिशानिर्देश गरिदिएको छ ।
नेपालमा पनि बेलैमा यस्तै स्पष्ट कानुनी आधार भएमा विनाविवाह सँगै बस्ने प्रचलनका नकारात्मक असरलाई नियन्त्रण गर्न सकिने छ । यसमा जति ढिलाइ हुन्छ त्यति नै यसबाट पीडित हुने परिवार, महिला, पुरुष र निर्दोष बालबालिकाको सङ्ख्या बढ्दै जानेछ ।
आफू जन्मिएको, हुर्किएको घरमा आफूले चाहे जस्तो स्वतन्त्रता नपाएको भनेर स्वतन्त्रताको खोजीमा विनाविवाह एक पुरुषसँग राजधानीमा आठ महिनाजति सँगै बसेकी राम्रो आयसमेत भएकी एक युवती आफ्नो तीतो अनुभव यसरी सुनाउँछिन् - 'यसरी बस्दा सुरुसुरुमा त खुब मज्जा लाग्यो, तर जब गर्भनिरोधक साधनले धोका दियो, त्यसपछि उसले पनि धोका दियो, अहिले पछुतो लाग्छ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out