कल बाइपासको समस्या

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोराले एक साताअघि पत्रकार सम्मेलनमा भनेका थिए, 'कल बाइपास गर्न दूरसञ्चार कम्पनीको सिमकार्ड नभई सम्भव छैन। त्यसो हुँदा ती कम्पनीलाई पहिलो कारबाही हुनुपर्छ।' उनले यसो भनेको एक सातापछि नै शनिबार साँझ नागरिक दैनिकका सहकर्मीलाई अमेरिकाबाट आएको टेलिफोन कलमा १० वटा मोबाइल नम्बर देखियो। तीमध्ये कुनै पनि अमेरिकाको मोबाइल कम्पनीका थिएनन्। अमेरिकाबाट आएको कलमा नेपाल टेलिकमको प्रिपेड मोबाइलको नम्बर देखिए। कलपिच्छे नेपालको फरकफरक नम्बर आयो।

नेपालकै नम्बर देखिँदा कतिले त नचिनेको भएर उठाउँदैनन्। उठाउनेले समेत नेपालको नम्बर देखेपछि अचम्म मान्छन्। अनि कसरी नेपालको नम्बर आयो भन्नेबाट कुराकानीको सुरु हुन्छ। विदेशबाट नियमित कल आउनेलाई नेपाली नम्बर देखिनु सामान्य लाग्न थालिसक्यो।

प्राविधिकरुपमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआइपी) भनिने यस्तो प्रविधिमार्फत विदेशबाट आएको कलमा नेपालकै नम्बर देखिन्छ। यो अवैध प्रविधि भने होइन। किनभने अहिले नेपाल टेलिकम, युटिएललगायत टेलिफोन कम्पनीहरुले यहाँबाट हुने कललाई विदेश पठाउन भीओआइपी प्रविधि प्रयोग गरिरहेका छन्। अवैध कहाँनिर हो भने विदेशबाट आएको कललाई नेपाल भित्र्याउन लाइसेन्स पाएका बाहेक कहीँ दर्ता नभएका, एक सुका राजस्व नतिर्नेहरुले गोप्य कोठाबाट यो धन्दा गरिरहेका छन्। यसबाट न राजस्व सरकारले पाउँछ, न फोन गर्नेदेखि लिएर रिसिभ गर्नेले समेत गुणस्तरीय सेवा पाउँछन्।
यसबाट सबैभन्दा बढी असर टेलिफोन कम्पनीहरुलाई परेको छ जससँग अन्तर्राष्ट्रिय कल यहाँ ल्याउने र बाहिर पठाउने गेटवे छ। भीओआइपीबाट कल आउँदा अहिले विदेशबाट कल ल्याउन पाइरहेका नेपाल टेलिकम, एनसेल, युटिएल र एसटिएम सञ्चारबाट नभई सिधै इन्टरनेटमार्फत आउँछन्। इन्टरनेटबाट आएको कललाई यहाँ राखिएको सिमकार्डसहित बक्सले जुन टेलिफोन नम्बरमा त्यो कल जानुपर्ने हो स्वचालित रुपमा पठाइदिन्छ। त्यसरी जाँदा जुन सिमकार्ड प्रयोग भयो फोन रिसिभ गर्दा त्यसैको नम्बर स्त्रिकनमा देखिन्छ। विदेशबाट आएको कलबाट टेलिकमले गत वर्ष साढे ४ अर्ब २६ करोड रुपियाँ कमायो। अरु कम्पनीले कम्तीमा एक अर्ब रुपियाँ गेटवेबाटै आनन्दले कमाइरहेका छन्।
भीओआइपीमार्फत कल बाइपास बढेर राजस्वमा असर परेपछि नियन्त्रण गर्न प्रहरी निकै सक्रिय छ। प्रहरी सक्रियताको प्रहारमा इन्टरनेट सेवा प्रदायक परेका छन्। यस धन्दामा 'इन्टरनेट सेवा प्रदायकको संलग्नता छ' भन्ने दाबी प्रहरीको छ। तर, इन्टरनेट सेवा प्रदायकहरु आफूले कुनै सेवा दिँदा कसैले दुरुपयोग गर्छ भने त्यसको भागिदार सेवा बेच्नेलाई बनाउन नहुने तर्क राखिरहेका छन्।
भीओआइपी नियन्त्रण गर्न प्रहरीभन्दा यस क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरण सक्रिय हुनुपर्ने थियो। भीओआइपी कल बाइपासको मामिलामा प्राधिकरण अघिअघि र प्रहरी पछिपछि हुनुपर्थ्यो। यहाँ प्रहरी अघिअघि र प्राधिकरण निरीह भएर पछिपछि छ। अनि यसको जड पत्ता नलगाई इन्टरनेट बेच्ने आइएसपीमाथि मात्र प्रहार भइरहेको छ।
प्रहरी कारबाहीको झोकमा उपभोक्तालाई सास्ती दिँदै एक घन्टा इन्टरनेट बन्द गरेर सेवा प्रदायकले गत साता बितन्डा मच्चाए। संसारका सभ्य मुलुकमा यस्तो घटना कहीँ हुँदैन। हो, इन्टरनेट सेवा प्रदायकहरु प्रहरीको तारो बनेका छन्। उनीहरुलाई सेवा बेचेकै आधारमा पक्राउ गर्न प्रहरी जागेको छ जुन स्वाभाविक होइन। प्रहरीले धरपकड सुरु गर्‍यो भन्दैमा इन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताको अधिकार हनन् गरे आफ्नो विरोधका लागि।
प्रविधि र कानुनबीच तालमेल नमिल्दा सिर्जित यो कल बाइपास समस्या जतिसुकै कडाइ गरे पनि पूरै निर्मूल हुन सक्दैन। केही वर्षपहिले अवैध भीओआइपी कल बाइपास नियन्त्रण गर्न बंगलादेश सरकारले सेना परिचालन गर्नुपरेको थियो। कल बाइपास घटाउन कानुनमात्र भएर पनि पुग्दैन। विदेशबाट आउने कलको देशभित्रैको टर्मिनेसन (एउटा कम्पनीको गेटवेबाट आएको कल अर्को कम्पनीमा जाने) दर बढी छ। देशभित्रै कल गर्दा सबै कर जोड्दा डेढ रुपियाँमा हुने टेलिफोन कल हुन्छ भने विदेशबाट आएको कललाई कुनैकुनै कम्पनीले साढे पाँच रुपियाँसम्म लिन्छन्। भीओआइपी कल बाइपास फस्टाउनुको भित्री कारण देशभित्रबाट हुने कल र बाहिरबाट आउने कलको टर्मिनेसनमा भएको ठूलो अन्तर हो।
भीओआइपी कल बाइपास फस्टाउनुको अर्को कारण हो, नेपाली टेलिफोन कम्पनीहरुसँग पर्याप्त मात्रामा कल भित्र्याउने क्षमता नहुनु। विदेशबाट नेपालमा कल गर्न निकै कठिनाइ छ। त्यहाँबाट नेपालमा कनेक्सनका लागि सर्किट पाउनै मुस्किल छ। नेपाली टेलिफोन कम्पनीहरुले सर्किट थपेर ल्याउन सकिने जति कल ल्याउनुको बदला टर्मिनेसन शुल्क विदेशदेखि लिएर देशभित्रै निकै चर्को दर राखेका छन्। त्यसको फाइदा अवैध भीओआइपी कल बाइपास गर्नेले मज्जाले उठाउन पाइरहेका हुन्।
सर्किट थप्ने, टर्मिनेसन शुल्क कम गर्ने हो भने भीओआइपी कल बाइपास स्वतः बन्द हुन्छ। दूरसञ्चार कम्पनीहरुले सर्किट थप्ने र टर्मिनेसन शुल्क अहिलेको भन्दा केही रुपियाँ घटाइदिने हो भने भीओआइपी कल बाइपास गर्न खुला गरिदिने हो भने पनि त्यसमा कोही आउनेवाला छैन।
विदेशमा रहेका नेपालीहरु यहाँ आफन्त, परिवारलाई भनेको बेलामा सम्पर्क गर्न नसकेर धुरुधुरु रोइरहेका छन्। भनेको बेला सर्किट पाइँदैन। महँगो टर्मिनेसनले गर्दा शुल्क पनि त्यतिकै महँगो पर्छ। यो घटाउने, विदेशका कम्पनीहरुसँग सम्झौता गरेर सर्किट थप्नेतिर त्यति ध्यान गएको छैन। हुन त नेपाल टेलिकमले भर्खरै कतारको क्यु-टेलसँग यस्तो सम्झौता गरेको छ। त्यसबाट त्यहाँ रहेका नेपालीले पहिलेभन्दा सस्तोमा फोन गर्न पाएका छन् भने थपिएको सर्किटले कलको कनेक्सन दरसमेत बढेको छ। एनसेलले युरोपबाट सजिलो र सस्तो दरमा कल नेपाल भित्र्याइरहेको छ। यस्तो सम्झौता गर्दै जाने हो भने विदेशमा बसेका नेपालीले नेपालमा कल गर्दा कुनै झन्झट बेहोर्नुपर्ने छैन र महँगो महसुल पनि तिर्नुपर्दैन। न कल बाइपासकै समस्या रहन्छ। कल बाइपासको कारक भनेकै बाहिरबाट आउने कलमा भएको ठूलो 'मार्जिन' हो। यही आकर्षक मार्जिनले कल बाइपास गर्नेहरुलाई ठूलो लगानीबिना नै ठूलो रकम आम्दानी हुने बाटो दूरसञ्चार कम्पनीहरु आफैँले दिइरहेका छन्।
नेपालबाट गुगलमार्फत अमेरिकामा निःशुल्क फोन गर्न सकिन्छ। त्यहाँ टर्मिनेसन चार्जलाई लिएर विरोध भएको छैन। विश्वभरिबाट गुगलमार्फत फोन अमेरिकामा जाँदा त्यहाँका कम्पनीहरुलाई अर्बौँ डलर आम्दानी पक्कै घटेको छ। किन विरोध भएन भने प्रविधिलाई कानुनले मात्र रोक्न सक्दैन।
टर्मिनेसन शुल्क नघटाउने हो भने प्रहरीमात्र होइन अब बंगलादेशमा जस्तो सेना परिचालन गरे पनि कल बाइपास निमिट्यान्न हुने अवस्था छैन। प्रविधिले कति सजिलो पारिदिएको छ भने कहाँबाट कल बाइपास भइरहेको छ भन्ने पत्ता लगाउनै मुस्किल हुन थालिसक्यो। विकल्प टर्मिनेसन शुल्क घटाउनुमात्र हो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out