लादेनपछिको विश्वका चुनौती

वासिङटन डिसी (एजेन्सीहरू)- टाइम म्यागेजिनका संवाददाता टोनी क्यारन २००१ डिसेम्बरमा दक्षिण अफ्रिका घुम्न जाँदै थिए। सम्पादकले भने, 'बिदामा बस्नुअघि ओसामा बिन लादेनको अबिच्युरी (समवेदना-लेख) लेखेर जानू।'

उनलाई डर थियो, कतै टोनी केपटाउनको समुद्री तटमा सयर गरिरहेका बेला अफगानिस्तानमा अमेरिकी सेनाको आक्रमणबाट लादेन मारिए भने! सम्पादकले भनेअनुसार लादेनको अबिच्युरी लेखेर टोनी छुट्टी मनाउन निस्के। तर, त्यो लेख पाठकसम्म पुग्न १० वर्ष लाग्यो। त्यो पनि उनकै संस्मरणका रूपमा मात्र।
सोमबार बिहान पाकिस्तानको एबट्टाबादको एउटा सुरक्षित र सुविधासम्पन्न घरमा अमेरिकी सेनाले गरेको आक्रमणमा अमेरिकाका 'मस्ट वान्डेट आतंकवादी' ओसामा बिन लादेन मारिए।
त्यसलगत्तै टोनीले टाइम डट कममा आफूले दस वर्षअघि लेखेको अबिच्युरीका अंशसहित घटना विश्लेषण गरेका छन्। उनले लेखेका छन्, 'त्यो बेला लादेन पक्राउ पर्नु वा मारिनुलाई अमेरिका र आतंकवादविरुद्धको युद्धमा निर्णायक घडी भन्न सकिन्थ्यो, तर आज यो घटना समग्र आतंकवादविरोधी लडाइँको एउटा सानो प्रसंगभन्दा बढी केही होइन।'

बिन लादेनको मृत्युपछि विभिन्न कोणबाट घटना विश्लेषण गरिरहेका अमेरिकी, युरोपेली तथा अन्य अन्तर्राष्ट्रिय अखबारमा टोनीको विचारसँग मिल्दोजुल्दो विश्लेषण बढी प्रवाह भइरहेको छ।

सेप्टेम्बर ११ मा अमेरिकामाथिको आतंककारी हमलापछि संसारभरि अलकायदाको परिचय शिरमा सेतो फेटा गुथेका, लामो कालो दारी र जुंगा पालेका, लाम्चो अनुहारका व्यक्तिको तस्बिरसँग आएर जोडिन पुग्यो। बेलाबेला अलजजिरालगायत अरबी टेलिभिजन च्यानलमार्फत् भिडियो सार्वजनिक गरेर अमेरिका र अमेरिकीविरुद्ध 'जेहाद' घोषणा गर्ने तिनै व्यक्ति थिए, ओसामा बिन लादेन।

यसबीच लादेन अफगानिस्तानको तोराबोरा क्षेत्रको गुफामा लुकेर बसेका छन् भन्ने शंकाका आधारमा अमेरिकी सेनाले बम खसाल्यो। त्यही बमबारीमा लादेन मारिएको प्रचार पनि भयो। तर, उनी सुटुक्क अफगानिस्तानको सीमा नाघेर पाकिस्तान छिरिसकेछन्।
यसबीच अमेरिका र उनको समर्थक नेटो सैनिक गठबन्धनको टोली अलकायदा भनेको लादेनमात्रै हो भनेजस्तै गरी उनको पछाडि कुदिरह्यो। उता अलकायदाका यी नेतालाई इस्लामिक कट्टरपन्थीहरूका साथै अमेरिकाप्रति अलिकति पनि मनमा द्वैष भएकाहरूले 'हिरो'जस्तै ठाने। लादेनको तस्बिरअंकित टिसर्टले चे ग्वेभाराजत्तिकै तहल्का पिट्यो।
तर, यी सब हिजोका कुरा हुन्। आज अलकायदाको परिचय लादेनको व्यक्तित्वमा निर्भर छैन, त्योभन्दा माथि उठिसकेको छ। उतिबेला आतंकवाद भनेकै लादेन भन्ने थियो, अहिले लादेनको सोच र राक्षसी योजनाहरूलाई कार्यान्वयनमा ल्याउन एउटा ठूलो जत्था शारीरिक र मानसिक रूपमा तयार भएर बसेको छ, जो 'इस्लामिक जेहाद' का नाममा आफ्नो ज्यान 'उत्सर्ग' गर्न तयार छन्।

त्यही भएर टोनी लेख्छन्, 'ओसामाको मृत्युले अमेरिका र उसका सहयोगी देशहरूको चुनौती अलिकति घटाएकोमात्र छ, अन्त्य गरेको छैन।'

अमेरिकी राष्ट्रपति बाराक ओबामाको भाषणमा पनि यो आशंका केही हदसम्म झल्किएको छ। दोस्रो कार्यकालका लागि चुनावी दौडाहा सुरु गरिसकेका ओबामाले टेलिभिजन सन्देशमार्फत् लादेन मारिएको खबरसहित 'हामीले न्याय गर्‍यौं' भन्ने उद्घोष गरेर अमेरिकीहरूलाई रातारात विजयोत्सव मनाउन सडकमा त ओराले, सँगसँगै यो पनि भन्न चुकेनन्, 'हामीले अझै पनि देशभित्र र बाहिर सतर्क रहनुपर्छ।'

ओबामाको भाषणको यो अंशलाई न्यूयोर्क टाइम्सको सम्पादकीयमा 'खतरा टरिसकेको छैन भन्ने सन्देशसहितको महŒवपूर्ण चेतावनी' भनी टिप्पणी गरिएको छ। 'हामी अलि खुकुलोसँग सास फेर्न सक्ने भएका छौं, तर अतिवादीविरुद्धको लडाइँको अन्त्यबाट आज पनि निकै टाढा छौं भन्ने हामीले बिर्सनु हुँदैन,' सम्पादकीयमा भनिएको छ, 'अलकायदाले प्रतिशोधपूर्ण आक्रमण गर्नसक्छ वा अन्य समूहले उनीहरूको बढ्दो शक्तिमा खेल्ने प्रयास गर्न सक्छन्।'

हुन पनि अलकायदा र तालिबानले लादेन मारिएको पुष्टि गर्दै यसको बदलामा अमेरिकी र पाकिस्तानले आगामी दिनमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइसकेका छन्। यी दुवै देशका उपल्लो दर्जाका नेताहरूको 'सफाया' गर्ने घोषणा अलकायदा र तालिबानले गरेका छन्। यसले लादेनको मृत्यु आतंकवादविरोधी लडाइँको एउटा सानो कडीमात्र भएको छर्लंग पार्छ।

अर्को अमेरिकी दैनिक 'वासिङटन पोस्ट'को सम्पादकीयमा पनि यो हमलाको व्यवहारिक महŒव राजनीतिक तथा नैतिक महŒवसँग मेल खाँदैन भनी टिप्पणी गरिएको छ। त्यसमा भनिएको छ, 'सेप्टेम्बर ११ पछि अमेरिकाले दक्षिण एसियामा जुन समस्या झेल्दै आएको थियो, त्यसको एक दसकपछि बिन लादेनमाथिको कारबाहीले त्यो अझ गहिरिनसक्छ।'

'लादेनको मृत्युले अलकायदाको कारबाही कुन हदसम्म प्रभावित हुनेछ स्पष्ट भइसकेको छैन। पछिल्ला वर्ष धेरैले अनुमान गरेजस्तै अलकायदाले योजना र कार्यान्वयन गर्ने आतंककारी गतिविधिमा बिन लादेन प्रत्यक्ष रूपमा संलग्न थिएनन् भन्ने साँचो हो भने उनी अलकायदाका निम्ति पहिल्यै मरेतुल्य भइसकेका रहेछन्। त्यसमा उनको मृत्युले वास्तवमा अलकायदालाई घाटाभन्दा फाइदै बढी हुनसक्छ। चे ग्वेभारा र लियोन ट्रत्स्कीजस्तै दुश्मनको हातबाट मारिएकाले उनी आफ्ना लडाकु साथीहरूमाझ अझ ठूलो प्रेरणा बनेर जीवित रहनसक्छन्। त्यसैले, आतंकवादविरुद्धको कारबाहीले केही हदसम्म कमजोर भए पनि अलकायदा अझै चुनौतीपूर्ण संगठन हो, जसका सयौं सहयोगी संस्थाहरू पाकिस्तानमा क्रियाशील छन्। र, त्यत्तिकै संख्याका स्वायत्त शाखाहरू यमन, उत्तर अफ्रिका र युरोपमा सक्रिय छन्। उनीहरूले आफ्ना संगठनका संस्थापक नेताको मृत्युको बदला लिनसक्ने ठूलो सम्भावना रहेकाले आगामी साता र महिनाहरू थप खतरापूर्ण हुनसक्छन्।'
वासिङटन पोस्टको यो सम्पादकीयलाई अमेरिकी राष्ट्रपतिका आतंकवादविरोधी सल्लाहकार जोन ब्रोनानको अभिव्यक्तिले पनि केही हदसम्म पुष्टि गर्छ। उनले भनेका छन्, 'लादेन एबट्टाबादस्थित घरबाट पछिल्लो पाँच वर्षयता एकचोटि पनि बाहिर निस्केको संकेत फेला परेको छैन।' तर, यसबीच संसारका विभिन्न ठाउँमा अलकायदाले आतंककारी गतिविधि जारी राख्यो। यसले अलकायदाका कारबाहीहरूमा वास्तवमै लादेनको भूमिका घट्दै गएको थियो वा थिँदै थिएन भन्ने संकेत गर्छ।

अर्कोतिर, अमेरिकी सेनाले लादेनको मृत्युलगत्तै उनको शव समुद्रमा बगाउनुका पछाडि पनि लडाकुमाझ उनी प्रेरणाको स्रोत बन्नसक्ने डरले काम गरेको हुनसक्छ। उनको शवलाई इस्लामिक परम्पराअनुसार कुनै निश्चित ठाउँमा गाडिएको भए, त्यो ठाउँ पछि गएर अलकायदाका लडाकु, समर्थक वा अन्य कट्टरपन्थी इस्लामिक संगठनहरूको निम्ति एउटा महŒवपूर्ण 'तीर्थस्थल' बन्नसक्थ्यो। जहाँ उभिएर नयाँ लडाकुहरू इस्लामिक जेहादका नाममा बन्दुक उठाएर संसारभरि आतंक मच्चाउने बाचामा बाँधिनसक्थे। त्यसो भइदिएको खण्डमा लादेनको मृत्यु वास्तवमै अमेरिका वा शान्ति चाहने विश्व समुदायको निम्ति जीत होइन, ठूलो हार हुने थियो। यही सम्भावनायुक्त भय टार्न अमेरिकी सेनाले हतारहतार उनको शवलाई समुद्रमा बगाएको आंकलन गरिएको छ, ताकि उनको नाममा कुनै स्मृतिस्तम्भ खडा हुन नपाओस्।

वासिङटन पोस्टको सम्पादकीयले त्यही भएर 'लादेनको मृत्युकै आधारमा अमेरिकी प्रशासन वा कंग्रेसले अफगानिस्तानबाट फर्कने निर्णय गर्नु घातक हुने' टिप्पणी गरेको छ। 'ओबामाले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना कुन हदसम्म फिर्ता गर्ने भन्नेबारे छिट्टै निर्णय लिनेछन्। केही विश्लेषकहरूको तर्क हुनसक्छ, लादेनको मृत्युपछि अफगानिस्तान युद्धको उद्देश्य 'अलकायदाको पराजय'को अभियान पुरा भयो। तर, आज अलकायदा मात्र वा ऊ एक्लो प्रमुख खतरा हुँदै होइन। यहाँ तालिबान कारबाहीको अर्को खतरा पनि छ, जो सोमबार बिन लादेनको मृत्युमा शोक मनाइरहेका थिए। बदलिँदो परिवेशमा अफगानिस्तान, पाकिस्तान वा दुवै देशमा आफ्नो नियन्त्रण जमाउन तालिबान सफल हुने सम्भावना पनि उत्तिकै छ,' सम्पादकीयमा उल्लेख छ।

वासिङटन पोस्टले लेखेअनुसार बिन लादेन जुन घरमा बसिरहेका थिए, त्यसैबाट पनि पाकिस्तानका अगाडि चुनौती तेर्सिएको स्पष्टै देखिन्छ।

सन् २००५ मै त्यो घर निर्माण भएको थियो। त्यो पाकिस्तानको सैन्य क्याम्प नजिकै थियो। पाकिस्तानका केही विश्लेषकले भनेका छन्, पाकिस्तानी सेनालाई बिन लादेनको यो बसाइबारे पहिल्यै थाहा थियो कि थिएन भन्न गाह्रो छ। ह्वाइट हाउसका आतंकवादविरोधी सल्लाहकार ब्रेनानले पनि सोमबार भनेका थिए, 'लादेन बसेको ठाउँले धेरै प्रश्न जन्माउँछ।'
हुन त पाकिस्तान सरकारले आफ्नै देशको मध्यभागमा रातारात विदेशी सेनाबाट भएको हवाई र स्थल आक्रमणलाई सार्वजनिक रूपमा स्वीकार गरिसकेको छ। तैपनि, लादेनलाई एबट्टाबादमा वर्षौंदेखि सुरक्षित आश्रय दिएर राख्नमा पाकिस्तानको संलग्नता सोझै नकार्न वा त्यसलाई कार्पेटमुनि लुकाएर राख्न सकिँदैन भनी वासिङटन पोस्टले टिप्पणी गरेको छ।
पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारीले भने मंगलबार वासिङटन पोस्टमै लेख लेखेर लादेनलाई लुकाएर राख्नमा पाकिस्तानको भूमिका हुनसक्छ भन्ने शंकाको खण्डन गरिसकेका छन्। 'यो संयुक्त हमला थिएन, तर अमेरिका र पाकिस्तानको एक दसक लामो सहकार्य र साझेदारीबाटै ओसामा बिन लादेनको अन्त्य सम्भव भएको हो,' जर्दारीले भनेका छन्, 'अलकायदाको सन्देशवाहक पहिचान गर्नमा पाकिस्तानले गरेको सहयोगबाट यो नतिजा आएको हो। हामीलाई यसमा सन्तुष्टि छ।'

पाकिस्तानले आतंकवादविरुद्ध अडानका कारण आफूले ठूलो मूल्य चुकाउनुपरेको उनले बताएका छन्। 'नेटो सैनिक टोलीले समग्र रूपमा बेहोरेको नोक्सानभन्दा हाम्रा सैनिक बढी मारिएका छन्। दुई हजार प्रहरी, ३० हजारभन्दा बढी निर्दोष नागरिक र सामाजिक रूपान्तरणमा भूमिका खेल्नसक्ने पुस्ता हामीले गुमाएका छौं।

'र, मेरो लागि बिन लादेनविरुद्धको न्याय राजनीतिकमात्र होइन, व्यक्तिगत पनि हो। किनकि, यी आतंकवादीले हाम्रा ठूला नेता र मेरा छोराछोरीकी आमा (बेनजिर भुट्टो) को हत्या गरेका थिए। दुईचोटि मेरी श्रीमतीको हत्या गर्ने प्रयास गरेका थिए। सन् १९८९ मा उनको पहिलो सरकार गिराउनका लागि अविश्वासको प्रस्ताव ल्याउनमा उनले ५ करोड अमेरिकी डलर खन्याएका थिए। मेरी श्रीमती सधैं भन्ने गर्थिन्, उनी बिन लादेनको सबभन्दा तारो हुन्, किनकि उनी प्रजातान्त्रिक रूपमा निर्वाचित, प्रगतिशील, बहुलवादी र सबभन्दा महŒवपूर्ण कुरा महिला नेतृ थिइन्। उनको त्यो अनुमान सही साबित भयो। उनले आफ्नो ज्यान दिएर त्यसको मूल्य चुकाइन्।

जर्दारीले ओबामाको भाषणलाई पाकिस्तान सरकारले अनुमोदन गर्नुका साथै सोमबारको हमलालाई लिएर पाकिस्तानलाई पनि जस दिइएकोमा धन्यवादज्ञापन गरेका छन्। उनले भनेका छन्, 'हामीले यो लडाइँ जितिसकेका छैनौं, तर हामी अब यसको अन्त्यको सुरुवात स्पष्टसँग देख्न सक्छौं।'

'हामी त्यो सबै थोक हासिल गर्नसक्छौं, जसलाई लिएर अलकायदा र तालिबान त्रसित हुन्छन्- आधुनिक इस्लामिक भविष्यको अवधारणा। हाम्रा जनता, हाम्रो सरकार, हाम्रो सेना र हाम्रा गुप्तचर निकायहरू सबै एकजुट छन्। कोही यसलाई सत्य मान्दैनन् भने उनीहरू गलत छन्। पाकिस्तान एकगठ छ,' उनको लेखमा छ।

यसबीच भारतले पाकिस्तानी भूमिमा लादेन मारिएको घटनाबाट पाकिस्तानमा विभिन्न आतंकवादी समूहले सुरक्षित आश्रय पाउँदै आएको पुष्टि गर्ने बताएको छ।

लादेनको मृत्युबारे प्रतिक्रिया दिँदै गृहमन्त्री पी चिदम्बरमले मुम्बईमा भएको आतंकवादी हमलामा संलग्न, त्यसका सञ्चालक र नियन्त्रक आतंकवादीहरू अझै पाकिस्तानी भूमिमा सुरक्षित रहेको बताए। 'सोमबार बिहानै अमेरिकी सरकारले पाकिस्तानको भित्री भागमा ओसामा बिन लादेन मारिएको खबर नयाँ दिल्लीलाई दियो,' उनले भने, 'यसबाट हामीले लामो समयदेखि उठाउँदै आएको कुरा पुष्टि हुन्छ। विभिन्न संगठनमा आबद्ध आतंकवादीले पाकिस्तानी भूमिमा आश्रय पाइरहेका छन्।'

भारतको अंग्रेजी दैनिक 'टाइम्स अफ इन्डिया'को सम्पादकीयमा यो घटनालाई 'ऐतिहासिक' भनिए पनि अलकायदा वा अन्य जेहादी आतंकवादी संगठनको अन्त्य भएको अनुमान गर्नु हतार हुने उल्लेख छ। आगामी दिनमा सुरक्षा व्यवस्था अझ सतर्क राख्नुपर्ने सम्पादकीयमा लेखिएको छ।

टाइम्स अफ इन्डियाको सम्पादकीयअनुसार लादेनको मृत्युले अफगानिस्तानको सुरक्षा स्थितिमा थप प्रभाव पार्नसक्छ। अमेरिकी सैनिक-गुप्तचर निकायले लामो समयदेखि अफगानिस्तानमा आफ्नो मुख्य निसाना अलकायदा भएको बताउँदै आएको थियो।
ओबामाले अब लादेनको मृत्युपछि सन् २०१२ को राष्ट्रपति निर्वाचनको सन्दर्भमा अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती प्रक्रियालाई तीव्रता दिन सक्छन्। यसले भारतलगायत यो क्षेत्रकै सुरक्षा व्यवस्थामा थप जटिलता उत्पन्न हुनसक्ने उसको भनाइ छ।

'लादेनको मृत्युपछि उत्पन्न हुनसक्ने स्थितिमा भारतीय कूटनीतिले काम गर्नुपर्छ,' सम्पादकीयमा छ, 'बिन लादेन मर्न सक्छन्, तर आतंकवादको विश्वव्यापी खतरा जारी रहनेछ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out