यौनकर्मीहरूको आय घटेको छ

नर्सिङ पेसामा आबद्ध डा. लक्ष्मी घिमिरेले स्वास्थ्य मन्त्रालयमा १५ वर्ष जागिर खाइन्। औषधी विज्ञानबाट पब्लिक हेल्थमा स्नातकोत्तर गरेपछि भने घिमिरेको उद्देश्य परिवर्तन भयो। उनले बेलायतको अब्रेडिन विश्वविद्यालयबाट नेपालका यौनकर्मीहरूका विषयमा पाँच वर्ष लामो अध्ययन गरिन्। नेपालमा यौनकर्मीसँग सम्बन्धित धेरै प्रतिवेदन सार्वजनिक भए पनि यति लामो समय लगाएर विदेशी विश्वविद्यालयले गरेको यो पहिलो अनुसन्धान भएको विश्व स्वास्थ्य संगठनबाट प्रकाशित जर्नलमा उल्लेख छ। डा. घिमिरेको अनुसन्धान ग्लोबल जर्नल अफ हेल्थ साइन्समा प्रकाशित भएको छ। जोखिम मोलेर काठमाडौंका यौनकर्मीहरूको विभिन्न पाटोको अध्ययन गरेकै कारण उनलाई सन् २००८ मा मेक्सिको सिटीमा विशेष पुरस्कार प्रदान गरियो भने हैदरावादमा सम्पन्न यौन रोगसम्बन्धी चौथो एसिया प्यासेफिक सम्मेलनमा पनि पुरस्कृत गरियो। १० वर्षदेखि बेलायतमा बस्दै आएकी घिमिरेले विद्यावारिधिको उपाधि पाएपछि साप्ताहिकमार्फत पहिलो पटक आफ्नो प्रतिवेदन सार्वजनिक गरेकी छिन्।

विकसित देशका यौनकर्मी र नेपालका यौनकर्मीबीच के भिन्नता पाउनुभयो ?

विकसित देशका यौनकर्मीहरू आफ्नो अधिकारप्रति सचेत छन्। देशले पनि उनीहरूको सुरक्षाको पूर्ण व्यवस्था गरेको छ। नेपालमा भने उनीहरू बाहिर एक थोक र भित्र अर्को थोक बताएर आफूलाई ढाकछोप गर्छन्। पेसा थाहा पाउलान् भनेर उनीहरू विभिन्न क्षेत्रमा क्रियाशील छन्।
विदेशमा यौनकर्मीहरूले आफूलाई यतिसारो लुकाउनुपर्ने अवस्था छैन। विदेशमा यौनकर्मीमार्फत यौनरोग सर्ने सम्भावना कम हुन्छ, तर नेपालमा यो खतरा निकै बढेको छ।

यौनकर्मीहरू रेडलाइट क्षेत्र बनोस् भन्ने चाहँदैनन् भन्ने विभिन्न प्रतिवेदनले देखाएका छन्, यसको कारण के रहेछ ?

रेडलाइट एरिया भएपछि उनीहरू चिनिनुपर्ने बाध्यता हुन्छ। जबकि अहिले राम्रो कार्यालयमा काम गर्ने युवतीले पनि यौन पेसा चलाइरहेका हुन सक्छन्। एउटी युवती रेडलाइट एरियातिर बस्ने वा काम गर्नेबित्तिकै उसको पेसा पत्ता लागिहाल्छ। अहिले उनीहरू जुनसुकै स्थानमा पनि आफ्नो व्यवसाय चलाइरहेका छन्। अहिले पार्ट टाइम व्यवसायी हुँ भन्दा बढी पैसा लिन पाइन्छ, त्यसबेला चलेको शुल्क लिनुपर्छ। यी विविध कारणले उनीहरू रेडलाइट एरिया बनोस् भन्ने चाहँदैनन्।

यो रेडलाइट क्षेत्रको चर्चा कहाँबाट आइरहेको छ ?

बाहिरी समाजले क्याबिन रेस्टुराँ, मसाज सेन्टर, दोहोरी र बसपार्क छेउँछाउका होटलहरूलाई यौन क्रियाकलाप हुने स्थानका रूपमा चिन्छन्। हुन पनि साँझ पर्दै गएपछि त्यस्ता स्थानमा यौन व्यवसायीहरूको बाक्लो उपस्थिति हुन्छ। अर्को कुरा यौनकर्म हुने स्थानका मालिकहरूले प्रहरी र स्थानीय डनहरूलाई पैसा बुझाउनुपर्छ। स्वच्छ छविका प्रशासक एवं अरूलाई पैसा दिनुपर्ने झन्झट बेहोर्न नचाहने मालिकहरूले रेडलाइट क्षेत्रको माग गरेका हुन्। यो पेसा जति गोप्य भयो, लेनदेन त्यति नै बढी हुन्छ। जो लेनदेनका विरोधी छन्, उनीहरूले यस्तो माग गरेका हुन्।

तपाईंको अध्ययनले काठमाडौं उपत्यकामा यौनकर्मीको संख्या कति पायो ?

मैले संख्याको अध्ययन गरेकी होइन। किनभने यस्तो संख्या घटबढ भैरहन्छ। विदेश जाने, नयाँ यौनकर्मी थपिने तथा सजिलै नचिनिने कारणले यौनकर्मीहरूको यकिन तथ्याङ्क फेला पार्न गाह्रो छ। काठमाडौंमा ५ हजारभन्दा बढी यौनकर्मी दैनिक यो पेसामा संलग्न छन् भन्ने कुरा भने सत्य हो। मेरो अध्ययन भने चिनिएका यौनकर्मीहरूलाई लाग्न सक्ने यौनजन्य रोगका विषयमा थियो।

सामान्यतः कस्ता युवतीले यो पेसा गर्दा रहेछन् ?

विदेशमा कलेज अध्ययन गर्ने युवतीहरूले यौन व्यवसाय चलाएका छन्। कलेजको शुल्क महँगो हुने भएकाले यसलाई पार्ट टाइम जबका रूपमा विकास गरिएको छ। नेपालमा भने कलेज पढ्ने युवतीहरूको संख्या निकै कम पाएँ। धेरैजसो निरक्षर, थोरै लेखपढ गरेका महिलाहरूले नै यो पेसा चलाइरहेका छन्। जसले राम्रो लेखपढ गरेका छन्, उनीहरू ग्राहकसँग बार्गेनिङ गरेर राम्रो पैसा कमाउँछन्। उनीहरू पार्टनरसँग कहिले पोखरा, कहिले काठमाडौं र कहिले विदेश गैरहेका भेटिन्छन्। कम पढेलेखेकाहरूलाई यो क्षेत्रमा प्रवेश गर्नुअघि नै रोजगारीको राम्रो विकल्प दिन सक्ने हो भने यौन व्यवसायीको संख्या कम गर्न सकिन्छ।

पेसामा आइसकेकालाई व्यवसाय परिवर्तन गराउन सकिँदैन ?

धेरैजसोलाई सकिँदैन। किनभने उनीहरूमा मादक पदार्थ सेवन गर्ने एवं विलासिताको जीवन बिताउने बानी बसिसकेको हुन्छ। यस्ता युवतीसँग नागरिकता एवं सर्टिफिकेट नहुने भएकाले राम्रो पैसा कमाउने अन्य काम दिन सकिँदैन। पढेलेखेका यौनकर्मीहरू अनेक उपाय निकालेर सेटल हुने गरेको पाइन्छ। त्यसैले नेपालमा यौन व्यवसाय भन्नेबित्तिकै सडकमा बसेर ग्राहक खोज्नेहरूलाई सम्झने गरिएको हो। जबकि सडकमा बसेर ग्राहक खोज्नेहरू थोरै छन् र त्यसो गर्न बाध्य छन्। किनभने उनीहरूसँग विकल्प छैन।

यौन व्यवसायीहरूको संगत गर्दा तपाईंलाई अचम्म लागेको कुराचाहिँ के थियो ?

दुई-तीन कुरा मलाई मात्र होइन, सबैलाई अचम्म पार्ने खालको छ। एउटी यौनकर्मीले कुनै ग्राहक भेट्टाइन्, तर ग्राहकले उनलाई मन पराएन भने तुरुन्तै ग्राहकले भनेजस्तै युवती खोजिदिन्छिन्। यसको अर्थ उनीहरूको नेटवर्किङ स्ट्रोङ छ। उनीहरूको यौनकर्म गर्ने समय पनि निश्चित छ। सम्पर्क गराइदिने व्यक्तिहरू पनि अचम्मका छन्।

जस्तो ?

मैले बाटामा हात हेर्न बस्ने ज्योतिषीलाई पनि सम्पर्क गराउने (दलाल) व्यक्तिका रूपमा पाएँ। उनीहरू बिहान ११ बजे, दिउँसो ३ बजे र साँझ ५ बजेपछि मात्र आफ्नो व्यवसाय चलाउँछन्। उनीहरूले प्रहरी-प्रशासन एवं पुराना ग्राहकबाटै धेरैजसो नयाँ ग्राहक पाउने गरेका छन्। हामीलाई लाग्छ, मसाज, डान्सबार, होटल आदिबाट ग्राहकको खोजी हुन्छ, यथार्थमा बाहिरी व्यक्तिहरूचाहिँ उनीहरूका सहयोगी

हुँदा रहेछन्।

कुन पेसा-व्यवसायका व्यक्तिहरू यौनकर्मीहरूकहाँ जान्छन् ?

सुरक्षा निकायका व्यक्ति नै उनीहरूका प्रमुख ग्राहक हुन्। घरबाट ढाटा बस्नुपर्ने भएकाले पनि उनीहरू यौनकर्मीसँग जान बाध्य भएका हुन सक्छन्। दोस्रो नम्बरमा यातायात मजदुर एवं व्यवसायी देखिएका छन्। तेस्रोमा स्कुल-कलेज पढ्ने युवाहरू छन्। गाउँबाट पढ्न आएका युवाहरूको ठूलो संख्या यौनकर्मीहरूकहाँ पुग्छन्। खर्च कम भएका विद्यार्थीहरूले आफ्ना साथीहरूलाई उनीहरूकहाँ पुर्‍याएर कमिसन खाएको पनि पाइन्छ।

तपाईंको प्रतिवेदनमा यौन व्यवसाय गर्ने महिलाहरूमध्ये विवाहितको संख्या बढी देखिएको छ, जबकि आर्थिक अभावका कारण एकल वा अविवाहितहरू यो पेसामा हुनुपर्ने होइन र ?

सुरुमा मैले पनि त्यही सोचेकी थिएँ, तर यो पेसामा अविवाहित र एकल महिलाको संख्या निकै कम छ। करिब ८० प्रतिशत महिला कुनै न कुनै रूपमा विवाहित छन् वा पुरुषसँगै बस्छन्।

आफ्नी श्रीमतीले यो पेसा गरेको थाहा पाउँदा पनि नेपालका लोग्नेमानिसहरू सँगै बसिरहेका छन् भन्ने प्रतिवेदन आफैंमा अनौठो होइन ?

मैले धेरै विवाहिताहरूसँग यो प्रश्न गरेकी थिएँ। उनीहरूले प्रत्यक्ष रूपमा श्रीमान् वा पार्टनरलाई म यौनकर्मी हुँ भनेका हुँदैनन्, तर श्रीमतीले कमाएको पैसाबाटै उनीहरू मोटरसाइकल चढ्ने, रक्सी खाने काम गर्छन्। यौनकर्मीहरूको समाजमा देखाउने एउटा पेसा हुन्छ, तर रातविरात हराउने, मादक पदार्थ सेवन गर्नेजस्ता प्रवृत्तिले श्रीमती के गर्छिन् भन्ने कुरा थाहा नहुने होइन। यति हुँदा पनि तिमी रात-बिरात कहाँ थियौ भनेर उनीहरूले सोध्ने गरेको पाइएन। यसको अर्थ आधाभन्दा बढी श्रीमान्लाई श्रीमती के गर्छिन् भन्ने थाहा हुन्छ। श्रीमतीले पैसा कमाउन्जेल उनीहरूले श्रीमतीका बारेमा चासो राखेको मैले पाइनँ।

सामान्यतः यौनकर्मीहरूको आम्दानी कति हुने गरेको छ ?

उमेर र शिक्षाअनुसार उनीहरूको आम्दानी कम वा बढी हुन सक्छ। पढेलेखेका वा डिमान्ड भएकाहरूले १ हजारभन्दा बढी लिन्छन्। उपत्यकाबाहिर जानु परेको अवस्थामा सबै खर्च ग्राहकले बेहोर्छ, तर सडकमा बस्नेहरूको शुल्क ५ सय रुपैयाँ हो। यो यौन व्यवसायीहरूलाई सहयोग गर्न खोलिएका केही एनजीओहरूले तोकेको शुल्क हो। पहिले थोरै यौन व्यवसायी हुँदा उनीहरूको आम्दानी प्रशस्त थियो। अहिले प्रतिस्पर्धा बढेकाले यौनकर्मीको मूल्य घटेको छ।

यौनकर्मीहरूको संख्या बढ्नुको कारण के होला ?

माओवादी द्वन्द्व नै हो। गाउँ-गाउँबाट लखेटिएका वा युद्धमा जानुपर्छ भन्ने डरले भागेकाहरू नै केही वर्षपछि यौनकर्मीका रूपमा देखा परेको मैले थाहा पाएँ। किनभने उनीहरू पहिले रेस्टुराँमा काम गर्दै जाँदा एउटाले फसाउँछ र बिस्तारै उसलाई यो कर्ममा लगाउँछ। जब ती युवतीले ग्राहक पाउन छाड्छिन्, उनले आफ्नो आम्दानी व्यवस्थित गर्न अरू युवतीलाई यतातिर आकषिर्त गर्छिन्। यसका लागि रेस्टुराँ, मसाज आदिमा काम लगाइदिने र पछि यो व्यवसायमा लगाउने गरेको पाइएको छ। अन्य पेसाभन्दा बढी आम्दानी हुने भएकाले पनि अप्ठयारोमा परेका युवतीहरू यसतर्फ आकषिर्त भैहाल्छन्।

यौनकर्मीहरूले आफ्नो अन्तर्वार्तामा निजी क्लिनिकमा हामीलाई सजिलै चिन्छन्, उनीहरूले दिएको औषधीले पनि तुरुन्तै काम गर्छ भनेका रहेछन्, यसको कारण के होला ?

निजी क्लिनिकका डाक्टर र यौनकर्मीहरूको स्वार्थ मिलेको हुन्छ। यौनकर्मीलाई गोप्यता र चाँडै निको हुने औषधी चाहिन्छ। त्यसका लागि उनीहरू महँगो शुल्क लिएर उजचयायिहबअष्ििष्लभ जस्ता कडा एन्टिबाइट लेखिदिन्छन्। यौनकर्मीहरू पनि तुरुन्तै निको हुने भएकाले उनीहरूकै विश्वास गर्छन्। त्यस्ता औषधीले गर्ने साइड इफेक्टका बारेमा उनीहरूलाई मतलब पनि हुँदैन। क्लिनिकमा उनीहरूको हाउभाउ एवं प्रस्तुति हेर्नेबित्तिकै चिकित्सकहरूलाई उनीहरूको पेसा थाहा हुन्छ। उनीहरू सधैं आउन् भन्ने हिसाबले पनि चिकित्सकहरूले उनीहरूको गोप्यता राखिदिन्छन्।

तपाईं एउटी शिक्षित महिला, यौनकर्मी महिलासँग बसेर अनुसन्धान गर्दा भोगेको मुख्य अप्ठयारो के थियो  ?

पहिलो महिना त म छक्कै परें। उनीहरू जतिखेर पनि छिल्लिने, अश्लील शब्द प्रयोग गर्ने, विषयगत कुरा गर्दा-गर्दै बत्तासिएर हावादारी कुरा गर्थे। ट्रयाकमा ल्याउनै गार्‍हो। जब गम्भीर कुरा गर्न थाल्यो, अनि रुन थाल्ने। वास्तविक कुरा ल्याउन निकै अप्ठयारो परेको थियो। अर्को समस्या मेरो घरमा पर्‍यो। मेरी आमा बेलायतबाट छोरी निकै पढेर आई भनेर खुसी हुनुहुन्थ्यो। जब मैले घरमै यौनकर्मीहरू लिएर आउन थालें, आमा त झन्डै बेहोस हुनुभयो। किनभने उनीहरूको व्यवहार हाम्रो जस्तो उच्च मध्यमवर्गको शैलीभन्दा भिन्न छ।

यति ठूलो अनुसन्धान गरेर बेलायत फर्कंदै हुनुहुन्छ, तपाईंले गरेको अध्ययनको के अर्थ भयो र

मैले स्वास्थ्य मन्त्रालय, प्रहरी प्रशासन सबैमा आफ्नो निष्कर्षसहित प्रतिवेदन बुझाएको छु। मैले सरकारी अस्पतालमा किन यौनकर्मीहरू उपचार गर्न जाँदैनन्, किन कन्डम प्रयोग गर्दैनन्, त्यसका लागि के गर्नुपर्छ भनेर सुझाव पनि दिएको छु। यति गम्भीर प्रतिवेदनलाई पक्कै पनि सरोकारवालाहरूले चासो दिन्छन् भन्ने लागेको छ।

त्यसो भए तपाईंको दायित्व सकियो ?

होइन। विदेशका कलेजहरूमा पढाए पनि नेपालमा एउटा संस्था खोलेर यौनकर्मीहरूलाई नागरिकता दिलाउने, महिलाले प्रयोग गर्ने कन्डमको प्रयोगमा सहयोग गर्ने जस्ता काम गर्ने प्रयास गर्छु।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out