ओसामाको अन्त्यसँगै बदलिँदो समीकरण

पाकिस्तानको सैनिक इलाकामा पर्ने एब्बोट्टाबादको एउटा अनपेक्षित घरमा ओसामा बिन लादेन बसेको निश्चितप्रायः भएपछि अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक लियोन पनेट्टाले राष्ट्रपति बाराक ओबामालाई तीनवटा विकल्प सुझाए: पाकिस्तानी हवाईसेनाको राडारमा नदेखिने बी-२ स्टिल्थ विमानबाट वम खसाउने, विशेष टोलीबाट अनपेक्षित हमला गर्ने वा अमेरिका-पाकिस्तानको संयुक्त टोलीबाट आक्रमण गर्ने । ओबामाले दोस्रो विकल्प रोजे । त्यहीअनुसार जल-थल-वायु तीनै क्षेत्रको युद्ध लड्न जानेका 'सिल' टिमका ७९ कमान्डो र एउटा तालिमप्राप्त कुकुर राडारमा नदेखिने स्टिल्थ हेलिकप्टरमार्फत त्यहाँ उत्रेर लादेनको हत्या गरे र शव लिएर फर्के ।
यो प्रकरणले राष्ट्रिय सुरक्षा मामिलामा शक्तिराष्ट्रले सार्वभौमिकताका सीमारेखा ख्याल गर्दैनन् भन्ने यथार्थ दोहोर्‍याएको मात्र छैन, पाकिस्तानको दोहोरो भूमिकाबाट अमेरिका आजित हुन थालेको समेत देखाएको छ । सीआईएले सूचना चुहिन्छ भनेरै पाकिस्तानी पक्षलाई खबर नगरी अफगानिस्तानबाट सुटुक्क कमान्डो पठाएर लादेनको सफाया गरेको थियो । यसअघि पूर्वसूचना दिँदा लादेन भागेको घटनाबाट सायद अमेरिकाले पाकिस्तानको दोहोरो खेल बुझेको थियो ।
आतंकवादविरुद्धको लडाइँमा आफूबाट अबौर्ं बराबरको धनराशि लिने, अर्कातिर आतंकवादको जरालाई पनि मलजल गरिरहने द्वैध नीति अब नचल्ने स्पष्ट सन्देश यसपालि वासिङ्टनले इस्लामावादलाई दिएको छ ।
लादेनको हत्यासँगै अल-कायदाको सांकेतिक सर्वोच्च नेतृत्व मात्र समाप्त भएको छैन, यसले दक्षिण एसियाको सामरिक समीकरणमा समेत दीर्घकालीन असर पार्ने देखिन्छ । खासगरी अमेरिकाको पाकिस्तानसँगको सम्बन्धमा संशय थपिने, भारतसँग गुणात्मक निकटता बढ्ने र क्षेत्रीय राजनीतिमा हुने बदलावको बाछिटा नेपालजस्ता शक्तिहीन राष्ट्रसम्म आइपुग्ने सम्भावना छ ।
पाकिस्तानी सत्ताको लगाम अहिले पनि राजनीतिक नेतृत्वभन्दा मूलतः सेनाका हातमा छ जसको एउटा अंगका रूपमा त्यहाँको गुप्तचर संयन्त्र आईएसआईले समानान्तर सत्ता चलाउने गर्छ भनिन्छ । सारा विश्वले खोजिरहेका बिन लादेन वषौर्ंदेखि पाकिस्तानी भूमिमा सुरक्ष्ाित बस्न पाउनुमा त्यहाँ हावी रहेको 'सत्तामाथिको सत्ता' कै हात हुन सक्ने अमेरिकी अधिकारीहरूको बुझाइ छ ।
पाकिस्तानी प्रधानमन्त्री युसुफ गिलानीले चाहिं सोमबार संसद्मा सम्बोधन गर्दै बिन लादेन पाकिस्तानमा लुकेर बस्नुमा आफ्नो सुरक्षा संयन्त्रको मात्र नभई अमेरिकालगायत 'पूरै विश्वको गुप्तचरी असफलता' जिम्मेवार रहेको जवाफ फर्काएका छन् । त्यहाँको राजनीतिक नेतृत्वलाई लादेनको गुप्तवासबारे जानकारी दिइएको थियो/थिएन, त्यो अलग कुरा हो तर अमेरिकी नजरमा पूरै पाकिस्तान आतंकवादको आधारभूमि बन्दै गएको छ । यो त्यही बिन्दु हो जसको व्यावहारिक पुष्टिको प्रतीक्षामा भारत थियो ।
विगतमा मुस्लिम कट्टरपन्थलाई बढावा दिने काम अमेरिका र पाकिस्तान दुवैले गरेका थिए । सन् १९७९ मा तत्कालीन सोभियत संघले अफगानिस्तानमा सैन्य हस्तक्षेप गरेपछि सीआईए र आईएसआईले विश्वभरिका मुस्लिम मुजाहिद्दीनलाई अफगानिस्तान आएर लड्न सघाएका/उत्प्रेरित गरेका थिए । लामो युद्धपछि त्यो मिसन त सफल भयो, तर अर्को कालखण्डमा तिनै मुजाहिद्दीन अमेरिकाविरुद्ध खनिए । अफगानिस्तानमा लड्दाको विश्व संयन्त्र समेटेर बिन लादेनले अल-कायदा खडा गरे । सेप्टेम्बर ११ को प्रहारपछि अमेरिकाले अल-कायदा र लादेनविरुद्ध निणर्ायक युद्ध प्रारम्भ गर्‍यो । पाकिस्तानले त्यसलाई आधिकारिक रूपमा साथ दिए पनि सेना र आईएसआईका एकथरी तत्त्वले कट्टरपन्थी धारलाई प्रोत्साहन वा संरक्षण दिने काम गरिरहे । त्यसैको परिणाम थियो- लादेनले पाएको आश्रय ।
पाकिस्तानी संस्थापनमा सदा एउटा सोचाइ रह्यो- कट्टरपन्थीहरूको प्रयोगबाट आफ्नो राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न सकिन्छ । अफगानिस्तानमा तालिवानको पुनरोदय भयो भने त्यहाँ आफ्नो पकड पुनः मजबुत हुन्छ अनि भारतलाई तह नलगाई अगाडि बढ्न सकिन्न वा भारतले नै बढ्न दिँदैन भन्नेजस्ता सोच त्यहाँ हावी हुनुको कारण यही हो । अमेरिका त आउँछ-जान्छ, तर छिमेकी परिवर्तन हुँदैन, त्यसैले आतंकवादी तत्त्वलाई प्रयोग गरेर भए पनि आफ्नो परम्परागत दुस्मन भारतलाई कमजोर बनाउनुमै पाकिस्तानी हित निहित रहेको उनीहरूको बुझाइ छ ।
अमेरिकासँग पाकिस्तानको मत यहीँनेर टकराएको हो । उनीहरूबीच दशकौंअघि जोडिएको सामरिक डोरी तत्कालै नचुँडिए पनि अब पहिलेजस्तो हार्दिक सम्बन्धचाहिं रहने देखिन्न, बरु भारतसँग अमेरिकाको रणनीतिक निकटता बढ्नेछ ।
भारत-अमेरिका निकटता
सन् १९९० अघि शीतयुद्धकालमा तत्कालीन सोभियत संघसँग भारतको निकट सम्बन्ध थियो । खासगरी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले पूरै राज्ययन्त्रमा 'रूसीकरण' बढाएकी थिइन् । सोभियत धुरीको पतनपछि भारतको रूससँग एक स्तरको सामरिक सम्बन्ध कायम रहे पनि रणनीतिक निकटताचाहिं अमेरिकासँग हुन गयो । दक्षिण र दक्षिणपूर्वी एसियामा अमेरिकालाई यस्तै दीर्घकालीन साझेदार पनि चाहिएको थियो । भारतको विशाल मध्यमवर्गीय बजारदेखि संयुक्त लगानी एवं द्विपक्षीय व्यापारका अनेक सम्भावनाले समेत यी दुई शक्तिराष्ट्रलाई नजिक ल्याउँदै गयो । भारत-अमेरिका नजिकिनुका दुइटा खास वस्तुगत कारण पनि छन् ।
पहिलो, आतंकवादविरुद्धको सहकार्य नै हो जसमा उनीहरूको १० वर्षदेखि घनिष्ट सहकार्य छ । अहिले जो अमेरिकाका शत्रु हुन्, भारतका पनि तिनै हुन थालेका छन् । २००१ सेप्टेम्बर ११ मा न्युयोर्कमा विमान- आक्रमण गर्ने अल-कायदालाई भारतले पनि जसरी दुस्मन मानेको छ, २००८ नोभेम्बर २६ मा मुम्बईको होटलमा हमला गर्ने लस्कर-ए-तोइबालाई अमेरिकाले पनि उस्तै आतंककारी ठानेको छ । अनि अल-कायदादेखि लस्करसम्मको 'कमान्ड सेन्टर' पाकिस्तानमा रहनु दुवै मुलुकका निम्ति टाउको दुखाइ बनेको छ । त्यसैले आतंकवाद उन्मूलन गर्ने एजेन्डामा उनीहरू एक ठाउँमा उभिएका छन् ।
दोस्रो कारण, विश्व राजनीतिमा चीनको उदय हो, जसलाई लिएर भारत-अमेरिका दुवै चिन्तित छन् । अमेरिकाले भारतलाई चीनविरुद्ध एसियाली सन्तुलनको 'कार्ड' बनाउन चाहेको छ भने भारतले चाहिं अमेरिकी आडमा चीनको चुनौती सामना गर्न खोजेको देखिन्छ । अमेरिकी राष्ट्रपति ओबामा गत वर्ष नयाँदिल्ली आउँदा भारतलाई 'विश्वशक्ति' का रूपमा चित्रण गर्दै उसलाई नयाँ रणनीतिक साझेदार बनाउन चाहेको स्पष्ट सन्देश दिएका थिए । त्यस क्रममा जारी गरिएको संयुक्त विज्ञप्तिमा दुई देशको 'साझा मान्यता' र 'स्वार्थहरूको बढ्दो मिलन' लाई त्यस्तो साझेदारीको जग मानिएको थियो । यसमध्ये 'साझा मूल्य-मान्यता' दुवै मुलुकले अपनाएको लोकतान्त्रिक शासन प्रणालीसँग सम्बन्धित छ, जसलाई पछिल्ला दिनमा द्विपक्षीय सम्बन्धको मुख्य आधार बनाउन खोजिएको छ, जुन चीनमा नरहेको उनीहरूको अप्रत्यक्ष सन्देश छ ।
चीनको सन्तुलन प्रयास
अमेरिका चीनलाई चुनौती दिने अन्तर्राष्ट्रिय गठबन्धनमा भारतको सक्रिय भूमिका चाहन्छ । एक हदसम्म भारत र अमेरिकाबीच चीनको मामिलामा सहकार्यसमेत भइरहेको छ, तर त्यसले पूर्ण आकार ग्रहण गरिसकेको देखिन्न । त्यसका पछाडि भारतीय संस्थापनमै जीवित रहेको शीतयुद्धकालीन 'अमेरिकाविरोधी' अभिमतले काम गरेको हुन सक्छ, जसले आफू अमेरिकी शिविरमा बसेर चीनविरुद्ध किन प्रयोग हुने, बरु चीनसँगै समानान्तर सम्बन्ध राखेर विश्वशक्ति बन्नेतिर अग्रसर हुनुपर्ने ठान्छ ।
आउँदो १५/२० वर्षभित्र अमेरिकालाई उछिनेर विश्वको नम्बर एक शक्ति बन्ने लक्ष्यसाथ अगाडि बढिरहेको चीन पनि अहिल्यै भारतसँग अनावश्यक झमेलामा अल्भिmन चाहन्न । बरु भारत अमेरिकातर्फ धेरै नढल्कियोस् भन्नेमा उसको ध्याउन्न देखिन्छ । अमेरिकी शिविरलाई चुनौती दिने ढंगले चिनियाँ र रूसी प्रयासमा स्थापित बि्रक -ब्राजिल-रसिया-इन्डिया-चाइना) गठबन्धनमा भारतीय सहभागिता थप दरिलो बनाउने बेइजिङ-प्रयासको निहितार्थ यही हुन सक्छ ।
पोहोर जापानलाई उछिनेर चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको थियो । नम्बर एकमा रहेको अमेरिका पनि चिनियाँ पुँजीमा निर्भर बन्दै गएको छ । अमेरिकालाई पहिले आर्थिक र त्यसपछि सामरिक रूपमा पछार्न चीनले शक्ति प्रदर्शनको शीतयुद्धकालीन शैली पछ्याइरहेको छैन, बरु प्रत्यक्ष टकराव नगरीकनै खेल जित्ने शैली अपनाएको छ । त्यसैले उसको सबभन्दा निकट व्यापारिक घनिष्टता प्रतिस्पर्धी अमेरिकासँगै छ । चीन भारतसँग पनि 'इन्गेजमेन्ट' को यही तरिका अपनाउन चाहन्छ । अर्थात् व्यापारिक साझेदारी बढाउँदै उसलाई राजनीतिक रूपमा तटस्थ बनाउने । तर चीनले अपेक्षा राखेझैं भारत अमेरिकी प्रभावबाट मुक्त हुने निकट सम्भावना देखिन्न ।
नेपालमा असर
लादेनको हत्यापछि भारत-अमेरिकी सहकार्यबाट हामीकहाँ पर्न सक्ने सोझो प्रभाव हो- अमेरिकाले नेपाललाई अझै बढी भारतीय आँखाबाट हेर्नेछ । नेपाल भारतीय प्रभावक्षेत्रकै मामिला हो भन्ने अमेरिकी बुझाइले उसको स्वतन्त्र नीति निर्माण हुन दिनेछैन । 'स्वतन्त्र' बताइए पनि त्यो मूलतः भारतसँगै मिल्दोजुल्दो हुनेछ ।
दस वर्षअघि सेप्टेम्बर ११ को घटनापछि अमेरिकाले सैनिक सहयोग अभिवृद्धि गरेर नेपालमा राजनीतिक भूमिका बढाउन खोजेको थियो । तर त्यो तरिकाबाट उसबेला विद्रोह गरिरहेका माओवादी नियन्त्रणमा नआएपछि अमेरिकी अग्रसरता पछाडि धकेलियो । माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे सम्झौताको सहजीकरण गरेर भारत अगाडि आयो । गणतन्त्र स्थापनापश्चात् नेपाली राजनीतिमा भारतीय बर्चस्व अरू बढेको छ जसलाई अमेरिकाले सहजै स्विकारेजस्तो देखिन्छ ।
चीनको नीति यहाँनेर टकराउँछ । मित्रशक्ति राजतन्त्रको अन्त्यपछिको राजनीतिक रिक्ततामा दिल्लीले आफ्नो 'सर्वोच्च' भूमिका स्थापित गर्न खोजेकामा बेइजिङ सन्तुष्ट देखिन्न तर भारतीय शैलीमै खुलेर राजनीतिक चलखेल गर्न चाहँदैन । अझ नेपालमा हात हाल्दा भारतलाई अमेरिकासँग धेरै नजिक हुन नदिने आफ्नो बृहत्तर प्रयत्न 'सेबोटेज' होला कि भन्नेतर्फ चीन चनाखो देखिन्छ । त्यसैले नेपालको आर्थिक, सामाजिक र जनस्तरका मामिलामा संलग्नता र सहयोग बढाए पनि राजनीतिक मामिलामा निकट भविष्यमै निणर्ायक ढंगले प्रस्तुत हुनु नपरोस् भन्ने चिनियाँहरू चाहन्छन् ।
यद्यपि यो मामिला नेपालको वर्तमान संक्रमणले कुन रूप लिन्छ, त्यसमा बाह्य पक्षको संलग्नता/हस्तक्षेप कुन स्तरमा हुन्छ र त्यसले उसको सर्वाधिक संवेदनशील तिब्बतको सुरक्षामा धक्का पुर्‍याउँछ/पुर्‍याउँदैन भन्ने लगायतका विषयमा निर्भर हुन सक्छ । चीनको नेपाल चासो मुख्यतः तिब्बती मुद्दासँग जोडिएको छ जो हालको तरल राजनीतिक अवस्थामा थप जोखिमपूर्ण बन्दै गएको उसको ठहर छ ।
नेपालमा भारतको बढ्दो भूमिकाबाट तर्सेर चीनले प्रभाव बढाउने अनि चीनलाई देखेर भारत अझ सक्रिय हुने शृंखलाबद्ध कूटनीतिक प्रतिक्रियासमेत देखिँदै छ जसले नयाँखालको क्षेत्रीय शीतयुद्ध जन्माउन सक्छ । स्थिति यस्तो भएको छ, हाम्रा दुवै छिमेकी आआफ्ना सुरक्षा मुद्दामा नेपालबाट विश्वस्त हुन छाडेर आफैं सक्रिय बन्न थालेका छन् । चीन तिब्बतका कारण तानिएझैं भारत नेपाली भूमिमार्फत नक्कली मुद्राको प्रवाहदेखि आफ्नो मुलुकविरोधी आतंककारी आवतजावत भइरहेको ठान्छ । सन् १९९९ मा अल-कायदासँग सम्बद्ध आतंककारीहरूले काठमाडौंबाट भारतीय विमान अपहरण गरेझैं घटना दोहोरियो भने के होला भन्ने प्रश्न भारतीय कूटनीतिज्ञहरूले बारम्बार गर्न थालेका छन् ।
अमेरिकाले जसरी पाकिस्तानमा पसेर बिन लादेनलाई मार्‍यो, भारतीय निकायले पनि आफ्नो सुरक्षा हितविपरीत लाग्नेलाई आफैं अगाडि सरेर सखाप पार्ने त्यही अमेरिकी शैली पछ्याएका छन् । सेप्टेम्बर ११ पछि विश्वराजनीतिमा सुरक्षा मामिलालाई प्राथमिकता दिने र त्यसका लागि सार्वभौमिकताका रेखालाई मतलब नराखी कारबाही गर्ने होडबाजीमा शक्तिराष्ट्रहरू लागेका छन् ।
यस्तो अवस्थामा नेपालजस्ता मुलुकले के गर्ने ? अन्तर्राष्ट्रिय सम्बन्धको यो बदलिँदो आयामलाई ठीकसँग ठम्याउन सके मात्र पनि आवश्यक सावधानी अपनाउन सकिन्छ । लादेनको हत्याले हामीलाई सिकाएको पाठ यही हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out