विभाजनको सँघारमा ?

विगतको भन्दा गहिरो छ विवाद र वैमनश्यको जरो
जसले जे हल्ला चलाउन्, जनयुद्धकालीन नेतृत्व रहुन्जेल हाम्रो पार्टी फुट्ने छैन," २ असारमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले यसो भनिरहँदा छेउमै बसेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्का उपाध्यक्ष मोहन वैद्य 'किरण' भावशून्य र प्रतिक्रियाविहीन देखिन्थे। मञ्चमा बसेका बेला वक्ताले चित्त बुझ्ने कुरा गरे टाउको हल्लाउँदै मुसुक्क हाँसेर खुसी र स्वीकृति जनाउने प्रचण्डले भट्टराईको अभिव्यक्तिमा न त टाउको नै हल्लाए, न उनको मुहारमा मुस्कानको कुनै संकेत देखियो।
माओवादीभित्रको पछिल्लो अन्तरविरोध उत्कर्षतिर जान थालेपछि करबि दुई सातापछि मात्रै तीन शीर्ष नेताहरू त्यस दिन रौतहटको पिपरामा एउटै मञ्चमा थिए। उनीहरूलाई त्यो अवसर जुटाइदिएको थियो, २ असार ०५९ मा रौतहटको पिपरा भलुइयामा मारिएका तत्कालीन केन्द्रीय सदस्य तथा माओवादी सेनाका पूर्वी ब्युरो कमिसार रीतबहादुर खड्काको स्मृतिसभाले। त्यहाँ प्रचण्ड र वैद्यले 'पार्टी फुटाउँदैनौँ' भन्ने अभिव्यक्ति दोहोर्‍याए पनि चार घन्टा लामो सभामा नेतात्रयबीच एकापसमा संवादको एक शब्द पनि आदानप्रदान भएन।

माओवादीभित्र चलिरहेको आरोप-प्रत्यारोप र दिनहुँजसोका समानान्तर भेला र बैठकहरूको शृंखला हेर्दा भट्टराईले भनेको कुराको वजन देखिँदैन। बरु घटनाक्रमहरू त्यो पार्टी फुटको सँघारतिर धकेलिँदै गएको संकेत गर्न पर्याप्त छन्। जस्तो : रौतहटमा भट्टराईले पार्टी नफुट्ने अभिव्यक्ति दिइरहँदा राजधानीको बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा उनी पक्षधर काभ्रे जिल्ला कमिटीका सदस्यहरूको बैठक बसिरहेको थियो, उनका समर्थक पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलकै उपस्थितिमा। १ असारमा प्रचण्ड पक्षले डाकेको काभ्रे जिल्ला कमिटीको बैठक वैद्य र भट्टराई पक्षधरहरूले बहिष्कार गरेका थिए। र, भोलिपल्ट भट्टराई पक्षधरले राजधानीमा समानान्तर बैठक राखेका थिए।

माओवादीभित्रको पछिल्लो विवादको बीउ लडाकू समायोजन र नेताहरूको दोहोरो सुरक्षा हटाउने प्रचण्डको निर्णय नै हो। पार्टीको सहमतिबिनै प्रचण्ड पक्षले समायोजनबारे नेपाली सेनाको प्रस्तावलाई स्वीकार गरेको र सरसल्लाह नै नगरी नेताहरूको सुरक्षामा खटेका लडाकूलाई शिविर फर्काएर आफूखुसी गरेको वैद्य पक्षको आरोप छ। तर, प्रचण्ड पक्ष यस्तो आरोपमा कुनै तर्क देख्दैन। सचिव पोष्टबहादुर बोगटी भन्छन्, "साथीहरूमा केही भ्रम र अस्पष्टताहरू देखिन्छन्। सेनाले जनसेनालाई व्यक्तिगत आधारमा समाहित गर्नुपर्छ भनिरहेको छ। हामीले युनिटवाइज भनिरहेका छौँ। सेनाको प्रस्ताव हुबहु स्वीकार गरेको भन्नु शतप्रतिशत गलत हो।"

यतिखेर माओवादी पार्टीभित्रको अवस्था कतिसम्म नाजुक छ भने चुलिँदै गएको विवादबारे छलफल गर्न पछिल्ला १५ दिनमा दुईपटक स्थायी समितिको बैठक बोलाइसकिएको छ। तर, २० जेठ र १ असारमा बोलाइएका दुवै बैठक स्थगित भए। प्रचण्ड पक्षका सचिव बोगटी केही आन्तरकि गृहकार्य पूरा गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको बताउँछन्। भन्छन्, "विवादका कारण बैठक स्थगित भएको होइन, गृहकार्य नपुगेर हो।"

उता वैद्य पक्षमा खुलेका सचिव सीपी गजुरेल भने बैठक स्थगनको कारणबारे अनभिज्ञता प्रकट गर्छन्। भन्छन्, "किन स्थगित गरिएको हो, हामीले बुझ्न सकेका छैनौँ।" विवाद मिलाउने उपाय खोज्नकै लागि अध्यक्ष प्रचण्डले ८ असारमा केन्द्रीय समिति बैठक बोलाएका छन्।

गत मंसिरकोे पालुङटार विस्तारति बैठकयता माओवादीमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिका बैठक बस्ने तर निकास ननिस्किने क्रम दोहोरँिदो छ। पदाधिकारी बैठकले हल गर्न नसकेको विषयवस्तु स्थायी समितिमा लैजाने गरन्िछ तर स्थायी समितिले पनि कुनै किसिमको समाधान निकाल्न सक्दैन। त्यसपछि पोलिटब्युरो बैठक डाक्ने र त्यहाँ पनि गन्जागोल दोहोरिएपछि केन्द्रीय समिति बैठक बोलाउने काम भइरहेका छन्। आश्चर्य त के छ भने केन्द्रीय समितिले पनि निकास दिन नसकेपछि विवादको हल गर्ने जिम्मा फेर िपदाधिकारी बैठकलाई नै दिइन्छ।

खासगरी अध्यक्ष प्रचण्डले शान्ति र संविधानको पक्षमा उभिएर वैद्यका चिरपरििचत प्रतिद्वन्द्वी उपाध्यक्ष भट्टराईसँग निकटता बढाएपछि अन्तरविरोध चर्केको हो। वैद्य पक्ष शान्ति र संविधानको साटो जनविद्रोहको लाइनमै देखिएको छ। तर, त्यो जनविद्रोह कस्तो र के भन्नेमा भने वैद्य पक्ष आफैँ स्पष्ट छैन। अध्यक्षले जनविद्रोहको लाइन त्यागेकामा क्रूद्ध भएको वैद्य पक्षले अध्यक्षविरुद्ध गम्भीर आरोपहरूसहितको १८ बुँदे सर्कुलर नै पार्टी कार्यकर्ता तहसम्म पुर्‍याएको छ। २९ जेठमा त्यो सर्कुलर सार्वजनिक भएपछि विवाद झन् बढकोे छ। आरोपपत्र सार्वजनिक भएपछि प्रचण्ड निकै आक्रोशित पनि छन्। अहिलेसम्मको आफ्नो राजनीतिक जीवनमा प्रचण्डमाथि यति संगीन आरोप कहिल्यै लगाइएको थिएन।

३० जेठमा प्रचण्डले नेतृत्वको मर्यादा धुमिल गर्ने नियतले हिलो छ्याप्ने र समानान्तर भेला-बैठक राख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए। ८ असारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा कारबाहीको प्रस्ताव लैजाने उनको भनाइ थियो। तर पनि, न आरोप-प्रत्यारोपको क्रम, न त समानान्तर भेला-बैठकको आयोजनमै कुनै असर परेको छ। उल्टै १ असारमा प्रचण्ड पक्षले भोजपुरा राज्य समिति अन्तर्गत पर्ने धनुषाको लालगढमा भेला गर्‍यो। त्यस भेलामा मधेस ब्युरो इन्चार्ज तथा स्थायी समिति सदस्य गिररिाजमणि पोखरेल, भोजपुरा राज्य समिति सेक्रेटरी अञ्जना विशंखेलगायत प्रचण्डनिकट नेताहरूको उपस्थिति थियो।

लालगढ भेलाको अघिल्लो दिन ३१ जेठमा वैद्य खेमाले सर्लाहीको बयलवासमा मिथिला र भोजपुरा राज्य समिति अन्तर्गतका आफूपक्षीय नेताहरूको भेला गरेको थियो। त्यसमा पार्टी सचिव गजुरेल र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द उपस्थित थिए। त्यसै गरी त्यही दिन गोरखामा पनि वैद्य खेमाले आफ्नो समूहको भेला गर्‍यो। संस्थापन पक्षले पार्टीलाई एकढिक्का राख्न नसकेकाले आफूहरूले बाध्य भएर बैठक-भेला गर्नुपरेको सचिव गजुरेल बताउँछन्। भन्छन्, "संस्थापन पक्षले तपाईंहरू छुट्टै बैठक-भेला नगर्नूस्, हामी पनि गर्दैनाँै भन्नुपर्नेमा एकपक्षीय भेला गरेपछि हामी बाध्य भएका हौँ।"

माओवादीमा बढ्दै गएको अन्तरसंघर्षको पृष्ठभूमिमा व्यक्तित्वको टकराव पनि रहेको छ। जस्तो कि, द्वन्द्वकालभर िअध्यक्ष प्रचण्ड नै 'हेडक्वार्टर' मानिँदै आए। केही समययता भने वैद्य-भट्टराईमा पनि 'नम्बर १' को चाहना चुलिँदै गएकाले पार्टीमा गुटबन्दी चुलिएको एकथरी अध्यक्षपक्षीयहरूको विश्लेषण छ। प्रचण्ड पक्षका एक केन्द्रीय सदस्य भन्छन्, "नेताहरूमा कोभन्दा को कम भन्ने महत्त्वाकांक्षा पलाएकाले पनि विवादले ठूलो रूप लिएको हो। अवस्था यस्तै रहे पार्टी फुट्न पनि सक्छ।"

यसअघि पनि माओवादी फुटको सँघारमै नपुगेको होइन। तर, विगतका विवाद व्यवस्थापन भए। उदाहरणका लागि, उपाध्यक्ष भट्टराईमाथि ०६१ मा कारबाही भएपछि उत्पन्न संकटको समाधान छ महिनामै गरिएको थियो। यसपटक भने ०६५ मंसिरको खरपिाटी भेलायताको किचलो व्यवस्थापन हुनसकेको छैन, बरु जटिल बन्दै गइरहेको छ। विगतमा भन्दा फरक यसपटक वैचारकि मात्र होइन, व्यक्तिगत गालीगलौज पनि भइरहेका छन्।

जनविद्रोहको लाइन पारति गरेको गत वर्ष २ पुसको केन्द्रीय समिति बैठकले स्वस्थ ढंगले अन्तरसंघर्ष सञ्चालन गर्नका लागि पाँचबुँदे विधि तय गरेको थियो। प्रचण्ड-वैद्यको मिलेमतोमा विद्रोहको कार्यदिशा पारति भएपछि अर्का उपाध्यक्ष भट्टराईले 'नोट अफ डिसेन्ट' लेखेका थिए। त्यसपछि नै पाँचबुँदे विधि बनाइएको थियो, जसमा असहमतिहरू विचारधारा नामक पत्रिकामार्फत तल्लो तहसम्म लैजाने सहमति भएको थियो। तर, विचारधारा प्रकाशित नै हुन सकेन। यसबाट माओवादीको अन्तरसंघर्ष छताछुल्ल हुन थालेको छ। वैद्यपक्षीय एक केन्द्रीय सदस्य स्वीकार्छन् पनि, "अहिलेको संघर्ष सिर्जनात्मकभन्दा ध्वंसात्मक छ। त्यसैले पार्टी कति दिन एक रहन्छ भन्न सकिँदैन्।"

२० वर्षदेखि महाधिवेशन नहुँदा पार्टीभित्र गुटबन्दी बढ्दै गएको भट्टराईपक्षीय पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलको कथन छ। भन्छन्, "विवाद समाधान गर्ने एक मात्र विधि महाधिवेशन हो। यत्तिकै छोडे पार्टी विघटन/विग्रहमा जान सक्छ।" तर, वैद्यपक्षीय नेताहरूले भने महाधिवेशनले समस्याको हल नगर्ने बताउन थालेेका छन्। किनभने, यतिबेला पार्टीमा अध्यक्ष प्रचण्ड बलियो देखिएका छन् र आफूले चाहेको निर्णय उनी बहुमतबाट गराउँदै पनि गइरहेका छन्। यस अवस्थामा महाधिवेशन गर्दा आफूहरू बढारनिे डर वैद्य पक्षधरहरूलाई छ।

स्रोतका अनुसार पार्टी चलाउन आवश्यक पर्ने शक्ति र स्रोतमाथिको नियन्त्रण कसले लिने भन्ने होडबाजीका कारण पनि माओवादीको विवाद बाक्लिएको हो। स्वाभाविक रूपमा अध्यक्षसँग शक्ति र स्रोतमाथि पकड हुने नै भयो। त्यसैका लागि प्रचण्डमाथि प्रहार हुँदै आएको हो। त्यही रणनीति अन्तर्गत वैद्य र भट्टराईको कार्यनीति पनि प्रचण्डलाई कमजोर बनाउनेमा केन्दि्रत रहेको छ।

महत्त्वपूर्ण कुरा त के भने अहिलेको विवादको चुरो लडाकू समायोजन र दोहोरो सुरक्षा फिर्ता प्रश्नको समाधान कसरी खोज्ने भन्नेमा माओवादीभित्र कुनै किसिमको गृहकार्य नै थालिएको छैन। शान्ति प्रक्रिया र संविधान लेखनका लागि जनदबाब बढ्दै गएका बेला देखिएको लडाकू समायोजन र दोहोरो सुरक्षा अन्त्यको प्रश्न गम्भीर भएको माओवादी नेताहरू नै स्वीकार गर्छन्। वैद्य पक्ष नेपाली सेनाको प्रस्ताव अनुरूप कुनै पनि हालतमा लडाकू समायोजन गर्न नहुने भन्दै अध्यक्ष प्रचण्डको खिलाफमा लागेको छ। उता, माओवादीइतरका शक्तिहरूले भने वैद्यको यस विरोधलाई माओवादी पार्टीमा स्थापित हुने चालका रूपमा बुझेका छन्। सम्भवत: यस्तै बुझाइ अध्यक्ष प्रचण्डको पनि छ। यस्तोमा माओवादीभित्रको विवाद झन् बढ्न सक्छ। माओवादीमा वैद्य पक्षको खिचलोका कारण शान्ति प्रक्रिया अवरूद्ध पनि हुनसक्छ। यदि १४ भदौभित्र शान्ति प्रक्रियाका मूलभूत कार्य सम्पन्न हुन सकेनन् भने संविधानसभाको म्याद नथपिने खतरा पनि छ। त्यसैले यो निश्चित हो कि माओवादीभित्र १४ भदौअगाडि नै धेरै कुराको टुंगो लागिसक्ने छ।

यस्तो असमञ्जस र संविधानसभाको अवधि छोटिँदै गइरहेको पृष्ठभूमिमा माओवादी पार्टीको एकता संकटग्रस्त भएको भनाइ पूरै गलत होइन। घटनाक्रम विकासशील रहेको हुँदा अहिले नै माओवादी फुट्ने/नफुट्ने दाबी गर्नु हतारो हुनसक्छ। तर, नेतृत्वदेखि गाउँस्तरका कमिटीसम्ममा अंकुरति गुटबन्दी र बढ्दो मनोमालिन्यले अब त्यो पार्टी दुरुस्त रहनेमा शंका गर्न सकिन्छ।

बहुमतमा प्रचण्ड

यतिखेर एकीकृत नेकपा माओवादीमा १६ सदस्यीय स्थायी समिति, ४७ सदस्यीय पोलिटब्युरो र १ सय ४८ सदस्यीय केन्द्रीय समिति छ। स्थायी समितिमा सात जना प्रचण्ड पक्षमा छन् भने पोलिटब्युरोमा १४ सदस्य। त्यसैगरी प्रचण्डका पक्षमा ३४ जना केन्द्रीय सदस्य खुलेरै लागेका छन्।

वैद्य खेमामा चार जना स्थायी समिति सदस्य र आठ जना पोलिटब्युरो सदस्य देखिएका छन् भने ३२ जना केन्द्रीय सदस्यले उनका पक्षमा लबिङ् गरिरहेका छन्। भट्टराई पक्षमा तीन स्थायी समिति सदस्य, छ पोलिटब्युरो र १८ केन्द्रीय सदस्य उभिएका छन्।

भूमिगतकालीन केन्द्रीय समितिका ९५ सदस्यमध्ये छ जना अहिले केन्द्रीय समितिमा छैनन्। बाँकी ८९ जनामध्ये ४२ वैद्य समूहमा, ३५ प्रचण्डका पक्षमा र १२ जना भट्टराईनिकट छन्।

स्थायी समितिमा अमिक शेरचन, लीलामणि पोखरेल र पोलिटब्युरोमा दिलबहादुर श्रेष्ठ, स्वनाम साथी कतै पनि खुलेका छैनन्। स्रोतका अनुसार उनीहरू चारै जनाको झुकाव भट्टराईतिर छ। पार्टी बैठक र छलफलहरूमा तीनै समूहमा खुलेका बाहेक बाँकी केन्द्रीय सदस्यहरूमध्ये अधिकांश अध्यक्षपक्षीय छन्। अहिलेको समीकरण अनुसार माओवादीमा तीनवटा समूह रहिरहँदा प्रचण्डको स्पष्ट बहुमत पुग्छ।

वैद्य समूह नै तीनतिर

माओवादी अध्यक्ष प्रचण्ड पक्षसँग असहमति राख्दै आएको मोहन वैद्य समूहभित्रै तीनवटा प्रवृत्ति देखिन थालेका छन्। वैद्य खेमाको एउटा समूह पार्टीको क्रान्तिकारी साख जोगाइराख्न जोखिम मोलेर भए पनि तत्काल पार्टी विभाजन गर्नुपर्छ भन्ने मान्यतामा छ। अर्को समूह केही समय बाबुराम भट्टराईसँग कार्यगत एकता गरेर जानुपर्छ भन्ने मत राख्छ। तेस्रो समूहले भने प्रचण्ड र वैद्य मिलाउन ँलबिङ्’ गरिरहेको छ।

पार्टी विभाजनसम्मको हदमा जानुपर्छ भन्नेमा केन्द्रीय सदस्य सूर्यप्रकाश सुवेदी ँपथिक’, अनिल विरही, कुमार दाहाल, चन्द्रहरि सुवेदी, पवनमान श्रेष्ठ, महेन्द्र पासवानलगायत छन्।

भट्टराईसँग मिलेर प्रचण्डको कार्यशैलीमाथि प्रहार गर्नुपर्छ भन्नेमा नेत्रविक्रम चन्द, हितमान शाक्य, पम्फा भुसाललगायत छन्। पछिल्लो समय भुसाल भट्टराईप्रति लचिलो भएकी छन्। तर पनि यस समूहको ठम्याइ के छ भने अन्तिममा वैचारिक संघर्ष भट्टराई पक्षसँगै हुनेछ।

त्यसैगरी, प्रचण्ड र वैद्य मिल्नुपर्ने पक्षमा देव गुरुङ, हरिभक्त कँडेल, नारायण शर्मा पौडेलजस्ता नेताहरू छन्। उनीहरू भट्टराई दक्षिणपन्थी भासमा डुबिसकेको तर प्रचण्ड केही हदसम्म चोखो रहेकाले सुधार्न सकिने बुझाइमा छन्।

कहाँ-कहाँ समानान्तर भेला ?

२७ जेठ :    साँखुमा भट्टराई पक्षधर ।

२८ जेठ :    राजधानीको पुल्चोकस्थित कृषि विभागमा प्रचण्डपक्षीय कर्मचारी र बुद्धिजीवी ।

२८ जेठ :    बालकुमारीस्थित खन्ना गार्मेन्टमा प्रचण्ड पक्षधर गणतान्त्रिक जिल्ला सम्पर्क समिति ।

२८ जेठ :    स्वयम्भूस्थित आनन्दकुटी विद्यालयमा वैद्य पक्षधर ।

१ असार :    भोजपुरा राज्य समितिमा प्रचण्ड पक्षधर ।

२ असार :    राजधानीस्थित इन्द्रेणी फुडल्यान्डमा भट्टराईपक्षीय काभ्रे जिल्ला कमिटी।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out