राजनीतिक सिद्धान्त र जीवनका फरक-फरक रंग

विश्वेश्वरप्रसाद कोइरालाको जीवित अनुहार मैले कहिल्यै देखिन । जीवनमा प्रथम र अन्तिम पटक उहाँको दर्शन पाउदा बीपी मृत्युशय्यामा पल्टिसकेका थिए । म रत्नपार्कनेर हल्लिरहेको थिएँ, अचानक ठूलो कोलाहाल सुनें, रानीपोखरीतिरबाट 'जिन्दाबाद रु अमर रहुन्' जस्ता आवाजहरू आइरहेका थिए । ती दिनहरू पञ्चायती सन्नाटाका दिनहरू थिए । राजा-रानीहरूको जन्मदिनमा बाहेक अरू कसैको जिन्दाबाद भनिएका आवाज राजधानीमा दुर्लभ थिए । म क्याम्पसमा विद्यार्थी थिएँ । राजनीतिमा रत्तिभर रुचि थिएन । कक्षामा पढाइने पुस्तक र टोलकै एउटा केटीबाहेक मेरानिम्ति बाँकी संसारको कुनै अर्थ थिएन ।
त्यहीं केटी आउँछे कि भनेर रत्नपार्क कुरी बसेको थिएँ । केटी त आइन तर अघि भनिएको आवाजको जुलुस देखियो, अलि पर रानीपोखरीनेर ।
ती दिनहरूमा काठमाडौं सहर खुल्ला थियो, टाढैबाट टाढा-टाढासम्मका गतिविधि देख्न सकिन्थ्यो, बुझ्न सकिन्थ्यो । मानिसहरूको मन पनि अहिलेभन्दा फराकिलो थियो । को के-कस्तो मान्छे हो ? के चाहन्छ, बुझ्न सजिलो थियो । राष्ट्रिय नाचघरमा बाहेक अन्यत्र 'नाटक' को प्रदर्शन विरलै हुन्थ्यो । गाईजात्रा देखाउने दिन पनि निश्चित थियो, वर्षमा त्यो एक दिनबाहेक गाईजात्रा देखाउन प्रतिबन्ध थियो । राम्रो/नराम्रो जे थियो, जस्तो थियो, मोटामोटी प्रस्टै थियो । पञ्च पञ्च जस्ता थिए, प्रतिबन्धित कांग्रेस र कम्युनिस्ट, कांग्रेस र कम्युनिस्टजस्तै थिए । उनीहरूको जीवनशैली पनि त्यसैअनुसार राजसी, सात्विक र तामसी थियो । पञ्चहरू राजाको जय जयकार गर्थे र सकेसम्म राजाजस्तै जीवनशैली बाँच्ने सफल असफल प्रयत्न गर्थे । कोही-कोहीचाहिँ राजाकै शैलीमा बोल्न पनि खोज्थे । एक हदमा भन्ने हो भने आजभोलिका माओवादी, एमाले, कांग्रेस, मधेसवादीभन्दा बढ्ता पारदर्शी थिए पञ्चहरू । एउटा पञ्चले भनेको सम्झन्छु, 'दिनमा आधा घन्टा राजाको जय जयकार गरेर बाँकी २३ घन्टा ३० मिनेट आफू छोटे राजा हुन पाइन्छ भने त्योभन्दा आनन्दको राजनीतिक दर्शन के हुन सक्छ ?'
त्यो जमानाको एउटा छोटो मोटो पञ्च आजभोलि ठूलो माओ भएको छ । केही समयअघि पाँचतारे होटलमा एउटा 'विशिष्ट माओ पुत्र' लाई साथ राखेर भन्दै थियो, 'होइन हजुर, हामीमात्र सारा जीवन राजाहरूबाट शोषित भएर बस्ने ? हामीले चाहिँ मालिक हुन नपाउने ?' उसको 'मालिक' हुने अदम्य चाहना देखेर मैले पाउलो फेरीलाई सम्झें, जसको एउटा महावाक्य छ, 'संसारमा हरेक शोषितभित्र कुनै दिन शोषक बन्ने चाहना लुकेर बसेको हुन्छ ।' त्यो महावाक्यले मलाई बेलाबखत झस्काइरहन्छ । ती क्षणहरूमा म प्रार्थना गर्छु- पाउलो फेरी गलत साबित होउन । कमसेकम हाम्रो देश त्यो सर्वव्यापी नियमको अपवाद बनोस् !
आदरणीय पाठकहरूलाई म फेरि तीसौं वर्षअघिको 'जमल' लिएर जान चाहन्छु, जहाँनेर आइपुग्दा बीपीको शवयात्रासँग मेरो भेट भएको थियो । मैले अलि अग्लो स्थानमा चढेर हेरें । फूलै फूलले घेरिएको बीपीको शान्त मुहार प्रस्ट देखियो । मेरा हातहरू स्वचालित रूपमा उठेर बीपीलाई जीवनमा प्रथम र अन्तिम पल्ट नमन गर्न पुगिसकेका रहेछन् । अनि, चुपचाप बीपीको शवयात्रामा सामेल भएर बानेश्वरसम्म पुगेर घर फर्के । अघि नै भनियो, ती दिनहरूमा मलाई कलेजको किताब र टोलको 'त्यो' केटीबाहेक अरू कुनै कुरामा रस नभए तापनि मैले आफूलाई बीपीको शवयात्रामा स्वचालित रूपले हिँडिरहेको पाएँ । कालान्तरमा पत्रकारिता प्रारम्भ गर्दा 'साप्ताहिक मञ्च' मा मैले लेख्ने स्तम्भको नाम पनि त्यही थियो, जुन नामको स्तम्भ तपाईं अहिले पढ्दै हुनुहुन्छ- आदि/इत्यादि । बीपीको शवयात्रा प्रसंगलाई उल्लेख गर्दै प्रारम्भिक स्तम्भमा लेखेको थिएँ, 'मेरो विचारमा बीपी कोइराला हामी सर्वसाधारण नेपालीमध्येका सबैभन्दा ठूला नेपाली थिए ।' ती दिनहरूमा दुई प्रकारका नेपाली हुने गर्दथे । कानुनभन्दा 'कानुनी' रूपले नै माथि रहने राजपरिवारका सदस्यहरू र बाँकी सर्वसाधारण नेपाली । आजभोलि त लोकतन्त्र आएको छ, स्थिति फरक भएको छ कि ? कानुन नलाग्ने अति विशिष्ट श्रेणीका नेपालीहरू घटे कि बढे ? पाठकहरूले आफंै विचार गरे हुन्छ । मचाहिँ त्यस विषयमा अरू कुनै दिन चर्चा गरुँला ।
आफ्नो पत्रकारिता जीवन प्रारम्भ गर्दा मैले बीपीका विषयमा जानेर, सुनेर, पढेर वा बुझेर उहाँलाई 'महान् नेपाली' भनेको थिइनँ । मेरो हृदयले भन्यो- मैले लेखिदिएँ । बिस्तारै उहाँको साहित्य पढियो, गणेशराज शर्मासँग सहवासको अहोभाग्य मिल्यो, श्रीराम दा, शैलेजा दि आदिसँग मैले धेरै अवसरमा बीपीका सम्बन्धमा सुन्ने-बुझ्ने अवसर मिल्यो र सबैभन्दा ठूलो कुरा उहाँका पुस्तकहरूले मलाई त्यो मानिसप्रति अद्वितीय रूपमा आकषिर्त गराइदियो । म बीपीलाई एक पूर्ण र जीवन्त मानिस 'अ लाइभली, कमप्लिट पर्सन' मान्दछु । एउटा यस्तो मानिस जसले जीवनलाई सम्पूर्णतामा बाँच्यो ।
बीपीको जीवनबाट नेपाली 'राजनीति' हटाइदियो भने पनि बाँकी रहेको मानिसमा एउटा अद्भुत आकर्षण बाँकी नै रहन्छ । अग्लो, राम्रो, बुद्धिमान, सवेदनशील, आफूलाई चमत्कारिक शैलीमा अभिव्यक्त गर्न सक्ने अद्वितीय मानिस । बीपीसँग संसारको कुनै पनि विषयमा मनै तृप्त हुने गरी 'प्रज्ञायुक्त बौद्धिक सम्भोग' गर्न सकिन्थ्यो होला । सोच्छु बीपी कोइरालासँग संवाद गर्न पाएको भए मैले उहाँलाई कति धेरै विषयमा प्रश्नहरू सोध्थे होला ?! राजनीति, साहित्य, दर्शन, यौन.....असंख्य विषयहरू । कस्तो अविस्मरणीय टेलिभिजन कार्यक्रम बन्थ्यो होला र पछिल्ला दिनहरूमा मलाई नेताहरूको अन्तर्वार्ता गर्न अल्छी लाग्ने एउटा मूलकारण के हो भने- आजभोलि अपवाद नेताहरूलाई छाडेर हाम्रा अधिकांश नेता भनेका- एउटामात्र विषय जान्ने सतही र एक आयामिक मानिसहरू हुन् । यिनीहरूले जे जति भन्नुपर्ने थियो, यिनीहरूले जे जति भन्न सक्थे सबै भनिसके । हामीले जे जति सोध्नुपर्ने थियो, सबै सोधी सक्यांै । एउटा निरश पुनरावोक्ति गर्न नसकिने होइन तर जाँगर नै चल्दैन ।
बीपी 'परफेक्ट' थिएनन् तर 'कम्प्िलट' अवश्य थिए । एउटा नेता र एक मानिसका दुवै रूपमा बीपीका कैयौं कमजोरी थिए । बीपीले कैयौं गलत निर्णयहरू पनि लिए । तर गलत 'नियत' राखेर ती निर्णयहरू लिएनन् । अहिलेका नेताहरूको नाम उपनाम जतिसुकै लामो र ठूलो भए तापनि देशका जनता र अन्तर्राष्ट्रिय समुदाय उनीहरूको 'मूल' नियतप्रति नै विश्वस्त छैनन् । गत साता एउटा पाश्चात्य कूटनीतिज्ञसँग मेरो लामो र खुल्ला कुराकानी भयो, जहाँ उनले मलाई सोधे, 'तपाईंको नेताहरूमा देश बनाउने भिजन किन नभएको ?' मैले भनें, 'यो प्रश्नको सतही उत्तर म दिन चाहन्न, गहिरो उत्तरका निम्ति आज समय ठीक छैन, बरु तपाईं मलाई भन्नुहोस् किन त्यस्तो हुन्छ ? मैले भन्दा तपाईंले हाम्रा नेताहरूलाई बढी घन्टा भेट्नुभएको छ ।' उनले एकछिन सोचेर जवाफ दिए, 'मेरो अनुमान छ, नेपाली नेताहरू आफ्नो क्षणिक राजनीतिक सफलताभन्दा टाढा देख्नै सक्दैनन् । यिनीहरू क्षणिक ट्याक्टिकलमात्र हुन् । एक हप्ताभन्दा अगाडिको कुरा सोच्नै चाहँदैनन् । कहिलेकाहीं त आजै भरेभन्दा अगाडिको सोच्दैनन् । अब भन्नुस् तपाइको के विचार छ विजय ?' मैले उत्तर दिएँ, 'तपाइले भनेको कुरा रोगको लक्षणमात्र हो, कारण होइन । शरीरमा ज्वरो छ भने त्यो कुनै शारीरिक खराबीको लक्षण मात्र हो कारण होइन । ज्वरो भनेको इफेक्ट हो, कज होइन ।' कारणका विषयमा कुनै अर्को दिन चर्चा गरौंला भन्दै म ती कूटनीतिज्ञबाट बिदा भएँ ।
आज यो प्रसंग लेख्न बस्दा मलाई श्रद्धेय मनमोहन अधिकारीजीको सम्झना आयो । २०३६ सालको अन्ततिर पहिलोपटक भेटेको थिएँ- टेबहालको एउटा लजमा । उहाँले प्रभात स्टोभमा दम दिँदै बनाएको चिया खान पाउनु मेरो निम्ति हमेसा अहोभाग्यशाली क्षण रहने छ । त्यहाँबाट सुरु भएको सतसंग, मनमोहनजी गोठाटारमा सधैंका लागि अचेत हुनु एक दिन अगाडिसम्म निरन्तर चल्यो । अचेत हुनु २२ घन्टाअघि गल्फुटारको आफ्नो साधारण दुईकोठे निवासमा उहाँले मलाई कान्तिपुर एफएमका निम्ति अन्तर्वार्ता दिनु भएको थियो । त्यो बजाउन नपाउँदै मनमोहनजी अचेत हुनु भयो र करिब दुई हप्तापछि टिचिङ अस्पतालमा प्राण त्याग्नु भयो । बीचका दिनहरूमा एमाले नेताहरूले मसंग भएको टेप बजाउने धेरै आग्रह गरे । मैले टेप नबजाइकन जवाफ दिएँ, 'यो मनमोहनजीको स्वास्थ लाभको प्राथना गर्ने समय हो । अन्तर्वार्ता बजाएर आफ्नो रेटिङ बढाउने समय होइन ।'
मनमोहनजी मैले देखेको, भोगेको एकमात्र यस्तो नेता हुनुहुन्थ्यो, जसका अगाडि ठूलो स्वरले बोल्ने साहस मैले कहिले गरिनँ । मनमोहनजीको निष्ठा, निरन्तरता र सरलताका अगाडि मभित्र लुकेर रहेको अहंकारले कहिले टाउको उठाउन सकेन । २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि आम मानिसको जीवनमा खासै फरक नआएको प्रसंगमा मनमोहनजीसँग मेरा लामा-लामा वार्तालापहरू भएका थिए । कवि गेटेलाई उद्धृत गर्दै भन्नु हुन्थ्यो, 'विजय, समस्या कहाँनिर छ भने र विशेषतः कट्टर वामपन्थीहरूको समस्या के छ भने- राजनीतिक सिद्धान्तको रंग खैरो हुन्छ, तर जीवन आफैंचाहिँ सप्तरंगी छ । यो यथार्थ बुझेर अगाडि बढ्न नसकेको हुनाले नै तमाम राजनीतिक परिवर्तनहरूका बाबजुद पनि हामी जनताले महसुस गर्न सक्ने फरक देशमा ल्याउन नसकेका हौं ।'
बीपी कोइराला र मनमोहनजीको प्रसंग म यसकारण राख्दैछु, किनभने आजभोलिका नेताहरूले यो कुरा बुझ्न नितान्त जरुरी छ, राजनेता हुनु भनेको आफ्नो क्षणिक लाभहानिको हिसाबमात्र गर्ने 'राजनीतिक जनावर' (पोलिटिकल एनिमल) हुनु होइन । सम्पूर्ण अस्तित्व नै सप्तरंगी छ, त्यसैले गर्दा जीवनयापनका तमाम समस्या र तिनका समाधानका उपाय पनि सप्तरंगी नै छन् । खैरो एकांकी रंगले हाम्रो जीवनमा समाधान ल्याएन भनेर रुनुको कुनै अर्थ छैन । एउटा राजनीतिक जनावरको शैलीले भत्काउन त सक्दछ तर त्यो शैलीबाट नयाँ निर्माण गर्न सकिँदैन । कमसेकम नेपालमा त्यो काम असम्भव थियो, छ र रहने छ । जनताको मुखमा माड लगाउने कुरा भीडमा भाषण गरेजस्तो सजिलो भएको भए अहिलेसम्म दुई/चार प्रतिशतमात्र भए पनि लक्षण देखिसक्थ्यो । हाम्रा ठूला नेताहरूले प्रौढ शिक्षाको कक्षामा फेरि एकपटक भर्ना भएर सिक्नुपर्ने क, ख, ग, के छ भने- राजनेताको मुहारको उज्यालो सामान्य जनताको मुहारको उज्यालोमा मात्र निर्भर गर्दछ, न कि आफ्नो पार्टीका कार्यकर्ता र गुन्डाहरूले गर्ने जय जयकारको ध्वनिमा ।
यसबाहेक हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने- जेजस्ता भए पनि हाम्रा नेता यिनै हुन् । बराक ओबामाको उदाहरण दिन सकिन्छ तर कुनै बराक ओबामा अथवा माओ आएर नेपालमा राजनीति गर्ने छैनन् । बलिउडबाट कुनै शाहरूख खान आएर कलिउडमा नेपाली सिनेमा खेल्ने छैनन्, कुनै टम ब्रोका आएर हाम्रो टेलिभिजनमा समाचार पढ्ने छैनन् । जे जस्ता भए पनि, गर्नुपर्ने हाम्रै समाजका मानिसहरूले हो । अर्को जनादेश प्राप्त नहुञ्जेलसम्म मूल जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डकै हो । मानिसहरू माओवादीभित्र 'हार्डलाइन' र 'सफ्टलाइन' को कुरा गर्छन् । किरण र बाबुरामको कुरा गर्छन् । सुनेर मलाई हाँसो उठ्छ । पञ्चायतकालमा राजाले कुनै पञ्चलाई उदार र कुनै पञ्चलाई अनुदार पञ्चको भूमिका खेल्ने 'रोल' दिन्थे । कसैलाई 'भारतपरस्त' र कसैलाई 'चीनपरस्त' भएको अभिनय गर्ने रोल प्राप्त थियो । तर राजा कालान्तरमा वाल्ल-ट्वाल्ल त्यस बखत परे, जब रोल पाएकाहरू अभिनय गर्दागर्दै 'साँच्चिकै त्यस्ता' भइदिए । इतिहासको त्यो शिक्षा प्रचण्डले बिर्सनु हुँदैन । हरेक नाटकको एउटा समय हुन्छ । अब पुष्पकमल दाहाल प्रचण्डका निम्ति आधुनिक नेपालको इतिहासमा आफ्नो नाम सधैंका लागि लेखाउने सम्भवतः अन्तिम अवसर आएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out